के तपाईँ आफ्नो पूर्वप्रेमी वा प्रेमिकासँग साथी बन्न सक्नुहुन्छ?

    • Author, एमिली होल्ट
  • पढ्ने समय: ४ मिनेट

ब्रके-अप अर्थात् प्रेम सम्बन्ध तोडिनु कठिन हुन्छ, आफ्नो सबै कुरा सुनाउने व्यक्ति एक्कासि गुम्छ। तर पूर्वप्रेमीसँग साथी बनिरहनु पनि उत्तिकै पीडादायी हुनसक्छ।

"आफ्ना पूर्वप्रेमीहरूसँग साथी बनिरहन सकेका मेरा त्यति धेरै साथीहरू छैनन्," ओलिभिया पिटरले भनिन्। उनी मिलेनिअल लभ पुस्तककी लेखक हुन्। तर उनी आफैँले भने आफ्ना पूर्वप्रेमी साथी राखिरहन सकेकी छन्।

यहाँ चार प्रश्न छन् जुन तपाईँले आफ्ना पूर्वप्रेमीसँग साथी रहिरहने कि नरहने भनेर निर्णय गर्नुअघि आफैँलाई सोध्नुपर्छ।

१. त्यो सम्बन्ध कतिको गहिरो थियो?

"मेरो एक वा दुई जनासँग संक्षिप्त र अनौपचारिक रोमान्टिक सम्बन्ध थियो जुनपछि मित्रतामा विकसित भयो," बीबीसीको रेडिओ फोरको विमिन्स आवरमा ओलिभियाले भनिन्।

"हामी सम्बन्धमा 'त्यहाँ पुगेको' तथ्यका कारण त्यसले निकट मित्रताका लागि कुनै तनाव वा प्रश्न बिना नै सजिलो बनाइदियो," उनले भनिन्।

तर गम्भीर सम्बन्धहरूमा राम्रो व्यवहारमा रहे पनि त्यति निकट मित्रता भने नरहने उनले बताइन्।

डेटिङ र सम्बन्धबारेकी प्रशिक्षक केट म्यान्सफिल्ड अनौपचारिक सम्बन्धहरूमा जीवनका सुल्झाउनुपर्ने कुराहरू कम गम्भीर हुने कारणले मित्रता कायम गर्न सजिलै हुने बताउँछिन्।

तर कहिलेकाहीँ त्यस्तै अनौपचारिक सम्बन्धहरू "प्राय: एकदमै गहिरो हुँदा" ठूलो भावना बल्झाउँछ," उनले भनिन्।

"प्रेम सम्बन्धको अन्त्य कसरी भयो र कसले अन्त्य गर्‍यो भन्नेमा भर पर्छ, त्यो दुवै पक्षबाट भएको थियो वा एक जनाले अर्कोमाथि निर्णय गर्‍यो? यसमा जति समय खर्चिएको छ त्योभन्दा बढी यसको असर हुन्छ," केटले भनिन्।

२. अब त्यो सम्बन्धबाट अघाएको हो?

एउटा सबैभन्दा ठूलो चुनौती भनेको के तपाईँ त्यो व्यक्तिबाट रोमान्स हटाउन सक्नुहुन्छ भन्ने हो।

"प्रेम सम्बन्ध तोडिएको कुरालाई तपाईँले अङ्गालेको हुनुपर्छ, केवल सरसामान मात्रै होइन भावनात्मक रूपमा पनि स्वीकारेको हुनुपर्छ," केटले भनिन्।

सम्बन्धमा रोमान्सबाहेक पनि एक अर्काप्रति वास्तविक चासो र रुचि छ कि छैन जस्ता कुरालाई ध्यानमा राख्नुपर्ने उनले बताइन्। यदि सम्बन्ध पूर्ण रूपमा आकर्षणमा बनेको हो भने त्यसलाई निरन्तरता दिन कठिन हुनेछ।

तपाईँ किन साथी बनिरहन चाहनुहुन्छ भन्नेमा इमानदार हुन पनि उत्तिकै महत्त्वपूर्ण छ।

"तपाईँ अझै पनि उनीहरूले आफ्नो मनस्थिति बदल्छन् भनेर आशा गरिरहनु भएको छ भने वा तिनीहरूको डेटिङ जीवन कस्तो छ भनेर नियाल्नका लागि साथी बनिरहनु भएको हो भने त्यो मित्रताको नाममा जोडिन चाहेको हो," केटले भनिन्।

अन्त्यमा, दुवै मानिसले सम्बन्धको अन्त्य भएको स्वीकार गर्छन् भने मात्रै त्यस्तो मित्रता टिक्छ नत्र भने त्यहाँ गुप्त उद्देश्य रहन्छ, उनले भनिन्।

३. कति समय बित्यो?

प्रेमीबाट तत्कालै साथी बन्नु अलि गाह्रै हुनसक्छ।

"थोरै समय दिनु उचित हुन्छ र के भएको थियो भनेर फर्किएर हेर्ने समय राख्नुपर्छ," ओलिभिया भन्छिन्।

हाँस्य कलाकार समेत रहेकी लेखक रोजी विल्बी समलिङ्गी हुन्। उनले आफ्ना पूर्व प्रेमिकाहरूसँग सफल मित्रवत् सम्बन्ध राख्न सकेको बताउँछिन्।

उनी र उनकी पूर्व प्रेमी डोन्नाले रोजीकी आमा बिते लगत्तै सम्बन्ध तोडेका थिए र घरमा लागेको आगोबाट आफ्ना सबै सम्पत्ति गुमाएका थिए।

उनले आफूहरूले करिब तीन साता एकअर्कालाई सम्पर्क नै नगरेको बताइन्।

"सायद हामीले सबै मिलाउन सकेका थियौँ किनभने हामी घनिष्ठ थियौँ र हामीलाई एक अर्काको आवश्यकता थियो," उनले भनिन्।

अहिले २५ वर्षपछि: "डोन्ना मलाई बहिनी जस्ती लाग्छिन्," उनले भनिन्।

४. तपाईँको नयाँ प्रेमीलाई यसमा आपत्ति छ कि छैन?

यदि तपाईँहरू प्रेम सम्बन्ध तोडिए पनि साथी बनिरहन चाहनुहुन्छ भने यसबारे दुवैले खुलेर कुरा गर्नुपर्ने केट बताउँछिन्। यदि आफूहरूबीच एक जनाको नयाँ सम्बन्ध बने के गर्ने भनेर कुरा गर्न उनी सुझाउँछिन्।

र यदि नयाँ प्रेमी यो मित्रतालाई लिएर असहज छ भने त्यसबारे गम्भीरतापूर्वक सोच्नुपर्ने केट बताउँछिन्।

"यो सधैँ असुरक्षाको विषय होइन; कहिलेकाहीँ यो एउटा वैध चासो पनि हो," उनले भनिन्।

तपाईँले आफ्नो पूर्वप्रेमीसँग मित्रता जोगाउनेबारे संवाद गर्नुपर्ने हुनसक्छ जुन "कम सम्पर्कमा रहने, वा मिलेर के के गरिरहेको हो भन्नेबारे पारदर्शी हुने," उनले भनिन्।

‌ओलिभियाले महिलाहरूले पुरुषका प्रेमीहरूका पूर्व प्रेमीहरूलाई खतराका रूपमा हेर्ने गरेको बताइन्।

तर रोजीले समलिङ्गी समुदाय एलजीबीटीमा पूर्वप्रेमीसँग साथी रहिरहने कुरा सामान्य भएको बताइन्।

"त्यहाँको नियम नै एकदमै फरक छ," उनले भनिन्।

कुन अवस्थामा सम्पर्कमा नरहने

केटले कुनै सम्बन्ध तोडिएपछि त्यहाँ दुई जना साथी बनिरहन कतिपय अवस्थामा सम्भव नहुने बताउँछिन्; यदि त्यहाँ शारीरिक वा भावनात्मक रूपमा दुर्व्यवहार हुन्छ भने वा एक जना अझै पनि रोमान्टिक रूपमा संलग्न हुन चाहन्छ वा एकको विश्वास अर्कोसँग गुमेको छ भने।

"कहिलेकाहीँ तपाईँहरूले एकअर्काका लागि गर्न सक्ने राम्रो काम भनेको त्यो अध्याय बन्द भयो भन्ने स्विकार्नु नै हो," उनले भनिन्।

ओलिभिया भन्छिन्: "मैले पूर्ण रूपमा सम्बन्ध तोडेको भनेको त्यस्तो मानिससँग मात्रै हो जसले मलाई एक वा अर्को तरिकाले हानि मात्रै पुर्‍यायो।"

उनले उनका धेरैजसो साथीहरू आफ्ना पूर्व प्रेमीहरूसँग सम्पर्कमा नरहेको बताएकी छन्।

"मलाई लाग्छ विगत भनेको विगतलाई नै छोड्ने हो भन्ने धारण हुनसक्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।