पाकिस्तानी युवती र भारतीय युवकबीचको 'प्रेम चर्चा' मा कसरी तानियो नेपाल

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली

पाकिस्तानी युवती सीमा गुलाम हैदर र भारतीय युवक सचिन मीणाबीचको प्रेम सम्बन्ध छिमेकी भारतमा चर्चित बनेको छ।

आफूहरूबीच इन्टरनेटमा पब्जी खेल्दाखेल्दै प्रेम सम्बन्ध गाँसिएको उनीहरूले बताएका छन्।

उनीहरूबीच पहिलो भेट भने नेपालमा भएको थियो। त्यसैले भारत र पाकिस्तानमा चर्चामा रहेको ती दुई बीचको प्रेम प्रसङ्गमा नेपाल पनि जोडिन पुगेको हो।

नेपाली अधिकारीहरूले सीमा दुई पटक नेपाल आएको पुष्टि गरेका छन्। उनीहरूका अनुसार पहिलो पटक आएर सीमा पाकिस्तान फर्किएको तर दोस्रो पटक नेपाल भित्रिएको मात्र देखिन्छ।

कतिपय भारतीय सुरक्षा मामिला विज्ञहरूले पाकिस्तानी युवती नेपाल हुँदै भिसा (प्रवेशाज्ञा) नलिई भारत पुग्न सफल भएको विषयलाई लिएर सुरक्षा चिन्तासँग समेत जोडेर हेरेको पाइएको छ।

भारतीय प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेपछि सीमा गुलाम हैदर प्रवेशाज्ञाबिना भारत पुगेको खुलेको हो।

पहिलो भेट नेपालमा, दोस्रो पटक बसबाट भारत

नेपालका अध्यागमन अधिकारीहरूका अनुसार सीमा पहिलो पटक २०७९ साल फागुन २६ गते अर्थात् २०२३ मार्च १० तारिखमा नेपाल विमानबाट आएकी थिइन्।

पब्जी खेल्दाखेल्दै आफूहरूले प्रेम सम्बन्ध गाँसेको उनले भारतीय प्रहरी र संवाददातालाई बताएकी छन्।

त्यसपछि उनी पाकिस्तानबाट र सचिन मीणा भारतबाट नेपाल आए। भारतीय सञ्चारमाध्यमहरूले संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह हुँदै सीमा नेपाल पुगेको बताएका छन्। कतिपयले उनी दुबई हुँदै काठमाण्डू पुगेको जनाएका छन्।

पक्राउ परेपछि सचिनले संवाददाताहरूलाई भनेका छन्, “नेपालमा हामीले केही दिन सँगै बितायौँ र सीमा पाकिस्तान फर्किइन्।”

भारतीय प्रहरीका अनुसार उनीहरूले सात दिन काठमाण्डूको होटलमा बिताएका थिए।

नेपाली अध्यागमन अधिकारीहरूका अनुसार सीमा चैत ३ गते अर्थात् मार्च १७ तारिखमा पाकिस्तान फर्किएको देखिन्छ।

दुई महिनापछि भने सीमाले सचिनसँग बिहे गर्ने निधो गरिन् र फेरि नेपाल हुँदै भारत पुग्ने योजना बनाइन्।

उनी २०७९ साल जेठ २८ गते अर्थात् जुन ११ तारिखमा नेपाल आएको देखिन्छ। भारतको ग्रेटर नोएडाका डीसीपी साद मियाँ खानले भारतीय पत्रकारहरूलाई भनेका छन्, “सीमा नेपालबाट बसमा सचिनसँग भेट्न भारत आइन्।”

तर फर्किएको वा कतै गएको कुनै विवरण नभेटिएको नेपाली अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

घर फर्काइदिन पतिको अपील

बीबीसी हिन्दीमा अभिनव गोयलले लेखेका छन्ः अनलाइन गेम पब्जी खेल्दा दुवैको प्रेम यसरी झाँगियो कि सीमा चार छोराछोरीका साथ बिनाप्रवेशाज्ञा सीमा नाघेर सचिन भएको ठाउँमा पुगिन्।

सीमाको विवाह सन् २०१४ मा पाकिस्तानको सिन्ध प्रान्तका बासिन्दा गुलाम हैदर जखरानीसँग भएको हो। उनीहरूका तीन छोरी र एक छोरा छन्।

उनका पति सन् २०१९ देखि साउदी अरबमा रोजगारीमा छन्। त्यसपछि उनी बढी समय पब्जी खेल्दै बिताउन थालिन्। त्यस क्रममा भारत उत्तर प्रदेशको ग्रेटर नोएडाका सचिन मीणासँग सम्पर्क भयो।

सीमा भन्छिन्, “दिनमा दुई-तीन घण्टा पब्जी खेल्थेँ, त्यस क्रममा सम्पर्क भएपछि हामीले मोबाइल नम्बर साटासाट गर्‍यौँ।”

त्यसपछि तीन वर्षसम्म उनीहरूको फोनमा लामो समयसम्म प्रेमपूर्ण कुराकानी चलेको उनीहरूले बताएका छन्।

बीबीसी उर्दूसँग फोनमा कुरा गर्दै उनका पतिले पब्जी खेल्दा आफ्नी श्रीमती बहकिएको भन्दै उनलाई स्वदेश फिर्ता ल्याइदिन अधिकारीहरूलाई आग्रह गरेका छन्।

आफूले प्रेमविवाह गरेको उनको भनाइ छ। आफूहरूबीच फोनमार्फत् नै सम्पर्क भएको र तीन-चार महिना कुराकानी गरेपछि विवाह गरेको उनले बताएका छन्।

उनले युवतीका नातेदारहरू सहमत नभएपछि अदालतमा विवाह दर्ता गरेको जानकारी दिए।

त्यस बेला आफूले रिक्सा चलाउने गरेको र पछि राम्रो रोजगारीको निम्ति साउदी अरब पुगेको बताउँदै जखरानीले सम्पर्कविहीन भएको केही समयपछि सामाजिक सञ्जालबाट आफ्नी पत्नी भारतमा गिरफ्तार भएको थाहा पाएको जनाएका छन्।

पाकिस्तान नफर्किने अडान

नेपाल हुँदै भारत पुग्न सीमाले अचल सम्पत्ति पनि बेचेको विवरण सार्वजनिक भएको छ।

पक्राउ परेपछि पनि उनले सचिनलाई प्रेम गर्ने बताउँदै पाकिस्तान नफर्किने अडान व्यक्त गरेकी छन्।

उनले भनेकी छन्, “म सबै कुरा त्यागेर आएकी छु, म सचिनलाई निकै प्रेम गर्छु, म उनीसँग विवाह गर्छु।”

सचिनले पनि अब आफूहरूको विवाह गराइदिन सरकारसँग माग गरेका छन्।

समाचारहरूका अनुसार परिवारका सदस्यहरूले पाकिस्तानी युवतीसँगको प्रेमबारे सुइँको पाएपछि उनलाई सम्झाएका थिए। आफूहरू गरिब भएकाले समस्या पर्न सक्ने बताउँदै सम्झाएको विवरणहरूमा उल्लेख छ।

तर गिरफ्तारीपछि पनि सचिनले संवाददाताहरूसँग भने, “हामी एकअर्कालाई प्रेम गर्छौँ, सरकारले विवाह गराइदिनुपर्छ, हामीलाई घरजम गर्न दिनुपर्छ।”

भारतमा सुरक्षाबारे कस्तो चिन्ता

सचिनले सीमा भारत पुगेपछि एउटा कोठा भाडामा लिएका थिए। प्रहरीले खोजी गरिरहेको सूचना पाएपछि उनीहरूले यही असार १६ गते (जुलाई १ तारिखमा) डेरा छाडेर निस्केको बताइएको छ।

प्रहरीले गोप्य सूचनाको आधारमा जुलाई ४ मा उनीहरूलाई हरियाणाको बल्लभगढबाट पक्राउ गरिएको जनाएको छ।

सचिनका बुवा पनि पक्राउ परेका छन्। उनीहरूविरुद्ध राहदानी र विदेशी नागरिक मामिला लगायतका कानुनअनुसार उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ।

नेपाल-भारत सीमा नाघेर प्रवेशाज्ञा नलिएकी पाकिस्तानी नागरिक आफ्नो देशमा पसेको विषयलाई लिएर भारतमा सुरक्षा चिन्तासँग जोडेर चर्चा गरेको पाइएको छ।

एनडीटीभीले अवकाशप्राप्त मेजर जेनरल पीके सहगलले युवतीका कागजपत्र, पूरा नाम र राहदानी जाँच नगरेर नेपालसँगको सीमामा खटिएका भारतीय सुरक्षाकर्मी चुकेको टिप्पणी गरेका छन्।

चार छोराछोरीका र आफ्नो समेत गरी सीमासँग पाँचवटा पाकिस्तानी राहदानी रहेको उल्लेख गर्दै उनी भन्छन्, “त्यो निकै ठूलो भुल थियो। त्यसको निकै ठूलो मूल्य हिन्दुस्तानले चुकाउनुपर्ने हुनसक्थ्यो।”

नेपाल र भारतका नागरिकले एकअर्काको देशमा आउजाउ गर्न भिसा लिनुपर्दैन।

स्थलमार्गमा रहेका प्रवेशबिन्दुहरूमा त एकअर्काका नागरिकको पहिचानको निम्ति कडाइ गरेको पाइँदैन। सीमावर्ती क्षेत्रका बासिन्दाहरूको बढी आवतजावत गरिने भएकाले पनि कडाइ व्यावहारिक नहुने अधिकारीहरू बताउँछन्।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले आफूलाई पाकिस्तानी युवतीबारे जानकारी नभएको र कसैले सोधखोज नगरेको बताए।

यसअघिको एउटा उस्तै घटना

यसअघि भारतका २१ वर्षीय मुलायम सिंह यादव र पाकिस्तानकी १९ वर्षीया इकरा जीवानीको प्रेम पनि चर्चामा आएको थियो।

सन् २०२० मा कोभिड महामारी फैलिएका बेला अनलाइन लुडो खेल्ने क्रममा चिनजान भएका उनीहरू प्रेममा परे।

सन् २०२२ को सेप्टेम्बर महिनामा उनीहरूले नेपालमा भेट गरे, नेपालमै बिहे गरे।

त्यसपछि उनीहरू कर्नाटक राज्यको राजधानी ब्याङ्लोर गएर बस्न थाले।

तर ज्यानुअरीमा उनीहरूको खुसीमा बज्रपात भयो। गैर कानुनी रूपमा भारत प्रवेश गरेको भन्दै जीवानीलाई हिरासतमा लिइयो।

यादव पनि पक्राउ परे। उनलाई जालसाजी गरेको र आवश्यक कागजपत्रबिनै विदेशी नागरिकलाई आश्रय दिएको अभियोग लगाइयो।

जीवानीलाई गत फेब्रुअरी महिनामा भारतबाट निष्कासन गरेर पाकिस्तान पठाइएको थियो।