भारत कोभिड-१९: पाकिस्तानीले भारतीयका लागि ट्विटरमार्फत् प्रार्थना गरेको आर्टिफिसियल इन्टेलिजेन्सले देखायो

    • Author, गीता पाण्डे
    • Role, बीबीसी न्यूज, दिल्ली

ऐतिहासिक प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खण्डित सम्बन्ध हालैका वर्षहरूमा सामाजिक सञ्जालमा जताततै छ्यालब्याल भएको कुरा सायद अचम्म लाग्दो छैन।

तर एप्रिलको अन्त्यमा कोभिड-१९ को दोस्रो लहरसँग भारत जुझिरहँदा दुवै देशका नागरिकले आफ्ना त्यो सम्बन्धका बीच समर्थनमा #IndiaNeedsOxygen र #PakistanStandsWithIndia जस्ता पोस्ट राखे।

विज्ञहरूका अनुसार भारतप्रति सदभाव जनाइएका त्यस्ता ह्यासट्यागहरूको अर्थ सधैँ सकारात्मक भन्ने नहुने स्पष्ट रहेको बताएका छन् - प्रयोगकर्ताले ती ह्यासट्याग धेरैजसो ट्रोलिङका क्रममा वा क्रिकेट खेलाडी वा बलिवुड कलाकारलाई जन्मदिनको शुभकामना दिन पनि प्रयोग गर्छन्।

तर आर्टिफिसियल इन्टेलिजेन्समार्फत् हजारौँ ट्वीटहरू हेरेर गरिएको एउटा अध्ययनले धेरै सङ्ख्यामा त्यस्ता ह्यासट्याग खासमा सकारात्मक रहेको देखाएको छ।

एप्रिल २१ देखि मे चारसम्म पाकिस्तानबाट गरिएको ट्वीटहरूको अध्ययन गरिएको थियो।

अमेरिकाको कार्नेगी मेलन विश्ववि्यालयका आशिकुर खुदाबक्सले नेतृत्व गरेको अनुसन्धानकर्ताहरूको टोलीले करुणा, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरिएका ट्वीटहरूको अध्ययन गरेको थियो।

उनीहरूले सबैभन्दा ट्रेन्डिङमा रहेका #IndiaNeedsOxygen, #PakistanStandsWithIndia र #EndiaSaySorryToKashmir लेखिएका तीन लाख ट्वीटहरू सङ्कलन गरे।

#EndiaSaySorryToKashmir लेखिएको ह्यासट्याग दुई देशको लामो समयदेखिको हिमाली क्षेत्रको विवादसँग सम्बन्धित छ। यी मध्ये ५५ हजार भन्दा बढी ट्वीटहरू पाकिस्तानबाट गरिएका थिए भने ४६ हजारभन्दा बढी भारतबाट गरिएका थिए।

त्यसबाहेक विश्वभरिबाट गरिएका थिए।

अनुसन्धानकर्ताहरूले त्यसपछि भाषा प्रशोधन गर्ने उपकरणको प्रयोग गरेर ती ट्वीटहरूको अध्ययन गरे। उनीहरूले ती पोस्टहरूमा प्रार्थना, सहानुभूति, पीडा वा ऐक्यबद्धतालगायतका शब्दहरूको पहिचान गर्न संरचनाहरू हेरे।

उनीहरूको अध्ययनले पाकिस्तानमा सुरुमा बनाइएका ह्यासट्यागहरूमा समर्थन अत्यधिक गरिएका ट्वीटहरू पाइयो। र त्यसमा उल्लेख्य रूपमा लाइक्स आएको थियो र रिट्वीट पनि धेरै गरिएको थियो।

उनीहरूको अध्ययनले ट्वीटहरूलाई थप व्याख्या गर्ने विधि अपनायो र त्यसले सकारात्मक ट्वीटहरू छिट्टै पत्ता लगाउन सहज बनायो।

"हाम्रो अनुसन्धानले मानिसहरूले भावना व्यक्त गर्दा कसरी सार्वभौमिकता देखाउँछ भन्ने देखायो। बिना विधि खोज्ने हो भने पनि त्यतिबेला ४४ प्रतिशत सकारात्मक ट्वीटहरू भेटिन्छ। हाम्रो विधिले त्यो समयमा ८३ प्रतिशत सकारात्मक ट्वीटहरू भएको देखायो," खुदाबक्सले भने।

एप्रिलको अन्तिम र मे महिनाको सुरुमा भारतीय अस्पतालहरूमा अक्सिजनको अभावमा मानिसहरूले ज्यान गुमाइरहँदा, शय्या चरम रूपमा अभाव हुँदा र चौबिसै घण्टा शवदाह गृह व्यस्त हुँदा दुई देशको सीमा वारपारका मानिसले उल्लेख्य रूपमा समर्थन र ऐक्यबद्धता जनाएका थिए।

पाकिस्तानमा पनि महामारी गम्भीर बन्दै गएका कारण त्यस्तो भएको हुनसक्ने एउटा कारण रहेको लहोरमा इतिहास पढाउने प्राध्यापक अरिफा जेहरा बताउँछिन्।

"यहाँको अवस्था पनि नराम्रो थियो, हाम्रो आशा झिनो बन्दै गएको थियो। हाम्रो शत्रु उही हो, हाम्रा सीमाहरू धेरै नजिक छन् र जे भए पनि त्यसको असर हामीलाई पनि पर्छ।"

तर सकारात्मक सन्देशहरू देख्दा त्यसले आफूलाई "न्यानो महसुस भएको - अझै हामी मानव नै छौँ भन्ने सबैभन्दा ठूलो आश्वासन मिलेको" उनले बताइन्।

"महामारीले सीमा चिन्दैन, चाहे त्यो भौगोलिक होस् वा वैचारिक. जब कालो बादलले घेर्छ, प्रार्थना बढ्नुमा कुनै हानी छैन।"

र पाकिस्तानी ट्विटर प्रयोगकर्ताले पनि त्यही गरेका हुन्।

"हाम्रो प्रार्थना र सहानुभूति तिमीहरूलाई छ। हामी छिमेकी हौँ शत्रु होइनौँ," एउटा ट्विटर प्रयोगकर्ताले लेखेका छन्:

"हामी छिमेकी हौँ शत्रु होइनौँ। हामी प्रतिद्वन्द्वी हौँ विरोधी होइनौँ। हामीबीच सीमा छ तर हृदयबीच छैन," अर्का प्रयोगकर्ताले लेखेका छन्:

"हाम्रो छिमेकमा यस्तो अवस्था देख्दा निकै दुख लागेको छ। पाकिस्तानबाट माया र प्रार्थना छ। यो महामारीमा अल्लाहले मानवताको रक्षा गरून्," अर्का एक प्रयोगकर्ताले लेखेका छन्:

खुदाबक्शले सकारात्मक सन्देशहरूको पहिचान र व्याख्या गर्ने आफूहरूको विधिले जनताको हौसला बढाउन मद्दत गर्ने र देशहरू र समुदायबीचको सम्बन्ध पनि सुधार्ने बताए।

"महामारीजस्तो राष्ट्रिय स्वास्थ्य सङ्कटबाट देश गुज्रिँदा व्यक्त भएका आशाका शब्दले औषधिको काम गर्नसक्छ। यस्तो बेला तपाईँले नकारात्मकता देख्न चाहनुहुन्न।"