बन्धक छुटाउने सहमति गर्न र गाजा युद्ध अन्त्यको माग गर्दै इजरेलमा हडताल, हजारौँ मानिसको जुलुस

भिडिओ क्याप्शन सुरु हुँदैछ, भिडिओः बन्धक मुक्तिका लागि सम्झौता गर्न र युद्ध अन्त्य गर्न माग गर्दै इजरेलमा प्रदर्शनकारीहरूले बाटो बन्द गरेका छन्
    • Author, आस्या रोबिन्स
    • Role, बीबीसी न्यूज

इजरेलमा हजारौँ मानिसहरूले सडकमा ओर्लिएर इजरेल सरकारलाई गाजा युद्ध अन्त्य गर्न र हमासको नियन्त्रणमा भएका बाँकी बन्धकहरू छुटाउन सहमति गर्न माग गरेका छन्।

आइतवार देशव्यापी हडतालका बेला तेल अभिभस्थित 'बन्धक स्क्वाएर'मा अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा मानिसहरू भेला भएका थिए। उक्त प्रदर्शनका आयोजकहरूका अनुसार गाजा सिटीमा इजरेली नियन्त्रण कायम गर्ने सरकारको योजनाका कारण हमाससँग भएका झन्डै २० बन्धकको जीवन सङ्कटमा परेको छ।

विरोधप्रदर्शनका क्रममा आयोजकहरूले केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालयहरू बन्द गराएका थिए। त्यस क्रममा झन्डै ४० जना पक्राउ परेका थिए।

तेल अभिभमा विरोधप्रदर्शनमा हजारौँ मानिस सहभागी भएको स्थानको हवाई दृश्य

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तेल अभिमस्थित 'बन्धक स्क्वाएर'मा हजारौँ मानिस भेला भएका थिए

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उक्त प्रदर्शनको आलोचना गरेका छन्। त्यस्तो कदमबाट "हमासको नीतिलाई बल पुग्ने" र बन्धकहरूको मुक्तिमा विलम्ब हुने उनको दाबी छ।

अतिदक्षिणपन्थी इजरेली मन्त्री बेट्सालेल स्मोट्रिचले पनि विरोधप्रदर्शनको आलोचना गरेका छन्। उनले त्यस्ता गतिविधिलाई "हमास लाभान्वित हुने हानिकारक अभियान"को सङ्ज्ञा दिएका छन्।

बन्धकका परिवार र युद्ध अझ चर्काउने योजनाको विरोधमा भएका मानिसहरूले राष्ट्रव्यापी हडताल आह्वान गरेका थिए।

बन्धक मटानकी आमा एनाभ जान्गाउकरका अनुसार उनी आफू संलग्न बन्धक तथा बेपत्ता परिवार फोरमले "बृहद् र व्यावहारिक सहमति र युद्ध अन्त्य हुनुपर्ने" माग गरेको बताइन्।

'अर्थहीन लडाइँ'

हमासले बन्धक बनाएका आफ्ना छोरा मटानको तस्बिर बोकेर जुलुसमा सहभागी उनकी आमा एनाभ जान्गाउकर

तस्बिर स्रोत, JACK GUEZ/AFP via Getty Images

"हामी आफ्नो अधिकार भएको कुरा माग्दै छौँ - हाम्रा सन्तान," तेल अभिमको भेलालाई सम्बोधन गर्दै जान्गाउकरले भनिन्।

"इजरेल सरकारले न्यायोचित युद्धलाई अर्थहीन लडाइँ बनाइदिएको छ।"

छोरा मटान देखिने भिडिओ सार्वजनिक भएपछि उनी बोलेकी हुन्।

"छटपटी भएर मेरो छाती पोल्छ। मटानका कारण मेरो पूरै मुटु पोलेको छ। मटान, म र पूरै देश - हामी तिमी र सबै बन्धकका लागि आफूले गर्न सक्ने सबै कुरा गर्दै छौँ," उनले भनिन्।

युद्धसम्बन्धी मामिला हेर्ने इजरेलको मन्त्रिपरिषद्ले गाजा सिटीलाई कब्जामा लिने र त्यहाँ बसोबास गर्ने मानिसहरूलाई विस्थापित गर्ने निर्णय गरेको एक सातापछि इजरेलमा चर्को विरोधप्रदर्शन भएको हो। संयुक्त राष्ट्रसङ्घले पनि उक्त निर्णयको निन्दा गरिसकेको छ।

इजरेलको निर्णयलगत्तै गाजा सिटीको दक्षिणी भागमा अवस्थित जैतूनबाट हजारौँ मानिसहरू अन्यत्र गएका छन्। त्यहाँ इजरेलले कैयौँ दिन गरेको बमबारीका कारण "विनाशको" अवस्था उत्पन्न भएको हमासको नेतृत्वमा सञ्चालित नगरपालिकाले बीबीसीलाई बताएको छ।

इजरेली बन्धक र तिनका परिवार एवम् शुभेच्छुकले गरेको राष्ट्रव्यापी हडतालका बेला तेल अभिभमा प्रदर्शनकारीहरूको भिड देखिने तस्बिर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, तेल अभिभस्थित 'बन्धक स्क्वाएर' तिर जाने सडकहरू खचाखच भरिएका थिए

गाजाको नागरिक प्रतिरक्षा निकायका अनुसार आइतवार गाजा क्षेत्रमा शनिवार इजरेलले गरेका आक्रमणहरूमा परेर कम्तीमा ४० जनाको मृत्यु भएको थियो।

हमासद्वारा प्रकाशित एउटा विज्ञप्तिमा "इजरेली सैनिकहरूले गाजा सिटीका पूर्वी र दक्षिणी भेगमा, विशेष गरी जैतूनमा निरन्तर हमला गरेको" उल्लेख छ।

गाजावासीलाई विस्थापित गर्ने इजरेली योजना

इजरेली सेनाले सहायता वितरण गर्ने निकायहरूलाई गाजामा पाल ल्याउन फेरि दिने जनाएको छ।

"लडाइँ भइरहेका क्षेत्रबाट सर्वसाधारण मानिसहरूलाई उनीहरूको सुरक्षाका लागि दक्षिणी गाजा स्ट्रिपमा सार्ने तयारीका लागि गाजामा पाल र आश्रयस्थलसँग सम्बन्धी उपकरणहरूको आपूर्ति फेरि सुरु हुने छ," इजरेली सेनाको निकाय कोग्याटले भनेको छ।

इजरेलले गाजा सिटीबाट हजारौँ मानिसलाई बलपूर्वक हटाएर दक्षिणमा भएका शिविरमा पठाउने योजना बनाएको छ। तर उसले उक्त योजना कार्यान्वयन गर्न कहिले आफ्ना सैनिकहरू गाजामा प्रवेश गर्छन् भनेर मिति तोकेको छैन।

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहू ७ अक्टोबरदेखि नै पूरै गाजा सिटी इजरेलको कब्जामा हुनुपर्छ भन्ने पक्षमा भएको बताइएको छ।

प्रदर्शनकारीहरू तेल अभिभमा एउटा सडक बन्द गराउने प्रया गर्दै

तस्बिर स्रोत, Getty Images

राष्ट्रसङ्घका अनुसार गाजाबाट १९ लाख जना अर्थात् त्यहाँ बसोबास गर्नेमध्ये ९० प्रतिशत मानिस विस्थापित भइसकेका छन्।

राष्ट्रसङ्घले गाजामा कुपोषण व्यापक रूपमा फैलिएको जनाएको छ। गत महिना विज्ञहरूले एउटा प्रतिवेदनमा गाजा स्ट्रिपमा "भयानक अनिकाल"को अवस्था उत्पन्न भएको चेतावनी दिएका थिए।

सन् २०२३ मा ७ अक्टोबरका दिन इजरेलका विभिन्न स्थानमा हमासले गरेको अप्रत्याशित आक्रमणमा परी १,२०० जनाजतिको मृत्यु भएपछि तथा २५१ जनालाई बन्धक बनाएर लगेपछि इजरेलले गाजामा धावा बोलेको थियो।

इजरेलले गरेको सैन्य कारबाहीमा परेर अहिलेसम्म ६१,००० जनाभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको हमासद्वारा गाजामा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रसङ्घले पनि उक्त सङ्ख्यालाई मान्यता दिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।