गाजामा इजरेलले नियोजित तरिकाले गैरसैनिक मानिसका हजारौँ घरहरू ध्वस्त बनाउँदै

"मार्च महिनामा युद्धविरामबाट पछि हटेपछि गाजामा इजरेलले हजारौँ भवन भत्काएको छ। लाखौँ मानिस बसोबास गर्ने सहरहरू र तिनका बाह्य भागहरू विगत केही सातामा पूरै ध्वस्त भएका छन्।
स्याटलाइटबाट प्राप्त तस्बिरहरूले इजरेली सेनाले आफ्नो "पूर्ण नियन्त्रण" कायम भएको दाबी गरेका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको देखाउँछन्।
त्यसको ठूलो भाग योजनाबद्ध तरिकाले भत्काइएको हो - पहिल्यै भत्किएका र लगभग सग्लै रहेका भवनहरू पनि।
आधिकारिताका पुष्टि गरिएका भिडिओमा इजरेली सैनिकहरूले अग्ला आवासीय भवनहरू, विद्यालयहरू र अन्य संरचनालाई योजनाबद्ध रूपले भत्काउँदा ठूलाठूला विस्फोटनहरू भएका र तिनबाट धुलोको मुस्लो र अन्य अवशेष निस्किएको देखिन्छ।
धेरै कानुनविद्हरूले बीबीसी भेरिफाईलाई इजरेलले 'जिनिभा महासन्धि'अन्तर्गत युद्ध अपराध गरेको हुन सक्ने बताए। उक्त अन्तर्राष्ट्रिय सन्धिले कुनै भूभागमा नियन्त्रण कायम गर्ने शक्तिलाई भौतिक पूर्वाधार नष्ट गर्न निषेध गरेको छ।
इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)का एक प्रवक्ताका अनुसार इजरेली सेनाले अन्तर्राष्ट्रिय कानुनअनुरूप नै काम गरेको छ। उनले बरु हमासले गैरसैनिक क्षेत्रमा "सैन्य सामग्री" लुकाएको र "निकै महत्त्वपूर्ण सैन्य आवश्यकता हुँदा मात्र त्यसरी भौतिक सम्पत्ति नष्ट गरिएको" बताए।"
जुलाईमा इजरेलका रक्षामन्त्री इजरेल काट्सले रफाहको भग्नावशेषमाथि एउटा “मानवीय सहायता सहर” निर्माण गर्ने योजना प्रस्तुत गरेका थिए। त्यहाँ ६ लाख प्यालेस्टिनीलाई राखिने उनको भनाइ थियो।
उक्त योजनाको चौतर्फी निन्दा भएको छ। इजरेलका भूतपूर्व प्रधानमन्त्री एहुड ओल्मेर्टले बीबीसीलाई उक्त प्रस्तावलाई “यातना शिविरसरह मानिने” बताए।




तेल अल-सुल्तान रफाह सहरस्थित एक चहलपहल भइरहने बस्ती थियो। निकै भिडभाड हुने यो क्षेत्रमा रफाहको एकमात्र प्रसूति अस्पताल र टुहुरा एवं परित्यक्त बालबालिकाका लागि स्याहारकेन्द्र थिए।

इजरेलले गरेको बम हमला तथा गोलाबारीका कारण यो क्षेत्रको ठूलो भागमा पहिला नै धेरै क्षति भइसकेको स्याटलाइट तस्बिरहरूमा देखिन्छ। तर केही दर्जन भवनहरू भने जोगिएका थिए।
तर १३ जुलाईतिर विध्वंस गर्ने क्रम बढ्यो। भत्केका भवनहरूका बाँकी भाग पनि ढालियो र सबै कुरा माटोमा मिल्यो। बाँकी भएका केही भवनमध्ये एउटा अस्पलाल चाहिँ छ।
छिमेकमा रहेको अर्को भागमा अहिले भवनहरू भत्काउने काम भइरहेको छ। साउदी नामक त्यो भेगमा पहिला सहरकै ठूलो मस्जिद र केही विद्यालयहरू थिए।
आधिकारिकता पुष्टि गरिएको एउटा भिडिओ क्लिपमा रफाहमा 'डिगर' प्रयोग भइरहेको बेला सडकमा इजरेली सैनिकको ट्याङ्क गुडेको देखिन्छ।

गाजा स्ट्रिपमा पहिला भएका बमबारीहरूमा खासै ठूलो क्षति नपुगेका अरू भागमा पनि इजरेलले भवनहरू भत्काएको देखिन्छ।
खेतीपाती गरिने खुजा सहर इजरेलसँगको सीमाबाट १.५ किमि मात्र टाढा छ।
युद्ध सुरु हुनुभन्दाअघि त्यहाँ ११,००० मानिसको बसोबास थियो। त्यो ठाउँ उर्वर खेत तथा गोलभेँडा, गहुँ र जैतुनका लागि प्रसिद्ध थियो।


आईडीएफ खुजामा आफूले १,२०० वटा भवन भत्काएको र ती सबै हमासद्वारा सञ्चालित "आतङ्क फैलाउने संरचना" भएको बताउँछ।
नजिकैको आब्सन अल-कबिरा सहरबाट पनि त्यस्तै विवरण आएको छ। युद्ध सुरु हुनुअघि उक्त सहरमा २७,००० मानिस बस्थे। ३१ मे र ८ जुलाईमा खिचिएका तस्बिरहरूले त्यहाँ ठूलो क्षेत्र मात्र ३८ दिनको अवधिमा भत्काइएको सङ्केत गर्छन्।

इजरेलले गाजाका विभिन्न भागलाई छुट्ट्याएर धेरै ठाउँमा "सुरक्षा क्षेत्र" र कोरिडोर बनाएको छ। उसले ती मार्गमा र छेउछाउमा भएका धेरै भवनहरू भत्काइदिएको छ। इजरेलले बनाएको एउटा कोरिडोरले पश्चिमी खान यूनिसलाई खुजा र आब्सन अल-कबिरासहित पूर्वी खान यूनिसबाट छुट्ट्याइदिएको छ।
सुरुमै युद्ध विश्लेषकहरूले इजरेलले सीमानजिकै भएका भवनहरू भत्काएर फराकिलो "बफर जोन" बनाउने प्रयास गर्न थालेको बताएका थिए। तर अहिले ध्वस्त पारिएका क्षेत्रहरू गाजाका भित्री भागमा छन्।
इजरेली सीमाबाट सात किलोमिटर टाढा अवस्थित कैजान अबु रश्वानमा खेतीपाती र बस्ती थियो। तर १७ मेपछि त्यहाँ भएका लगभग सबै भौतिक संरचना भत्काइएको छ। हामीले आधिकारिकता पुष्टि गरेको एउटा भिडिओमा एउटा क्षेत्रमा नियोजित विस्फोटन गरेर आवासीय भवनहरू भत्काएको देखिन्छ।
बीबीसी भेरिफाईले आईडीएफलाई भवनहरू भत्काइएको विवरणका आधारमा विभिन्न स्थानहरू उल्लिखित एउटा सूची दिएर कुनै सैन्य औचित्य भए त्यो खुलाइदिन अनुरोध गर्यो। तर उसले त्यसको औचित्य पुष्टि गर्ने जबाफ दिएन।
"धेरै पटक जानकारीमा आए झैँ हमास र अन्य आतङ्ककारी सङ्गठनहरूले बाक्लो बस्ती भएका गैरसैनिक क्षेत्रहरूमा सैन्य सामग्रीहरू लुकाउँछन्," आईडीएफका एक प्रवक्ताले भने। "आईडीएफले अरू ठाउँमा जस्तै ती क्षेत्रका भवनहरूमा र अन्यत्र भएका आतङ्ककारी संरचनाहरू पहिचान गर्छ र भत्काउँछ।"

बीबीसी भेरिफाईसँग कुरा गर्दै केही मानव अधिकारवादी वकिलहरूले उक्त अभियान युद्ध अपराधसरह हुने बताए।
डायकोनिया इन्टरन्याश्नल ह्यूमेनिटेरिअन ल सेन्टरसँग आबद्ध कानुनविद् एटान डाइमन्डका अनुसार चौथो जिनिभा महासन्धिका आधारमा उक्त कार्यको औचित्य अलिकति पनि पुष्टि गर्न सकिँदैन। उक्त महासन्धिले युद्धकालमा सर्वसाधारण नागरिकहरूको रक्षाको विषय समेट्छ।
“अन्तर्राष्ट्रिय मानवीय कानुनले सशस्त्र द्वन्द्वका बेला नागरिक सम्पत्ति त्यसरी नियोजित रूपमा विनाश गर्न प्रतिबन्ध लगाएको छ, अत्यावश्यक सैन्य उद्देश्य पूर्तिका लागि नगरी नहुने हुने सीमित परिस्थितिमा बाहेक,” डाइमन्डले भने।
"भविष्यमा प्रयोग हुन सक्छ भन्ने चिन्ता वा अनुमानका कारण (उदाहरणका लागि, भविष्यमा आक्रमण गर्न प्रयोग हुन सक्छ भनेर) सम्पत्ति विनाश गर्नु त्यस्तो अपवादभित्र पर्दैन।”
अक्स्फर्ड इन्स्टिट्यूट फोर एथिक्स, ल एन्ड आर्म्ड कन्फ्लिक्टकी सहनिर्देशक प्राध्यापक जनिना डिलका अनुसार कुनै भूभाग आफ्नो अधीनमा लिने पक्षले त्यहाँ बसोबास गर्ने मानिसहरूका लागि एउटा क्षेत्र छुट्ट्याउनुपर्छ। तर “सो क्षेत्रलाई बसोबासका लागि अयोग्य बनाउने र केही पनि बाँकी नराखी सबै कुरा ध्वस्त पार्ने सैन्य शैलीसँग” त्यो नमिलेको उनले बताइन्।
तर केही विश्लेषकहरूले आईडीएफको अभियानको प्रतिरक्षा गरेका छन्।
आईडीएफले ढालेका धेरै भवनहरू गोलाबारी र हवाई हमलाका कारण खण्डहरका रूपमा मात्र बाँकी रहेको तर्क इजरेलस्थित बीईएसए सेन्टर फोर स्ट्रटीजिक स्टडिजका निर्देशक एटान शमिरको छ। उनी इजरेलको रणनीतिक मामिला मन्त्रालयका भूतपूर्व अधिकारी पनि हुन्। उनले बीबीसी भेरिफाईलाई ती संरचनाका कारण फर्केर आउने नागरिकहरूलाई विशेष गरी “हिउँदे बर्खाका बेला ढल्ने सम्भावना बढी भएकाले” खतरा भएको बताए।
प्राध्यापक शमिरले अन्य रणनीतिक चासोतिर पनि सङ्केत गरे।
“त्यो युद्ध क्षेत्र हो,” उनले भने। “आईडीएफले कुनै भवनमा गएर त्यसलाई खाली गरायो भने पनि इजरेलीहरू गइसकेपछि आतङ्ककारीहरू त्यहाँ फर्किएर बम राख्छन् वा उनीहरूलाई गोली हान्न त्यहाँभित्र लुक्छन्।"
भवन भत्काउने क्रम रोकिने छाँटकाँट कतै देखिँदैन। केही साताअघि इजरेली सञ्चारमाध्यममा आईडीएफले अमेरिकाबाट दर्जनौँ डी९ बुल्डोजर प्राप्त गरेको विवरण प्रकाशित भयो। यसअघि बाइडन प्रशासनले ती बुल्डोजर पठाउने योजना स्थगित गरेको थियो।
बीबीसी भेरिफाईले इजरेली फेसबुक ग्रूपहरूमा गाजामा भवन भत्काउनका लागि ठेक्का दिन विज्ञापन गरिएका दर्जनौँ पोस्ट भेटेको छ। त्यस्ता अधिकांश पोस्टहरू विज्ञापनदाताले मे महिनादेखि शेअर गरेका हुन्।

धेरै विज्ञापनले गाजामा कहाँ काम गर्नुपर्ने हो त्यो पनि खुलाएका छन्। जस्तै, “फिलाडेल्फिया कोरिडोर” र “मोराग एक्सिस”। यी दुवै क्षेत्रमा आईडीएफको नियन्त्रण कायम छ।
बीबीसी भेरिफाईले प्रतिक्रियाका लागि सम्पर्क गरेका एक ठेकेदारले यस्तो जबाफ दिए: “जाओ, तिमीहरू आफू र गाजालाई [अशिष्ट शब्द] गर।”

रट्गर्स ल स्कूलसँग आबद्ध अदिल हक आवासीय भवनहरू भत्काएर आईडीएफले "सुरक्षा क्षेत्र" बनाउन र त्यहाँ अन्ततः "स्थायी नियन्त्रण" कायम गर्न खोजेको ठान्छन्।
अरू विश्लेषकहरू रफाहमा प्रस्तावित "मानवीय सहायता सहर" निर्माण गर्नका लागि जमिन खाली गर्न भवनहरू भत्काइएको हुन सक्ने बताउँछन्। जेरुसलेम इन्स्टिट्यूट फोर स्ट्रटीजिक एन्ड सिक्युरिटीका अध्यक्ष एफ्राइम इन्बार प्यालेस्टिनीहरूमा "बसाइँ सर्ने बलियो चाहना" राख्न बाध्य पारेर गाजा स्ट्रिप पूरै खाली गराउने इजरेलको उद्देश्य हुन सक्ने बताउँछन्।
केही इजरेली सांसदहरूसँगको एउटा बैठकमा इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आईडीएफले "बढीभन्दा बढी घरहरू भत्काइरहेको" र प्यालेस्टिनीहरूलाई "फर्केर जाने ठाउँ" बाँकी नराखेको बताएका थिए। त्यसबारे इजरेली सञ्चारमाध्यममा विवरणहरू प्रकाशित भएका थिए।
गाजावासीका लागि यो विनाश निकै पीडादायक छ।
तेल अल-सुल्तानका मोअताज यूसेफ अहमद अल-आब्सीले आफूले पनि घर गुमाएको बताए।
"लडाइँ सुरु हुनुभन्दा एक वर्षअघि मात्र म घरमा सरेको थिएँ। भविष्यका सपना बुन्दै म निकै खुसी थिएँ। अहिले त्यो पूरै ध्वस्त भयो,” उनले भने।
"सबै कुरा गुम्यो। अब मसँग घर वा बस्नका लागि कुनै बास छैन।”
भिडिओ क्रेडिट
@YinonMagal/X, @Philipp27960841/X and Abu Ali Express/Telegram
थप रिपोर्टिङ :
मोहमद शालबी











