अन्तर्राष्ट्रिय कानुनलाई बेवास्ता गर्दै गाजामा इजरेल - पाँच महत्त्वपूर्ण प्रश्न र तिनका उत्तर

गाजामा भग्नावशेषबीच हिँडिरहेका बालकहरू

तस्बिर स्रोत, Getty Images

    • Author, मारिआ जकारो
    • Role, बीबीसी विश्व सेवा

इजरेली सरकारले गाजामा सैन्य कारबाही विस्तार गर्ने र थप भूभागमा नियन्त्रण कायम गर्ने एउटा नयाँ योजना पारित गरेको छ।

प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेली सुरक्षा परिषद्‍ले हमासलाई नष्ट गर्न र आफ्ना बाँकी बन्धकहरूको उद्धारका निम्ति 'सशक्त कारबाही' चलाउने निर्णय गरेको बताए। त्यस क्रममा त्यहाँको २१ लाख जनसङ्ख्यालाई 'सुरक्षार्थ अन्यत्र स्थानान्तरण गरिने' बताइएको छ।

उक्त निर्णयसँगै त्यसको परिणामबारे अन्तर्राष्ट्रिय स्तरमा बहस र चिन्ता पैदा भएको छ।

गाजाका निम्ति इजरेलको योजना के हो?

आइतबार इजरेली सुरक्षा परिषद्‍द्वारा पारित प्रस्तावमा गाजामाथि 'कब्जा' जमाउने, भूभागहरू नियन्त्रणमा लिने, हमासविरुद्ध 'शक्तिशाली हमला गर्ने' र उक्त समूहलाई मानवीय आवश्यकताका सामग्रीहरू वितरण गर्ने क्षमताबाट वञ्चित गर्ने लगायतका योजना समाविष्ट छन्।

विस्तारित अभियानअन्तर्गत हवाइ हमला र सैन्य कारबाहीले निरन्तरता पाउने हुँदा अधिकांश प्यालेस्टिनीहरू दक्षिणी गाजातर्फ स्थानान्तरित गरिने छन्।

इजरेली सञ्चारमाध्यममा आएका विवरणहरूका अनुसार उक्त योजनाको पहिलो चरणमा गाजाका अतिरिक्त क्षेत्र नियन्त्रणमा लिने तथा सीमा क्षेत्रमा इजरेलद्वारा निर्धारित 'मध्यवर्ती क्षेत्रहरूको' विस्तार गर्ने कुरा सामेल छन्।

उक्त प्रस्तावमा निजी कम्पनीहरूमार्फत् सहायता सामग्री पुर्‍याउने योजना समेत समेटिएको छ। त्यसले त्यहाँ दुई महिनादेखि चलिराखेको नाकाबन्दीलाई समाप्त गर्ने छ। संयुक्त राष्ट्रसङ्घले नाकाबन्दीका कारण गाजामा गम्भीर खाद्यसङ्कट भएको बताएको थियो।

आलोचकहरूले सैन्य कारबाही बाँकी रहेका ५९ जना बन्धकको रिहाइ सुनिश्चित गर्न विफल भएको बताएका छन्। तीमध्ये २४ जना जीवितै भएको ठानिएको छ। उनीहरूले सरकारलाई हमाससँग सम्झौताको पहल गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री नेतन्याहूले सेनाले कति भूभाग कब्जामा लिने छ भन्ने नबताए पनि "उनीहरू केवल प्रवेश गरेर निस्किहाल्ने" खालका नहुनेमा जोड दिए।

उक्त योजना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यपूर्व भ्रमण (१३–१६ मे) अघि कार्यान्वयन नहुने ठानिएको छ। ट्रम्पको भ्रमणलाई हमासका निम्ति नयाँ युद्धविराम तथा बन्धक रिहाइसम्बन्धी सम्झौता गर्ने 'अवसर'का रूपमा व्याख्या गरिएको छ।

भोकमरीको त्रास किन उत्पन्न भयो?

गाजा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इजरेली योजनामा प्यालेस्टिनीहरूलाई दक्षिणी गाजामा सार्ने योजना समाविष्ट छ

हालै घोषित उक्त योजनाले पुन: एकपटक त्यस क्षेत्रमा भोकमरीको भय उत्पन्न गराएको छ।

मार्च २ मा इजरेलले गाजा आउजाउ गर्ने सबै नाकाहरू बन्द गरिदियो। त्यसले खानेकुरा, इन्धन र औषधिसहितका सम्पूर्ण वस्तुहरूको प्रवेश रोकियो। त्यसको दुई सातापछि उसले हमाससँगको दुई महिनादेखिको युद्धविराम अन्त्य गर्दै सैन्य कारबाही सुरु गर्‍यो।

हमासको कब्जामा रहेका बाँकी बन्धकहरूलाई रिहा गर्न दबाव दिने उद्देश्यले इजरेलले ती कदमहरू चालेको बताइन्छ।

तर नाकाबन्दी हटाउन इजरेलमाथि अन्तर्राष्ट्रिय दबाव बढ्दै गइरहेको छ। नाकाबन्दीले आम स्तरमा भोकमरी पैदा गर्न सक्ने र सर्वसाधारणलाई नियतवश भोकमरीको स्थितिमा पार्नु युद्धअपराध हुने चेतावनी दिइएको छ।

हालै संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम र प्यालेस्टिनी शरणार्थीका निम्ति राष्ट्रसङ्घीय निकाय 'यूएनआरडब्ल्यूए'ले आफ्नो खाद्य सहायताका भण्डारहरू रित्तिएको जनाएका छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार गोदामहरू रित्तिँदा, बेकरीहरू बन्द हुँदा र सामुदायिक भान्साघरहरू आपूर्तिविहीन हुन केही दिन मात्रै बाँकी हुँदा त्यहाँका मानिससामु भोकमरी र कुपोषणको भय पुन: पैदा भएको छ।

त्यहाँको स्वास्थ्य प्रणालीलाई आवश्यक पर्ने महत्त्वपूर्ण औषधिहरू, खोप तथा मेडिकल उपकरणहरूको आपूर्ति पनि नाकबन्दीका कारण रोकिएका छन्।

तर इजरेलले निरन्तर उक्त क्षेत्रमा सहायताको अभाव नभएकोमा जोड दिँदै आएको छ।

इजरेलले हमासमाथि मानवीय सहायता सामग्रीहरू लुटेर आफ्ना लडाकुहरूका निम्ति भण्डारण गर्नुका साथै रकमका निम्ति बेचेको आरोप लगाएको छ। तर राष्ट्रसङ्घ तथा अन्य निकायहरूले भने खाद्यान्य अन्यत्र गएको भन्ने आरोपलाई अस्वीकार गर्दै आफूसँग प्रभावकारी अनुगमन संयन्त्र भएको जनाएका छन्।

निजी कम्पनीहरूमार्फत् सहायता पुर्‍याउने नयाँ घोषणापछि राष्ट्रसङ्घ तथा अन्य सहायता निकायहरूले उक्त प्रस्तावले आधारभूत मानवीय सिद्धान्तको उल्लङ्घन गर्ने भन्दै त्यसमा सहयोग नपुर्‍याउने बताएका छन्।

अनिकालबारे अन्तर्राष्ट्रिय कानुन के भन्छ?

कुनै पनि देशमा मानिसले गम्भीर खाद्य सङ्कटका कारण डरलाग्दो कुपोषण, भोकमरी र मृत्युसम्मको सामना गर्नुपर्ने स्थितिलाई अनिकाल भनिन्छ।

सामान्यत: सम्बन्धित देशको सरकार तथा प्राय: अन्तर्राष्ट्रिय सहायता सङ्गठन तथा मानवीय निकायहरूसँग मिलेर राष्ट्रसङ्घले त्यस्तो स्थितिको घोषणा गर्ने गर्छ।

उक्त कार्य एकीकृत खाद्य सुरक्षा चरणको वर्गीकरण (आईपीसी) भनिने राष्ट्रसङ्घीय मानकका आधारमा तय गरिन्छ।

यसले पाँच चरणका गम्भीरताका आधारमा सम्बन्धित देशले भोगेको खाद्य अभाव वा असुरक्षाको स्थितिलाई वर्गीकरण गर्छ। त्यसको पाँचौँ वा सबैभन्दा खराब स्थिति भनेको अनिकाल हो।

औपचारिक रूपमा अनिकालको घोषणा हुनका निम्ति उक्त निश्चित भौगोलिक क्षेत्रमा यी कुराहरू भएको हुनुपर्छ:

  • कम्तीमा २० प्रतिशत घरपरिवारमा खानेकुराको गम्भीर अभाव भएको
  • कम्तीमा ३० प्रतिशत बालबालिकामा गम्भीर कुपोषण देखिएको
  • गम्भीर भोकमरी वा कुपोषण र रोगको पारस्पारिक प्रभावका कारण प्रति १० हजार मानिसमध्ये दिनहुँ दुई वयस्क र चार बालबालिकाको मृत्यु हुने गरेको

जिनीभा सम्मेलनले निर्धारण गरेको अन्तर्राष्ट्रिय कानुनअनुसार युद्धविधिका रूपमा सर्वधारणलाई भोकमरीको स्थितिमा पार्ने कार्य प्रतिबन्धित छ।

संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार अन्तर्राष्ट्रिय कानुनअन्तर्गत इजरेल गाजाका मानिसका निम्ति आपूर्ति सुनिश्चित गर्न बाध्य छ, जहाँबाट लगभग सबैजसो मानिसहरू विस्थापित भएका छन्। इजरेलले भने आफूले अन्तर्राष्ट्रिय कानुनको पालना गरिराखेको र त्यहाँ सहायताको अभाव नभएको बताएको छ।

तर राष्ट्रसङ्घीय मानवीय निकाय 'ओसीएचए'ले सेना–नियन्त्रित केन्द्रहरूमार्फत् दक्षिणी गाजामा राहत आपूर्तिका निम्ति अनुमति दिने नवीन योजनाको निन्दा गर्दै उक्त कार्य सहायतालाई "जानीबुझी हतियार बनाउन गरिएको प्रयास"जस्तो प्रतीत भएको बताएको छ।

हमासका एक वरिष्ठ अधिकारीले इजरेलले गाजामा सबै किसिमका आपूर्ति रोक्ने कार्यलाई निरन्तरता दिएसम्म उक्त प्यालेस्टिनी समूह युद्धविरामसम्बन्धी वार्ताका निम्ति इच्छुक नभएको बीबीसीसँग बताएका छन्।

तथापि इजरेलले त्यहाँको स्थितिबारे अनुगमन भइराखेकोमा जोड दिएको छ।

रित्ता भाँडा बोकेर खानेकुरा थापिरहेका स्थानीय बासिन्दा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उक्त क्षेत्रमा भोकमरी फैलिने चिन्ता पैदा भएको छ

युद्धविरामका दौरान २५ हजारभन्दा धेरै लरीहरूमार्फत् लगभग चार लाख ५० हजार टन सामग्रीले गाजामा प्रवेश पाएको पनि बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै आफूले नेतन्याहूलाई "गाजाप्रति राम्रो व्यवहार हुनुपर्ने" भन्दै त्यहाँ अधिक खाना र औषधि जान दिन दबाव दिएको बताएका थिए।

त्यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन तर यो साताको प्रारम्भमा यूके, फ्रान्स र जर्मनीद्वारा "असह्य" भन्दै संयुक्त वक्तव्यमार्फत् 'नाकाबन्दी अन्त्य हुनुपर्ने' भनी गरेको आलोचनालाई इजरेलको विदेश मन्त्रालयले अस्वीकार गरेको थियो।

कसरी यो स्थिति आयो?

झन्डै १,२०० जनाजति मानिसको मृत्यु र २५१ अन्यलाई बन्धक बनाउँदै ७ अक्टोबर २०२३ मा हमासले सीमापार आक्रमण गरेलगत्तै जबाफस्वरूप इजरेलले हमासलाई नष्ट गर्न सैन्य अभियान चलायो।

त्यसयता गाजामा ५२ हजार ५६७ जना मानिसहरू मारिएका छन्। गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएअनुसार तीमध्ये दुई हजार ४५९ जना गाजाले पुन: कारबाही थालेयता मारिएका हुन्।

तीन चरणको युद्धविराम सम्झौतामध्ये ज्यानुअरीमा लागू भएको पहिलो चरणमा हमासले ३३ जना बन्धक छाड्दा इजरेलले १,९०० सय प्यालेस्टिनी बन्दी रिहा गर्नुका साथै गाजामा सहायता तथा अन्य वस्तुहरू छिर्न दियो।

लडाइँ रोकिँदा हजारौँ विस्थापितहरू घर फर्किए। त्यति हुँदासम्म हमास र इजरेलबीच दोस्रो चरणको सम्झौता लागू गर्नेबारे छलफल हुनै बाँकी थियो।

दुवै पक्ष दोस्रो चरणको वार्तामा सबै बन्धकहरूको रिहाइ तथा गाजाबाट सम्पूर्ण इजरेली शक्ति फिर्ता हुने विषय समावेश गर्न सहमत भएका थिए। त्यसले स्थायी रूपमा युद्ध रोकिने सुनिश्चित गर्थ्यो।

पहिलो चरणको युद्धविराम मार्च १ मा समाप्त भयो तर दोस्रो चरणको युद्धविरामको निम्ति भएको वार्तामा प्रगति हुन सकेन।

गाजा कति ठूलो छ र कसले नियन्त्रण गर्छ?

सन् २००७ देखि गाजामा हमासको शासन रहँदै आएको छ।

जम्मा ४१ किमि लामो र १० किमि चौडा उक्त भूमि इजरेल, इजिप्ट र भूमध्यसागरद्वारा घेरिएको छ।

इजरेल, अमेरिका तथा केही अन्य पश्चिमा सरकारहरूद्वारा आतङ्ककारी सङ्गठन घोषित हमासले सन् २००६ मा उक्त नियन्त्रित क्षेत्रमा भएको आमचुनावमा प्रतिद्वन्द्वी फतेहलाई परास्त गर्दै आफ्नो स्थितिलाई बलियो बनायो।

त्यसयता हमास र इजरेलबीच केही उल्लेख्य सङ्घर्षहरू भएका छन् जसमा सन् २००८–०९ तथा सन् २०१२ र २०१४ का सङ्घर्ष पनि पर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।