गाजा युद्धविरुद्ध हजारौँ इजरेली जगेडा सैनिक, नेतन्याहूमाथि चर्को दबाव

- Author, पोल एडम्स
- Role, बीबीसी न्यूज, जेरुसलेम
इजरेलले गाजामा युद्ध जारी राखेको छ तर त्यसविरुद्ध देशभित्रै आवाज उठिरहेको पनि छ।
हालैका साताहरूमा सेनाका सबै शाखासँग आबद्ध हजारौँ इजरेली जगेडा सैनिकहरूले प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको सरकारले लडाइँ बन्द गरेर हमासको कब्जामा रहेका बाँकी ५९ बन्धकलाई फिर्ता ल्याउन सम्झौता गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने माग गर्दै हस्ताक्षर गरेका छन्।
अठार महिनाअघि थोरै मात्र इजरेलीहरूले युद्धबाटै हमासलाई पराजित गरेर बन्धकहरूलाई फिर्ता गर्न सकिन्छ भन्नेमा शङ्का गरेका थिए।
धेरै जनामा गत ज्यानुअरीको युद्धविरामसँगै ३० भन्दा बढी बन्धकहरू फिर्ता भएपछि युद्ध चाँडै समाप्त हुने आशा पलाएको थियो।
तर मध्यमार्चमा उक्त युद्धविराम भङ्ग गर्दै इजरेलले फेरि युद्धकै बाटो रोजेपछी उनीहरूको आशा चकनाचुर भयो।
'गलत बाटो'

तस्बिर स्रोत, Getty Images
"हामी के निष्कर्षमा पुग्यौँ भने इजरेल धेरै खराब ठाउँमा जाँदै छ," इजरेलको जासुसी निकाय मोसादका पूर्व प्रमुख ड्यानी याटोमले मसँग भने।
"हामीलाई के थाहा छ भने मुख्यत: नेतन्याहूलाई चिन्तित पार्ने कुरा उनको आफ्नै स्वार्थ हो र उनको प्राथमिकताको सूचीमा उनको पहिलो स्वार्थ सरकारलाई स्थिर राख्नु हो, बन्धकहरू होइनन्।"
हालै हस्ताक्षर गर्नेहरूमध्ये धेरैजसो याटोमजस्तै प्रधानमन्त्रीका लामो समयदेखिका आलोचक हुन्।
केही व्यक्तिहरू ७ अक्टोबर २०२३ मा हमासले इजरेलमा आक्रमण गरेपछि युद्ध सुरु हुनुभन्दा अघि भएका सरकारविरोधी प्रदर्शनहरूमा संलग्न थिए। तर याटोम त्यस कारणले मात्र उनले सरकारको आलोचना गर्ने निर्णय नगरेको बताउँछन्।
"मैले मेरो नाममा हस्ताक्षर गरेँ र म कुनै राजनीतिक कारणले नभई राष्ट्रिय कारणले प्रदर्शनहरूमा भाग सहभागी भइरहेको छु," उनले भने, "मलाई मेरो देशले आफ्नो बाटो बिराउने हो कि भन्ने चिन्ता धेरै छ।"
'बन्धकको ज्यान जाने खतरा'
युद्धको विरोध गर्दै एप्रिलको सुरुमा प्रकाशित पहिलो खुलापत्रमा वायुसेनाका १,००० जगेडा सैनिकहरूले हस्ताक्षर गरेका थिए। "युद्धको निरन्तरताले कुनै पनि यसका घोषित लक्ष्यहरू हासिल हुँदैनन् र त्यसले बन्धकहरूको ज्यान जाने कारक बन्न सक्छ," उनीहरूले त्यसमा लेखेका छन्।
हस्ताक्षरकर्ताहरूले गाजामा जीवित रहेको ठानिएका २४ बन्धकहरूको पनि समय सकिनुअघि इजरेलीहरूले काम गर्नुपर्ने आह्वान गरेका छन्।
"हरेक दिन बित्दा उनीहरूको जीवन थप जोखिममा पारिरहेको छ। सङ्कोच मानिने प्रत्येक क्षण लाजमर्दो हुन्छ।"
त्यसपछिका प्रत्येक साताहरूमा सेनाका लगभग सबैजसो शाखाका जगेडा सैनिकहरूले यस्तै प्रकारका सन्देश व्यक्त भएका खुलापत्र लेखिएका छन्। त्यस्तो लेख्नेमा कतिपय सम्मानित कमान्डरहरू र गुप्तचरहरू पनि पर्छन्।
हालसम्म त्यस्ता १२,००० भन्दा बढी हस्ताक्षरहरू सङ्कलन भइसकेका छन्।
अक्टोबर ७ पछि धेरै जगेडा सैनिकहरूले लडाइँका लागि गरिएको आह्वान मानेका थिए, उनीहरूले सैन्य सेवा फर्किने उत्सुकता देखाएका थिए।
तर अहिले धेरैले युद्धमा जान अस्वीकार गरिरहेका छन्। विभिन्न विवरणहरूमा जनाइएअनुसार जगेडा सैनिकहरूको उपस्थिति आधाभन्दा बढीले घटेको छ।
'गलत सङ्कल्प'
इजरेली सेना युद्ध लड्न जगेडा सैनिकहरूमा धेरै निर्भर छ। उसका निम्ति अहिले सन् १९८२ मा इजरेलको पहिलो लेबनन युद्धपछि सबैभन्दा ठूलो सङ्कट उत्पन्न भएको हो।
मैले जेरुसलेम पार्कमा नाम खुलाउन नचाहने स्थलसेनाका एक जगेडा सैनिकालाई भेटेको थिएँ।
उनले गत वर्षको गर्मीमा गाजामा खटिएका उनी अब पुन: त्यसरी युद्धमा नजाने बताउँछन्। "ममा मेरा दाजुभाइ दिदीबहिनीहरूलाई सहयोग गर्न जानुपर्छ भन्ने भावना थियो," उनले भने।
"मलाई म केही राम्रो गरिरहेको छु भन्ने विश्वास थियो, जटिल तर राम्रो। अब म यसलाई उस्तै तरिकाले हेर्दिनँ।"
उनले गाजाका सुरुङमा बन्धकहरू मरिरहँदा पनि युद्ध जारी राख्ने दृढ सङ्कल्प गलत भएको बताए।

तस्बिर स्रोत, Getty Images
आलोचना
गाजामा रहँदा आफूले "मानिसले बन्न सक्ने सबैभन्दा राम्रो नैतिक सिपाही" बन्ने प्रयास गरेको उनले बताए।
तर आलोचकहरू युद्ध जति लामो हुन्छ, इजरेलका सरकारी अधिकारीहरूलाई उनीहरूको सेना संसारको सबैभन्दा नैतिकवान् सेना हो भनेर दाबी गर्न कठिन हुँदै जाने बताउँछन्।
हालै प्रकाशित आफ्नो स्तम्भमा मध्यवामपन्थी पत्रिका 'हार्टेज'मा सेवानिवृत्त जेनरल अमिरम लेभिनले वरिष्ठ कमान्डरदेखिका सैनिकहरूले अब आदेशहरूको अवज्ञा गर्नेबारे सोच्ने बेला आएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, "युद्ध अपराधमा तानिने र इजरेलको रक्षा बल र हाम्रो सामाजिक लोकाचारमा घातक प्रहार हुने जोखिमले यसलाई चुप लागेर बस्न असम्भव बनाउँछ।"
केही इजरेली आलोचकहरूले चाहिँ यस्तो सीमा पहिले नै नाघिसकिएको बताएका छन्। त्यसमा अन्तर्राष्ट्रिय फौजदारी अदालत र इन्टर्न्याशनल कोर्ट अफ जस्टिस (आईसीजे)मा मुद्दा पुर्याउनेहरू पनि पर्छन्।
नेतन्याहूले चाहिँ प्रदर्शनकारीहरूको आलोचना गर्दै उनीहरूको चिन्तालाई "मिथ्या प्रचार" भनेर खारेज गरेका छन्। उनले प्रदर्शनमा "मुट्ठीभरिका केही सीमान्त तत्वहरू, चर्का अराजकतावादी र वर्षौँदेखि सेवा नगरेकाहरू"ले हल्ला फैलाइरहेको आरोप लगाएका छन्।
तर सर्वेक्षणहरूले यसरी विरोधपत्रहरू बुझाउने कार्यलाई इजरेलीहरूको सोचमा आएको परिवर्तनलाई प्रतिबिम्बित गरिरहेको देखाएका छन्।
सर्वसाधारण मानिसहरूले बाँकी बन्धकहरूको रिहाइ सबैभन्दा पहिलो विषय हुनुपर्ने धारणा राख्ने गरेको ती सर्वेक्षणले देखाएका छन्।
नेतन्याहूको दाबी
तेल अभिभमा एक वर्षभन्दा बढी समयदेखि कोलाहलपूर्ण युद्धविरोधी प्रदर्शनहरू भइरहेका छन्।
बन्धकका तस्बिरहरू माथि राखिएका छन् अनि अन्य प्रदर्शनकारीहरू सडकमा बसिरहेका छन्। उनीहरूले युद्धका क्रममा मारिएका प्यालेस्टिनी बालबालिकाहरूको तस्बिरहरू समातेका छन्।
विरोधपत्रका कारण उत्पन्न विवादका बीचमा यस्ता भावुक प्रदर्शनहरूले अधिकारीहरूलाई झस्काएको देखिन्छ।
यही एप्रिल २० मा प्रहरीले प्रदर्शनकारीहरूलाई "गाजाका बालबालिका वा शिशुहरूको तस्बिर"लाई देखाउन अनुमति नदिइने बतायो। उसले "नरसंहार" वा "जातीय सफाइ" शब्दहरू लेखिएका प्लाकार्डहरू पनि बोक्न दिएन।
तर आयोजकहरूबाट आक्रोश व्यक्त भएपछि प्रहरी तुरुन्तै पछि हटेको थियो।
यसै बेला प्रधानमन्त्रीले चाहिँ हमासलाई पराजित गर्ने आफ्नो दृढ सङ्कल्प दोहोर्याएका छन्।
नेतन्याहूले अझै पनि बन्धकहरूलाई घर ल्याउने एउटा मात्र विकल्प सैन्य दबाव भएकोमा जोड दिइरहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








