इजरेलमा 'कतार काण्ड'बाट प्रधानमन्त्री नेतन्याहूलाई पर्न सक्ने प्रभाव

कतारी झण्डा बोकेका एक पुरुष इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको विरोधमा जेरुसलेममा आयोजित र्‍यालीमा

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, कतारी झण्डा बोकेका एक पुरुष इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको विरोधमा जेरुसलेममा आयोजित र्‍यालीमा सहभागी हुँदै

आफ्ना दुई निकट सहयोगीहरू कतारसँग सम्बन्ध राखेको आशङ्कामा पक्राउ परेपछि र उनीहरूमाथि अनुसन्धान हुने भएपछि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको भूमिकाप्रति ध्यानाकर्षण भएको छ।

मङ्गलवार एक इजरेली अदालतले नेतन्याहूका सल्लाहकार योनाटन युरिच तथा उनका पूर्वप्रवक्ता एलाइ फेल्ड्स्टाइनलाई अनुसन्धानका लागि हिरासतमा राख्ने समय लम्ब्याउन स्वीकृति दिएको छ।

'कतार-गेट' वा 'कतार काण्ड' भनेर चर्चित उक्त अनुसन्धानकै क्रममा नेतन्याहूले प्रहरीलाई बयान दिएका छन्। नेतन्याहूलाई यस मामिलामा शङ्काको घेरामा राखिएको छैन तर उनले ती दुई जनालाई "बन्धक" बनाएको आरोप प्रहरीलाई लगाएका छन्।

एक कतारी अधिकारीले पनि उक्त अनुसन्धानलाई "बदनाम गर्न चलाइएको झुटो अभियान" भन्दै त्यसको आलोचना गरेका छन्।

इजरेलमा सबभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतन्याहूविरुद्ध बेग्लै भ्रष्टाचारका मुद्दाहरू पनि चलेका छन्। ती अभियोग उनले अस्वीकार गर्दै आएका छन्।

गाजामा रहेका सबै बन्धक रिहा नभईकनै हमासविरुद्ध आक्रमण फेरि थालेको, 'कतार गेट' अनुसन्धानको जिम्मा पाएको आन्तरिक सुरक्षा निकाय शिन बेटका निर्देशक रोनेन बारलाई बर्खास्त गरेको अनि देशको न्यायपालिकामा फेरबदल गर्ने योजना अघि सारेको जस्ता विषयलाई लिएर नेतन्याहूले सडकमा पनि विरोध प्रदर्शन बेहोरिरहेका छन्।

कतार अनुसन्धानबारे हामीलाई के थाहा छ

यो मामिलामा दुई महिनाअघि नै अनुसन्धान सुरु भएको हो तर सोमवार प्रहरीले दुईजना संदिग्धहरू समातिएको बताएपछि मात्र यसले चर्चा पायो। ती दुई जना युरिच र फेल्ड्स्टाइन रहेको प्रहरीले खुलाएको थियो।

उनीहरूविरुद्ध विदेशी एजेन्टसँग सम्पर्क गाँसेको, सम्पत्ति शुद्धीकरण गरेको, घुस लिएको, ठगी तथा विश्वासघात गरेको जस्ता आरोप लगाइएको इजरेली सञ्चारमाध्यमहरूले जनाएका छन्।

मङ्गलवार रिशोन लेजायन मजिस्ट्रेट्स अदालतका एक न्यायाधीशले युरिच र फेल्ड्स्टाइनविरुद्ध विस्तृत छानविन गर्नु पर्ने देखिएको भन्दै थप तीन दिन हिरासतमा राख्न अनुमति दिएका थिए। प्रहरीले नौ दिन थप हिरासतमा राख्न माग गरेको थियो।

आफ्नो आदेशमा न्यायाधीश मेनाहम मिजराहीले अनुसन्धानकर्ताहरूले ती दुई व्यक्तिलाई "कतारलाई सकारात्मक रूपमा प्रस्तुत" गरेको र "इजिप्ट र गाजा शान्ति वार्तामा अर्को मध्यस्थकर्ताका रूपमा उसको भूमिकाबारे नकारात्मक सन्देश फैलाएको" जस्ता विषयमा शङ्का गरेको जनाएका छन्।

बेन्जमिन नेतन्याहू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बेन्जमिन नेतन्याहूले आफूलाई पदबाट हटाउने यत्नका रूपमा उक्त अनुसन्धानलाई लिएको बताएका छन्

प्रहरीका एक प्रतिनिधिले न्यायाधीश मिजराहीलाई युरिचमाथि कतारसँग जोडिएको एक सूत्रको सन्देशलाई वरिष्ठ इजरेली राजनीतिज्ञ वा सुरक्षा अधिकारीले दिएको भन्ने भान पारेर पत्रकारहरूलाई दिने गरेको शङ्का पनि गरिएको बताए।

यसका निम्ति कतारका लागि काम गर्ने अमेरिकी संस्थामार्फत् "व्यापारिक तथा आर्थिक सम्बन्ध" स्थापित गरिएको न्यायाधीशले भनेका छन्। त्यसबमोजिम एक इजरेली व्यापारीको माध्यमबाट "(युरिच)ले प्रदान गरेको मध्यस्थताको बदलामा (फेल्ड्स्टाइनलाई) पैसा भुक्तानी गरिएको" थियो।

गत साता इजरेली सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको एउटा रेकर्डिङमा ती व्यापारीले कतारका लागि काम गर्ने अमिरिकी लबिइस्ट संस्थाका तर्फबाट फेल्ड्स्टाइनलाई भुक्तानी गरेको बताएको सुनिन्छ।

त्यतिखेर फेल्ड्स्टाइनका वकिलहरूले उक्त भुक्तानी "कतारलाई नभई प्रधानमन्त्री कार्यालयलाई रणनीतिक एवं सञ्चार सेवा प्रदान गरेकोमा' भएको बताएका थिए। साथै फेल्ड्स्टाइनलाई ती व्यापारी र कतारलगायत अन्य पक्षबीचको सम्बन्धबारे जानकारी नभएको पनि वकिलहरूले बताए। युरिचका वकिलहरूले उनले आफ्नो संलग्नता अस्वीकार गरेको बताएका छन्।

नेतन्याहूलाई कस्तो प्रभाव पर्ला

नेतन्याहूलाई यो मामिलामा सन्दिग्ध मानिएको वा आरोप लगाइएको छैन। तर भ्रष्टाचार तथा विश्वासघातका अन्य अभियोगहरूमा उनीविरुद्ध मुद्दा चलिरहेका छन्। उनले आफूले केही गल्ती नगरेको बताउँदै आएका छन्। तर सन्दिग्ध व्यक्तिहरूसँगको उनको निकट सम्बन्धले उनलाई पनि अप्ठेरो पर्न सक्छ।

सोमवार प्रहरीलाई रेकर्ड गरिएको बयान दिएका नेतन्याहूले सो अनुसन्धानलाई "राजनीतिक" भनेर निन्दा गरेका छन्।

नेतन्याहूको लिकुड पार्टीले शिन बेटका निर्देशक रोनेन बारलाई गरेको बर्खासी रोक्न तथा "दक्षिणपन्थी प्रधानमन्त्रीलाई सत्ताबाट हटाउन" उक्त अनुसन्धान र गिरफ्तारी गरिएको बताएको छ। बारको बर्खासीविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ भइरहँदा उनी अहिले पदमै कायम छन्।

सरकारले बारलाई मार्च २१ मा बर्खास्त गरेको थियो। सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको घातक हमला रोक्न नसकेकाले उनीमाथिको विश्वास गुमेको भन्दै सरकारले उक्त कदम चालेको बताएको थियो। त्यही हमलाका कारण गाजा युद्ध भइरहेको छ।

लिकुड पार्टीले एक वक्तव्य जारी गर्दै विषयलाई 'बनावटी' रूपमा प्रस्तुत गरेको अनि 'योनाटन युरिचलाई आतङ्कित पारेर प्रधानमन्त्रीविरुद्ध झुटो बयान दिन वाध्य पार्न' खोजेको आरोप महान्यायाधिवक्ताको कार्यालय र शिन बेटका प्रमुखलाई लगाएको छ।

एकजना इजरेली सैन्य एवं खुफिया विज्ञ योसी कुपरवासरले अहिलेको अवस्थालाई 'अस्पष्ट' भन्दै हालसम्म कुनै 'ठोस प्रमाण' नदेखिएको बताए।

र्‍याभिट हेक्टले हारेट्ज पत्रिकामा लेख्दै हमासका नेताहरूसँग निकट सम्बन्ध रहेको कतारसँग खासगरी २०२३ को अक्टोबर ७ पछाडि कुनै किसिमको वित्तीय साइनोको शङ्का मात्र पनि 'स्तब्ध बनाउने' घटना हुने र अहिले नै उल्लेखनीय राजनीतिक दबाव झेलिरहेका नेतन्याहूका निम्ति 'अन्तिम धक्का' हुन सक्ने बताए।

यसले नेतन्याहूको विरोध गरिरहेका इजरेलीहरूमाझ थप सार्वजनिक असन्तोष फैलिन सक्छ र उनी शक्तिबाट हट्नुपर्ने माग चर्काउन सक्छ।

कतारको प्रतिक्रिया कस्तो?

कतारले इजरेल तथा प्यालेस्टिनी विद्रोही समूह हमासका बीच मध्यस्थकर्ताको प्रमुख भूमिका वहन गरिरहेको छ। उसले यी आरोपहरू अस्वीकार गरेको छ र आफ्नो मध्यस्थकर्ताको भूमिका जारी राख्ने बताएको छ।

इजरेल-गाजा युद्धका बेला अमेरिका र इजिप्टसँगै कतारले युद्धविराम र बन्धक रिहाइका विभिन्न सम्झौता गराउन सघाएको थियो।

दोहाले लामो समयदेखि प्यालेस्टिनीहरूको मागलाई समर्थन गर्दै आएको छ र हमासका राजनीतिक नेताहरूलाई बस्न दिएको छ। यद्यपि उक्त समूहलाई इजरेल, यूके, अमेरिका र अन्य देशहरूले प्रतिबन्ध लगाएका छन्। इजरेलले कतारलाई शत्रुराष्ट्र मानेको छैन।

गाजा हमला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इजरेल-गाजा युद्धका बेला कतारले शान्ति वार्ताहरूमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ

एक कतारी अधिकारीले लन्डनको फाइनान्शल टाइम्सलाई भने, "यो सङ्घर्ष (गाजा युद्ध) समाप्त भएको वा बाँकी बन्धक रिहा भएको देख्न नचाहनेहरूले हामीलाई लक्षित गरेर बदनाम गर्न अभियान चलाएको यो पहिलो पटक होइन।"

अन्यत्र पनि पैसाको बलमा प्रभाव जमाउन खोजेको आरोप कतारमाथि लागेको छ। यद्यपि उसले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।