जातीय सफाया के हो र यो नरसंहारभन्दा कसरी फरक छ

ह्वाइट हाउसमा इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा "लडाइको अन्त्यमा इजरेलले अमेरिकालाई गाजा दिने" बताएका थिए
    • Author, टम स्यान्टोरेली
    • Role, बीबीसी विश्व सेवा
  • पढ्ने समय: ५ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले गाजा "लिने" र त्यहाँको जनसङ्ख्यालाई स्थानान्तर गर्ने अभिव्यक्ति दिएपछि उनले जातीय सफाया गर्ने योजना बनाइरहेको आरोप लागेको छ। त्यसको संयुक्त राष्ट्रसङ्घ, अरब र अन्य विश्व नेताहरू तथा मानवअधिकार समूहले निन्दा गरिरहेका छन्।

ह्वाइट हाउसमा हालै भएको पत्रकार सम्मेलनमा इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँगै रहेका बेला ट्रम्पले उक्त अभिव्यक्ति दिएका हुन्।

नेतान्याहूले उक्त उपाय "ध्यान दिन लायक भएको" बताए पनि अरब लीगका सहायक महासचिव हुसम जाकीले २० लाख मानिसहरूलाई विस्थापित गर्ने कुरा मानवताविरुद्धको अपराध हुने बताएका छन्।

"नागरिकहरूलाई आफ्नो भूमिबाट दबाव दिएर अन्यत्र पठाउँदा त्यसले जातीय सफाया निम्त्याउने छ। युद्धविराम भएपछि प्यालेस्टिनीहरू भग्नावशेष बनिसकेको ठाउँलाई घर भनेर फर्किन आतुर देखिएका थिए। त्यस्ता मानिसहरू कसरी आफ्नो भूभागबाट अन्यत्र सर्न इच्छुक हुन्छन् भनेर कल्पना गर्न सकिन्छ?" उनले भने।

तर उक्त "क्षेत्रमा नयाँ र आधुनिक घरहरूसहित सुरक्षित र सुन्दर समुदायहरूमा" पुनर्स्थापनाका रूपमा ट्रम्पले अघि सारेको यो अस्पष्ट प्रस्ताव के जातीय सफाया हो? र यो कसरी आमनरसंहारभन्दा फरक छ?

युद्धका क्रममा इजरेलको निर्देशनअनुसार विस्थापित भएका प्यालेस्टिनीहरू गत ज्यानुअरी २६ मा उत्तरतर्फ आफ्नो घर फर्किँदै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विस्थापित भएका प्यालेस्टिनीहरू उत्तरी गाजामा रहेको आफ्नो घर फर्किँदै

'जातीय सफाया' को अर्थ के हो?

बृहत् रूपमा बुझ्दा जातीय सफाया भनेको कुनै विशेष समूह कुनै विशेष क्षेत्रबाट निष्कासित हुनु हो।

त्यहाँबाट उनीहरूलाई अन्यत्र पठाएर वा विस्थापित हुन बाध्य बनाएर यसो गरिन्छ, जसको अन्तिम उद्देश्य भनेको जातीय रूपमा एकैखाले भौगोलिक क्षेत्रको निर्माण गर्नु हो।

न्यूयोर्कमा रहेको जन जे कलेजस्थित सेन्टर फर इन्टर्न्याश्नल ह्यूमन राइट्सका संस्थापक निर्देशक प्राध्यापक जोर्ज अन्ड्रिअपोलिसका अनुसार यसमा केवल मानिसको ठेगाना परिवर्तन हुने मात्रै हुँदैन – त्यहाँ "लक्षित समूहका स्मारक, चिहान र धार्मिक स्थलहरूको पनि विनाशलगायत सबै भौतिक अवशेषहरू हटाउने काम हुन्छ।"

उक्त शब्दावली सन् १९९० मा पहिलो पटक चर्चामा आएको हो। त्यति बेला फेडरल रिपब्लिक अफ युगोस्लाभियाको विघटनका बेला जातीय हिंसा भड्किएको थियो। बोस्निया र हर्जगोभिनामा बोस्नियाका मुस्लिमले गरेको निर्मम व्यवहार, क्रोएशियाको क्राजिना क्षेत्रमा सर्बहरू तथा कोसोभोमा अल्बानिअन जातिका मानिसहरू र सर्बहरूका लागि व्याख्या गर्न राजनीतिज्ञहरू र सञ्चारमाध्यमहरूले यो शब्दावली प्रयोग गरेका थिए।

संयुक्त राष्ट्रसङ्घका भूतपूर्व मानवअधिकार प्रमुख जेड राड अल हुसेनले सन् २०१७ मा पनि यो प्रयोग गरेका थिए। उनले म्यानमारको रखाइन राज्यमा त्यहाँका रोहिंज्या मुस्लिमहरूलाई निसाना बनाइएको व्याख्या गर्नका लागि त्यसको प्रयोग गरेका थिए। सरकारले रोहिंज्या मुस्लिम समुदायलाई गरेको व्यवहार व्याख्या गर्न "जातीय संहारको पाठ्यपुस्तकको उदाहरण" भनी उनले बताएका थिए।

रोहिंज्या शरणार्थी आफ्नो बच्चा बोकेर अस्थायी शिविरमा जाँदै

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २०१७ को अगस्ट महिनामा भएको हिंसाको लहरै चल्दा सात लाख ४२ हजार रोहिंज्याहरू म्यान्मारको घर छोडेर छिमेकी बाङ्ग्लादेश भागेर गएका थिए

जातीय सफाया युद्ध अपराध हो?

संयुक्त राष्ट्रसङ्घका अनुसार समसामयिक सशस्त्र द्वन्द्वका कारण 'युद्ध अपराध' शब्दावली व्यापक भएको हो।

राष्ट्रसङ्घको विशेषज्ञहरूको आयोगले बताएअनुसार मानिसहरूलाई बसिरहेको ठाउँ छोडेर जान र कुनै देशको सैन्य आत्मसमर्पणलाई छिटो बनाउन विभिन्न अभ्यासहरूको प्रयोग गर्न सकिन्छ। त्यसमा यातना, पक्राउ, बन्धक बनाउने काम, बलात्कार र यौन आक्रमण, सम्पत्ति तोडफोड, डकैती तथा चिकित्सा सेवालाई निसाना बनाउने कुराहरू पर्छन्।

यीमध्ये केही प्राविधिक रूपमा युद्ध अपराध हुन्। यद्यपि जातीय सफायाको परिभाषा गरिएको छैन र संयुक्त राष्ट्रसङ्घका अनुसार यो अन्तर्राष्ट्रिय कानुनको दृष्टिकोणबाट अपराधको रूपमा चिनिएको छैन।

कब्जामा रहेको प्यालेस्टिनी भूभागसम्बन्धी संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिनिधि फ्रान्चेस्का अल्बनिजले इजरेलले दशकौँदेखि "युद्धको कुहिरोमा प्यालेस्टिनीहरूको सामूहिक जातीय सफायाको प्रयास गर्दै आएको" बताइन्।

"सन् १९४८ को नाक्बा... को पुनरावृत्ति अझ ठूलो स्तरमा हुन सक्ने खतरा हामीले देखिरहेका छौँ," उनले भनिन्। नाक्बाले सन् १९४७-१९४९ का घटनाहरूलाई जनाउँछ, जति बेला सात लाख ५० हजारभन्दा बढी प्यालेस्टिनीहरूलाई उनीहरूको घर र भूमिबाट विस्थापित गराइएको थियो अनि त्यसपछि नै इजरेललाई देशको रूपमा स्थापना भएको थियो।

जातीय सफाया र आम नरसंहारबीच के फरक छ?

अन्तर्राष्ट्रिय कानुनअन्तर्गत जातीय सफायालाई अपराधका रूपमा मान्यता नदिएको भए पनि नरसंहारलाई भने त्यस्तो मान्यता दिइएको छ।

संयुक्त राष्ट्रसङ्घको महासभाले होलकास्टका बेला यहुदीहरूको प्रणालीगत रूपमा हत्या गर्ने नाजी नीतिहरूको प्रतिक्रियास्वरूप सन् १९४६ मा यसलाई नरसंहारको नाम दिएको थियो।

यसलाई "कुनै पनि राष्ट्रिय, जातीय, वर्णीय वा धार्मिक समूहलाई पूरै या आंशिक रूपमा नष्ट गर्ने उद्देश्यले गरिएको कार्य" भनी व्याख्या गरिएको छ।

निश्चित समूहहरूको हत्या वा उनीहरूमाथि गम्भीर हानि पुर्‍याउने कार्यहरू त्यसमा पर्छन्। यसअन्तर्गत कुनै पनि समूहलाई भौतिक रूपमा नष्ट गर्ने, समूहमा नयाँ बच्चा जन्मिन नदिने वा समूहका बालबालिकालाई जबरजस्ती अर्को समूहमा स्थानान्तरण गर्ने कुराहरू पर्छन्।

द हेगमा आफूमाथिको सुनुवाइका क्रममा रुवान्डाका पूर्वप्रधानमन्त्री जीन क्याम्बान्डा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, द हेगमा आफूमाथिको सुनुवाइका क्रममा रुवान्डाका पूर्वप्रधानमन्त्री जीन क्याम्बान्डा

रुवान्डाका पूर्व प्रधानमन्त्री जीन काम्बान्डा अन्तर्राष्ट्रिय अदालतले नरसंहारमा दोषी ठहर गरेका कुनै पनि सरकारको पहिलो प्रमुख हुन् । उनलाई सन् १९९८ मा दोषी ठहर गरिएको थियो।

त्यसको चार वर्षअघि हुतु र तुत्सी गरी करिब १० लाख मानिसको नरसंहार भएको थियो अनि त्यसमा उनको भूमिकाका लागि उनलाई दोषी ठहर गरिएको थियो।

आशयको प्रश्न

तर संयुक्त राष्ट्रको परिभाषामा 'मानसिक' तत्त्व पनि समावेश छ, जसलाई 'राष्ट्रिय, जातीय, वर्णीय वा धार्मिक समूहलाई नष्ट गर्ने उद्देश्य' भनिन्छ।

अर्थात् जातीय सफाया र नरसंहारबीचको भिन्नतामा दोषीको 'आशय' महत्त्वपूर्ण छ।

नरसंहारको मुख्य उद्देश्य जातीय वा धार्मिक समूहको भौतिक विनाश भए पनि जातीय सफायाको मुख्य उद्देश्य भनेको तिनीहरूको विस्थापन र जातीय रूपमा एकैखाले भौगोलिक क्षेत्रहरूको स्थापना गर्नु हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।