विभिन्न मोर्चामा लडिएको युद्धले इजरेलको अर्थतन्त्रलाई कस्तो मार परेको छ

तस्बिर स्रोत, Getty Images
- Author, जेरमी हावल
- Role, बीबीसी विश्व सेवा
पछिल्लो एक वर्षमा इजरेलले हजारौँ सुरक्षाकर्मीहरू गाजा र दक्षिण लेबननमा पठाएको छ भने हजारौँ हवाई आक्रमण गरेको छ। आफूमाथि भएका क्षेप्यास्त्र र 'ड्रोन' हमलालाई निस्तेज पार्न हवाई प्रतिरक्षा प्रणालीको प्रयोग गर्ने क्रममा उसले दशौँ लाख डलर खर्च गरेको ठानिन्छ।
इजरेली सरकारले हमास र हिज्बुल्लाहविरूद्धको आफ्नो लडाइँका लागि ६० अर्ब डलर भन्दा बढी खर्च लाग्ने ठानेको छ। युद्धको खर्चले इजरेली अर्थतन्त्रमाथि गम्भीर असर पारिसकेको देखिन्छ।
युद्धका लागि इजरेलले कति खर्च गरिरहेको छ?

तस्बिर स्रोत, Getty Images
इजरेली अर्थमन्त्री बेत्सालेल स्मोट्रिचले इजरेली क्नेसेट (संसद्) लाई सम्बोधन गर्दै भनेका थिए, “हामी इजरेलको इतिहासकै लामो र सर्वाधिक खर्चिलो युद्धमा छौँ।”
उनले सैन्य कदमको खर्च ५४ अर्ब डलरदेखी ६८ अर्बको बीचमा पुग्नसक्ने उल्लेख गरेका थिए।
इजरेलले लेबननमा गरेको बम हमला र देशको दक्षिणमा गरिरहेको घुसपैठ साथै इरानको हमलालाई जवाफ दिन गरिएको हवाई आक्रमणहरूले युद्धको लागतलाई अझ बढाउने देखिन्छ।
यूकेस्थित सेफिल्ड हालम युनिभर्सिटिका अर्थविद् आम्र अलगारीले युद्धको विस्तारसँगै सन् २०२५ भरि लडाइँ चलेको खण्डमा कूल खर्च ९३ अर्ब डलरसम्म पुग्ने बताउँछन्।
त्यो भनेको इजरेलको वार्षिक कूल गाह्रस्थ उत्पादनको ५३० अर्ब डलरलाई ६ भाग लगाउँदा त्यसको एक भागभन्दा बढी पर्न आउँछ।
इजरेलले आफ्नो लडाइँका लागि कहाँबाट स्रोतको जोहो गरिरहेको छ?

तस्बिर स्रोत, Getty Images
ब्याङ्क अफ इजरेलले सरकारी 'बन्ड' (ऋणपत्र)हरूको विक्री वृद्धि गरेको छ। उसले युद्धमा खर्च गर्न ऋण लिएको छ। मार्च २०२४ मा उसले कीर्तिमानी ८ अर्ब डलर बराबरका 'बन्ड' एकै पटकमा विक्री गरेको थियो।
इजरेलले त्यस्ता बन्डहरू इजरेल भित्रै र बिदेशमा विक्री गर्ने गर्छ।'डायस्पोरा बन्ड' भनिने त्यस्ता ऋणपत्र इजरेलबाहिरका यहुदीहरूलाई विक्री गर्ने गरिन्छ।
ब्याङ्क अफ इजरेलको तथ्याङ्कले इजरेली सरकारी बन्डहरू खरिद गर्न विदेशीहरूको रुचि कम भएको देखाएको छ। उक्त ब्याङ्कले भनेको छ, जम्मा ८.४ प्रतिशतमात्रै देशबाहिर बन्डहरू छन् जुन अवस्था इजरेल र हमासबीचको द्वन्द्व सुरु हुनु अघि सन् २०२३ को सेप्टेम्बरमा १४.४ प्रतिशत रहेको थियो।
तेल अभिभ विश्वविद्यालयका अर्थविद् प्राध्यापक म्यानुएल ट्रयाज्लेनबर्ग भन्छन्, “यसको परिणामस्वरुप विदेशी खरिदकर्ताहरूलाई आकर्षित गर्नका लागि सरकारी बन्डको ब्याजदर बढेको छ। “सरकारले तिर्ने ऋणको लागतमा १.५ प्रतिशत वृद्धि भएको छ।”
त्यसबाहेक तीन प्रमुख अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीहरू – मुडीज, फिच एन्ड स्ट्यान्डर्ड र पुअर—सबैले सन् २०२४ को अगस्ट यता इजरेली सरकारी ऋणका लागि आफूले प्रदान गर्ने रेटिङ खस्काइदिएका थिए।
सरकारले बन्डहरूको पुन: भुक्तानी गर्ननसक्ने आशङ्काका कारण ती एजेन्सीहरूले रेटिङमा कटौती भने नगरेको तेल अभिभ इन्स्टीट्यूट अफ न्याशन्ल सेक्युरिटी स्टडिजका डाक्टर टोमर फाड्लोन बताउँछन्। इजरेलको सार्वजनिक वित्तको स्वास्थ्य ठिक रहेको उनले बताए।
उनी भन्छन्, “सबै क्रेडिट रेटिङ एजेन्सीहरूले आफ्नो प्रतिवेदनमा सन् २०२५ सम्म खर्च व्यवस्थापन गर्ने सरकारको स्पष्ट वित्तीय रणनीतिको अभावप्रति आफूहरूको चिन्ता रहेको जनाएका थिए।”

तस्बिर स्रोत, Getty Images
इजरेल डेमोक्रेसी इन्स्टिट्युटकी अर्थविद् एवं ब्याङ्क अफ इजरेलकी पूर्व गभर्नर प्राध्यापक कार्नीट फ्लगले सरकारले ९.९ अर्ब डलर बजेट कटौती र कर बृद्धि गर्दै बजेट घाटा कम गर्न खोजेको बताइन्।
उनले भनिन्, “तर कतिपय योजना गरिएका कदमहरूको श्रमिक संगठन र सत्तारुढ गठबन्धनकै कतिपय सदस्यहरूबाट विरोध हुनसक्ने देखिन्छ।”
कयौँ अर्थविद्हरूले चुलिएको सैन्य खर्चलाई धान्ने हिसाबले खर्च कटौतीसहित सन् २०२५ का लागि बजेट प्रकाशित गर्न सरकारलाई अनुरोध गरिरहेका छन्।
“युद्धको खर्च धान्नका लागि बजेट कटौतीलाई प्राथमिकतामा राख्ने कुनै गम्भीर खालको योजना देखिँदैन,” हिब्रु युनिभर्सिटि अफ जेरुसलेमका प्राध्यापक इस्टीबान क्लोरले भने। “सैन्य रणनीतिसँगै युद्ध अघि बढाउनका लागि कुनै पनि आर्थिक रणनीति छैन।”
युद्धले इजरेलको अर्थतन्त्रमा कस्तो असर पारिरहेको छ?
सन् २०२३ को अक्टोबर अघिसम्म इजरेलको अर्थतन्त्रमा बलियो ढङ्गले वृद्धि भइरहेको थियो तर युद्ध सुरु भएयता त्यो उल्लेख्य ढङ्गले सङ्कुचित हुन पुग्यो। विश्व व्याङ्कका अनुसार त्यो वर्ष प्रति व्यक्ति जीडीपी ०.१ प्रतिशतले सङ्कुचित भएको थियो।
ब्याङ्क अफ इजरेलले सन् २०२४मा अर्थतन्त्र जम्मा ०.५ प्रतिशतले बढ्ने जनाएको छ। त्यो गएको जुलाईमा उसले गरेको प्रक्षेपण भन्दा खराब अवस्था हो। त्यति बेला उक्त निकायले यो वर्ष आर्थिक वृद्धि १.५ प्रतिशत रहने उल्लेख गरेको थियो।
पछिल्ला वर्षहरूमा इजरेलका कैयौँ फर्महरूमा कर्मचारीहरूको अभाव भएको छ भने त्यसले उनीहरूको व्यापारको परिमाणलाई पनि सिमित तुल्याएको छ।
इजरेल डिफेन्स फोर्सेजले हमाससँगको लडाइँ सुरुहुँदा ३ लाख ६० हजार जगेडा सैनिकहरूलाई काममा बोलाएका कारण यस्तो भएको थियो।
उनीहरूमध्ये धेरै जनालाई अहिले पुन: समाजमा फिर्ता पठाइएको छ। तर लेबननमाथिको जारी स्थल कारबाहीका लागि उसले १५ हजार जनालाई फेरि बोलाएको छ।

तस्बिर स्रोत, Getty Images
सरकारले गाजा र वेस्ट ब्याङ्कमा बस्ने करिब २ लाख २० हजार प्यालेस्टीनीहरूलाई सीमा पार गरेर इजरेलमा प्रवेश गर्न रोक लगाएको छ। सुरक्षाको कारण भन्दै उसले यस्तो निर्णय लिएको हो।
यसले मुख्य गरी निर्माण क्षेत्रलाई असर गरेको छ। त्यसमा ८० हजार प्यालेस्टिनीहरूले काम गर्दै आएका थिए। अहिले दशौँ हजार कामदारहरू भारत, श्रीलङ्का र उज्बेकिस्तानजस्ता देशबाट ल्याउने गरिएको छ।
प्राध्यापक फ्लग युद्ध समाप्त भइसकेपछि भने इजरेलको अर्थतन्त्र लयमा फर्कने बलियो सम्भावना देख्छिन्। त्यसमा इजरेलमा हाल विस्तार भइरहेको उच्च प्रविधि क्षेत्रको महत्त्वपूर्ण भूमिका हुनसक्छ। उक्त क्षेत्रले देशको अर्थतन्त्रको पाँच प्रतिशत हिस्सा ओगट्छ।
फ्लगले भनिन्, “विगतका युद्धहरूभन्दा यसपटकको युद्ध लामो भएको र त्यसले जनसङ्ख्याको ठूलो हिस्सालाई असर गरेका कारणले पुनर्स्थापना लामो र कमजोर हुनसक्छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








