एक वर्षदेखि विपिन जोशीको प्रतीक्षामा रहेकी आमा भन्छिन्- 'सपनामा बोलेको देख्छु, नीद खुलिहाल्छ'

विपिन जोशी र उनकी आमा

तस्बिर स्रोत, BBC/Bipin Joshi/FB

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी दक्षिणी इजरेलबाट सम्पर्कविहीन भएको आज ठ्याक्कै एक वर्ष पुगेको छ।

गत वर्ष हमासले इजरेलमा अनपेक्षित रूपमा गरेको आक्रमणका क्रममा जोशीलाई पनि उक्त समूहले बन्धक बनाएको ठानिएको छ।

तर एक वर्ष बितिसक्दा पनि न हमासले उनको अवस्था सार्वजनिक गरेको छ न त इजरेल वा नेपाल सरकारले नै उनीबारे केही बताउँन सकेको छ।

एक वर्षदेखि आफ्ना छोराको अवस्थाबारे बेखबर उनका बुवाआमाले भिमदत्त नगरपालिका-३ स्थित आफ्नै निवासमा विपिनको सकुशल रिहाइको कामना गर्दै घटस्थापनादेखि नवदुर्गाको नियमित पूजाअर्चना गरिरहेका छन्।

“दुर्गा भवानीले कृपा गर्नुहुन्छ कि भन्ने आशा छ। हामी ईश्वरसँग पनि त्यही (रिहाइ) मागिरहेका छौँ सरकारसँग पनि त्यही माग्छौँ,” विपिनकी आमा पद्‌मा जोशीले आइतवार बीबीसी न्यूज नेपालीसँग भनिन्।

युद्धग्रस्त क्षेत्रमा बन्धक बनाइएका आफ्ना छोरा एक वर्षसम्म पनि मुक्त नहुँदा पद्‌माका आँखामा अहिले पनि आँसु बगिरहेका छन्। आइतवार पनि छोराबारे टेलिफोनमा कुरा गर्दागर्दै पद्‌माको गला अवरुद्ध भयो।

गतवर्ष अक्टोबर ७ पछि पद्‌माले विपिनलाई देखेको सपनामा मात्रै हो।

“कहिलेकाहीँ सपनामा बोलेको देख्छु, नीद खुलिहाल्छ,” उनले भनिन्।

विपिन जोशीको घर

उनको परिवारका अनुसार विपिन फर्केर आउने प्रतीक्षामा परिवारले दुई वर्षअघि विपिनले छोडेर गएका लुगाफाटादेखि उनका प्रत्येक सामान सुरक्षित राखिरहेको छ।

तर हमासको कब्जामा परेको भनिएको अर्को महिना गाजाको अल-शिफा अस्पतालको एउटा सीसीटीभी उनीजस्तै एउटा व्यक्ति देखिएको भनिए पनि जोशीको अवस्था हालसम्म अज्ञात छ।

तीन मन्त्री फेरिए, अवस्था फेरिएन

परराष्ट्रमन्त्री आरजु राणा

तस्बिर स्रोत, MOFA Nepal

तस्बिरको क्याप्शन, परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरेल र लेबननमा रहेका नेपालीहरूको अवस्था बारेमा जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासहरुलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ

विपिन जोशी सम्पर्कविहीन हुँदा कञ्चनपुरकै सांसद एनपी साउद परराष्ट्रमन्त्री थिए।

जिल्लाकै मन्त्री भएका कारण पनि जोशी परिवारलाई विपिनलाई चाँडै मुक्त गराउन पहल हुने आशा थियो।

तर उनी बन्धक भएको भनिएको एक वर्षमा परराष्ट्र मन्त्रालयमा तीन मन्त्री र दुई सरकार फेरिए।

अहिले त्यही क्षेत्रबाट सांसदमा निर्वाचित भएका रमेश लेखक गृहमन्त्री छन्।

यसअघि परराष्ट्रमन्त्री रहेका नारायणकाजी श्रेष्ठले पनि जोशी परिवारसँगको भेटमा विपिनको रिहाइका लागि सक्दो पहल भइरहेको आश्वासन दिएका थिए।

पछिल्लो पटक सरकार परिवर्तन भएपछि जोशी परिवारले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री राणालाई भेटेको थियो।

ती भेटमा दिइएका जानकारीयता यो परिवारलाई विपिनको रिहाइका लागि भइरहेका पहलबारे सुनाउन राज्यका कुनै निकायले सम्पर्क गरेका छैनन्।

“परराष्ट्रमन्त्रीले अमेरिकामा गएको बेला संयुक्त राष्ट्रसङ्घमा विपिनको उद्धारका लागि सहयोग गरिदिन भनेको हामीले समाचारमा सुन्यौँ,” पद्‌मा भन्छिन्।

इजरेलमा छैनन् तीन महिनादेखि राजदूत

इजरेली राजदूत

तस्बिर स्रोत, Israel In Nepal

तस्बिरको क्याप्शन, इजरेलबाट फर्किएका नेपाली विद्यार्थीहरूसँग नेपालका लागि इजरेली राजदूतले छलफल गरेका थिए

सरकारले इजरेलका लागि सिफारिस गरेका नयाँ राजदूत धनप्रसाद पण्डितलाई हालै संसदीय सुनुवाइ समितिले नियुक्तिका लागि बाटो खोलिदिएको छ।

सबै प्रक्रिया पूरा भएर इजरेलमा नयाँ राजदूत पुग्न अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन्।

सरकारले इजरेली दूतावासलाई लामो समयसम्म राजदूतविहीन राख्दाको असर आफ्नो परिवारलाई परिरहेको विपिनका दाजु किशोर जोशी बताउँछन्।

“दूतावासमा राजदूत हुँदासम्म कहिले राजदूतले, कहिले कर्मचारीहरूले फोन गरिरहनहुन्थ्यो। हिजोआज फोन पनि आएको छैन। काठमाण्डूबाट इजरेली राजदूत हनान गोडर घरमै आएर भेट्नुभएको पनि थियो अहिले पनि सम्पर्क गरिरहनुहुन्छ,” किशोर जोशीले भने।

हमाससँग लडिरहेको इजरेल पछिल्लो समय लेबननमा हिज्बुल्लाहसँग लडिरहेको छ।

उसको इरानसँग पनि तनाव चर्किँदै गएपछि हमासको कब्जामा रहेका विपिन जोशीको परिवारमा थप त्रास बढेको छ।

जोशीका बाआमा
तस्बिरको क्याप्शन, विपिन जोशीका बाआमा

तेल अभिभस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठ राजदूत नभए पनि दूतावास र परराष्ट्र मन्त्रालयबाट विपिनको रिहाइबारे प्रयास भइरहेको बताउँछन्।

“प्रयास अभूतपूर्व रूपमा दूतावास र मन्त्रालयबाट भइरहेको छ। प्रयास हुँदाहुँदै पनि बन्धकलाई निकाल्न नसकिएको हो। राजदूतज्यू अहिले हुनुहुन्न तर पनि प्रयास भइरहेको हो। तर पहिलेकै जस्तो प्रयास जारी छ भन्ने आश्वासन आइरहेको छ,” उनले भने।

तर विपिनको परिवार भने सरकारी प्रयास पर्याप्त नभएकै कारण उनी पहिलो इजरेल-हमास वार्ताका क्रममा नछुटेको बताउँछ।

‘नेपालको पहल पुगेन’

विपिन जोशी

तस्बिर स्रोत, Kishor Joshi/Facebook

तस्बिरको क्याप्शन, दुई वर्षअघि विपिनले दशैँमा टिका लगाएको तस्बिर उनका दाजुले फेसबुकमा राखेका थिए

विपिनकी आमालाई अहिले पनि विपिन सकुशल फर्केर आउनेमा पूरा विश्वास छ।

केही महिना अघिसम्म विपिनबारे ‘कुनै नराम्रो खबर नआएका कारण अहिलेसम्म सुरक्षित नै रहेको हुनसक्ने’ आश्वासन दिइरहेका अधिकारीहरूले सम्पर्क गर्न छोड्दा भने उनको परिवार सरकारसँग बेखुस देखिन्छ।

“सरकारले पहल गरिदियो भने त चाँडै आउने थियो होला। सरकारकै कमी कमजोरी देखिएको छ। अरू राष्ट्रले पहल गरेर आफ्नो देशका २३ जनासम्म पनि निकालिसकेका थिए। हाम्रो देशको एउटा नागरिकलाई आजसम्म निकाल्न सकिएको छैन,” विपिनकी आमाले थाईल्यान्डले आफ्नो देशका २३ जना बन्धक छुटाउन सफल भएको प्रसङ्ग उल्लेख गर्दै भनिन्।

इजरेली डिफेन्स फोर्सेसले एक नेपाली बन्धक पनि हमासको नियन्त्रणमा रहेको प्रमाण फेला परेको जनाएको थियो

तस्बिर स्रोत, ISRAEL DEFENSE FORCES/REUTERS

तस्बिरको क्याप्शन, इजरेली डिफेन्स फोर्सेसले एक नेपाली बन्धक पनि हमासको नियन्त्रणमा रहेको प्रमाण फेला परेको जनाएको थियो

विपिनका दाजु किशोर पनि नेपालको पहल नपुगेको आफूहरूलाई लागेको बताउँछन्।

“हामीले यसबीचमा दुई जना प्रधानमन्त्री, तीनै जना परराष्ट्रमन्त्री, राष्ट्रपतिसहित धेरै जनालाई भेट्यौँ। सबैले प्रयास चाहिँ भइरहेको छ भन्नुहुन्छ,” उनी भन्छन्।

“युद्धविराममा देशहरूले पहल गरेर आफ्ना नागरिक छुटाए। थाइल्यान्डले छुटायो। हाम्रो चाहिँ पहल नै पुगेन जस्तो लागिरहेको छ। पुगेको भए केही न केही हुनुपर्थ्यो। मन्त्रीज्यूले गरिरहेका छौँ भन्नुहुन्थ्यो।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।