लेबननलाई कसले चलाउँछ, हिज्बुल्लाहसँग कस्तो शक्ति छ?

तस्बिर स्रोत, Getty Images
- Author, जेरमी होवेल
- Role, बीबीसी विश्व सेवा
लेबननमा पछिल्ला दुई सातादेखि इजरेलको भीषण क्षेप्यास्त्र हमला हुँदा १,१०० भन्दा धेरै मानिसहरूले ज्यान गुमाएका छन् भने लेबननको भूमिमा इजरेली फौजले कब्जा जमाएका छन्।
यो अवस्था लेबननको एउटा राजनीति दल तथा लडाकु समूह हिज्बुल्लाह र इजरेल बीचको द्वन्द्वका कारण आएको हो।
हिज्बुल्लाह लडाकु समूह लेबननको राष्ट्रिय सेनाभन्दा बढ्ता शक्तिशाली छ। उक्त समूहलाई खासगरी त्यहाँका सिया मुस्लिमहरूको व्यापक साथ रहेको छ।
यो औपचारिक रूपमा कुनै राज्यको सङ्गठन होइन। तर लेबननमा पछिल्ला चार दशकमा उक्त समूह व्यापक दबदबा भएको शक्तिका रूपमा स्थापित छ।
लेबननलाई कसले चलाउँछ?
लेबनका राजनीतिक शक्तिहरू त्यहाँका विभिन्न धार्मिक समूह र सम्प्रदायबीच विभाजित छन्।
फ्रान्सबाट स्वतन्त्र हुँदा सन् १९४३ मा सहमति गरिएको एउटा सन्धिअनुसार त्यहाँका राष्ट्रपति मेरोनाइट सम्प्रदायका इसाई, प्रधानमन्त्री सुन्नी मुस्लिम समूहका र सभामुख सिया मुस्लिम समूहका हुनुपर्छ।
यसले लेबननमा उतिबेलाको विभिन्न धार्मिक समुदायको तुलनात्मक आकार झल्काउँछ।
त्यसबेला इसाईहरूको जनसङ्ख्या सुन्नी र सिया मुस्लिमभन्दा धेरै आधाभन्दा बढी थियो।
यद्यपि धेरैले यतिखेर उक्त सन्धिको औचित्य सकिएको ठान्छन्।
अहिले त्यहाँ इसाईहरूको जनसङ्ख्या सिया र सुन्नी मुस्लिमहरूको जनसङ्ख्याभन्दा ३० प्रतिशतभन्दा केही बढी मात्र रहेको अनुमान गरिएको छ।

तस्बिर स्रोत, Getty Images
उक्त सन्धिअनुसार इसाई र मुस्लिमको संसद्मा बराबर सीट सङ्ख्या हुनुपर्छ। यद्यपि लेबनन हाल मुस्लिमबहुल देश बनेको छ।
व्यवहारमा भने लेबननमा कुनै एउटा दल वा धार्मिक सम्प्रदायले समग्र शक्ति हासिल गर्दैन।
संसदीय गठबन्धनसाथ सरकारहरू बन्छन् र ठूला निर्णयहरू सहमतिका आधारमा लिइन्छन्।
त्यसले प्राय: राजनीतिक रूपमा निष्क्रिय अवस्था उत्पन्न गर्छ।
लेबननमा हिज्बुल्लाहको हैसियत के छ?

तस्बिर स्रोत, Getty Images
हिज्बुल्लाह सिया मुस्लिम लडाकु समूहका रूपमा सन् १९८२ मा बनेको थियो।
लेबननी गृहयुद्धका बेला सोही वर्ष दक्षिण लेबननमा इजरेली फौजले कब्जा जमाएपछि त्यससँग जुझ्न उक्त समूह तयार पारिएको थियो।
इरानबाट आर्थिक सहयोग पाएको यस समूहसँग व्यापक अस्त्र छ। अरबीक शब्द हिज्बुल्लाहको अर्थ “ईश्वरको दल” भन्ने हुन्छ।
औपचारिक रूपमा सन् १९८५ मा स्थापना भएको घोषणा गर्दै हिज्बुल्लाहले इरानमा जस्तै लेबननमा समेत इस्लामिक गणतन्त्र स्थापना गर्न चाहेको जनाएको थियो।
उसले दक्षिण लेबनन र प्यालेस्टिनी भूभागबाट इजरेली कब्जा अन्त्य गर्ने बाचा गरेको थियो।

सन् २००९ मा उसले जारी गरेको नयाँ घोषणापत्रमा इस्लामिक गणतन्त्र स्थापनाको कुरा उल्लेख छैन। तर आफू इजरेलविरुद्ध रहेको कुरामा उक्त सङ्गठन अडिग छ।
सन् १९९० मा लेबननी गृहयुद्ध अन्त्य हुँदा सबै युद्धरत पक्षले आफ्ना लडाकु समूह भङ्ग गरे पनि हिज्बुल्लाहले त्यसलाई कायमै राख्यो।
उसले देशको दक्षिणमा इजरेली कब्जाविरुद्ध लड्न आफ्नो भूमिका आवश्यक रहेको भन्दै त्यसलाई भङ्ग गरेन।
सन् २००० मा इजरेल अन्ततः उक्त क्षेत्रबाट पछि हट्यो र हिज्बुल्लाले त्यसलाई जितका रूपमा दाबी गर्यो।
सन् १९९२ देखि हिज्बुल्लाहले संसद्का लागि आफ्ना उम्मेदवार अघि सार्न थालेको थियो।
अहिले लेबननको संसद्मा हिज्बुल्लाहका कैयौँ सांसद र सरकारमा मन्त्रीहरू पनि छन्।
उक्त समूह लेबननका अधिकांश सिया समुदायको बसोबास रहेको क्षेत्रमा शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा संलग्न छ।
लेबननमा अन्य दलहरूले समेत आफ्ना प्रभाव क्षेत्रमा त्यस्ता सेवा प्रदान गर्ने भए पनि हिज्बुल्लाहको सञ्जाल त्यस्ता कार्यमा व्यापक रहेको ठानिन्छ।
हिज्बुल्लाह कसरी शक्तिशाली बन्यो?

तस्बिर स्रोत, Getty Images
हिज्बुल्लाहका लडाकुहरू संसारमै सबैभन्दा शक्तिशाली गैरराज्य पक्षका सैनिक मानिन्छन्।
लेबननमा हिज्बुल्लाह त्यति धेरै शक्तिशाली हुनु पछाडिको एउटा कारण उसका लडाकुहरू हुन्।
उसले आफ्ना लडाकुको सङ्ख्या करिब १ लाख रहेको बताए पनि स्वतन्त्र अनुमानमा उक्त सङ्ख्या २० हजार देखि ५० हजार बीचमा रहेको ठानिन्छ।
अस्त्रका हिसाबले समेत हिज्बुल्लाहसँग १,२०,००० देखि २,००,००० लाख बीचमा रकेट र क्षेप्यास्त्र रहेको अमेरिकी थिङ्क ट्याङ्क द सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरन्याश्नल स्टडिज्ले जनाएको छ।
हिज्बुल्लाहका लडाकुहरू लेबननका राष्ट्रिय सैनिक भन्दा निकै शक्तिशाली मानिन्छन्।
उक्त समूहले लेबननको राष्ट्रिय सरकारको कमजोरीको समेत लाभ उठाइरहेको छ।
उदाहरणका लागि राजनीतिक दलहरू सहमतिमा आउन नसकेकै कारण सन् २०२२ यता त्यहाँ राष्ट्रपति छैनन्।
केन्द्र सरकार हिज्बुल्लाहलाई उसकै आफ्नै मुद्दामा अगाडि बढ्नबाट रोक्न सक्ने गरी बलियो छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








