नक्सामा इजरेल-हिज्बुल्लाह सङ्घर्ष : लेबनन प्रवेश गरेर इजरेली सेनाले कहाँ के गर्दै छ

बेइरुतको पूर्वी भाग देखिने लेबननको नक्सा र पृष्ठभूमिमा क्षतिग्रस्त भवनहरू देखिने तस्बिर
    • Author, भिजूअल जर्नलिजम टीम
    • Role, बीबीसी न्यूज

हिज्बुल्लाहसँग द्वन्द्व चर्किएपछि इजरेली सेना दक्षिणी लेबननमा प्रवेश गरेको छ।

गत सोमवार राति इजरेलले लेबननमा स्थल सैन्य कारबाही सुरु गरेको हो। त्यसको केही दिनअघि इजरेली हवाई आक्रमणमा परी हिज्बुल्लाहका प्रमुख हसन नस्रल्लाहको मृत्यु भएको थियो। हिज्बुल्लाह इरानबाट समर्थनप्राप्त सैन्य समूह हो।

दुई सातादेखि इजरेलले लेबननमा हवाई हमला गर्दै आएको छ। त्यसको प्रतिकार गर्दै हिज्बुल्लाहले पनि उत्तरी इजरेलमा सयौँ रकेट प्रहार गरेको छ। लेबननी अधिकारीहरूका अनुसार इजरेली कारबाहीमा परेर १,००० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १० लाख मानिस आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन्।

इजरेल र हिज्बुल्लाहबीच दशकौँदेखि द्वन्द्व चल्दै आएको छ। तर गत वर्ष गाजामा युद्ध सुरु भएपछि हिज्बुल्लाह र इजरेलबीच फेरि सीमावारपार सङ्घर्ष हुन थाल्यो।

यहाँ यो द्वन्द्वसँग सम्बन्धित केही नक्साहरू प्रस्तुत गरिएको छ।

लेबनन कहाँ छ?

लेबनन भूमध्यसागरको तटमा अवस्थित सानो देश हो। त्यहाँको जनसङ्ख्या ५५ लाख मात्र छ। लेबननको उत्तर र पूर्वमा सिरिया छ भने दक्षिणमा इजरेल छ।

साइप्रस र लेबननबीचको दूरी १७० किलोमिटर छ।

लेबननको नक्सा

इजरेलले कहाँ धावा बोल्यो?

इजरेल डिफेन्स फोर्सेज (आईडीएफ)ले "हिज्बुल्लाहका आतङ्ककारी संरचना ध्वस्त पार्न" भन्दै दक्षिणी लेबननमा आफूले "सीमित, स्थानीय र लक्षित स्थल कारबाही" गर्न थालेको बताएको छ।

लेबननमा धावा बोलेको दोस्रो दिन इजरेली सेनाले हिज्बुल्लाहका लडाकुहरूको सामना गर्नुपरेको बीबीसीका निक बीकले बताए। उनी उत्तरी इजरेलमा छन्।

गत साता लेबननको सीमानजिकै उत्तरी इजरेलमा इजरेली ट्याङ्कहरू भेला भएका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत साता लेबननको सीमानजिकै उत्तरी इजरेलमा इजरेली ट्याङ्कहरू भेला भएका थिए

आईडीएफका अनुसार इजरेली सैनिकहरूले "दक्षिणी लेबननका विभिन्न स्थानमा विशिष्ट लक्ष्य भएका हतियारको प्रयोगबाट र नजिकैबाट भएको लडाइँमा आतङ्ककारीहरूलाई मारिदिए र आतङ्ककारी संरचनाहरू ध्वस्त पारिदिए।"

आईडीएफले आफ्ना आठ सैनिकको पनि मृत्यु भएको जनायो। तीमध्ये छ जना हिज्बुल्लाहको धरापमा परेका थिए भने दुई जनाको ज्यान मोर्टार प्रहारका कारण गएको बताइएको छ।

हिज्बुल्लाहका अनुसार सीमावर्ती एउटा गाउँमा भएका भिडन्तका क्रममा उसका लडाकुहरूले इजरेली कमान्डोहरूलाई लक्ष्य गरी ट्याङ्कभेदी क्षेप्यास्त्र प्रहार गरेका थिए। काफर किलाको बाह्य भागमा इजरेली सैनिकहरूलाई विस्फोटक पदार्थ र गोली प्रयोग गरी निसाना बनाइएको र मारून अल-रासनजिकै क्षेप्यास्त्र प्रहार गरी इजरेलका केही ट्याङ्क ध्वस्त पारिएको उसको दाबी छ। अदेसह र यारूनमा पनि भिडन्त भएको उसको भनाइ छ।

दक्षिणी लेबननमा इजरेलले थालेको स्थल कारबाहीबाट इजरेली फौजलाई धेरै खतरा छ। गाजाको जस्तो भूमि नभई दक्षिणी लेबननमा पहाडी भूभागहरू छन्। भौगोलिक अवस्थितिका कारण इजरेली सेनाका ट्याङ्कहरू सजिलै अगाडि बढ्न सक्दैनन् र धरापमा पर्न सक्ने डर कायम रहन्छ।

उक्त क्षेत्रमा हिज्बुल्लाहले भूमिगत सुरुङको सञ्जाल बनाएको ठानिन्छन्। सो समूहले सन् २००६ मा इजरेलसँग ३६ दिन चलेको युद्धपछि पूर्णस्तरको लडाइँका लागि तयारी गर्न थालेको ठानिन्छ।

लेबननका विभिन्न स्थान र नदी देखिने नक्सा

आईडीएफले दक्षिणी लेबननका केही गाउँमा बस्ने मानिसहरूलाई "तत्काल घर छाडेर अवाली नदीको उत्तरितर जान" उर्दी जारी गरेको छ। उक्त स्थान इजरेलको सीमाबाट ५० किलोमिटर टाढा समुद्री तटमा छ।

आईडीएफले लेबननका नागरिकहरूलाई लितानी नदीपारि दक्षिणतिर जाँदा सवारीसाधन प्रयोग नगर्न चेतावनी दिएको छ। उक्त नदी सीमावाट ३० किलोमिटर टाढा पर्छ।

द्वन्द्व चर्किनुअघि गत वर्षसम्म दक्षिणी लेबननमा झन्डै १० लाख मानिस बस्दै आएका थिए। सेप्टेम्बर महिनाको अन्त्यतिर इजरेलले हवाई हमला गर्न थालेपछि हजारौँ मानिस उत्तरतिर भाग्न थाले।

इरानले प्रहार गरेका १८० वटाभन्दा बढी बलिस्टिक क्षेप्यास्त्रलाई निष्क्रिय पारिदिएको भोलिपल्ट बुधवार पनि इजरेली हवाई प्रतिरक्षा प्रणाली सक्रिय रह्यो। हसन नस्रल्लाहको हत्याको जबाफ दिने उद्देश्यले इरानले मङ्गलवार राति ती क्षेप्यास्त्रहरू प्रहार गरेको थियो।

दक्षिणी लेबननबाट बुधवार दिनभरि गरी २४० वटाभन्दा बढी रकेट उत्तरी इजरेलतिर प्रहार गरिएको आईडीएफले जनाएको छ।

इजरेलले पूर्वी बेका उपत्यका र बेइरुतका दक्षिणी भेगमा झन्डै दुई सातादेखि सघन हवाई आक्रमण गर्दै आएको थियो। ती आक्रमणहरू हिज्बुल्लाहप्रति लक्षित भएको इजरेलको दाबी थियो। त्यसपछि इजरेलले दक्षिणी लेबननमा प्रवेश गरी स्थल कारबाही थालेको हो।

इजरेलले आक्रमण गरेका स्थान देखिने लेबननको नक्सा

इजरेलले अस्त्रभण्डारसहित हिज्बुल्लाहसँग सम्बन्धित स्थानमा आफूले आक्रमण गरेको दाबी गरेको छ। तर लेबननी अधिकारीहरूले इजरेली आक्रमणमा परी १०० भन्दा बढी महिला र बालबालिको मृत्यु भएको बताएका छन्।

दक्षिणी लेबननबाट उत्तरतिर भाग्न खोज्ने सर्वसाधारण मानिसले समुद्री तटमा अवस्थित सडक प्रयोग गर्नुपर्छ। तर उक्त मार्गमा पर्ने केही स्थानहरू इजरेली हवाई आक्रमण पर्दै आएका छन्।

इजरेलले बेइरुतको दक्षिणी भेगमा अवस्थित दाहिअलाई लक्ष्य बनाएर हवाई आक्रमण गर्दै आएको छ। सो स्थानको जनघनत्व बाक्लो छ। त्यहाँ हजारौँ सर्वसाधारण मानिसहरू बस्छन् भने हिज्बुल्लाहको पनि बलियो उपस्थिति छ।

बेइरुतमा जनघनत्व बाक्लो भएका स्थानको नक्सा

इजरेल अहिले मध्यपूर्वमा विभिन्न देशका सशस्त्र समूह र ती देशका सरकारमातहत नरहेका सशस्त्र समूहहरूसँगको द्वन्द्वमा फसेको छ। इरानबाट समर्थनप्राप्त उग्रवादी समूहहरू लेबनन, गाजा, इराक, सिरिया र यमनमा सक्रिय छन्।

इरानले इजरेलमाथि बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्नु अहिले जारी द्वन्द्वको सबैभन्दा ठूलो घटना हो।

अब के हुन्छ भन्ने स्पष्ट छैन। तर इजरेलले त्यसको जबाफ दिने घोषणा गरेको छ। इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानी आक्रमणलाई "ठूलो गल्ती" भन्दै उसले त्यसको मूल्य चुकाउनुपर्ने बताएका छन्।

इजरेल र उससँग सङ्घर्ष गरिरहेका देशहरू देखिने नक्सा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।