लेबननमा विस्फोटनपछि सबैखाले विद्युतीय उपकरणको सुरक्षामा आशङ्का

वाकीटकी

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, जापानको वाकीटकी निर्माताले १० वर्षयता उत्पादन नभएको आफ्नो उपकरण प्रयोग गर्दा भएको विस्फोटनबारे छानबिन गरिने बताएको छ
    • Author, ह्युगो बचेगा
    • Role, मध्यपूर्व संवाददाता

लेबननको राजधानी बेइरुतमा 'पेजर बम' आक्रमणमा परेर मृत्यु भएकाहरूको शोकमा भेला भएका मानिसहरूलाई अर्को विस्फोटनको लहरले त्रसित बनायो।

विस्फोटनको समयमा कैद गरिएको भिडिओमा राजधानीको दक्षिणमा पर्ने दाहीया सहरमा शोकमा भेला भएका मानिसहरू जमिनमा पल्टिरहेको, चिच्याउँदै गरेको र भाग्दै गरेको देखिन्छ।

दोस्रो चरणको विस्फोटनको आवाजको प्रतिध्वनि गल्लीगल्लीसम्म फैलँदा वरपरको क्षेत्रमा मानिसहरूमा कोलाहल भयो। प्रार्थना गरिरहेका मानिसहरू रोकिए। जम्मा भएका मानिसहरू एक अर्कालाई हेर्न थाले र के भइरहेको हो भन्ने भेउ नपाएजस्ता देखिए।

यो दोस्रो लहरको विस्फोटमा वाकीटकी प्रयोग भएका विवरण आएपछि कुनै पनि विद्युतीय उपकरण सुरक्षित नभएको हो कि भनेर चिन्ता सुरु भयो।

त्यसपछि हिज्बुल्लाहका समर्थकहरूले बीबीसीको टोलीलाई मोबाइल फोन र क्यामरा प्रयोग गर्नबाट बारम्बार रोकेका थिए। बीबीसीका एक कार्यक्रम उत्पादकलाई उनकी साथीले आफ्नो फोन पनि विस्फोटन हुने चिन्ताका कारण आफूले अन्तर्राष्ट्रिय सिमकार्ड बोक्न थालेको सन्देश पठाएकी छन्।

सौर्य ऊर्जाका लागि प्रयोग हुने प्यानलहरू पनि विस्फोट हुन थालेको हल्ला सामाजिक सञ्जालमा फैलिएपछि मानिसहरूमा द्विविधा थप बढेको छ।

स्तब्ध र क्रोधित देश

अन्तिम संस्कार

तस्बिर स्रोत, Reuters

लेबननका अधिकारीहरूले पछिल्लो विस्फोटनमा कम्तीमा २० जना मानिसहरूको मृत्यु हुनुका साथै देशभरि ४५० जना घाइते भएको बताएका छन्। विस्फोटका कारण दर्जनौँ घर, पसल र सवारी साधनमा आगलागी भएको अधिकारीहरूले बताएका छन्।

इरानले समर्थन गरेको हिज्बुल्लाह समूहका लागि पछिल्लो आक्रमण अपमानको विषय बनिरहँदा उसको सम्पूर्ण सञ्चार सञ्जालमा नै इजरेलको घुसपैठ भएको सङ्केत देखिएको छ।

त्यसैले लेबननमा कैयौँ मानिसहरू अब के हुन्छ भन्नेमा चिन्तित देखिएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, Watch: Walkie-talkie recovered from explosion in Lebanon

मङ्गलवार भएको पहिलो लहरको विस्फोटनकै कारण अझैसम्म यो देश स्तब्ध र क्रोधित देखिएको छ। मङ्गलवार हिज्बुल्लाहबाट पठाइएको ठानिएको सन्देश पाएका हजारौँ प्रयोगकर्ताहरूको पेजर विस्फोटन भएको थियो।

उनीहरू पसलमा, परिवारका अन्य मानिसहरूसँग भएका समयमा विस्फोटन हुँदा आठ वर्षकी बालिका र ११ वर्षका बालक सहित १२ जनाको मृत्यु भएको थियो भने २,८०० जना घाइते भएका थिए।

घिदा नाम बताउने एक लेबननकी एक महिलाले बीबीसीको न्यूजडे कार्यक्रमसँग “सबै मानिसहरू आत्तिइरहेको” बताइन्।

“हामी हाम्रो ल्यापटप वा फोनको छेउछाउ बस्न हुने हो कि होइन के थाहा? सबै कुरा खतरनाक देखिन्छन् र यो अवस्थामा के गर्ने भन्ने कसैलाई थाहा छैन।”

“मलाई लेबननमा व्यापक युद्धको डर छ। मलाई मेरा मानिसहरूको डर छ। मलाई मेरो सहरको डर छ र देशको डर छ,” उनले भनिन्।

“किनभने हामी यो भन्दा राम्रो अवस्थामा हुनुपर्थ्यो। तर अहिले हिज्बुल्लाह, इजरेल र इरान तथा जताततै चलिरहेको युद्धको मूल्य हामीले चुकाइरहेका छौँ।”

लेबनन विस्फोटन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लेबननमा पेजरहरू पठाउने क्रममा नै चलखेल भएको र पेजरहरूमा विस्फोटक पदार्थ हालिएको हुन सक्ने विवरण आएका छन्

मङ्गलवार भएको पेजर विस्फोटमा परेका ६० प्रतिशत मानिसहरूको एउटा आँखा गुमेको आफूले देखेको डा एलिआस वारकले बीबीसीसँग बताए। उनका अनुसार धेरै जनाले औँला र एउटा सिङ्गो हात गुमाएका छन्।

“एक चिकित्सकका रूपमा त्यो मेरो जीवनको सबैभन्दा खराब दिन थियो,” उनले भने। "मृत्युको सङ्ख्या र क्षतिको आकार निकै ठूलो छ भन्ने मलाई लाग्छ।"

"दुःखको कुरा हामीले कैयौँ आँखाहरू जोगाउन सकेनौँ। क्षति मानिसहरूको आँखामा मात्रै सीमित छैन, कतिपयको मस्तिष्कमा र कतिपयको अनुहारमा पनि क्षति पुगेको छ।”

लेबननमा पेजरहरू पठाउने क्रममा नै चलखेल भएको र पेजरहरूमा विस्फोटक पदार्थ हालिएको हुन सक्ने विवरण आएका छन्। ती पेजरहरूलाई पछि टाढैबाट विस्फोटन गराइएको थियो।

हिज्बुल्लाहले किन मोबाइलको सट्टा पेजर चलाउँछ

पेजर

तस्बिर स्रोत, Reuters

स्मार्टफोन बोक्दा इजरेलको सैन्य गुप्तचर निकायले आफू रहेको स्थान पहिचान गर्ने र हत्या गर्न सक्ने चिन्तामाझ हिज्बुल्लाहले आफ्ना मानिसहरूलाई पेजर बाँडेको थियो। यद्यपि बुधवारको आक्रमण कसरी भयो भन्नेबारे विस्तृत विवरणहरू आएका छैनन्।

तर हिज्बुल्लाहले आक्रमणमा इजरेल जिम्मेवार रहेको बताउँदै त्यसको जबाफ दिने चेतावनी दिएको छ।‍ यसअघि जस्तै पछिल्लो घटनाबारे पनि इजरेलले कुनै प्रतिक्रिया दिएको छैन।

यसअघि नै सीमावर्ती इलाकामा दशौँ हजार मानिस विस्थापित गराइसकेको दुई पक्षबीचको पछिल्लो हिंसा पूर्ण स्तरको युद्धमा परिणत हुने हो कि भन्ने चिन्ता मानिसहरूमा देखिएको छ।

हिज्बुल्लाहले इजरेलमा भइरहेको उसको आक्रमण गाजास्थित प्यालेस्टिनीहरू रतिको ऐक्यबद्धता भएको बताउँदै आएको छ। उसले युद्धविराम भएको अवस्थामा मात्रै आफ्नो आक्रमण रोकिने बताउने गरेको छ।

तर तत्कालका लागि युद्धविराम असम्भवजस्तै देखिएको छ।

नयाँ युद्ध सुरु गर्ने चरण?

विस्फोटनपछिको दृश्य

तस्बिर स्रोत, Getty Images

दाहियामामा अन्तिम संस्कारमा शोक मनाउन भेला भएका मानिसहरूले बीबीसीसँगको कुराकानीमा आक्रोशको भाव व्यक्त गरे।

“यसको चोट ठूलो छ: एउटा भौतिक, अर्को भावनात्मक। तर हामी यसमा बानी परेका पनि छौँ। हामी हाम्रो प्रतिवाद जारी राख्छौँ," अन्तिम संस्कारमा उपस्थित भएका एक जना युवकले बीबीसीसँग भने।

त्यस्तै ४५ वर्षकी एक महिलाले आक्रमणले आफूहरूलाई अझै बलियो बनाउने बताइन्।

“एउटा आँखा गुमाएकाहरू अब अर्को आँखाको मद्दतले लड्छन्। हामी एक ठाउँमा उभिन्छौँ,” उनले भनिन्।

घटनाको केही घण्टापछि इजरेली रक्षामन्त्री योआभ गालान्टले आफ्नो देश “नयाँ युद्ध सुरु गर्ने चरणमा पुगेको” बताएका छन्।

तर वर्षौँसम्मको आर्थिक सङ्कटबाट माथि उठ्ने लेबननमा सञ्चालित हिज्बुल्लाह हालसम्म इजरेलसँग युद्ध लड्ने पक्षमा देखिएको छैन। यो देशका कैयौँले युद्ध आफ्नो देशको इच्छा नभएको बताएका छन्।

यद्यपि कतिपयले कडा प्रतिवाद गर्नुपर्ने माग गरेका छन्।

जबाफ दिने हिज्बुल्लाह नेताको चेतावनी

हसन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हसन नस्रल्लाह

हिज्बुल्लाहका शक्तिशाली नेता हसन नस्रल्लाहले बिहीवार आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै आफ्ना लडाकुहरूमाथि भएको आक्रमणको जबाफ दिइने चेतावनी दिएका छन्।

उनले त्यस्तो जबाफ “उनीहरूले अपेक्षा गरेको वा नगरेको जस्तोसुकै हुनसक्ने,” बताए।

देशको नाम नलिए पनि उनले इजरेलप्रति इङ्गित गर्दै "सबै हद र सीमाहरू पार गरेको" आरोप लगाए।

"म ठाउँ, समय, खास स्थान, अरू विवरण दिन्नँ," उनले भने।

"तपाईँहरूले त्यो भएपछि थाहा पाइहाल्नुहुन्छ। यसको बदला लिइन्छ। हामी अहिले लडाइँको संवेदनशील चरणमा छौँ। त्यस कारण थप विवरण खुलाउँदैनौँ।"

नस्रल्लाहले इजरेलबाट भएका घातक हमलाको भर्त्सना गरिरहँदा इजरेलले दक्षिणी लेबननमा थप हवाई आक्रमणहरू सुरु गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।