'म्यान्मारमा मानवताविरोधी अपराधका घटनाको प्रमाण बढ्दो'

संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले म्यान्मारमा मानवता विरोधी अपराधका घटनाको बढ्दो प्रमाणहरू जम्मा गरेको बताएका छन्।
गत वर्ष फेब्रुअरीमा सेनाले कू गरेर सत्ता हातमा लिएयता त्यस्ता घटनाहरू बढेको उनीहरूले बताएका हुन्।
नयाँ प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले महिला र बालिका केन्द्रित हत्या, यातना र यौन हिंसासहितका अपराधहरू धेरै भएको जनाएको हो।
राष्ट्रसङ्घले सर्वसाधारणविरुद्ध भएका दुर्व्यवहारहरू योजनाबद्ध हमलाहरू भएको जनाएको छ।
राष्ट्रसङ्घको म्यान्मारस्थित स्वतन्त्र अनुसन्धान संयन्त्रका अनुसन्धानकर्ताहरूले उनीहरूसँग भएका प्रमाणले अन्तर्राष्ट्रिय रूपमै अपराधबारे मुद्दा अभियोजन गर्न सकिने र यसबारे दोषीले थाहा पाउनुपर्ने बताएका छन्।
स्थानीय अनुगमन गर्ने समूहले दुई हजारभन्दा बढी मानिसहरू मारिएको र पन्ध्र हजारभन्दा बढीलाई पक्राउ गरिएको जनाएको छ।

सैनिकको स्वीकारोक्ति
यसअघि छ जना भगौडा सैनिकहरूले बीबीसीलाई विरलै अन्तर्वार्ता दिएका थिए जसमा उनीहरूले सर्वसाधारणलाई मारेको, बलात्कार गरेको र गाउँहरू जलाएको बताएका छन्।
उनीहरूले सेनाको आदेशमा सैनिकले अक्षम्य मानव अधिकार हनन गरेको स्वीकार गरेका हुन्।
गत वर्ष कू गरेर सेनाले म्यानमारको प्रजातान्त्रिक तरिकाले निर्वाचित आङ साङ सूची नेतृत्वको सरकारबाट सत्ता खोसेको थियो।
त्यसयता सैन्य सरकारले आफू विरुद्ध लडिरहेको सशस्त्र नागरिक समूहहरूलाई सखाप पार्न खोजिरहेको ठानिएको छ।
"उनीहरूले मलाई निर्दोष मानिसहरूलाई लुट्न, यातना दिन र मार्न आदेश दिए," सन् २०२२ को मेमा एउटा गुम्बामा लुकेका नागरिकहरूको ज्यान लिने बटालियनका सदस्य रहेका माउङ ओले भनेका छन्।
"हामीलाई सबै पुरुषहरूलाई एक ठाउँमा भेला पार्न र गोली हानेर मार्न आदेश दिइयो," उनी भन्छन्। "दुखको कुरा त हामीले वृद्ध मानिसहरू र एक महिलालाई समेत मार्नु पर्यो।"
Nepali_Myanmar Feb 1 2022
गोपनीयता कायम राख्न उल्लेखित सैनिकको नाम परिवर्तन गरिएको छ।
दशकौँपछि मृत्युदण्ड
मानवता विरोधी गतिविधिहरूबारे विवरणहरू सार्वजनिक भइरहँदा गत जुलाईमा म्यानमारको सेनाले चार जना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दियो। त्यहाँ दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको हो। भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअलाई "आतङ्ककारी गतिविधि" गरेको आरोप लगाइएको थियो।
कूको विरोधमा गठन गरिएको छाया सरकारले त्यस मृत्युदण्डको निन्दा गरेको थियो प्रजातन्त्रवादी व्यक्तित्व, सशस्त्र विद्रोही समूहका प्रतिनिधि र एनएलडीका सदस्यहरू सम्मिलित छाया सरकारले अन्तर्राष्ट्रिय समुदायलाई "अत्याचार र हत्याका लागि हत्यारा सैन्य जुन्टालाई सजाय"को माग गरेको थियो।
म्यानमारमा के भइरहेको छ?
गत वर्षको कूपछि विपक्षी अभियानकर्मीहरूले नागरिक अवज्ञाका लागि अभियान सीडीएम गठन गर्दै ठूला प्रदर्शन र हडताल गर्दै आएका छन्।
सेनाले त्यसमा गोली, पानीका फोहोरा र रबरका गोली हान्ने गरेको छ।
आफूलाई पिपल्स डिफेन्स फोर्स पीडीएफ बताउने स्थानीय लडाकुहरूले सैनिक गाडीका लस्करमा हमला र अधिकारीहरूको हत्या गर्ने गरेका छन्।
सरकारले हिंसक रूपमा प्रतिशोध साँध्ने गरेको छ।

सगाईँ जिल्लामा ४० जना सर्वसाधारणलाई यातना र हत्या गरिएको थियो।
अन्तर्राष्ट्रिय समुदायले के गरिरहेको छ?
संयुक्त राष्ट्रसङ्घले म्यानमारमा मानवीय सङ्कट गहिरिइरहेको भन्दै चेतावनी दिएको छ।
उसले त्यहाँ "हिंसा तीव्र बनेको र गरिबी उच्च दरमा बढेको" जनाएको छ।
अमेरिका, यूके र युरोपेली सङ्घले सैन्य अधिकारीहरूमाथि प्रतिबन्धहरू लगाएका छन्।
म्यानमारमा रोहिँन्ज्या मुस्लिमहरू सहित धेरै जातीय समूह छन्।
सन् २०१७ मा सेनाले गरेको कारबाहीपछि हजारौँ रोहिँन्ज्याहरू मारिनुका साथै सात लाखभन्दा धेरै देश छाडेर बङ्गलादेश पुगेका थिए।










