इजरेल र प्यालेस्टाइन: हिंसा र सङ्घर्षको लामो इतिहास यस्तो

एक प्यालेस्टीनी महिला र इजरेली पुरुष जेरुसलेममा चर्काचर्की गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एक प्यालेस्टीनी महिला र इजरेली पुरुष जेरुसलेममा चर्काचर्की गर्दै

इजरेल तथा प्यालेस्टाइनका मानिसहरूबीच चलेको लडाइँ विश्वकै सबभन्दा लामो र हिंस्रक सङ्घर्षमध्येको एक हो। यसको जरा एक शताब्दीभन्दा पुरानो छ।

विभिन्न समयमा इजरेल तथा अरब देशहरूबीच शृङ्खलाबद्ध लडाइँ भएका छन्।इजरेली अतिक्रमणविरुद्ध इन्तिफादा भनिएको विद्रोह अनि त्यसका विरुद्ध इजरेलले गरेका कारबाही लगातार चलेका छन्।

जमिन, सिमाना तथा अधिकारसँग जोडिएका ऐतिहासिक विवादका असर अहिले पनि अनुभव गरिँदै छ। जसमा हालैको इजरेल तथा गाजास्थित हमासको लडाइँ पनि पर्छ।

सन् १९४८ भन्दा अगाडि इजरेल के थियो र उसको स्थापना कसरी भयो?

पहिलो विश्वयुद्धका बेला मध्यपूर्वको केही भागमा शासन चलाउने अटोमान साम्राज्यको पराजयपश्चात् प्यालेस्टाइन भनेर चिनिने क्षेत्र ब्रिटेनको नियन्त्रणमा आयो।

त्यहाँ बहुसङ्ख्यक अरब, अल्पसङ्ख्यक यहुदी तथा केही अन्य जनजातीय समुदायका मानिस बस्थे।

जब यहुदी मानिसहरूका लागि प्यालेस्टाइनमा 'राष्ट्रिय आश्रय' स्थापनाप्रति यूकेले सैद्धान्तिक सहमति जनायो तबदेखि यहुदी र अरब समुदायमाझको तनाव चर्कन थाल्यो।

उक्त जमिनसँग यहुदीहरूको ऐतिहासिक साइनो थियो भने प्यालेस्टीनी अरब समुदायले पनि सो क्षेत्रमा उसको शताब्दीयौँ पुरानो अधिकार रहेको जिकीर गर्थ्यो। ब्रिटिशहरूले सो क्षेत्रमा बस्दै आएका प्यालेस्टीनी अरबहरूका पनि अधिकारको रक्षा गरिनु पर्ने बताए।

प्यालेस्टाइन यूकेको शासनमा रहेको बेला सन् १९३५ मा बेथलेहमको एक बजारको दृश्य

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्यालेस्टाइन यूकेको शासनमा रहेको बेला सन् १९३५ मा बेथलेहमको एक बजारको दृश्य

सन् १९२० तथा १९४०का माझ त्यहाँ आउने यहुदीहरूको सङ्ख्या विस्तार भयो। खासगरि युरोपमा दमन बेहोरेर भागेका यहुदीहरू त्यहाँ पुगे। होलोकस्टका समयमा ६० लाख यहुदीको हत्याभएपश्चात् उनीहरूका निम्ति सुरक्षित स्थलको आवश्यकता झन् टड्कारो बन्यो।

त्यहाँ सन् १९४७ सम्ममा यहुदीको जनसङ्ख्या ६३०,००० पुग्यो जुन सो क्षेत्रको कुल जनसङ्ख्याको एक तिहाइ थियो।

सन् १९४७ मा यहुदी र अरबबीचको सङ्घर्ष अनि साथसाथै ब्रिटिश शासनविरुद्धको सङ्घर्षको पृष्ठभूमिमा संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टाइन क्षेत्रलाई यहुदी र अरबका लागि भिन्ना भिन्नै राज्यमा विभाजन गर्ने पक्षमा मतदान भयो। जेरुसलेम चाहिँ एक अन्तर्राष्ट्रिय सहर हुने भनियो।

तर कुनै पनि अरब देशले यो प्रस्ताव स्वीकारेनन्। उक्त प्रस्तावले कम जनसङ्ख्या भएका यहुदीलाई धेरै भूभाग दिलाउने भनेर उनीहरूले विरोध गरे।

ब्रिटेन उक्त मतदानमा अनुपस्थित रह्यो। सन् १९४८ को मे १४ का दिन त्यहाँबाट आफू फिर्ता हुने र उक्त समस्या राष्ट्रसङ्घको जिम्मा लगाउने ब्रिटेनले निर्णय गर्‍यो।

ब्रिटिश शासनको अन्त्य हुन केही घण्टा बाँकी रहँदा प्यालेस्टाइनस्थित यहुदी नेताहरूले एक स्वतन्त्र देशको घोषणा गरे। त्यसको एक वर्षपछि इजरेललाई संयुक्त राष्ट्रसङ्घले मान्यता दियो।

सन् १९४८को अरब-इजरेली युद्ध के हो?

स्वतन्त्रताको घोषणा गरेको भोलिपल्टै इजरेलमाथि आक्रमण भयो र छिमेकका पाँच अरब देशका सेनाले इजरेललाई घेरा हाले।

इजरेलमा उक्त सङ्घर्षलाई स्वतन्त्रताको युद्धको रूपमा मानिन्छ।

सन् १९४८को स्वतन्त्रता युद्ध सुरु हुनुभन्दा पहिले एक हागना (यहुदी भूमिगत लडाकू) हतियारसहित

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९४८को स्वतन्त्रता युद्ध सुरु हुनुभन्दा पहिले एक हागना (यहुदी भूमिगत लडाकू) हतियारसहित

सन् १९४९ मा युद्धविराम भएर उक्त लडाईँ रोकियो तर त्यतिञ्जेलसम्म सो क्षेत्रको अधिकांश भूभाग इजरेलको नियन्त्रणमा पुगिसकेको थियो।

युद्धविराम सहमतिसँगै इजिप्टको कब्जामा गाजा क्षेत्र, जोर्डनको कब्जामा वेस्ट ब्याङ्क र पूर्वी जेरुसलेम अनि इजरेलको कब्जामा पश्चिम जेरुसलेम रहन पुग्यो।

करिब साढे सात लाख प्यालेस्टीनीहरु तिनका घरबार छाडेर भाग्न बाध्य भए अनि शरणार्थी बन्न पुगे।

उक्त घटनालाई अरबी भाषामा नक्बा वा 'विनाश' भनेर सम्झिने गरिन्छ।

सन् १९४८ को युद्ध ताका अरब लिजन सैनिक हागना लडाकूविरुद्ध बन्दूक प्रहार गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९४८ को युद्ध ताका अरब लिजन सैनिक हागना लडाकूविरुद्ध बन्दूक प्रहार गर्दै

त्यसपछिका वर्षहरूमा मध्यपूर्व तथा उत्तर अफ्रिकाका मुस्लिम बहुल देशबाट लाखौँ यहुदीहरू भागे वा लखेटिए। अधिकांश इजरेल तर्फ गए।

सन् १९६७ को मध्यपूर्व युद्ध कस्तो थियो?

६-दिनको युद्ध भनेर चिनिने उक्त घटनाले मध्यपूर्वको सिमाना बदलिदियो अनि प्यालेस्टीनीहरूका निम्ति गम्भीर परिणाम निम्त्यायो।

उक्त युद्धमा इजरेलले इजिप्ट, सिरिया र जोर्डनसँग लड्यो।

इजिप्ट र सिरियाले आक्रमण गर्न लागेको भन्ने त्रासमा इजरेलले इजिप्टको हवाई सेनाविरुद्ध आक्रमण गरेपछि उक्त युद्ध सुरु भएको थियो।

युद्ध समाप्त हुँदासम्म इजरेलले इजिप्टको कब्जाबाट साइनाइ प्रायःद्वीप अनि गाजा आफ्नो नियन्त्रणमा लियो। त्यस्तै उसले गोलन हाइट्सको अधिकांश भूभाग सिरियाबाट खोस्न अनि पूर्वी जेरुसलेम तथा वेस्ट ब्याङ्क जोर्डनबाट खोस्न सफल भयो।

वेस्ट ब्याङ्क, गाजा र पूर्वी जेरुसलेममा बस्दै आएका करिब दश लाख प्यालेस्टीनीहरू इजरेलको नियन्त्रणमा पुगे।

सन् १९६७ को ६ दिने युद्धका बेला पूर्वी जेरुसलेममा आइपुगेका इजरेली सैन्य कमान्डरहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९६७ को ६ दिने युद्धका बेला पूर्वी जेरुसलेममा आइपुगेका इजरेली सैन्य कमान्डरहरू

आजको दिनसम्म लगभग यी सबै क्षेत्र इजरेलकै कब्जामा रहेका छन्।

सन् १९७९ मा इजिप्टसँग शान्ति सन्धि गरेर इजरेलले साइनाइ उसलाई फिर्ता दियो।

पूर्वी जेरुसलेम र गोलन हाइट्सलाई उसले आफ्नो देशको भाग बनाएको छ तर त्यसलाई अन्तर्राष्ट्रिय समुदायको ठूलो हिस्साले मान्यता दिएको छैन।

अहिले वेस्ट ब्याङ्कको हैसियत के हो?

वेस्ट ब्याङ्क भनिने इजरेल र जोर्डन नदीबीचको भूभागमा करिब ३० लाख प्यालेस्टीनीहरू बस्छन्।

गाजा र पूर्वी जेरुसलेम सहितको वेस्ट ब्याङ्कको क्षेत्रलाई अधिनस्थ प्यालेस्टीनी क्षेत्र भनेर धेरैले भन्ने गर्छन्।

यी क्षेत्रमा इजरेली उपस्थितिको प्यालेस्टीनीहरूले सधैँ विरोध गर्दै आएका छन्। ती क्षेत्र भविष्यमा स्वतन्त्र प्यालेस्टाइन देशको हिस्सा हुनुपर्ने उनीहरूको चाहना छ जसलाई अन्तर्राष्ट्रिय समुदायको ठूलो बहुमतले समर्थन गर्दै आएको छ।

वेस्ट ब्याङ्कको समग्र नियन्त्रण इजरेलकै छ तर सन् १९९० को दशकदेखि 'प्यालेस्टीनी अथरिटी' भनेर चिनिने प्यालेस्टीनी सरकारले त्यहाँका नगर तथा सहरहरूमा प्रशासन चलाउँदै आएको छ।

वेस्ट ब्याङ्क र पूर्वी जेरुसलेममा करिब १५० इजरेली बस्ती छन् जसमा करिब सात लाख यहुदीहरू बस्छन्।

ती सबै बस्ती त्यहाँबाट हट्नुपर्ने प्यालेस्टीनी चाहना छ। अन्तर्राष्ट्रिय कानुनले पनि तिनलाई अवैध मान्छ।

तर इजरेली सरकारको भनाइ भिन्न छ। उसका अनुसार कम्तीमा पनि त्यहाँका एकदम ठूला यहुदी बस्ती स्थायी हुन् अनि ती सबै बस्ती कुनै न कुनै ऐतिहासिक अधिकारसँग जोडिएका छन्।

उसले प्यालेस्टीनीहरूको स्वतन्त्र देशको अधिकार मान्दैन। वेस्ट ब्याङ्क इजरेली गृहस्थलकै हिस्सा भएको ऊ ठान्छ।

सन् २०२२ मा सत्तामा आएको इजरेली सरकारले बस्ती विस्तारका योजना घोषणा गर्‍यो। प्यालेस्टीनी राज्यको स्थापना इजरेली सुरक्षाका निम्ति खतरा हुने उसले बताएको छ।

सन् २०२४ को जुलाईमा राष्ट्रसङ्घको मुख्य अदालत, अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे)ले अधिनस्थ प्यालेस्टीनी भूभागमा इजरेलको निरन्तर उपस्थिति अवैध भएको बतायो। त्यहाँ बसाइएका बस्तीबाट सबैलाई इजरेलले हटाउनु पर्ने भन्दै अदालतले बस्ती बसाल्ने कार्य जातीवाद तथा रङ्गभेद विरुद्धका अन्तर्राष्ट्रिय सम्झौताहरू विपरीत रहेको उल्लेख गर्‍यो।

जेरुसलेमको विवाद के हो?

इजरेल तथा प्यालेस्टाइन दुवैले जेरुसलेमलाई आ-आफ्नो राजधानी मान्छन्।

पश्चिम जेरुसलेम पहिले नै आफ्नो नियन्त्रणमा राखेको इजरेलले सन् १९६७को युद्धपश्चात् पूर्वी जेरुसलेममा पनि कब्जा जमायो। पछि उसले समग्र जेरुसलेम सहरलाई आफ्नो राजधानी घोषणा गर्‍यो। जेरुसलेम विभाजन गर्न नसकिने उसले बताएको छ।

प्यालेस्टीनीहरूले पूर्वी जेरुसलेमलाई भावी प्यालेस्टीनी देशको राजधानी भन्छन्।

पूर्वी जेरुसलेमका अधिकांश बासिन्दा प्यालेस्टीनी छन् जसमध्ये थोरैले मात्र इजरेली नागरिकता लिएका छन्।

जेरुसलेमको पुरानो नगरमा रहेको अल-अक्सा मस्जिद र डोम अफ रक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जेरुसलेमको पुरानो नगरमा रहेको अल-अक्सा मस्जिद र डोम अफ रक

प्यालेस्टीनी-इजरेली द्वन्द्वको केन्द्रमा जेरुसलेमस्थित धार्मिक स्थलहरू रहेका छन्। तीमध्ये सबभन्दा पवित्र स्थल – जसलाई मुस्लिमहरूले अल अक्सा मस्जिद परिसर वा हरम अल-शरिफ भन्छन् र जसलाई यहुदीहरूले चाहिँ टेम्पल माउन्ट भन्छन् – पूर्वी जेरुसलेममै पर्छ।

संयुक्त राष्ट्रसङ्घ तथा अधिकांश अन्तर्राष्ट्रिय जनमतले पूर्वी जेरुसलेमलाई इजरेलले अधीनमा राखिरहेको प्यालेस्टीनी क्षेत्र मान्छ।

गाजा क्षेत्रमा के भएको हो?

गाजा क्षेत्र भनेको इजरेल, इजिप्ट तथा भूमध्य सागरले घेरेको भूभाग हो जुन ४१ किलोमिटर लामो अनि १० किलोमिटर चौडा छ।

करिब २३ लाख मानिस बस्ने यो क्षेत्र संसारकै सबभन्दा घना बसोबास भएको ठाउँ हो।

नक्सा

इजरेल र हमासको हालको युद्धभन्दा पहिले पनि गाजामा विश्वकै सबभन्दा धेरै बेरोजगारी दर थियो। कैयन् मानिस गरिबीको रेखा मुनि बाँचिरहेका थिए र खाद्य सहयोगमा निर्भर थिए।

गाजाको सिमाना सन् १९४८ को मध्यपूर्व युद्धले तय गरेको थियो जतिखेर इजिप्टले त्यहाँ कब्जा जमाएको थियो।

सन् १९६७ मा इजिप्टलाई गाजाबाट धपाएपछि त्यहाँ इजरेलको नियन्त्रण रह्यो। इजरेलले बस्ती विकास गर्नुका साथै त्यहाँका प्यालेस्टीनी जनतालाई सैनिक शासन अन्तर्गत राख्यो।

सन् २००५ मा इजरेलले गाजाबाट आफ्ना सेना तथा बस्ती एकतर्फीरूपमा हटायो। तर उसले त्यहाँको साझा सिमाना, हवाई क्षेत्र तथा समुद्री तटमा आफ्नो नियन्त्रण कायम राख्यो। अर्थात् सो क्षेत्रमा मानिस तथा वस्तुहरूको आवतजावतमा उसको प्रभावकारी नियन्त्रण रह्यो।

त्यहाँ उसले कायम राखेको नियन्त्रणका कारण गाजालाई अहिले पनि संयुक्त राष्ट्रसङ्घले इजरेली अधिनस्थ क्षेत्र मान्छ।

सन् २००६ मा त्यहाँ भएको निर्वाचनमा हमासले जित्यो र अर्को वर्ष चर्को सङ्घर्षपश्चात् हमासले उसका प्यालेस्टीनी प्रतिद्वन्द्वीहरूलाई गाजाबाट धपायो।

सो कारबाहीको विरोधमा इजरेल र इजिप्टले नाकाबन्दी गरिदिए। खासगरि इजरेलले सो क्षेत्रभित्र प्रवेश अनुमतिमा पूर्ण नियन्त्रण राख्यो।

त्यसयता इजरेल र हमासबीच कैयन् सङ्घर्ष भए – सन् २००८-०९, २०१२ र २०१४ मा। पछिल्लो सङ्घर्ष सन् २०२१ को मे मा भएको थियो जुन ११ दिनपछि युद्धविराममा टुङ्गियो।

हरेक युद्धमा दुवै पक्षमा मानिसहरू मारिए – अधिकांश चाहिँ गाजाका प्यालेस्टीनीहरू मारिए।

सन् २०२३ को अक्टोबर ७ मा गाजाबाट हमासका लडाकूहरूले आक्रमण गरेर इजरेलमा १२ सय जनालाई मारिदिए भने २५० जनालाई तिनले बन्धक बनाए।

दक्षिण गाजाको रफाहमा हवाई हमलाबाट जोगिने प्रयास

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दक्षिण गाजाको रफाहमा हवाई हमलाबाट जोगिने प्रयास

उक्त आक्रमणले गाजामा भयानक इजरेली प्रत्याक्रमण निम्त्यायो। अधिकांश महिला तथा बालबालिका सहित ४६ हजारभन्दा धेरै मानिसको ज्यान गैसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उक्त आक्रमणको एक वर्ष पुग्नुभन्दा केही दिन अगाडि राष्ट्रसङ्घीय मानवीय सहयोगमा संलग्न संस्थाहरूले एक घोषणापत्रमा हस्ताक्षर गर्दै "गाजामा भइरहेको त्रासदीपूर्ण मानवीय पीडा एवं विनाश" रोक्न आह्वान गरे।

कुन देशहरूले प्यालेस्टीनी राज्यलाई मान्यता दिएका छन्?

सन् २०२४ मे मा संयुक्त राष्ट्रसङ्घको महासभामा मतदान हुँदा १९३ सदस्य राष्ट्रमध्ये १४३ देशले प्यालेस्टाइनले राष्ट्रसङ्घको पूर्ण सदस्य बन्न गरेको प्रयासको समर्थन गरे, जुन केवल मान्यताप्राप्त देशहरूले मात्र बन्न पाउँछन्।

संयुक्त राष्ट्रसङ्घमा 'स्टेट अफ प्यालेस्टाइन'को पहिचानप्राप्त प्यालेस्टाइनको आधिकारिक हैसियत भनेको 'स्थायी पर्यवेक्षक राज्य'को छ – जसको अर्थ उसले राष्ट्रसङ्घमा स्थान त पाएको छ तर मताधिकार पाएको छैन।

अमेरिकासहित केही युरोपेली देशहरूले प्यालेस्टीनी राज्यलाई मान्यता दिँदैनन्। मध्यपूर्वको द्वन्द्वको दीर्घकालीन राजनीतिक समाधानको हिस्साको रूपमा मात्र त्यस्तो मान्यता दिने उनीहरूको भनाइ छ।

यूकेमा सांसदहरूले सन् २०१४ मा प्यालेस्टाइनलाई मान्यता दिने पक्षमा मतदान गरे तर त्यहाँको सरकारले त्यसो गरेको छैन। सन् २०२१ मा कन्जरभेटिभ सरकारले भन्यो: "यूकेले आफूले उपयुक्त ठहर्‍याएको समयमा प्यालेस्टीनी राज्यलाई मान्यता दिनेछ, जतिखेर त्यस्तो कदमले शान्तिको उद्देश्यलाई उत्तम ढङ्गले सघाउने छ।"

इजरेल भन्छ वेस्ट ब्याङ्कमाथि उसको ऐतिहासिक अधिकार छ। आफूविरुद्ध अस्वीकार्य खतरा पैदा हुने भन्दै उसले स्वतन्त्र प्यालेस्टाइन राज्यको विरोध गर्दै आएको छ।

प्यालेस्टीनी शरणार्थीको हालत कस्तो छ?

संयुक्त राष्ट्रसङ्घका अनुसार करिब ५९ लाख प्यालेस्टीनीहरू शरणार्थीका रूपमा दर्ता भएका छन्।

उनीहरू सन् १९४८-४९ मा भएको मध्यपूर्व युद्धपश्चात् घरबार छाडेर भाग्न बाध्य भएका प्यालेस्टीनीहरूका सन्तति हुन्।

अधिकांश शरणार्थी जोर्डन, गाजा क्षेत्र, वेस्ट ब्याङ्क, सिरिया र लेबननमा बस्छन्।

प्यालेस्टीनीहरूले शरणार्थीहरूको फर्कने अधिकार रहेको बताउँछन् तर इजरेलले त्यसलाई अस्वीकार गरेको छ। इजरेलले पुस्तैपिच्छे शरणार्थीको हैसियत दिइरहेको भन्दै राष्ट्रसङ्घअन्तर्गत रहेको प्यालेस्टीनी शरणार्थी मामिला हेर्ने निकाय यूएनआरडब्लुएको आलोचना गरेको छ।

के हो 'दुई राज्य' समाधान?

इजरेल र प्यालेस्टाइनबीच शान्ति कायम गर्ने अन्तर्राष्ट्रिय समर्थन प्राप्त सूत्र हो 'दुई राज्य समाधान।'

यसले वेस्ट ब्याङ्क र गाजामा एक स्वतन्त्र प्यालेस्टीनी राज्यको प्रस्ताव गर्छ जसको राजधानी पूर्वी जेरुसलेम रहनेछ। यो राज्य इजरेलसँगै अस्तित्वमा रहने छ।

इजरेलले 'दुई राज्य समाधान' को सूत्रलाई अस्वीकार गरेको छ। उसका अनुसार अन्तिम सहमति प्यालेस्टीनीहरूसँगको वार्ताको परिणामले निर्क्योल गर्नेछ अनि राज्यको मान्यता दिने विषय त्यस्ता प्रयासका निम्ति पूर्व शर्त हुन सक्दैनन्।

प्यालेस्टीनी अथरिटीले दुई राज्य समाधानको सूत्र स्वीकारेको छ तर हमासले चाहिँ स्वीकारेको छैन। हमासले इजरेलको अस्तित्व नै स्वीकार्दैन।

हमासले भनेको छ इजरेललाई आधिकारिक मान्यता नदिकनै उसले सन् १९६७ को सिमानामा आधारित रहेर बन्ने अन्तरिम प्यालेस्टीनी राज्य स्वीकार्न सक्छ - यदि शरणार्थीहरूलाई फिर्ता आउन दिइएमा।

विगतमा गरिएका शान्ति प्रयासका परिणामस्वरूप इजरेली एवं प्यालेस्टीनी नेताहरूले सन् १९९३ मा ओस्लो शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त सम्झौताले शान्ति वार्ताका निम्ति प्रारुप तयार पार्ने उद्देश्य राखेको थियो। तर दुवै पक्षले एकअर्काविरुद्ध दोषारोपण गर्दै ती वार्ता पछि भताभुङ्ग भए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।