कतार किन इजरेल र हमासबीच शान्ति सम्झौता गराउन सक्दैन?

कतारका विदेश राज्यमन्त्री सुल्तान बिन सद अल-मुराइखी जोर्डनमा गाजा युद्ध अन्य गर्ने सम्बन्धी बैठकमा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कतारका विदेश राज्यमन्त्री सुल्तान बिन सद अल-मुराइखी जोर्डनमा गाजा युद्ध अन्य गर्ने विषयको बैठकमा
    • Author, जेरमी होवेल
    • Role, बीबीसी विश्व सेवा

कतार सरकारले इजरेल र हमासबीच शान्ति सम्झौता गराउने आफ्नो प्रयास वार्तामा बस्ने दुवै पक्षको अनिच्छाका कारण रद्द गरेको जनाएको छ।

दोहालाई आफ्नो देशमा रहेको हमासको कार्यालय बन्द गर्न अमेरिकी दबाव आइरहेको भनिएका विवरण समेत सार्वजनिक भएका छन्।

सानो तथा समृद्ध कतारले मध्यपूर्वमा आफूलाई शान्ति स्थापकको पहिचान बनाएको भए तापनि उसलाई वर्तमान इजरेल-हमास द्वन्द्वमा युद्धविरामका लागि मध्यस्थता गर्न सकस परिरहेको छ।

कतार कसरी मध्यपूर्वको मुख्य शान्ति मध्यस्थकर्ता बन्यो?

सन् २०२३ को नोभेम्बरमा हमासले रिहा गरेपछि बसमा दुईजना इजरेलीहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२३ को नोभेम्बरमा कतारले इजरेल र हमासबीच एक अस्थायी युद्धविरामका लागि वार्ता गराएको थियो

कतार पर्सिअन खाडीमा अवस्थित ११,६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एउटा सानो देश हो।

तर यसले ठूलो परिमाणमा प्राकृतिक ग्यास निर्यात गर्छ र यो प्रतिव्यक्ति आय धेरै हुने संसारको छैटौँ देश हो।

त्यहाँको सरकारले आफूलाई अन्तर्राष्ट्रिय शान्ति स्थापकको भूमिकामा उभ्याउँदै पछिल्लो दुई दशकमा मध्यपूर्व, युरोप र अफ्रिकाका युद्धरत पक्षबीच कैयौँ युद्धविराम र शान्ति सम्झौताका लागि मध्यस्थता गरेको छ।

सन् २०२३ को नोभेम्बरमा उसले इजरेल र हमासबीच एक अस्थायी युद्धविरामका लागि वार्ता गराएको थियो।

त्यस क्रममा १०५ जना इजरेली बन्धकहरू २४० जना प्यालेस्टिनी बन्दीहरूसँग साटफेर गरिएका थिए।

सन् २०२० मा कतारले तालिबान र अमेरिकाबीच एउटा शान्ति सम्झौता मध्यस्थता गर्दै अफगानिस्तानमा दुई दशक चलेको युद्ध अन्त्य हुने अवस्था बनाएको थियो।

त्यससँगै अमेरिका र उसका साझेदार देशहरू त्यहाँबाट फर्किए र तालिबानले उक्त देशमा आफ्नो शासनसत्ता सुरु गर्‍यो।

सन् २०२३ मा कतारले अमेरिका र इरानबीच एउटा बन्दी साटासाट सम्झौता गर्नमा समेत मध्यस्थता गरेको थियो।

सोही वर्ष उसले रुस र युक्रेनबीच दुई देशबीचको जारी युद्धमा युक्रेनबाट रुस लगिएका बालबालिकालाई फिर्ता ल्याउने वार्ताको मध्यस्थता गरेको थियो।

सन् २०२२ मा कतारले चाड सरकार र ४० विपक्षी समूहहरूबीच युद्धविराम गराउन मध्यस्थता गर्‍यो। अनि सन् २०१० मा उसले सुडान सरकार र त्यहाँको पश्चिमी प्रान्त डार्फरका सशस्त्र समूहबीच शान्ति सम्झौता गराएको थियो।

कतारले किन शान्ति स्थापकको भूमिका लिएको छ?

सन् २०२० मा दोहामा शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि अफगानिस्तान मामिलाका अमेरिकी विशेष प्रतिनिधि जल्माई खलिललजाद (बायाँ) र तालिबानका सहसंस्थापक मूल्लाह अब्दुल गनी बरादर (दायाँ)

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कतारले तालिबान र हमासजस्ता अतिवादी समूहलाई आफ्नो देशमा कार्यालय स्थापना गर्न दिएको छ

कतार सरकारले आफ्नो संविधानमै शान्ति स्थापकको रूपमा देशको भूमिका उल्लेख गरेको छ।

त्यसको धारा ७ मा लेखिएको छ, “राज्यको विदेश नीति अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानलाई प्रेरित गर्दै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा सुदृढ पार्ने सिद्धान्तमा आधारित छ।”

कतार अमेरिकाको निकट साझेदार मात्र होइन, उसले हजारौँ अमेरिकी सैनिकलाई आफ्नोमा रहन दिएको छ।

उसले तालिबान र हमासजस्ता अतिवादी समूहलाई आफ्नो देशमा कार्यालय स्थापना गर्न दिएको छ।

यूकेमा रहेको एक थिङ्क ट्याङ्क रोयल यूनाइटेड सर्भिसेस इन्स्टिच्यूटका डा एच. ए. हेल्यरका अनुसार यसले एकअर्कासँग प्रत्यक्ष संवाद नगर्ने राजनीतिक पक्षबीच सेतु बन्ने अवसर दिएको छ।

“तालिबान र हमासजस्ता समूहसँग कुरा गर्नका लागि कतार राम्रो हैसियतमा छ किनकि ती समूहसँग उक्त देश कहिल्यै द्वन्द्वमा फसेको छैन,” उनले भने।

“अनि अमेरिकी सैन्य उपस्थितिका कारण ती समूहका प्रतिनिधिहरू दोहामा सुरक्षित महसुस गर्छन्। उनीहरूले त्यहाँ हत्या प्रयास नझेलीकन सुरक्षित भएर वार्ता गर्न सक्ने ठान्छन्।”

यूकेमा रहेको अन्तर्राष्ट्रिय मामिलाको थिङ्क ट्याङ्क च्याटम हाउसका डा सनम भकिल भन्छिन्, “त्यो पनि उक्त देश समस्या समाधान गर्ने व्यवहारिक वार्ताकारको छविमा देखिने हिस्साको पाटो हो।”

“शान्ति मध्यस्थकर्ता हुँदा कतार अमेरिकाका लागि उपयोगी बन्छ र त्यसको अर्थ ऊ पश्चिमा विश्वसँग जोडिरहन सक्छ,” उनले भनिन्। "त्यसले उक्त देश वरपर रहेको क्षेत्रलाई सुरक्षित र थप स्थिर बनाउँछ।”

कतारसँग शान्ति वार्तालाई हेर्ने कूटनीतिज्ञहरूको निकै राम्रो कौशल भएका कूटनीतिज्ञहरूको समूह रहेको डा भकिल बताउँछिन्।

यद्यपि उनले कतारले सधैँ युद्धरत पक्षलाई शान्ति सम्झौता गराउन वा स्थायी युद्धविरामका लागि सहमत गराउन नसकेको बताउँछिन्।

“जब हिंसाको चक्र पूरा हुन्छ र दुई पक्ष शान्ति चाहन्छन्, कतारीहरू त्यस्तो द्वन्द्वको अन्त्यतिरको अवस्था मिलाउनमा निकै राम्रा छन्,” उनले भनिन्। “तर अन्य अवस्थामा यसले द्वन्द्व अन्त्य गराउन सक्दैन।”

कतारलाई इजरेल र गाजाबीच शान्तिको मध्यस्थता गर्न सकस परिरहेको छ?

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कतारले अमेरिकासँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको छ

कतारको विदेश मन्त्रालयले इजरेल र हमासबीच शान्ति सम्झौताको मध्यस्थता गर्ने प्रयास स्थगित गरेको जनाएको छ।

तर उसले दोहामा हमासको कार्यालय बन्द गर्ने भनिएका खबरलाई खारेज गरेको छ।

त्यसयता इजरेल सरकारले कतारप्रति रोष व्यक्त गर्दै उसले हमासलाई साथ दिइरहेको र आतङ्कवादी समूहलाई मलजल गरेको आरोप लगाएको छ।

यद्यपि डा हेल्यर भन्छन्, “कतारको सरकारले सन् २०१२ मा सिरिया सरकारसँग मतभेद भएपछि हमासका नेताहरूलाई दमास्कसबाट आफ्नो कार्यालय त्यहाँ सार्न आमन्त्रण गरेको थिए। उनीहरूले त्यो अमेरिका र सम्भवतः इजरेलसँगको समन्वयमा गरे।”

उनले कतारले इजरेल र हमासलाई यसअघिका द्वन्द्वपछि युद्धविराममा सहमत हुन सघाएको जनाउँदै भने, “तर त्यो दुवै पक्ष यथास्थितिमा फर्कन चाहँदाको अवस्थामा भयो।”

“यसपटक अवस्था फरक छ,” डा भकिलले भनिन्। “इजरेल सरकारले शान्तिभन्दा आफ्नो सुरक्षा सुनिश्चित गर्न चाहेको छ। युद्धमा अघि बढ्दा उसलाई आफ्नो उद्देश्य हासिल गर्न सहयोग पुग्ने छ। सामान्य रूपबाट हेर्दा हमासले चाहिँ अस्तित्व कायम गर्नका लागि शान्ति चाहेको छ।”

हमास कतार छाड्न सक्ने र आफ्नो कार्यालय टर्की वा इरान सार्ने अनुमान भइरहेका छन्।

तर डा हेल्यरले हमासका नेताहरू रहन सक्ने सबैभन्दा सुरक्षित ठाउँ कतार रहेको भन्दै उनीहरू त्यहाँ रहन सक्ने अनुमान गर्छन्।

“जब इस्माइल हानिया दोहा छाडेर इरान पुगे, उनलाई इजरेली फौजले निकै छिटो उनलाई खत्तम गरे।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।