गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाव बढ्दो, इजरेलमाथि 'भोकमरीलाई युद्ध अस्त्र बनाएको' आरोप

तस्बिर स्रोत, Reuters
गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहँदा अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले इजरेलमा वार्ता गरेका छन्।
इजरेलको सैन्य कारबाहीमा दृढतापूर्वक साथ दिइरहँदा वासिङ्टन बढ्दो रूपमा एक्लिरहेको छ।
आइतवार ब्रिटेन, जर्मनी र फ्रान्सले निकै धेरै सर्वसाधारण मारिएको भन्दै दीर्घकालीन युद्धविरामको लागि कामहरू गर्न आग्रह गरेका छन्।
यो यूकेको हकमा देखिएको परिवर्तन हो। यद्यपि उनीहरूले तत्काल युद्धविराम भन्न छाडेका छन्।
यूकेका प्रधानमन्त्री ऋषि सुनकले यस युद्धमा "निकै धेरै सर्वसाधारणको मृत्यु भएको" बताउँदै "कसैले पनि यस द्वन्द्व आवश्यक भन्दा एक दिन पनि लम्बिएको देख्न नचाहेको" बताए।
हमास अधिकारीहरूले आइतवार जबालियास्थित गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा कम्तीमा ११० प्यालेस्टिनीहरू मारिएको बताएका छन्।
आफूले आतङ्कवादीका पूर्वाधारमा निशाना बनाएकोमा जोड दिने गरेको इजरेलले यस घटनालाई लिएर कुनै ठोस प्रतिक्रिया जनाएको छैन।
भोकमरीलाई युद्धअस्त्र बनाएको आरोप

तस्बिर स्रोत, Reuters
ह्युमन राइट्स वाचले इजरेललाई जारी युद्धमा उसले भोकमरीलाई "युद्ध अस्त्र"को रूपमा प्रयोग गरेको आरोप लगाएको छ।
उसले इजरेली सेनाले पानी, खाद्यान्न र इन्धनका साथै "मानवीय सहायतामा जानाजान अवरोध पुर्याएको" आरोप लगाएको छ।
अन्तर्राष्ट्रिय कानुन अनुसार भोकमरीलाई युद्धमा रणनीतिका रूपमा प्रयोग गर्नु हुँदैन।
इजरेलको विदेश मन्त्रालयका एकजना प्रवक्ताले एएफपी समाचार संस्थालाई दिएको प्रतिक्रियामा ह्युमन राइट्स वाचको उक्त भनाइलाई "यहुदी विरोधी" बताए।
ती प्रवक्ताले भने, "ह्युमन राइट्स वाचले इजरेली नागरिकमाथि भएको हमला र अक्टोबर ७ को नरसंहारको निन्दा गरेन, र यदि उसले इजरेलीहरूको पीडा र मानवाधिकारमा आँखा चिम्लियो भने उसलाई गाजामा के भइरहेको छ भन्ने कुरा गर्ने नैतिक आधार छैन।"
वाचले यसअघि हमासले युद्ध अपराध गरेको भनेको थियो र ७ अक्टोबरको हमलाबारे विज्ञप्ति निकालेको थियो।
सुरक्षा परिषद्मा पुन: मतदान हुँदै
सोमवार राती न्यूयोर्कमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजरेल र गाजाबीच "तत्काल र दिगो रूपमा शत्रुताको अन्त्य" गर्न आह्वान गरिएको एउटा प्रस्तावमा मतदान गर्दैछ।
विश्व शान्ति कायम गर्ने जिम्मेवारीमा रहेको सो परिषद्ले हालसम्म युद्ध विरामको आह्वान गरिएका कुनै पनि प्रस्तावलाई साथ दिएको छैन।

तस्बिर स्रोत, Reuters
तेल कम्पनी बिपीले लाल सागरबाट पानीजहाजमार्फत हुने तेल ओसारपसारको काम रोकेको जनाएको छ।
हमासलाई समर्थन गर्न यमनको हुथी समूहबाट थप हमलाहरू भएसँगै त्यसो गरिएको उसले जनाएको छ।
अक्टोबर ७ मा हमासले कडा इजरेली अवरोध तोडेर गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगेको थियो जसमध्ये केही एउटा अस्थायी युद्ध विरामका क्रममा छाडिएका थिए।
त्यसयता इजरेलले गरेको हमलामा १९,४५३ जनाभन्दा बढी मारिएको र ५०,००० भन्दा धेरै घाइते हुन पुगेको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।











