ट्रम्प भन्छन्, 'गाजा साँच्चिकै भोकमरीको मारमा छ'

तस्बिर स्रोत, Reuters
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गाजामा साँच्चिकै भोकमरीको मारमा परेको बताएका छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले त्यस्तो अवस्था नरहेको दाबी गरेपछि ट्रम्पको अभिव्यक्ति आएको हो।
इजरेलले गाजामा भोकमरीको समस्या बल्झाइरहेको भन्नु "ठूलो झूट" हो भन्ने नेतन्याहूको आरोपसँग के तपाईँ सहमत हुनुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले भनेः "मलाई थाहा छैन… ती बालबालिका साँच्चिकै भोका देखिन्छन्… त्यो वास्तविक भोकमरी हो।"
स्कटल्यान्डमा यूकेका प्रधानमन्त्री सर केअर स्टार्मरसँग एउटा बैठकका क्रममा ट्रम्पले भनेः "कसैले त्यहाँ केही ठूलो कुरा गरेको छैन। सिङ्गो ठाउँ अस्तव्यस्त छ… मैले इजरेललाई शायद उनीहरूले फरक ढङ्गले गर्नुपर्छ भनेँ।"
भोकमरीबाट बचाउन गाजामा "व्यापक मात्रामा" खानेकुरा चाहिएको भनी संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुखले बताएपछि ट्रम्पको टिप्पणी आएको हो।
'रणनीतिक विश्राम'

तस्बिर स्रोत, Reuters
आकाशबाट खानेकुरा खसाल्न दिने र मानिसहरूसम्म सहायता पुग्न दिन सैनिक हमला रोक्ने इजरेली कदमको आफूले स्वागत गरेको टम फ्लेचरले बीबीसीसँग बताए।
तर आवश्यकताको तुलनामा ती सहायता "महासागरमा एक थोपा खसाले सरह" भएको उनले बताएका छन्।
"यो त शुरूवात हो, आउँदा केही दिनले सफलता वा असफलता निर्धारण गर्ने छन्। हामीले धेरै, धेरै ठूलो स्तरमा सहायता पुर्याउनुपर्ने हुन्छ। हामीले तीव्र गतिमा व्यापक मात्रामा सहायता पुर्याउनुपर्छ," बीबीसी रेडिओ फोरको टूडे कार्यक्रममा उनले भने।
इजरेलका अनुसार सैनिक कारबाहीमा दैनिक १० घण्टे "रणनीतिक विश्राम" को पहिलो दिन आइतवार सहायता बोकेका १२० वटा लरीलाई गाजामा प्रवेश दिइयो भने जोर्डन र संयुक्त अरब एमिरेट्सले आकाशबाट खानेकुराका २८ वटा प्याकेज खसाले।
फ्लेचरले अभिव्यक्ति दिएको केही घण्टापछि हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टाको अवधिमा कुपोषणका कारण थप १४ जनाको ज्यान गएको बतायो।
सन् २०२३ को अक्टोबरमा युद्ध शुरू भएयता भोकमरीका कारण ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या १४७ पुगेको मन्त्रालयले जनाएको छ। ज्यान गुमाउनेमध्ये ८८ जना बालबालिका रहेका छन्।
गाजामा सामान आपूर्ति हुने प्रवेश बिन्दुहरूमाथि नियन्त्रण राखेको इजरेलले त्यहाँ भोकमरीको समस्या रहेको अस्वीकार गर्ने गरेको छ भने खाद्यान्न अभावका लागि जिम्मेदार रहेको आरोप पनि उसले अस्वीकार गर्दै आएको छ।
आइतवारबाट इजरेली सेनाले गाजामा "मानवीय सहायता"मा सुधार ल्याउने र "जानाजान भोकमरी निम्त्याएको भन्ने झूटा दाबी" खण्डन हुने गरी कदम चाल्न थालेको छ।
उसले गाजाका तीनवटा क्षेत्रमा "स्थानीय रणनीतिक विश्राम" अन्तर्गत हरेक दिन १० घण्टा कारबाही रोक्ने र सहायताका लागि "निश्चित मार्ग दिने" घोषणा गरेको छ।
नेतन्याहूद्वारा खण्डन
इजरेली सेनाले विदेशी मुलुकहरूलाई आकाशबाट गाजामा सहायता सामग्री खसाल्न दिने पनि अनुमति दिएको छ जुन तरिकालाई सहायता निकायहरूले अप्रभावकारी एवं खतरनाक भन्दै आएका छन्।
अर्कोतर्फ इजरेली प्रधानमन्त्री नेतन्याहूले युद्ध अपराध हुन सक्ने गरी इजरेलले गाजामा जानाजान भोकमरी निम्त्याइरहेको भन्ने दाबीमाथि आइतवार आक्रमण गरे।
"कस्तो झूट। गाजामा भोकमरी निम्त्याउने कुनै नीति छैन र गाजामा कुनै खालको भोकमरी छैन," उनले दाबी गरे।
सोमवार राति नेतन्याहूको कार्यालयले गाजामा "ठूलो मात्रामा मानवीय सहायता पुग्ने" सुनिश्चित गर्न सहायता समूहहरू, संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूसँग मिलेर काम गर्ने बतायो।
इजरेली सरकारले बीबीसीसहित अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई गाजाको वस्तुस्थितिबारे स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न दिएको छैन।
हमासले करिब १२०० जनाको मृत्यु हुने गरी तथा २५१ जनालाई बन्धक बनाउने गरी सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरेलमा हमला गरेपछि त्यसको जवाफमा इजरेली सेनाले आक्रमण शुरू गरेको हो।
त्यसयता गाजामा इजरेली आक्रमणबाट हालसम्म ५९, ८२१ जना व्यक्ति मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








