'गाजामा व्यापक भोकमरी, मानिसहरू निकै कमजोर'

गाजामा भोकमरी र कुपोषणका कारण दुब्लाएको एउटा बच्चा बोकेकी महिला

तस्बिर स्रोत, Getty Images

    • Author, डेभिड ग्रिटन
    • Role, बीबीसी न्यूज, जेरुसलेम

एक सयभन्दा बढी अन्तर्राष्ट्रिय सहायता सङ्गठन र मानव अधिकारवादी समूहले गाजामा व्यापक रूपमा भोकमरी फैलिएको चेतावनी दिँदै यथोचित कारबाही गर्न विभिन्न देशलाई आग्रह गरेका छन्।

मेडसाँ साँ फ्रोन्टिएर (एमएसएफ), सेभ द चिल्ड्रन र अक्स्फामसहित विभिन्न समूहले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा तिनका सहकर्मीहरू र तिनले सेवा गर्ने व्यक्तिहरू "दुर्बल बन्दै" गएको उल्लेख छ।

गाजामा बाहिरबाट जाने सामानको प्रवेशमाथि नियन्त्रण गर्दै आएको इजरेलले उक्त दाबी खण्डन गर्दै बरु ती सङ्गठनहरूले "हमासको प्रचारबाजीलाई सघाउ पुर्‍याएको" आरोप लगाएको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा कुपोषणका कारण थप १० प्यालेस्टिनीहरूको मृत्यु भएको बताएकै बेला सहायता सङ्गठन र मानव अधिकारवादी समूहहरूको विज्ञप्ति आएको हो।

यो विवरणसँगै गाजामा आइतवारदेखि मृत्यु हुने मानिसको सङ्ख्या ४३ पुगेको मन्त्रालयले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार खानाको अभावका कारण निकै गलेका केही मानिसहरू अस्पताल भर्ना भएका र अरूहरू सडकमै ढलिरहेका छन्।

ज्यान बाजीमा राखेर खानेकुरा लिन लाइनमा

"इजरेली सरकारको घेराबन्दीका कारण गाजाका मानिस भोकभोकै बस्न बाध्य भएकै बेला अहिले सहायताकर्मीहरू पनि खानेकुराका लागि उही लाइनमा बसेका छन् - आफ्ना परिवारजनलाई खानेकुराको जोहो गर्न गोली थाप्नुपर्ने जोखिम मोलेर," बुधवार सार्वजनिक विज्ञप्तिमा १०९ वटा संस्थाले भनेका छन्।

"सामान अहिले पूरै सकिएको बेला मानवतावादी संस्थाहरू आफ्ना सहकर्मी र साझेदारहरू आँखैअगाडि कमजोर बन्दै गएको देखिरहेका छन्।"

इजरेलले मार्च महिनाको सुरुमा गाजामा सहायता वितरणमा पूर्ण प्रतिबन्ध लगाएको थियो र त्यसको दुई सातापछि हमासविरुद्ध फेरि सैन्य आक्रमण थालेको थियो। उसले उक्त सशस्त्र समूहलाई बाँकी इजरेली बन्धकहरू मुक्त गर्न दबाव दिन चाहेको बताएको छ।

झन्डै दुई महिनापछि नाकाबन्दी केही खुकुलो पारिएको भए पनि अन्तर्राष्ट्रिय विज्ञहरूले त्यहाँ अनिकाल फैलिने चेतावनी दिएका छन्। गाजामा खाद्यान्न, औषधि र इन्धनको अभाव झनै बढेको छ।

"चिकित्सकहरूले विशेष गरी बालबालिका र वृद्धवृद्धामा गम्भीर कुपोषणको दर उच्च रहेको विवरण दिएका छन्। झाडापखालाजस्ता रोगहरू फैलिन थालेका छन्, बजारहरू खाली छन्, फोहोर थुप्रिरहेको छ र वयस्क मानिसहरू भोक र पानीको अभावका कारण सडकमै ढलिरहेका छन्," मानवतावादी संस्थाहरूले चेतावनी दिएका छन्।

"मनोसामाजिक सहायता प्रदान गर्ने एक सहायताकर्मीले बालबालिकामा परेको दुष्प्रभाव यसरी प्रस्तुत गरे - बच्चाहरू स्वर्गमा खानेकुरा भएकाले आमाबुवालाई आफूलाई स्वर्ग जान मन लागेको छ भन्छन्।"

गाजाको अस्पतालमा भर्ना भएका कुपोषणबाट पीडित एक व्यक्ति

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, संयुक्त राष्ट्रसङ्घका अनुसार गाजामा करिब एक लाख महिला तथा बालबालिका चरम कुपोषणबाट पीडित छन्

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार उसको विश्लेषणमा गाजामा एकचौथाइ मानिसले अनिकालजस्तो अवस्थाको भोग्नुपरेको र झन्डै एक लाख महिला तथा बालबालिका गम्भीर कुपोषणबाट पीडित भएको देखिएको छ। डब्ल्यूएचओले उनीहरूलाई यथाशीघ्र उपचार आवश्यक भएको औँल्याएको छ।

"तपाईँलाई थाहै छ, व्यापक भोकमरीको अर्थ जनसङ्ख्याको ठूलो भाग भोकमरीमा पर्नु हो र गाजाको जनसङ्ख्याको ठूलो भाग भोकमरीको चपेटामा परेको छ," डब्ल्यूएचओका निर्देशक टेड्रोस एड्ह्यानम गेब्राएससले बुधवार भने।

"तपाईँ यसलाई व्यापक भोकमरीबाहेक अरू के भन्नुहुन्छ थाहा छैन र यो मानव-निर्मित हो। अनि यो नाकाबन्दीका कारण हो भन्ने एकदमै स्पष्ट छ।"

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार इजरेली सैन्य क्षेत्रभित्र रहेका र अमेरिकी निजी सुरक्षा ठेकेदारहरूद्वारा सञ्चालित जीएचएफका चारवटा सहायता केन्द्र वरपर ७६६ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घका र अन्य सहायता सामग्री बोकेका सवारीसाधननजिकै अन्य २८८ जनाको मृत्यु भएको छ।

इजरेली सेनाले जीएचएफ क्षेत्रनजिकै परिचालित आफ्ना सैनिकले चेतावनी दिनका लागि मात्रै गोली चलाएको र जानीजानी सर्वसाधारणलाई गोली नहान्ने बताएको छ। संयुक्त राष्ट्रसङ्घले गाजाको स्वास्थ्य मन्त्रालयबाट प्राप्त "गलत र भ्रामक" तथ्याङ्क प्रयोग गरेको आरोप जीएचएफको छ।

गाजामा इजरेलले नियन्त्रण कायम गरेको औँल्याउँदै राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय कानुनअनुसार त्यहाँ आवश्यकताको पर्खाइमा रहेका सबै मानिससम्म मानवीय सहायता पुर्‍याउने दायित्व इजरेलकै भएको जनाएको छ।

इजरेलले अन्तर्राष्ट्रिय कानुनअनुसार काम गर्ने र हमासलाई लाभ नहोस् भन्ने सुनिश्चित गर्दै सहायता प्रवेशमा सहजीकरण गर्ने बताउँदै आएको छ।

इजरेलले हालै प्यालेस्टिनीहरूसम्म पुग्ने सामानमा उल्लेखनीय गिरावट आएको स्वीकार गरेको छ। तर उसले त्यका लागि राष्ट्रसङ्घीय निकायहरू जिम्मेवार भएको दाबी गरेको छ।

गाजामा खाद्यपदार्थको पर्खाइमा बसेकी एक महिला

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गाजाका मानिसहरू बाँच्नका लागि बाहिरबाट आउने मानवीय सहायतामा निर्भर छन्

संयुक्त राष्ट्रसङ्घले इजरेली नाकाभित्र गाजाका सवारीचालकहरूले सामान सङ्कलन गरी सैन्य क्षेत्र हुँदै ढुवानी गर्नका लागि इजरेलबाट आवश्यक अनुमति पाउन निकै कठिन भएको बारम्बार बताएको छ।

जारी सङ्घर्ष, नराम्ररी बिग्रेका सडक र इन्धनको चरम अभावका कारण समस्या निकै विकराल बनेको छ। सशस्त्र गिरोहहरूले गर्ने लुटपाट मच्चाउँदा पनि सहायताको काम कहिलेकाहीँ बिथोलिएको छ।

संयुक्त राष्ट्रसङ्घले सहायता सामग्री लिन आएका प्यालेस्टिनीहरू मारिने छैनन् भन्ने प्रतिबद्धता इजरेली सेनाबाट लिन आफूले निकै प्रयास गरिरहेको जनाएको छ।

अक्टोबर २०२३ मा हमासको नेतृत्वमा इजरेलमा भीषण आक्रमण भएपछि इजरेलले गाजामा सैन्य कारबाही थालेको थियो। इजरलेमा भएका हमलाहरूमा केही विदेशी नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातिर लगिएको थियो।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली कारबाहीमा परेर अहिलेसम्म ५९,००० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।