बहुप्रतीक्षित युद्धविरामले गाजामा 'हत्याको शृङ्खला रोक्न सक्छ तर पुरानो द्वन्द्व अन्त्य गर्दैन'

तस्बिर स्रोत, EPA
- Author, जेरमी बोअन
- Role, बीबीसी अन्तर्राष्ट्रिय सम्पादक
गाजामा घोषणा गरिएको युद्धविराम एउटा महत्त्वपूर्ण उपलब्धि हो। यो बहुप्रतीक्षित थियो।
गत वर्षको मे महिनादेखि नै विभिन्न खालका सम्झौता अघि सारिएका थिए। विलम्बका लागि हमास र इजरेलले एकअर्का दोषारोपण गरेका छन्।
हमासले अक्टोबर २०२३ मा इजरेली भूमिमा अप्रत्याशित आक्रमण गर्दा १,२०० जनाजतिको मृत्यु भयो। तीमध्ये अधिकांश व्यक्ति सर्वसाधारण थिए। उक्त घटनापछि इजरेलले गरेको प्रत्याक्रमणमा परेको गाजा तहसनहस भएको छ। बीस लाखभन्दा बढी गाजावासी विस्थापित भएका छन्।
तत्कालको चिन्ता
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली हमलामा परेर सर्वसाधारण नागरिक र लडाकुहरूसहित झन्डै ५०,००० जनाको मृत्यु भएको छ। मेडिकल जर्नल 'लान्सिट' मा प्रकाशित एउटा अध्ययनका अनुसार उक्त सङ्ख्या वास्तविकताभन्दा निकै कम हुन सक्छ।
अहिलेको सबैभन्दा मुख्य चुनौती भनेको युद्धविरामलाई निरन्तरता दिनु हो।
पाश्चात्य देशका वरिष्ठ कूटनीतिज्ञहरू ४२ दिन कायम रहने पहिलो चरणको युद्धविरामपछि युद्ध फेरि सुरु हुन सक्ने चिन्तामा छन्।
मध्यपूर्वमा गाजा युद्धको व्यापक असर परेको छ।
मध्यपूर्वमा भएको लडाइँ फैलिएर क्षेत्रीय युद्ध बन्ने डर धेरैलाई थियो। तर त्यसो भएन। बाइडन प्रशासनले त्यसो नहुनुमा आफ्नो भूमिका रहेको दाबी गरेको छ।
भूरणनीतिक उथलपुथल
तर यो द्वन्द्वले भूरणनीतिक उथलपुथल ल्याइदिएको छ।
हमास अझै लड्न सक्षम छ। तर उक्त समूह अहिले आफ्नो विगतको छाया मात्र हो।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र उनका पूर्वरक्षामन्त्रीलाई 'युद्ध अपराध'को अभियोग लगाएको छ।
इजरेलले नरसंहारको आरोप लगाउँदै दक्षिण अफ्रिकाले दायर गरेको मुद्दामा इन्टरन्याश्नल कोर्ट अफ जस्टिस (आईसीजे)ले अनुसन्धान गरिरहेको छ।
लेबननको लडाकु समूह हिज्बुल्लाह पनि यस युद्धमा जोडिएन पुग्यो। तर इजरेलले गरेको कारबाहीबाट उक्त समूह नराम्ररी थलिएको छ।
यो युद्धले नै सिरियामा बशर अल-असदको शासन अन्त्य हुने अवस्था निम्तिन पुग्यो।
इरान र इजरेलले एकअर्कालाई सोझै आक्रमण गर्दा इरान कमजोर हुन पुग्यो।
तेहरानले 'एक्सिस अफ रेजिस्टन्स' भन्ने गरेको उसको सञ्जाल र 'प्रोक्सी'हरू नराम्ररी कमजोर बन्न पुगे।
यमनका हूथीहरूले 'रेड सी'मार्फत् हुने युरोप र एशियाबीचको धेरैजसो समुद्री व्यापारलाई अवरोध पुर्यायो।
हूथी समूहले गाजामा भएपछि हमला नगर्ने वाचा गरेको छ। तर त्यसको कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने हेर्न बाँकी नै छ।
तिक्तता
जति हिंसा भए पनि भाग्य, राजनीतिक इच्छाशक्ति र कठिन कूटनीतिक प्रयास भयो भने युद्धविरामले निरन्तरता पाउन सक्छ। त्यसले हत्याको शृङ्खला रोक्ला अनि इजरेली बन्धक तथा प्यालेस्टिनी बन्दीहरूलाई आआफ्ना परिवारसँग पुनर्मिलनको अवसर पाउलान्।
इजरेल र प्यालेस्टिनीहरूबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ। पन्ध्र महिना चलेको गाजा युद्धपछि पनि दुई पक्षबीच तिक्तता बाँकी नै छ र दुःसाध्य देखिन्छ।
यो युद्धविरामले एक शताब्दीभन्दा पुरानो द्वन्द्व भने अन्त्य गर्दैन। यो युद्धले निम्त्याएको भौतिक विनाश र मानवीय क्षति कम्तीमा एक पुस्ताले अनुभूत गर्ने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








