खाद्यान्न सहायता लिन गएका '६७ प्यालेस्टिनीलाई इजरेली सेनाले गोली प्रहार गरेर मार्‍यो': हमासद्वारा सञ्चालित मन्त्रालय

उत्तरी गाजाको बेट लाहियामा सहायता सामग्री बोकेका प्यालेस्टिनी

तस्बिर स्रोत, Reuters

    • Author, योलान्ड नेल
    • Role, मध्यपूर्व संवाददाता
    • Author, ज्याक बर्जस
    • Role, बीबीसी न्यूज

इजरेली सेनाले उत्तरी गाजामा संयुक्त राष्ट्रसङ्घीय सहायता लिएर आएका ट्रकहरूको प्रतीक्षामा बसेका ६७ जनाको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले आफ्ना २५ वटा ट्रकको लस्कर इजरेलबाट सीमा पार गरेर जाँचचौकीबाट अगाडि बढ्नासाथ "भोका सर्वसाधारण मानिसहरूको ठूलो भिड खेप्नुपरेको" जनाएको छ। डब्ल्यूएफपीका अनुसार उक्त भिडमाथि गोली प्रहार भएको थियो।

‍इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले "तत्कालको खतरा" हटाउने उद्देश्यले "चेतावनी दिन केही गोली चलाइएको" र मृतकको सङ्ख्या त्यति नभएको दाबी गरेको छ।

शनिवार हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा भोकमरी चुलिएको र बढ्दो सङ्ख्यामा मानिसहरू "निकै थकित अवस्थामा" आफ्ना केन्द्रहरूमा आइरहेको जनाएको थियो।

"हामी सयौँ मानिसहरू भोकमरीका कारण मृत्युको जोखिममा छन् भन्ने चेतावनी दिन चहान्छौँ," उक्त मन्त्रालयले भनेको छ। संयुक्त राष्ट्रसङ्घले पनि गाजामा सर्वसाधारण मानिसहरू भोकका कारण मरणासन्न भएको भन्दै त्यहाँ तत्काल अत्यावश्यक सामान पठाउन आग्रह गरेको छ।

आइतवार मन्त्रालयले विगत २४ घण्टामा "अनिकालका कारण" १८ जनाको मृत्यु भएको जनाएको थियो।

गाजाको अवस्था के छ

सहायता लिन जाँदा मारिएका मानिसहरूको शव राखिएको शिफा अस्पतालबाहिर भेला भएका शोकाकुल मानिसहरू

तस्बिर स्रोत, Getty Images

उत्तरी गाजामा मारिएकामध्ये धेरैलाई गाजा सिटीस्थित शिफा अस्पतालमा लगिएको थियो। त्यहाँका चिकित्सकीय निर्देशक डा हसन अल-शाएरले आइतवार बीबीसी अरबिकसँग कुरा गर्दै आफ्नो अस्पतालमा धान्नै नसक्ने सङ्ख्यामा मानिसहरूलाई ल्याइएको बताए।

अस्पतालबाहिर एक महिलाले बीबीसी अरबिकलाई भनिन्, "सबै मानिस मर्दै छन्।"

"बालबालिकाहरू भोकले मरिरहेका छन्, उनीहरूसँग खानका लागि केही पनि छैन। मानिसहरू पानी र नुनको भरमा बसेका छन्… केवल पानी र नुन," उनले भनिन्।

गाजाको नागरिक रक्षा निकायले आइतवार इजरेली पक्षले प्रहार गरेर लागेर ९३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ मानिस घाइते भएको जनाएको छ। उसका अनुसार उत्तरी गाजामा ८० जनाको, दक्षिणी गाजाको रफाहस्थित एउटा सहायता केन्द्रनजिकै नौ जनाको र खान यूनिसस्थित एउटा सहायता केन्द्रनजिकै चार जनाको मृत्यु भएको छ।

'जनावरको सिकार गरे जस्तै गरी गोली प्रहार'

गाजा सिटीमा समाचारसंस्था एएफपीसँग कुरा गर्दै कसिम अबु खातेरले आफूले एक थैलो पिठो लिने प्रयास गरेको तर त्यहाँ "डरलाग्दो भिड र धकेकाधकेल" खेपेको बताए।

"ट्याङ्कहरूले हामीमाथि जथाभावी गोलाबारी गरिरहेका थिए अनि इजरेली सैनिकहरूले जङ्गलमा जनावरहरूको सिकार गरे जस्तै गरी गोली हानिरहेका थिए," उनले भने।

"मेरै आँखैअगाडि दर्जनौँ मानिसहरू शहीद भए र कसैले कसैलाई बचाउन सकेनन्।"

डब्ल्यूएफपीले सहायताको माग गर्ने नागरिकहरूमाथि हुने हिंसालाई "पूर्णतया अस्वीकार्य" भन्दै उक्त घटनाको निन्दा गरेको छ।

"नब्बे हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको खाँचो परेकाले कुपोषण बढ्दै गएको छ," 'एक्स'मा प्रेषित एउटा विज्ञप्तिमा डब्ल्यूएफपीले भनेको छ। "तीन जनामध्ये झन्डै एक जनाले कैयौँ दिनसम्म खान पाउँदैनन्।"

मे महिना अन्त्यतिरदेखि दिनहुँजसो खाद्यपदार्थ खोज्ने क्रममा प्यालेस्टिनीहरू मारिएको समाचार आइरहेका छ। शनिवार दक्षिणी गाजाका दुई सहायता वितरण केन्द्रनजिक इजरेली पक्षले गोली चलाउँदा कम्तीमा ३२ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

धेरै घटनाहरू अमेरिका र इजरेलसमर्थित विवादास्पद गाजा ह्यूमेनिटेरिअन फाउन्डेशन (जीएचएफ) द्वारा सञ्चालित क्षेत्रहरूनजिकै भएका छन्। जीएचएफले इजरेली सैन्य क्षेत्रमा भएका ठाउँहरूबाट सामान वितरण गर्न निजी सुरक्षाकर्मीहरू प्रयोग गर्छ। तर केही घटनाहरू राष्ट्रसङ्घले ल्याइएका सहायता सामग्रीहरू राखिएका स्थाननजिकै पनि भएका छन्।

इजरेलले स्थल आक्रमण गर्न सक्ने अनुमान

इजरेली सेनाले मध्यगाजास्थित भिडभाडयुक्त स्थानहरू खाली गर्न उर्दी जारी गरेको छ। ती स्थानमा इजरेली सेनाले हमासविरुद्ध विगत २१ महिनादेखि जारी युद्धमा स्थल कारबाही गरेको छैन।

आईडीएफले आइतवार देअर अल-बलाहका बासिन्दा र त्यहाँ आश्रय लिन पुगेका विस्थापित प्यालेस्टिनीहरूलाई उक्त सहर तत्काल छोड्न र भूमध्यसागरको तटमा अवस्थित अल-मवासीतिर जान भनेको थियो।

ठाउँ खाली गर्न दिइएको आदेशले त्यहाँ इजरेलले आक्रमण गर्न लागेको हुन सक्ने सङ्केत गर्छ। त्यसका कारण हजारौँ प्यालेस्टिनीहरू र गाजामा अझै बन्धक रहेका इजरेलीहरूका आफन्तहरू आत्तिएका छन्।

आईडीएफले उक्त क्षेत्रमा हवाई हमलाहरू गरेको छ। तर अझै त्यहाँ स्थल सैनिकहरू पठाएको छैन।

आइतवार इजरेली सेनाले आकाशबाट पर्चा खसाल्दै दक्षिणपश्चिम देहर अल-बलाहका विभिन्न जिल्लाका मानिसहरूलाई घर छोडेर दक्षिणतिर जान आदेश दिएको थियो।

"इजरेली डिफेन्स फोर्सेसले ठूलो शक्ति लगाएर उक्त क्षेत्रमा शत्रुपक्षको क्षमता र आतङ्ककारी भौतिक संरचना ध्वस्त पार्ने कामलाई निरन्तरता दिएको छ," इजरेली सेनाले भनेको छ। उसका अनुसार युद्धका बेला आफ्नो सैनिक उक्त क्षेत्रमा प्रवेश गरेको छैन।

देअर अल-बलाहका प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा विस्थापित मानिसहरू पालमा बस्दै आएका थिए।

इजरेली स्रोतहरूले रोएटर्स समाचारसंस्थालाई सेना अहिलेसम्म किन प्रवेश नगरेको भनेर बताएका छन्। उनीहरूका अनुसार ती क्षेत्रमा हमासले इजरेली बन्धकहरू नराखेको अनुमान इजरेली पक्षको छ।

अहिलेसम्म गाजामा ५० बन्धक बाँकी छन्। तीमध्ये कम्तीमा २० जना जीवितै भएको ठानिएको छ।

गाजा स्ट्रिपको कुल जनसङ्ख्या २० लाखभन्दा बढी थियो। इजरेल र हमासबीच युद्ध सुरु भएपछि त्यहाँबाट अधिकांश मानिस कम्तीमा एक पटक विस्थापित भएका छन्। इजरेलले उक्त क्षेत्रको ठूलो भाग खाली गर्न मानिसहरूलाई बारम्बार निर्देशन दिँदै आएको छ।

अक्टोबर २०२३ मा हमासको नेतृत्वमा इजरेलमा भीषण आक्रमण भएपछि त्यसको जबाफ दिन इजरेलले गाजामा सैन्य कारबाही थालेको थियो। इजरेलमा भएका हमलाहरूमा झन्डै १,२०० जनाको मृत्यु भएको थियो भने केही विदेशी नागरिकसहित २५१ जनालाई बन्धक बनाएर लगिएको थियो।

इजरेलले गाजामा गरेका हमलाहरूमा परी झन्डै ५९,००० जनाको मृत्यु भइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रसङ्घ र अरू निकायले उक्त सङ्ख्यालाई मान्यता दिने गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।