गम्भीर स्वास्थ्य समस्या भएका बालबालिकालाई पुनः युद्धग्रस्त गाजा पठाइएपछि...

सात महिने निभीन
तस्बिरको क्याप्शन, सात महिनाकी निभीनलाई मुटुको जटिल शल्यक्रिया आवश्यक पर्‍यो
    • Author, अदनान अल–ब्रस र लिना शेइखौनी
    • Role, बीबीसी न्यूज अरेबिक र बीबीसी विश्व सेवा

तेत्तीस वर्षीया इनास अबु दाका उत्तरी गाजा स्ट्रिपको एउटा अस्थायी शिविरमा आफ्नी सानी छोरी निभीनलाई पाखुरामा च्यापेर बसेकी छन्। सबेरैको गर्मीबाट राहत दिन उनको पछाडि लगातार पङ्खा चलिरहेको छ।

निभीनको स्वास्थ्य कुनै पनि समयमा बिग्रन सक्ने कुराले इनास चिन्तित छिन्। उनकी छोरी केवल सात महिनाकी छन्। युद्धको समयमा जन्मेकी निभीनको जन्मँदै मुटुमा प्वाल थियो।

आमाले गाजाको भताभुङ्ग स्वास्थ्य प्रणालीमाझ छोरीलाई जीवित राख्न कति सङ्घर्ष गर्नुपर्‍यो भन्नेबारे चर्चा गरिरहँदा ठूला र खैरा आँखा भएकी तथा सानो काँटकी निभीन रुन्छिन् र छट्पटाउँछिन्।

"यो युद्ध उसका निम्ति निकै कठिन रह्यो," इनासले बीबीसीसँग भनिन्। "उसको तौल बढिराखेको थिएन र चाँडै बिरामी परिहाल्थी।"

जोर्डनको यात्रा

गाजाबाहिर लगेर तत्काल उपचार गरिएको खण्डमा मात्रै निभीनको बाँच्ने सम्भावना थियो र गत मार्चको सुरुमा जोर्डनले त्यो सम्भव तुल्यायो।

हमास र इजरेलबीच युद्धविराम भएलगत्तै निभीनसहित गाजाका २९ जना बिरामी बालबालिकालाई उद्धार गरी उपचारका निम्ति जोर्डनका अस्पतालहरूमा पुर्‍याइयो। निभीनकी आमा र ठूली दिदी पनि सँगै लगिए।

राजा अब्दुल्लाहले गाजाका २,००० अस्वस्थ बालबालिकालाई उद्धार गरी उपचारका निम्ति जोर्डनका अस्पतालहरूमा लैजाने घोषणा गरेपश्चात् यी २९ जना त्यहाँ पुर्‍याइएका पहिलो चरणका बालबालिका हुन्। यी उद्धार कार्य इजरेली अधिकारीहरूसँगको समन्वयमा भएको थियो। उनीहरूले बिरामीसँगै यात्रा गर्ने अभिभावकहरूको पृष्ठभूमिबारे चेकजाँच गरेका थिए।

जोर्डनमा चिकित्सकहरूले सफलतापूर्वक निभीनको 'ओपन–हार्ट सर्जरी' गरे र उनी बिस्तारै निको हुँदै गइन्।

बच्चा बोकेर बसेकी महिला
तस्बिरको क्याप्शन, निभीनकी आमा खतरनाक स्थानमा छोरीको स्वास्थ्यका निम्ति चिन्तित छिन्

तर यी बालबालिकालाई उपचारका निम्ति जोर्डन लगिएको दुई साता जतिपछि युद्धविराम भङ्ग भयो र गाजामा पुन: पूर्ण स्तरमा युद्ध सुरु भयो।

त्यसका कैयौँ साता इनास छोरी उपचाररत अस्पतालमा बसेर गाजाका समाचार पछ्याउँदै त्यहीँ रहेका आफ्ना पति र अन्य केटाकेटीको अवस्थाबारे चिन्तित भइराखिन्।

यसैबीच १२ मेको राति जोर्डनका अधिकारीहरूले निभीनको उपचार पूरा भएको भन्दै भोलिपल्टै उनी र उनको परिवारलाई पुन: गाजा पठाउन लागिएको जानकारी दिए।

इनास तर्सिइन्।

"हामीले गाजा छाड्दा त्यहाँ युद्धविराम भएको थियो। पुन: युद्ध सुरु भएको स्थितिमा उनीहरूले हामीलाई कसरी फिर्ता पठाउन मिल्थ्यो?," उनी निराश सुनिइन्।

जोर्डनबाट पुन: गाजा

गाजामा रहेका पति र अन्य केटाकेटीहरूसँग इनासको पुनर्मिलन भएको छ। उनीहरू गाजा फर्काइँदासम्म छोरीको उपचार पूरा नभएको ठान्छन् र कुनै पनि समय स्वास्थ्य अवस्था बिग्रन सक्नेबारे चिन्तित छन्।

"मेरी छोरी एकदमै खराब अवस्थामा छे र ज्यानैसमेत तलमाथि हुन सक्छ," इनास भन्छिन्, "यसलाई मुटुसम्बन्धी रोग छ। कहिलेकाहीँ त छट्पटिन्छे र नीलै हुन्छे। ऊ यो पालमा बसिरहन सक्दिन।"

मे १३ का दिन जोर्डनले "उपचार पूरा भएपश्चात्" १७ जना बालबालिकालाई गाजा फिर्ता पठाइएको घोषणा गर्‍यो। त्यसको अर्को दिन अर्को नयाँ समूहलाई उद्धार गरी जोर्डन लगियो।

बीबीसीसँगको कुराकानीमा जोर्डनका अधिकारीहरूले फिर्ता पठाइएका बालबालिकाहरू उचित "मेडिकल अवस्थामा" रहेको भन्दै उपचार पूरा नभएको भनी गरिएका दाबीलाई अस्वीकार गरे। उनीहरूले आफ्नो देश बालबालिकालाई उपचारपश्चात् फिर्ता पठाउनेबारे सुरुदेखि नै स्पष्ट रहेको र त्यो "बन्दोबस्ती तथा राजनीतिक कारणहरूले" आवश्यक समेत भएको बताए।

"जोर्डनको नीति भनेको प्यालेस्टिनीहरूलाई उनीहरूकै भूमिमा राख्नु र उनीहरूलाई उक्त क्षेत्रबाट विस्थापित हुन सहयोग नगर्नु हो," त्यहाँको सरकारले बीबीसीलाई पठाएको वक्तव्यमा भनिएको छ। सत्र जना बालबालिकाको फिर्तीले थप बिरामी बालबालिकालाई उपचार प्राप्त गर्ने अवसरसमेत दिएको उक्त वक्तव्यमा उल्लेख छ।

तर गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने बीबीसीसँग कुरा गर्दै ती बालबालिकाहरूलाई अझै हेरचाहको खाँचो रहेको र युद्धग्रस्त क्षेत्रमा फर्काइनुले उनीहरूको जीवन जोखिममा पारेको बताए।

'जबर्जस्ती फिर्ता'

अश्रुपूर्ण आँखासहित छोरो बोकेर बसिरहेकी गाजाकी एक महिला
तस्बिरको क्याप्शन, निहाया आफ्नो छोरा मोहम्मदले गाजाको स्थिति झेल्न नसक्ने बताउँछिन्

यही कुराले ३० वर्षीया निहाया बेसललाई सताउँछ। केवल एक वर्ष कटेका उनका छोरा मोहम्मदलाई दमका साथै खानासम्बन्धी गम्भीर किसिमको 'एलर्जी' छ। छोराले पाउनुपर्नेजति उपचार प्राप्त नगरेको उनको ठहर छ।

"हामी पुन: मृत्यु मडाइरहेको ठाउँमा भय र भोकमा बाँचिरहेका छौँ," यसो भनिरहँदा निहायाका आँखा आँसुले भरिएका छन्। "म यसलाई चाहिने दूधको जोहो कसरी गर्न सक्छु? उसले खाँदा पनि खाँदैन। खायो कि बिरामी भइहाल्छ।"

इजरेलले गाजामा दस साताभन्दा बढी अवधिका निम्ति कडा नाकाबन्दी गर्‍यो। खाना, औषधि, आश्रय तथा इन्धनसहितका सबै किसिमका सामग्रीको आपूर्ति ठप्प पारियो। गाजामा अझै बन्धककका रूपमा रहेकाहरूलाई छाड्न हमासलाई दबाव दिने उद्देश्यले त्यसो गरिएको बताइयो।

अन्तर्राष्ट्रिय सङ्गठनहरूले त्यहाँ बसिरहेका प्यालेस्टिनीहरू "गम्भीर अनिकालको खतरामा रहेको" चेतावनी दिएका छन्। सोमवार अमेरिकी दबावपश्चात् इजलेरलले गाजामा "न्यूनतम" खाद्य सामग्रीका निम्ति अनुमति दिने घोषणा गरेको छ।

निहाया हाल अल–शातिको पालहरू टाँगिएको एउटा सानो क्षेत्रमा आफन्तहरूसँगै बस्छिन्। उनी गाजामा छँदा पुन: युद्ध सुरु भएपछि भीषण इजरेली हमलाहरूबाट जोगिन उनका पति र अन्य तीनजना केटाकेटीले उत्तरी गाजा छाडेका थिए।

"मैले मेरा बच्चाहरूलाई यहीँ छाडेँ। पतिलाई यहीँ छाडेँ। म टाढा छँदा उनीहरूले नर्कको स्थिति भोगे," यसो भन्दै उनी भक्कानिइन्।

"जोर्डनमा छँदा पनि म सधैँ उनीहरूकै ध्याउन्नमा हुन्थेँ। बच्चाको उपचारका निम्ति यो सबै गरिएको थियो। उसको उपचार नसकिँदै मलाई किन जबर्जस्ती फर्काइयो?"

उनले यसो भन्दै गर्दा निगरानीका निम्ति उडेका इजरेली ड्रोनहरूले उनको स्वरलाई दबाइदिन्छ। उनको छेउमै दोडिइराखेको शिशु शिविरमा खाना पकाउने क्रममा बालिएको आगोबाट निस्किएको धुवाँमा अल्मलिएर घरीघरी लड्न पुग्छ।

गाजा फर्किँदाको सकसपूर्ण यात्रालाई सम्झिने क्रममा उनी आफ्नो रिसलाई नियन्त्रण गर्ने कोसिस गर्छिन्।

"बिहान चार बजे निस्केका हामी पौने एघारसम्म पनि गाजा पुगेका थिएनौँ," उनले भनिन्। सीमा नाकामा पुगेसँगै आफूहरूलाई इजरेली सुरक्षा बलले दु:ख दिएको निहाया बताउँछिन्।

"उनीहरूले हामीलाई गाली गर्न थाले। कुट्ने धम्की दिए। हाम्रो सबै पैसा खोसे। फोन, झोलाहरू केही केही बाँकी छाडेनन्," नगद बोकेकाहरूको झोला खोसिएको बताउँदै उनले भनिन्।

इनासले पनि आफूमाथि त्यस्तै भएको र 'चिकित्सकीय सामानहरू' समेत खोसिएको बताइन्।

इजरेली सेनाले "गाजामा आतङ्कवादका निम्ति प्रयोग हुन सक्ने" शङ्काका कारण जोर्डनबाट गाजा फर्किएकाहरूको साथमा रहेको "सामान्य सीमाभन्दा माथिका अघोषित" रकम जफत गरिएको बीबीसीलाई बतायो। परिस्थितिबारे अनुसन्धान जारी रहँदासम्म उक्त रकम रोक्का राखिने उसले जनाएको छ।

तर उसले अन्य निजी सामानहरू जफत गरिएकाबारे भने कुनै कारण खुलाएको छैन।

निहाया आफू जोर्डनबाट "रित्तो हात" फर्किएको र इजरेली सुरक्षा बलले लगेको झोलामा छोराका चिकित्सासम्बन्धी कागजातसमेत रहेको बताउँछिन्।

जोर्डनले निभीन र मोहम्मदजस्ता बालबालिकालाई सम्भव भएसम्मको उपचार प्रदान गरिएको बताएको छ भने दुवै परिवारले त्यसलाई स्वीकारेका छन्।

तर संसारकै घातकमध्येको युद्धग्रस्त क्षेत्रको बसोबासले विगत दुई महिनामा आफ्ना शिशुको स्वास्थ्यमा भएको प्रगतिलाई बर्बाद गरिदिन सक्नेबारे उनीहरू चिन्तित छन्।

"मैले कति गरेर मेरो छोरालाई यस्तो अवस्थामा पुर्‍याएँ जहाँ उसलाई देख्दा मलाई निकै हर्ष लाग्थ्यो," निहाया रुँदैरुँदै भन्छिन्, "अब उनीहरू उसलाई फेरि पहिलेकै हालतमा फर्काउन चाहन्छन्?"

"म छोरो गुमाउन चाहन्नँ।"

अलेक्सान्ड्रा फुसेद्वारा सम्पादित

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।