गाजामा फेरि हवाई हमला : इजरेलविरुद्ध कारबाही गर्न सक्ने यूके, फ्रान्स र क्यानडाको चेतावनी

तस्बिर स्रोत, Reuters
इजरेलले गाजामा हवाई हमलालाई निरन्तरता दिँदै गर्दा यूके, फ्रान्स र क्यानडाले इजरेलविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन्।
ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले एउटा संयुक्त विज्ञप्ति जारी गर्दै इजरेललाई आफ्नो शैली परिवर्तन गर्न आग्रह गरेका छन्। अन्यथा इजरेलविरुद्ध उपयुक्त कदम चाल्ने चेतावनी पनि उनीहरूले दिएका छन्।
"इजरेलले फेरि थालेको सैन्य आक्रमण रोकेन र मानवीय सहयोग सामग्रीमाथिका प्रतिबन्ध हटाएन भने हामी जबाफमा ठोस कदम चाल्ने छौँ," विज्ञप्तिमा उनीहरूले भनेका छन्।
उनीहरूले हमासलाई सन् २०२३ को अक्टोबर ७ मा सो समूहले बन्धक बनाएका मानिसहरूलाई मुक्त गर्न पनि आह्वान गरेका छन्।
"हामीहरू आतङ्कवादविरुद्ध इजरेलीहरूको प्रतिरक्षा गर्न पाउने अधिकारलाई पनि समर्थन गर्छौँ। तर अहिलेको परिस्थिति पूरै एकतर्फी छ।"
इजरेलले पछिल्लो सैन्य कारबाही थालेपछि गाजाका विभिन्न स्थान खाली गर्न उर्दी जारी गरेको छ।
सोमवार राति इजरेलले गरेका हवाई हमलामा परी गाजामा कम्तीमा ३८ जनाको मृत्यु भएको जानकारी बीबीसीले पाएको छ। हमासद्वारा सञ्चालित नागरिक प्रतिरक्षा निकायका अनुसार गाजा सिटीमा एउटा विद्यालय, नुसरत शरणार्थी शिविर र दक्षिणी गाजास्थित देअर अल-बलाहमा इजरेलले हमला गरेको थियो।
इजरेली प्रतिक्रिया

तस्बिर स्रोत, Reuters
तीन देशका नेताहरूले नेतन्याहूले गरेका तर्कको खण्डन गर्दै गाजामा सङ्घर्षविरामका लागि आह्वान गरेका छन्।
तीनवटै सरकारले संयुक्त रूपमा "गाजामा इजरेली सैन्य कारबाही बढाउने कुराको कडा शब्दमा विरोध गरेका छन्" र "गाजामा मानिसहरूले भोगिरहेको पीडाको स्तर असह्य" भनेका छन्। उनीहरूले गाजामा "थोरै" खाद्य सामग्री पठाउन दिने नेतन्याहूको निर्णयलाई "निकै अपर्याप्त" भनेका छन्।
तीन देशका नेताहरूको चासोबारे कडा प्रतिक्रिया जनाउँदै नेतन्याहूले "अक्टोबर ७ मा इजरेलमा भएको नरसंहारका निम्ति लन्डन, ओटोवा र प्यारिसका नेताहरूले ठूलो पुरस्कार प्रस्ताव गरेर अझै धेरै अत्याचार निम्त्याउन खोजेको" आरोप लगाएका छन्।
उनले युद्ध अन्त्यका लागि केही सर्तहरू अघि सारेका छन्। ती सर्तहरू हमासले बन्धकहरू फिर्ता गर्नुपर्ने, हतियार बिसाउनुपर्ने, हमासका नेताहरू निर्वासनमा जानुपर्ने र गाजालाई अस्त्रहीन बनाउनुपर्ने आदि छन्।
"कुनै पनि राष्ट्रले योभन्दा कम स्वीकार गर्ने अपेक्षा गर्न सकिँदैन र इजरेलले निश्चय पनि गर्दैन," उनले भने।

तस्बिर स्रोत, EPA
विश्वसनीय अन्तर्राष्ट्रिय सर्वेक्षणपछि गाजामा भोकमरी निम्तिन लागेको चेतावनी दिइएपछि युद्ध अपराध र मानवताविरुद्धको अपराधको कसुरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले खोजी रहेका नेतन्याहूमाथि गाजामाथि नाकाबन्दी अन्त्य गर्न ठूलो अन्तर्राष्ट्रिय दबाव थियो।
तर नेतन्याहूले आफूमाथि लागेका फौजदारी अभियोगलाई "यहुदीविरोधी" भनेका छन्।
इजरेलका लागि अझै नराम्रो सङ्केतका रूपमा उक्त विज्ञप्तिमा नेतन्याहू सरकारले आक्रामक गतिविधिका लागि दबाव जारी राखे "आफूहरू त्यसको पक्षमा नउभिने" उनीहरूले उल्लेख गरेका छन्।
यूके, फ्रान्स र क्यानडाले इजरेललाई चेतावनी दिए पनि कस्तो कदम चाल्ने भन्ने कुरा भन्ने खुलाएका छैनन्।
एउटा सम्भावना प्रतिबन्ध हुन सक्छ।
त्योभन्दा ठूलो कदम प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने काम हुन सक्छ।

२४ घण्टामा '१४,००० बच्चा मर्न सक्ने'

तस्बिर स्रोत, EPA
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले तीन देशको संयुक्त विज्ञप्ति "कडा शब्दमा" आएको टिप्पणी गरेका छन्। उनका अनुसार त्यसले गाजामा मानवीय अवस्था सुधार गर्न दबाव सिर्जना गर्ने छ।
तर उनी ११ सातादेखि नाकाबन्दी खेप्दै आएको गाजामा सहायता सामग्री पुर्याउन राष्ट्रसङ्घले सक्छ कि सक्दैन भन्ने कुरा महत्त्वपूर्ण भएको ठान्छन्।
उनका अनुसार सोमवार गाजामा पाँच ट्रक सामान पठाइएको छ तर ती "समुद्रमा एक थोपा पानीजस्तै" हुन्।
ती ट्रकमा "बच्चाको खानेकुरा र पोषक तत्त्व" भएको उनले 'बीबीसी रेडिओ फोर'लाई बताए।
यदि आवश्यक सामग्री समुदायसम्म नपुगे आगामी ४८ घण्टामा १४,००० बच्चाको मृत्यु हुन सक्ने डर रहेको उनले व्यक्त गरे।
चिहानमा भेटिएको भिडिओले गरेको सङ्केत
फेरि युद्ध थालेको पाँच दिनभित्रै इजरेली सैनिकहरूले चिकित्सा टोलीले प्रयोग गरेका गाडीहरूको लस्करमाथि आक्रमण गरेका छन्। सैनिकहरूले आफूले मारेका मानिसहरू र गोलीले छेडिएका सवारीसाधनलाई बालुवामा पुरिदिएका थिए।
सामूहिक चिहानमा पुरिएका एक व्यक्तिको मोबाइल फोनमा फेला परेको भिडिओले इजरेलले भनेको कुरा असत्य भएको देखाइदियो।
त्यो मोबाइल बोकेका व्यक्तिले आफू मारिनुअघिको भिडिओ खिचेका थिए। इजरेलले आपत्कालीन सेवाका कर्मचारीहरूबाट सैनिकहरूलाई खतरा भएको दाबी भएको दाबी गर्दै आएको थियो।
चिहानमा फेला परेको भिडिओमा स्पष्ट सङ्केत भएका एम्बुलेन्स र आपत्कालीन सेवामा खटिएका सबै मानिस नमारिँदासम्म उनीहरूले प्रयोग गरेका सवारीसाधनमाथि आक्रमण भएको देखिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








