'राहत लिन गएका उनी फर्केर आएनन्' : गाजामा मारिएकाहरूको कथा

तस्बिर स्रोत, Family handout
- Author, इथार शालाबी
- Role, बीबीसी न्यूज अरेबिक
गत साता गाजामा मृत्यु हुनेहरूमा खाना खोज्न गएका एक किशोर र महिनौँसम्म कुपोषण भोगेका एक पुरुषसमेत छन्।
गत बिहीवार हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा अनिकाल र कुपोषणका कारण थप दुई जनाको मृत्यु भएको जनाएको छ।
सहायता संस्थाहरूले गाजामा इजरेलले गरेको नाकाबन्दीले गर्दा सम्पूर्ण क्षेत्रमा "आम भोकमरी" फैलाएको चेतावनी दिएका थिए।
इजरेल सरकारका प्रवक्ताले त्यसलाई अस्वीकार गर्दै हमासले खाद्यान्न अभाव सिर्जना गरेको र सहायता कब्जा गरेर लुकाएको दोष लगाए।
संयुक्त राष्ट्र सङ्घले गाजामा मानवीय अवस्था "तीव्र गतिमा" बिग्रँदै गएको चेतावनी दिएको छ भने विश्व स्वास्थ्य सङ्गठनले कम्तीमा १० प्रतिशत गाजाबासीहरू निकै कुपोषित रहेको जनाएका छन्।
बीबीसीले गत साता गुमाएका प्रियजनका बारेमा त्यस क्षेत्रका मानिसहरूसँग कुरा गरेको छ।
अब्दुल्लाह जेन्देइया, १९ वर्ष
उन्नाईस वर्षीय अब्दुल्लाह उमर जेन्देइया २० जुलाई आइतवारका दिन खाना खोज्न बाहिर निस्कँदा मारिएको उनकी दिदी नादरिन सुनाउँछिन्।
उनीहरू मध्यगाजाको अल-सब्रास्थित आफ्नी आमाको क्षतिग्रस्त घरमा बसिरहेका थिए।
"त्यस दिन ऊ केही खाना लिन जान व्यग्र थियो," नादरिन भन्छिन्।
"मैले उसलाई भनेँ : 'हामीसँग बाँकी रहेका केही दाल खाऊ।' तर उसले अस्वीकार गर्यो।"
दिउँसो २ बजे परिवारलाई खुवाउन केही पिठो लिन अब्दुल्लाह पाँच किलोमिटरभन्दा बढी पैदल हिँडेर घरबाट उत्तरतिर निस्किए।
उनी आफ्ना दुई दाजु र उनीहरूका ससुरालीतर्फका केही आफन्तहरूसँग साप्ताहिक रूपमा आउने सहायता बोकेको एक ट्रकतर्फ लागे।
त्यस रात झन्डै ११ बजे एक दाजु महमूदले नादरिनलाई फोन गरेर उनीहरू सहायता ट्रकको छेउमा पर्खिरहँदा इजरेली सैनिकहरूले अचानक भाइमाथि गोली चलाएको बताए।
उनीहरू नेत्जारिम करिडोरमा थिए, जुन गाजा स्ट्रिपको उत्तरलाई दक्षिणबाट टुटाउने एक सैन्य क्षेत्र हो।
महमूदले अब्दुल्लाह मारिएको र अर्का भाइ घाइते भएको नादरिनलाई बताए।
"उनी आसपास हुँदा आनन्द लाग्थ्यो। सधैँ दयालु र रमाइलो मानिस थियो," आफूहरू सानो छँदा दिउँसो गाजाको समुद्री तटमा हिँडेको सम्झना गर्दै उनले भने। "उसलाई फुटबल र खेलकुद मन पर्थ्यो।"
दिदीका अनुसार अब्दुल्लाह स्थानीय किराना पसलेहरूसँग काम गर्थे। उनी तिनका लागि फलफूल र तरकारीहरू बोक्न सघाउँथे। उनले "युद्धपछि नयाँ व्यवसाय खोल्ने सपना देखिरहेका थिए।"
यसबारे सोधिएको एक प्रश्नको जवाफमा इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले हमासको सैन्य क्षमताहरू ध्वस्त पार्न काम गरिरहेको र नागरिक क्षति कम गर्न सम्भाव्य सावधानी अपनाएको जनाएको छ।
आईडीएफले त्यस घटनाका हकमा उक्त स्थानको "यदि तपाईंले अक्षांश र देशान्तर प्रदान गर्न सक्नुहुन्छ भने तपाईँको प्रश्न राम्रोसँग सम्बोधन गर्न सकिने" जनाएको छ।
गाजामा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले इजरेली गोलीबारीले त्यस दिन गाजामा कुल ९३ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ। धेरैजसो गोलाबारी सहायता बिन्दुहरूनजिक भएको थियो।
उत्तरी गाजामा भएको एउटा विशेष घटनाबारे बोल्दै इजरेली सेनाले "तत्काल खतरा हटाउन" भिडमा चेतावनीस्वरुप गोली चलाएको जनाएको छ। तर मारिएकाहरूको सङ्ख्यामा विवाद रहेको उसले जनाएको छ।
अहमद अलहसन्त, ४१ वर्ष

तस्बिर स्रोत, Family handout
एकचालीस वर्षीय अहमद अलहसन्तको २२ जुलाई मङ्गलवारका दिन मृत्यु भयो।
उनका भाइ येहिया अलहसनत भन्छन्, "कुपोषणले उनलाई मार्यो। दिनदिनै उनी झन्झन् कमजोर हुँदै गइरहेका थिए।"
येहियाका अनुसार मार्चमा इजरेलले गाजामा सहायता जान रोक लगाएपछि उनका दाइ बिरामी पर्न थालेका थिए।
मे महिनायता इजरेलले केही सहायता उक्त भागमा लैजान दिए तापनि यो पर्याप्त नरहेको सहायता समूहहरू बताउँछन्
मधुमेहका बिरामी अहमदले तीन महिनासम्म पर्याप्त खाना वा झोल पदार्थ पाउन सकेनन्। येहियाका अनुसार उनी रोटीका टुक्रा र कहिलेकाहीँ क्यानका खानामा भर परिरहे।
त्यसले गर्दा उनको तौल ८० किलोग्रामबाट ३५ किलोग्राममा झरेको र स्वास्थ्य निकै छिटो बिग्रिएको येहिया बताउँछन्।
"उनको स्वर धमिलो थियो र कहिलेकाहीँ हामी उनलाई बुझ्न सक्दैनथ्यौँ," येहिया भन्छन्।
अहमदका आफन्त रेफात अलहसन्तका अनुसार परिवारले उनलाई अस्पताल लगे पनि "उनीहरूले हामीलाई भन्थे 'उसलाई औषधि होइन खाना चाहिन्छ।' त्यसैले हामीले उसलाई घर फर्कायौँ।"
येहियाका भनाइमा टेलिभिजन स्याटलाइटहरू जडान गर्ने फुटबल प्रशंसक अहमदको मध्यगाजामा पर्ने डेर अल-बलाह सहरमा रहेको आफ्नो घरमा "शान्तिपूर्वक निधन भयो।"
"उनको बलियो व्यक्तित्व भएका मानिस र तपाईँले भेट्न सक्ने सबैभन्दा दयालु व्यक्तिहरूमध्ये एक थिए," येहियाले थपे।
मोहम्मद कुल्लाब, २९ वर्ष

तस्बिर स्रोत, Family handout
उनन्तीस वर्षीय मोहम्मद कुल्लाबको २२ जुलाईमा भएको हवाई आक्रमणमा मृत्यु भएको उनका एक निकट आफन्तले बताएका छन्।
मोहम्मद दक्षिणी गाजाको वेस्टर्न खान यूनिसको अल-कादेसिया क्षेत्रमा विस्थापित प्यालेस्टिनीहरूको शिविरमा आफ्नो पालमा आराम गरिरहेका थिए। स्थानीय समयअनुसार साँझको ५ देखि ६ बजेबीचमा हवाई हमला भएको अमर रगैदा बताउँछन्।
"उनी एक्लै थिए। बम विस्फोटको केही घण्टापछि केही मानिसहरूले उनकी बहिनीलाई फोन गरेर उनको मृत्युबारे जानकारी गराएपछि हामीले उनको मृत्यु भएको थाहा पायौँ," अमर भन्छन्।
अमरका अनुसार मृत्यु हुनुभन्दा अघिल्लो दिन उनले मोहम्मदसँग कुरा गरेका थिए। सहायता खोज्दै गर्दा उनीहरूले एकअर्कासँग भेटेा थिए।
"उनले मलाई भने : 'एक्लै नजाऊ, म तिम्लाई केही पिठो ल्याउने प्रयास गर्ने छु।' भोलिपल्ट त उनी मरिइसकेका थिए।"
मोहम्मद उनीमाथि पूर्ण रूपमा निर्भर बहिनी र भाइलाई छाडेर गएको अमर बताउँछन्।
"कुल्लब एक स्वाभिमानी र जीवन्त व्यक्ति थिए। कुनै पनि अनावश्यक विषयमा उनी आफूलाई संलग्न गर्दैनथे। अनि आसपास हुने सबैले उनलाई माया गर्थे," उनी भन्छन्।
प्रतिक्रिया माग्दा आईडीएफले अब्दुल्लाहका हकमा जस्तै उस्तै विज्ञप्ति दियो, जसमा भनिएको थियो : उसले "नागरिक क्षति कम गर्न सम्भाव्य सावधानीहरू" अपनाएको छ र उनको मुद्दालाई थप हेर्नको लागि उनको मृत्यु भएको स्थानको अक्षांश र देशान्तर आवश्यक पर्ने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




