के इजरेलले पूरै गाजा अधीनमा लिन चाहेको हो

नेतन्याहू

तस्बिर स्रोत, Reuters

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसै हप्ताको अन्त्यतिर गाजाबारे आफ्नो सैन्य योजना सम्बन्धमा जानकारी गराउने बताएका छन्।

नेतन्याहूले हमासविरुद्ध आक्रमण विस्तार गर्न र पूरै भूभाग अधीनमा पार्न चाहेका विवरणबीच उनको पछिल्लो भनाइ आएको छ।

त्यस्ता रिपोर्टहरूबारे आधिकारिक रूपमा पुष्टि गरिएको छैन। बीबीसीका मध्यपूर्व संवाददाताका अनुसार सम्झौताका लागि हमासमाथि दबाव सिर्जना गर्ने त्यो एउटा रणनीति हुन सक्छ।

यदि ती खबरहरूको आधिकारिक रूपमा पुष्टि भयो भने बाँकी बन्धकहरू रहेका गाजाका क्षेत्रहरूमा इजरेली सेनाहरू प्रवेश गर्ने छन्।

बन्धक बनाइएका व्यक्तिहरूका कतिपय आफन्तले चाहिँ त्यस्तो सैनिक कारबाहीले जीवित रहेका बाँकी बन्धकहरूको ज्यान जोखिममा पार्न सक्ने भन्दै आक्रोश पोखेका छन्।

'अन्धकारतर्फ डोर्‍याउँदै'

सुकेका जीउ देखिने इजरेली बन्धकहरूका भिडिओ सार्वजनिक भएपछि नेतन्याहुले उनीहरूका परिवारसँग कुरा गर्दै सबैलाई फिर्ता ल्याउन "निरन्तर र अथक प्रयास" जारी राखिने बताए।

तर स्थानीय सञ्चारमाध्यमले व्यापक रूपमा उद्धृत गरेका एक इजरेली अधिकारीले "हमासलाई सैन्य रूपमा परास्त गरेर" बन्धकहरू रिहा गर्ने हिसाबले नेतन्याहु अगाडि बढिरहेको बताएका छन्।

गाजामा भोकमरी

तस्बिर स्रोत, Getty Images

आक्रमणमा नयाँ तीव्रताले इजरेलका साझेदारहरूलाई थप आक्रोशित तुल्याउन सक्छ, जो विश्वभरि स्तब्धता निम्त्याउने गरी भोकमरी अथवा कुपोषणका कारण प्यालेस्टिनीहरू मरिरहेका रिपोर्टहरूबीच इजरेलले तत्काल युद्धविराम गर्नुपर्नेमा जोड दिइरहेका छन्।

बन्धक बनाइएका व्यक्तिहरूका परिवारलाई सघाइरहेको प्रमुख समूहले नयाँ इजरेली आक्रमणसम्बन्धी विचारको निन्दा गर्दै भनेको छः "नेतन्याहूले इजरेल र बन्धकहरूलाई अन्धकारतर्फ डोर्‍याइरहेका छन्।"

यो धारणा करिब ६०० जना अवकाशप्राप्त इजरेली सुरक्षा अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पठाएको एउटा पत्रमा अझ स्पष्ट रूपमा उल्लेख छ, जसमा उनीहरूले गाजामा जारी युद्ध तत्काल अन्त्य गराउनका लागि इजरेलमाथि दबाव दिन अपील गरेका छन्।

सो समूहमा इजरेली गुप्तचर निकाय मोसादका पूर्वप्रमुखदेखि पूर्वइजरेली प्रधानमन्त्री एहुद बाराकलगायतका वरिष्ठ व्यक्तिहरू छन्।

"यो हाम्रो व्यावसायिक निष्कर्ष हो कि हमास इजरेलका लागि अब रणनीतिक खतराका रूपमा रहेन," उनीहरूले भनेका छन्।

विध्वंसात्मक युद्ध

हमासले १,२०० जनाको ज्यान जाने गरी र २५१ जना बन्धक बनाउने गरी अक्टोबर ७ तारिखमा गरेको हमलापश्चात्‌ इजरेलले गाजामा विध्वंसात्मक लडाइँ थालेको हो।

सो क्रममा गाजामा अहिलेसम्म ६० हजारभन्दा व्यक्तिको ज्यान गइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमवार जनाएअनुसार गाजामा इजरेली हमलाबाट अघिल्लो दिन कम्तीमा ९४ जना मारिए।

इजरेलका कडा प्रतिबन्धहरूका कारण गाजामा व्यापक रूपमा अभाव सिर्जना भएको छ।

युद्ध शुरू भएयता ९३ जना बालबालिकासहित १८० जनाको कुपोषणका कारण ज्यान गएको मन्त्रालयले उल्लेख गरेको छ।

यस्ता रिपोर्टहरू पछिल्ला महिनाहरूमा दैनिकजसो आइरहेका छन्, तर बीबीसीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको गाजा प्रवेशमा इजरेलले लगाएका प्रतिबन्धका कारण तिनको स्वतन्त्र पुष्टि गर्न कठिन भएको छ।

संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त सहायता निकायहरूले "गाजामा अहिले भोकमरीको अति नराम्रो दृश्य देखिइरहेको" बताएका छन्।

तर केही दिनअघि मात्रै इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गाजामा भोकमरीको कुरा सत्य नभएको दाबी गरेका थिए।

राष्ट्रसङ्घले दिएका पछिल्ला आँकडाअनुसार गत मे महिनायता खानेकुरा लिन जाने क्रममा १,३७३ जना प्यालेस्टीनीहरूले ज्यान गुमाएका छन्।

तीमध्ये अधिकांशलाई इजरेल र अमेरिका समर्थित गाजा ह्युमनिटेरिअन फाउन्डेशन (जीएचएफ)का वितरण केन्द्रहरूमा इजरेली सेनाले मारेको राष्ट्रसङ्घले बताएको छ।

इजरेलले चाहिँ ती केन्द्रहरूनजिक भिडलाई भड्काएको आरोप हमासमाथि लगाएको छ। आफ्नो सेनाले जानाजान गैरसैनिकहरूमाथि गोली नहान्ने उसले बताउने गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।