दुर्गन्धित जुत्ता जसको प्रेरणाले यी भारतीय वैज्ञानिकले 'पुरस्कार' पाए

तस्बिर स्रोत, Getty Images
हरेकजसो घरमा सम्भवतः कम्तीमा एक जोर जुत्ता हुन्छ, जसको दुर्गन्धलाई बेवास्ता गर्न असम्भव छ। यो समस्या विश्वव्यापी छ।
दुई भारतीय अनुसन्धानकर्ताहरू निर्णयमा पुगेका छन् : यो दुर्गन्धको विषय मात्र होइन, विज्ञानको विषय पनि हो।
उनीहरूले दुर्गन्धित जुत्ताले जुत्ता र्याक प्रयोग गर्ने हाम्रो अनुभवमा कस्तो प्रभाव पार्छन् भनेर अध्ययन थाले। त्यस क्रममा उनीहरू मूर्खतापूर्ण लाग्ने तर कल्पनाशील वैज्ञानिक प्रयासका लागि दिइने व्यङ्ग्यपूर्ण पुरस्कार, 'इग (आईजी) नोबेल पुरस्कार'को हास्यपूर्ण हलमा प्रवेश पाउँछन्।
खोजको सुरुवात
दिल्लीबाहिर शिव नादर विश्वविद्यालयमा डिजाइनका सहायक प्राध्यापक ४२ वर्षीय विकास कुमारले २९ वर्षीय सार्थक मित्तललाई स्नातक तहमा पढाउँथे। यही विश्वविद्यालयमा दुवैले पहिलो पटक गन्हाउने जुत्ताबारे अध्ययन गर्ने विचारमा बनाए।
मित्तलका अनुसार उनले प्रायः आफ्नो छात्रावासको कोरिडोर जुत्ताले भरिएको देख्थे, विशेषतः तिनीहरू दुईवटा कोठाबाहिर छरपस्ट हुन्थे।
उनीहरूको सुरुको योजना सामान्य थियो : विद्यार्थीहरूका निम्ति एउटा चिटिक्कको, सुन्दर जुत्ता र्याकको डिजाइन किन नगर्ने?

तर जब उनीहरू त्यसमा गहिरिए, वास्तविक कारण प्रकट भयो- त्यो अस्तव्यस्तता थिएन, दुर्गन्ध थियो जसले जुत्तालाई बाहिर थन्क्याउँथ्यो।
"त्यहाँ ठाउँ वा जुत्ता र्याकको अभाव थिएन, प्रशस्त ठाउँ थियो। समस्या भनेको त बारम्बार पसिना आउनु र जुत्ताको निरन्तर प्रयोगले आउने दुर्गन्ध थियो," हाल एउटा सफ्टवेअर कम्पनीमा काम गर्ने मित्तल भन्छन्।
त्यसैले दुवैले विश्वविद्यालयको छात्रावासमा एउटा सर्वेक्षण सुरु गरे र मानवीय प्रश्न सोधे : यदि हाम्रो जुत्ताको गन्ध आउँछ भने के यसले जुत्ता र्याक प्रयोग गर्ने सबैको अनुभवलाई नराम्रो बनाउँदैन?
सर्वेक्षणको नतिजा
सर्वेक्षणमा सहभागी विश्वविद्यालयका १४९ विद्यार्थीमध्ये ८० प्रतिशत पुरुष थिए।
त्यो सर्वेक्षणले अधिकांशलाई धेरैलाई पहिलेदेखि नै जानकारी रहेको तर कमै स्वीकार गरिएको कुरा पुष्टि गर्यो : आधाभन्दा बढीले आफ्नै वा अरू कसैको जुत्ताको दुर्गन्धबाट लज्जित महसुस गरेका थिए।
लगभग सबैले आफ्ना जुत्ताहरू घरमा र्याकमा राख्थे र सायदै कसैले उपलब्ध दुर्गन्धनाशक वस्तुबारे सुनेका थिए।
जुत्तामा चियापत्ती राख्ने, बेकिङ सोडा छर्किने, गन्धनाशक स्प्रे हाल्नेजस्ता घरेलु उपायले काम गरिरहेका थिएनन्।
त्यसपछि दुई अनुसन्धाताहरू विज्ञानतर्फ मोडिए।
उनीहरूलाई अनुसन्धानबाट थाहा भयो, 'क्योटोककस सेडेन्टेरिअस' नामक जीवाणु त्यसका लागि जिम्मेवार रहेछ, जो पसिनाले भिजेको जुत्तामा फस्टाउँछ।
उनीहरूको अनुभवले पराबैजनी प्रकाशको सानो विस्फोटनले सूक्ष्म जीवहरू मार्ने र दुर्गन्ध हटाउने देखायो।
"भारतका प्रायजसो घरपरिवारमा कुनै न कुनै प्रकारको जुत्ताको र्याक हुन्छ र जुत्ताको गन्ध नआउने र्याकले एक किसिमको राम्रो अनुभव दिन्छ," अनुसन्धानकर्ताले आफ्नो शोधपत्रमा उल्लेख गरेका छन्।
उनीहरूले राम्रो अनुभव पाउनका निम्ति परम्परागत जुत्ता र्याकको डिजाइनमा परिवर्तन गर्ने अवसरको रूपमा दुर्गन्धित जुत्तालाई उपयोग गर्नुपर्ने देखे।
परिणाम के भयो? केवल एक प्रकारको रमाइलो अनौठो जुक्ति : यूभीसी (पराबैजनी 'सी') प्रकाशयुक्त जुत्ता र्याकको एउटा नमुना जसमा जुत्ता मात्र राखिँदैन, तिनीहरूको शुद्धीकरण पनि गरिन्छ।
जाँच्नका निम्ति अनुसन्धानकर्ताहरूले विश्वविद्यालयका खेलाडीहरूले लगाउने जुत्ता प्रयोग गरेका थिए, जसमा चर्को गन्ध थियो।
ब्याक्टेरिया खुट्टाको औँलाको नजिक सबैभन्दा धेरै सङ्ग्रहित हुन्छन्, त्यसैले यूभीसी प्रकाश त्यहाँ केन्द्रित गरियो।
अध्ययनले गन्धको स्तर मापन गर्यो र पत्ता लगायो कि केवल २-३ मिनेटको यूभीसी प्रकाश नै ब्याक्टेरिया मार्न र दुर्गन्ध हटाउन पर्याप्त थियो।
समाधान

तस्बिर स्रोत, Hindustan Times via Getty Images
तर यो सरल थिएन : धेरै प्रकाशको अर्थ धेरै तातो हुन्थ्यो, जसले जुत्ताको रबर जलाउँथ्यो।
शोधकर्ताहरूले जुत्तामा यूभीसी प्रकाश मात्र देखाएनन् र सबै भन्दा राम्रो आशा गर्दै उनीहरूले प्रत्येक पटकको गन्ध मापन गरे।
सुरुमा, गन्धलाई चर्को, तीखो, सडेको चीजको जस्तो भनेर व्याख्या गरियो। दुई मिनेटमा, त्यो अत्यन्त कम, हल्का जलेको रबरको गन्धमा झर्यो। चार मिनेटमा त त्यसलाई सामान्य जलेको रबर गन्धले विस्थापित गरिदियो, दुर्गन्ध हट्यो।
छ मिनेटपछि जुत्ता दुर्गन्धमुक्त र आरामदायी हुन पुग्यो।
तर यसलाई १० देखि १५ मिनेट गरिदिने हो असर झन् नराम्रो हुन सक्थ्यो। कडा जलेको रबरको गन्धले सुरुवाती दुर्गन्धको ठाउँ लिन्थ्यो, जसले विज्ञानमा पनि, समय नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको प्रमाणित गर्छ।
अन्त्यमा दुवैले यूभीसी ट्यूबलाइट राखिएको जुत्ता र्याक बनाउने प्रस्ताव गरे।
पुरस्कार

तस्बिर स्रोत, Sarthak Mittal
यद्यपि अमेरिकास्थित इग नोबेल पुरस्कार दिने संस्थाले त्यसलाई जानकारीमा नलिँदा र सम्पर्कमा नआउँदासम्म कुनै परिणाम आएन।
'एनल्स अफ इम्प्रोबबल रिसर्च जर्नल'द्वारा आयोजित र हार्बर्ड-रेड्क्लिफ समूहद्वारा सहप्रायोजित ३४ वर्ष पुरानो इग नोबेल पुरस्कारअन्तर्गत बर्सेनि १० वटा पुरस्कार प्रदान गरिन्छ, जसको उद्देश्य "मानिसहरूलाई हँसाउनु, त्यसपछि सोच्न लगाउनु ... असामान्य अवस्थाको उत्सव मनाउनु र कल्पनाशीलतालाई सम्मान गर्नु" हो।
"हामीलाई पुरस्कारबारे केही थाहा थिएन," कुमार भन्छन्, "यो २०२२ को पुरानो सोध थियो – हामीले यसलाई कतै पनि पठाएका थिएनौँ। इग नोबेल टोलीले भर्खरै हामीलाई फेला पार्यो, हामीलाई फोन गर्यो र यसले आफैँमा तपाईँलाई हाँस्न र सोच्न लगाउँछ।"
"यो पुरस्कार अनुसन्धानलाई प्रमाणीकरणका निम्ति होइन, विज्ञानको रमाइलो पक्षमा उत्सव मनाउन हो। धेरैजसो अनुसन्धान सोखले गरिने धन्यवादविहीन काम हुन् र यो यसलाई लोकप्रिय बनाउने एक तरिका पनि हो," उनी थप्छन्।
यस वर्ष दुई भारतीय कम्पनीसहित इग नोबेल पुरस्कार विजेताहरूमा रमाइलो विविधतायुक्त उपस्थिति छ।
त्यो पुरस्कार पाउनेमा जापानी जीवशास्त्रीले गरेको गाईमा चित्र बनाउँदा त्यसले झिँगा धपाउन सहयोग गर्ने, टोगो देशमा 'रेन्बो' छेपाराको चीज पिज्जाप्रतिको मोह, लसुन खाँदा आमाको दूधप्रति शिशुको आकर्षण बढ्ने अमेरिकी बालरोगविशेषज्ञहरूको अध्ययन र मदिरा सेवनले विदेशी भाषाको सीप तिखार्ने निष्कर्षसहितको डच अनुसन्धाताहरूको खोज सामेल छन्।
त्यसैगरी ३५ वर्षसम्म आफ्नो औँलाको नङको विकासमा निगरानी गरेका एक इतिहासकार र पास्ता ससको विचित्र पक्षबारे खोज गरेका भौतिकशास्त्रका अनुसन्धानकर्ता पनि छन्।
दुर्गन्धित जुत्ताबारेको सोधलाई पुरस्कार प्राप्त हुनुले भारतीय शोधकर्ताहरूको लागि मानक थप बढाइदिएको देखिन्छ।
"मान्यताबाहेक, यसले हामीमाथि बोझ थपिदिएको छ। हामीले अब ती कुराहरूमा थप अनुसन्धान गर्नुपर्ने छ, जसबारे मानिसहरूले सामान्यतया सोच्दैनन्। प्रश्न सोध्नुहोस्," कुमारले बताए।
अर्को शब्दमा, आजको गन्धयुक्त जुत्ता भोलिको प्रगतिशील विज्ञान हुन सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








