सूर्यमुखी, तोरी वा भटमासको तेलले हुने फाइदा र बेफाइदा यस्ता

तस्बिर स्रोत, Getty Images
- Author, जेसिका ब्राडली
- Role, बीबीसी फ्यूचर
हालैका दिनहरूमा कनोला (तोरी वा सर्सिउँ प्रजाति) अनि सूर्यमुखीको बियाँबाट निकालिएका तेलको हानिकारक प्रभावबारे विवादास्पद दाबी भइरहेका छन्। तर के ती दाबीहरूमा सत्यता छ?
पक्कै पनि तपाईँको भान्साको कुनाकाप्चामा सूर्यमुखी वा तोरीजन्य वनस्पतिका बीउबाट निकालिएको तेलको बोतल वा प्याकेट राखिएको हुन सक्छ।
चाहे तपाईँ त्यसलाई भुटुनका रूपमा तरकारीमा हाल्नु होस् वा सलादमा छर्कनुहोस् यस्ता तेलको प्रयोग संसारभरि नै व्यापक र लोकप्रिय रूपमा भइरहेको छ। तर अहिले यस्ता तेलहरूबारे अनलाइनमा तातो बहस भइरहेको छ।
हालैका वर्षहरूमा यस्ता दानाहरूबाट निकालिएका तेलबारे सामाजिक सञ्जालमा व्यापक पोस्टहरू गरिएका छन् र धेरै नकारात्मक खालका छन्।
मानिसहरूले ती पोस्टहरूमा यस्ता तेल "विषाक्त" भएको र अन्ततः हाम्रो स्वास्थ्यलाई हानि पुर्याइरहेका छन् भन्ने दाबी गरिरहेका छन्।
कतिपय आलोचकहरूले त 'आठ अति मन नपर्ने तेलहरू' उपमा दिँदै विभिन्न पोस्टहरू गरिरहेका छन्।
ती आठ भनेका मुख्य रूपमा विश्व बजारमा खपत हुने दानाहरूबाट बन्ने आठ प्रकारका तेलहरू हुन्।
त्यसरी तेल बनाइने र धेरै चल्तिमा रहेका दानाहरूमा कनोला, मकै, भटमास र सूर्यमुखीलगायत सबैजसो पर्छन्।
सामजिक सञ्जालहरूमा यी तेलहरूले मुटुसम्बन्धी रोग र टाइप टु मधुमेह लगाउने दाबी गरिएका छन्। तर के यी तेलहरू हाम्रो स्वास्थ्यका लागि घातक नै हुन् त? त्यसबारे यहाँ चर्चा गरिएको छ।
तेल र मुटुको स्वास्थ्य

तस्बिर स्रोत, Getty Images
सीड अइल पनि भनिने यस्ता तेलहरूमा उच्च मात्रामा पाइने ओमेगा-सिक्स फ्याटी एसिडलाई लिएर हालैका आलोचनाहरू भएका देखिन्छन्।
ओमेगा-सिक्स फ्याटी एसिड भनेका आवश्यक फ्याटी एसिडहरू हुन्। ती हाम्रो शरीरका लागि आवश्यक छन् तर हामी आफैँले ती तत्त्वहरू उत्पादन गर्न सक्दैनौँ।
हालका वर्षहरूमा केही वैज्ञानिकहरूले ओमेगा-सिक्सले दीर्घकालिक सूजन निम्त्याउन सक्ने तर्क गरिरहेका छन्। त्यसको अर्थ के हो भने मानिसमा त्यसले मुटुरोग र क्यान्सर लगायतको जोखिम बढाउन सक्छ।
अमेरिकाको म्यासाचुसेट्सस्थित टफ्टस् युनिभर्सिटीको फूड इज मेडिसिन इन्स्टिट्युटका प्राध्यापक तथा निर्देशक दारिअस मोजाफेरिअनका अनुसार नियन्त्रित रूपमा गरिएका परीक्षणहरूले पत्ता लगाएका कुरा के हुन् भने ओमेगा-सिक्स फ्याटी एसिडले सूजन बढाउँदैन भन्ने देखाएको छ।
"नयाँ अनुसन्धानले ओमेगा-सिक्स फ्याटी एसिडले लिपोक्सिन जस्ता युनिक प्राकृतिक मोलिक्युलहरूलाई बढाउने देखाएको छ। त्यसले शरीरमा शक्तिशाली एन्टी-इन्फ्लेमेटरी प्रभाव पर्छ," उनी भन्छन्।
लगभग ३० वर्षसम्मका अमेरिकामा २,००,००० भन्दा बढी मानिसहरूको आहारा र स्वास्थ्यको अध्ययन गरेको हालैको एउटा अनुसन्धानले पनि यस्ता तेलहरूबारे उल्लेख गरेको छ।
उक्त अनुसान्धानमा अनुसन्धानकर्ताहरूले वनस्पतिजन्य तेलहरू (जसमा अहिले हामीले चर्चा गरिरहेका जस्ता दानाहरूबाट उत्पादित तेल पनि पर्छन्) को उपभोग गर्ने मानिसहरूमा गरिएको अध्ययनले उनीहरूमा मुटुरोग वा क्यान्सरबाट मर्ने सम्भावना कम देखिएको पत्ता लगाएका थिए।
अर्कोतर्फ मखन वा घिउको सेवन बढी गर्नेहरूको सोही अवधिमा मृत्यु हुने सम्भावना बढी देखिएको थियो।
ओमेगा-सिक्सले हाम्रो मुटुको स्वास्थ्यलाई कसरी असर गर्छ भन्ने हेर्नका लागि अवलोकनात्मक अध्ययनहरू भएका छन्।
त्यसमा वैज्ञानिकहरूले आहारा र स्वास्थ्यसम्बन्धी विवरण हेर्छन् र यी दुई बीचको सम्बन्ध पत्ता लगाउँछन्।
यद्यपि अमेरिकास्थित जोन हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थस्थित मानव पोषणसम्बन्धी उपप्राध्यापक म्याटी मार्कल्यान्डका अनुसार केही अवलोकनात्मक अध्ययनहरूमा मानिसहरूले के खान्छन् भन्नेबारे उनीहरूले नै दिएका विवरणमा भर पर्नु पर्ने हुन्छ।
उनी त्यसले गर्दा ती अध्ययनहरू समस्याग्रस्त हुन सक्ने बताउँछन् किनभने मानिसहरूले आफ्नो आहारासम्बन्धी बानीबारे सही नै भन्छन् वा सधैँ उनीहरूले त्यो सम्झन्छन् भन्ने पनि हुँदैन।
ओमेगा-सिक्सको सेवन मापन गर्ने अर्को तरिका भनेको व्यक्तिको आहारामा त्यसको औसत मात्रा मापन गर्नु हो। तर त्यो पनि त्यति सहज नभएको उनको तर्क छ।
हाम्रो स्वास्थ्यमा ओमेगा-सिक्सको प्रभावको अनुसन्धान गरिएका अध्ययनहरू लिनोलिक एसिडमा केन्द्रित छन्। त्यो यस्ता तेलमा उच्च मात्रामा पाइने ओमेगा-सिक्स फ्याटी एसिड हो र त्यसले हाम्रो रगतमा हुने 'खराब' एलडीएल कोलेस्ट्रोललाई कम गर्ने पाइएको छ।
सन् २०१९ मा गरिएको एक अध्ययनमा मार्कल्यान्डले झन्डै ३० वटा अवलोकनात्मक अध्ययनका सहभागीहरूको रगतमा फ्याटी एसिडको स्तरबारे अध्ययन गर्न आफ्नो ध्यान केन्द्रित गरे।
ती अध्ययनमध्ये केहीले ३० वर्षसम्म मानिसहरूमा अध्ययन गरेका थिए र तीमध्ये कति जनालाई मुटुरोग लागेको थियो र त्यसबाट मृत्यु भएको थियो भनेर पनि हेरेका थिए।
उनले के पत्ता लगाए भने रगतमा लिनोलिक एसिडको स्तर उच्च भएकाहरूलाई मुटुरोग हुने जोखिम सबैभन्दा कम थियो।
अमेरिकाको स्ट्यानफोर्ड प्रिभेन्सन रिसर्च सेन्टरको पोषणसम्बन्धी अध्ययनका निर्देशक क्रिस्टोफर गार्डनर ओमेगा-सिक्स र मुटुको स्वास्थ्यबारेमा केही भ्रमहरू रहेको बताउँछन्।
यो आंशिक रूपमा ब्लड क्लटिङको प्रक्रियामा ओमेगा-सिक्सको भूमिकाबाट उत्पन्न हुन्छ। गार्डनरका अनुसार त्यसलाई मानिसहरूले गल्तीले हृदयाघात र मुटुरोगसँग मात्र जोड्छन्।
उनका अनुसार ओमेगा-थ्रीले रगतलाई पातलो पार्ने गर्छ। "यदि तपाईँको हातमा घाउ छ भने त्यसको रगत जमोस् भन्ने चाहनुहुन्छ त्यसैले तपाईँलाई सन्तुलन चाहिन्छ," उनी भन्छन्।
वैज्ञानिकहरूले सन् २०१९ मा गरेका ३० अध्ययनहरूको विश्लेषणको निष्कर्षले रगतमा लिनोलिक एसिडको मात्रा बढी भएका मानिसहरूमा हृदय रोग हुने सम्भावना ७ प्रतिशत कम हुने देखाएको छ।
"लिनोलिक [एसिड]ले मुटुरोगको जोखिम कम गर्न कोलेस्ट्रोल सुधार गर्न सक्छ र ग्लुकोज मेटाबोलिजम पनि सुधार गर्न सक्छ त्यसले टाइप टु मधुमेहको जोखिम कम गर्छ," मार्कल्यान्ड भन्छन्।
दानाबाट निकालिएका तेल र त्यसको अनुपात

तस्बिर स्रोत, Getty Images
यस्ता तेलको खराबीबारे भनिने अर्को कुरा ओमेगा-थ्रीको तुलनामा धेरै ओमेगा-सिक्स खानु हानिकारक हुन्छ भन्ने हो।
पश्चिमी विश्वमा ओमेगा-सिक्स फ्याटी एसिड कुल ऊर्जा सेवनको लगभग १५ हुन जान्छ।
ओमेगा-थ्री र ओमेगा-सिक्सको व्यक्तिगत रूपमा औसत अनुपात ५०:१ सम्म हुन सक्छ। यद्यपि एक अध्ययनअनुसार मुटुरोगको जोखिम कम गर्न यसको अनुपात ४:१ भन्दा बढी हुनुपर्छ भन्ने छ।
सन् २०२२ को विश्व स्वास्थ्य सङ्गठनको एउटा समीक्षा र व्यापक रूपमा गरिएको विश्लेषण प्रतिवेदनले उच्च ओमेगा अर्थात् ६:३ अनुपातले संज्ञानात्मक क्षमतामा गिरावट र अल्सरेटिभ कोलाइटिस भनिने आन्द्रामा सूजन हुने रोगको जोखिम बढाउन सक्ने कुरासँग सम्बन्धित हुन सक्ने देखाएको थियो।
अर्कोतर्फ उच्च ओमेगा अनुपात अर्थात् ३:६ को अनुपातले पनि डिप्रेसनको जोखिमलाई २६ प्रतिशत कम गर्ने कुरासँग जोडिएको थियो।
समग्रमा डब्लूएचओको अध्ययनमा संलग्न वैज्ञानिकहरूले निष्कर्ष निकालेअनुसार यस्तो देलबाट ओमेगा- सिक्स फ्याटी एसिडको उच्च सेवनले मृत्यु र रोगको जोखिम बढाउने सम्भावना छैन। यद्यपि उनीहरूले थप उच्च गुणस्तरको अनुसन्धान आवश्यक रहेको औल्याएका छन्।
केही वैज्ञानिकहरूले ओमेगा-थ्रीको तुलनामा धेरै मात्रामा ओमेगा-सिक्स खानु हुँदैन भन्ने तर्क गरे पनि मार्कलुन्ड ओमेगा-सिक्स कम खानुको सट्टा ओमेगा-थ्रीको मात्रा बढाउनु राम्रो भएको बताउँछन् किनभने दुवै स्वास्थ्यका लागि लाभकारी छन्।
यस्ता तेलहरू कसरी प्रशोधन गरिन्छन्?
अन्य तेलहरू भन्दा फरक ढङ्गले यी तेलहरू वनस्पतिको बीउबाट निकालिन्छन्।
यद्यपि कतिपयले यस्ता तेलहरू क्रुड अइलमा हुने हेक्सीन भनिने रसायनसँगै यसलाई पनि निकालिन्छ भन्ने चिन्ता व्यक्त गरेका छन्।
यद्यपि यस्तो तेल निकाल्ने प्रक्रियाले खराब असर गर्छ भन्ने हालसम्म थोरै प्रमाणहरू मात्र उपलब्ध छन्।
केही प्रमाणहरूले हेक्सीन धेरै स्वास्थ्य अवस्थाहरूसँग जोडिएको हुन सक्ने सुझाव दिएका छन्।
यसलाई तेलहरूको दुर्गन्ध हटाउन प्रयोग गर्ने पनि गरिन्छ र गार्डनरका अनुसार खाद्य प्रशोधनमा यो सामान्यजस्तै रहेको छ। त्यसले दुर्गन्ध र हानिकारक यौगिकहरू हटाउने उनले बताए।
वनस्पतिका दानाहरूलाई हाम्रोमा परम्परागत रूपमा कोलमा तोरी पेलेजस्तो गरी पेलेर निकाल्ने प्रक्रियामा भने हेक्सीन प्रयोग हुँदैन। तर यो पद्धति धेरै नै महँगो पर्न जाने भएकाले त्यसो खासै गरिँदैन।

तस्बिर स्रोत, Alamy
यस्ता तेलहरूले ट्युमर बढाउन मद्दत गर्छन्?
हाम्रो स्वास्थ्यमा ओमेगा-सिक्सले हुने सम्भावित फाइदा उजागर गर्ने प्रशस्त अनुसन्धानहरू भएका छन्।
तर हालै अनुसन्धानकर्ताहरूले यो फ्याटी एसिडले एक विशेष प्रकारको स्तन क्यान्सरको वृद्धिलाई बढावा दिन सक्ने पत्ता लगाएका छन्।
यी निष्कर्षहरूले अन्य रोगहरूमा पनि ओमेगा-सिक्सको सेवनको प्रभाव हुन सक्नेतर्फ सङ्केत गर्छन्।
क्यान्सरका कोषहरूले बढ्न र त्यसलाई विस्तार गर्न गर्न पोषक तत्वहरूलाई इन्धनको रूपमा प्रयोग गर्छन् तर अहिलेसम्म ओमेगा-सिक्स फ्याटी एसिडले खेल्ने भूमिकालाई हेरेर सीमित मात्र अनुसन्धान गरिएको छ।
यद्यपि यस वर्ष मार्चमा प्रकाशित एक अध्ययनले लिनोलिक एसिडले क्यान्सर कोषहरूलाई ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर अर्थात् टीएनबीसी भएका बिरामीहरूमा बढ्न र फैलन गर्न मद्दत गर्ने संयन्त्र पत्ता लगाएको छ।
अघिल्ला अध्ययनहरूले ओमेगा-सिक्स फ्याटी एसिडसँग कुनै सम्बन्ध नभएको वा जोखिममा थोरै पनि वृद्धि नभएको देखाएको न्यूयोर्कको वेल कर्नेल मेडिसिन रिसर्च सेन्टरका पोस्टडक्टोरल एसोसिएट निकोलास कोन्डरोस बताए।
यद्यपि उनका अनुसार ती अध्ययनहरूले स्तन क्यान्सरका धेरै सब-टाइपहरू छन् भन्ने कुरालाई बेवास्ता गरेको बताउँदै त्यस्ता सन्दर्भहरू फरक हुन सक्नेतर्फ सचेत गराउँछन्।
त्यसैले ओमेगा-सिक्सका केही असरलाई हेरेर त्यसलाई पूर्ण रूपमा बन्द गरिए त्यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्नेतर्फ पनि विचार गर्नुपर्ने उनको सुझाव छ।
कस्ता तेल?
यस्ता तेलमध्ये जस्तो तोरीजन्य दानाहरू वा भटमासको तेलबारे धेरै अध्ययनहरू भएकाले त्यस्ता तेलको असरबारे व्यापक प्रमाणहरू पाउन सकिन्छ।
"यी प्रत्येकले स्वस्थ चिल्लो पदार्थको सन्तुलित संयोजन गर्छन्। त्यसमा मोनोअनस्याचुरेटेड फ्याट, ओमेगा-सिक्स पोलिअनस्याचुरेटेड फ्याट र ओमेगा-थ्री पोलिअनस्याचुरेटेड फ्याट पर्छन्," मोजाफेरिअन भन्छन्।
उनका अनुसार तोरीजन्य तेलमा समान एन्टी-इन्फ्लेमेटरी प्रभावहरू रहेका छन् र जैतुनको तेलभन्दा रगत त्यसले कोलेस्ट्रोलको स्तरमा राम्ररी सुधार गर्छ।
यस्तो तेललाई दीर्घकालदेखि मानव स्वास्थ्यका लागि सबैभन्दा स्वस्थकर मान्ने गरिएको छ।
अन्य स्याचुरेटेड फ्याटको तुलनामा भटमासको तेलले पनि कोलेस्ट्रोलको स्तरमा सुधार गरेको पाइएको छ।

तस्बिर स्रोत, Getty Images
कस्तो तेल स्वस्थकर?
"बीउहरू नै प्रकृतिका सबैभन्दा पौष्टिक उपहारहरू मध्ये एक हुन् र यी लाभदायक स्वस्थ फ्याट सहित हामीलाई प्राप्त हुन्छन्," मोजाफेरिअन भन्छन्।
पोषण विज्ञान भित्र निकै राम्रोसँग अध्ययन गरिएको विषय भए पनि धेरै प्रतिक्रिया पाउँदा त्यो केही वैज्ञानिकहरूका लागि भ्रमको स्रोत बनेको छ।
तर यो भ्रम "आंशिक सत्यलाई गलत ढङ्गले संयोजन" गर्दा उत्पन्न भएको उनको भनाइ छ।
उनका भनाइमा कतिपयले यस्ता तेलहरूलाई अति प्रशोधित खानासँग जोडेर हेर्छन्। हालैका दिनमा त्यस्ता खानामा यस्तै तेलहरू प्रयोग हुन्छन् र ती खानाका कारण मुटुरोग र टाइप टु मधुमेहजस्ता रोगको जोखिम बढ्न सक्ने भन्दै त्यतातिर ध्यान केन्द्रित भएको छ।
तर त्यस्ता खानामा प्रयोग हुने स्टार्च, चिनी र नुन अनि अन्य अप्राकृतिक वस्तुको मिसावट हुने तर्फ उनी सङ्केत गर्छन्।
कतिपय मानिसहरू हालैका वर्षहरूमा यस्तो तेलको बढ्दो खपत र मोटोपना अनि मधुमेहमा भएको वृद्धिलाई पनि जोडेर हेर्छन्।
"तर यदि तपाईँ मानिसहरूले धेरै यस्तो तेल खाएको र अस्वस्थ परिणामहरूलाई समानान्तर ठान्नुहुन्छ भने हामीले धेरै चिनी र सोडियम भएको खाना खाइरहेका छौँ भन्ने पनि हेर्नुपर्छ," गार्डनरले भने।
उनी खानालाई अति प्रशोधित नबनाइकन घरमा यस्ता तेलको स्वस्थ ढङ्गले प्रयोग गर्ने कैयौँ उपायहरू भएको बताउँछन्।
"मलाई यी दानाबाट उत्पादन हुने तेलबारेको लडाइँका कारण मानिसहरूले यस्ता तेललाई फ्याँकिरहेको हेर्न मन लाग्दैन," गार्डनर भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








