बेलाबेलामा अज्ञात रोगहरू फैलिन्छन्, तर त्यो नौलो कुरा हैन

भाइरसको तस्बिर

तस्बिर स्रोत, Getty Images

    • Author, जारिया गोर्भेट
    • Role, बीबीसी फ्यूचर

सन् १९९३ को वसन्त याममा नभाजो परिवारले न्यूमेक्सिकोस्थित एउटा सर्भिस स्टेशनमा पुगेर आपत्कालीन सेवाको नम्बर ९११ डायल गरेपछि यो कथा सुरु भएको यो। उनीहरूका १९ वर्षीय छोरा म्याराथन धावक थिए। तर उनमा अचानक श्वासप्रश्वासको समस्या देखा पर्‍यो। उनलाई एम्बुलेन्समा राखेर स्थानीय अस्पताल पुर्‍याइयो तर बचाउन सकिएन। चिकित्सकहरू उनको मृत्यु भएको देखेर स्तब्ध भए। त्यसपछी उनीहरूले कम उमेरका र स्वस्थ व्यक्तिको ज्यान लिन सक्ने कारण के थियो भन्ने कुरा खोज्न थाले।

ती किशोरको मृत्युजस्तो अनौठो घटना एउटा मात्रै नभएको थाहा पाउन चिकित्सकहरूलाई धेरै समय लागेन।

उनी केही दिनअघि मात्रै त्यस्तै किसिमको श्वासप्रश्वाससम्बन्धी समस्याबाट ज्यान गुमाएकी एउटी युवतीको मलामी गएका थिए। ती युवतीसँग उनको विवाह हुने टुङ्गो लागेको थियो।

रहस्यमय नयाँ प्रकोपहरू देखा परेको समाचार आउँदा तिनका सम्भावित कारकबारे पनि विभिन्न अनुमान गरिएकै हुन्छ। ब्रह्माण्डका भएका ताराहरूको भन्दा पृथ्वीमा भाइरसका कणहरूको सङ्ख्या सम्भवतः धेरै छ। अनि अन्य स्तनधारी जीवहरूमा भन्दा हाम्रो शरीरमा १० गुना बढी ब्याक्टेरिया छन्। सबै जोडेर हेर्ने हो भने हाम्रो ग्रहमा झन्डै एक खर्ब सूक्ष्मजीवको घर हो।

तर तीमध्ये केवल १,५१३ प्रकारका ब्याक्टेरिया, २१९ प्रकारका भाइरस, ३०० प्रकारका परजीवी जुका, ७० प्रकारका प्रोटोजोआ र २०० प्रकारका ढुसीले मानिसलाई विभिन्न रोग निम्त्याउनसक्ने अहिलेसम्म पत्ता लागेको छ।

अरू कुरा पत्ता लाग्न बाँकी नै छ।

रहस्यमय रोगको प्रकोप कति सामान्य

कतिपय प्रकोपहरू साँच्चिकै रहस्यमय हुने न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयका प्राध्यापक स्टीभन मोर्स बताउँछन्।

नभाजो दम्पतीले सन् १९९३ मा भोगेको घटनामा भने एक स्थानीय चिकित्सा अनुसन्धानकर्ताले त्यसअघिका महिनाहरूमा मानिसहरूमा कारण स्पष्ट नभएका लक्षणहरू देखिएको जनाएका थिए। ती सबै मानिस दक्षिणपश्चिम अमेरिकाको फोर कोर्नर्स क्षेत्रमा बस्ने 'नेटिभ अमेरिकन' समुदायका थिए।

अरू मानिसमा पनि सामान समान लक्षण देखिन थालेपछि त्यसको कारक पत्ता लगाउने प्रयास सुरु भयो।

कारक पहिचान हुँदा दुई महिना बितिसकेको थियो। अन्ततः 'हान्टभाइरस पल्मोनरी सिन्ड्रोम'का कारण समस्या निम्तिएको पत्ता लाग्यो। त्यो विषाणु मुसा र लोखर्केजस्ता जीवको समूह 'रोडन्ट'का सदस्यलाई सङ्क्रमण गर्ने नयाँ प्रकारको हान्टभाइरस थियो।

रोगकारक जीवाणु वा विषाणु कारण पत्ता लगाउन हुने विलम्ब वर्तमान कालमा पनि अचम्म लाग्ने गरी उस्तै छ।

“अहिले कैयौँ सङ्क्रमणहरू 'हान्टभाइरस पल्मोनरी सिन्ड्रोम'जस्तै तत्काल पत्ता लगाउन नसकिने खालका छन्,” मोर्स भन्छन्।

कोभिड-१९ मा पनि देखा परेको अवस्था

कैयौँ रोग फैलिएको सुरुसुरुमा थाहै हुँदैन। मोर्सका अनुसार कुनै विज्ञले निश्चित प्रकारको सङ्क्रमणमा चासो देखाएर अध्ययन सुरु गरेपछि बल्ल त्यसबारे विवरणहरू आउन थाल्छन्।

“अरू कतिपय ठाउँमा प्राविधिक सुविधा नभएका, दुर्गम क्षेत्रमा भएका कारण र अध्ययन गर्ने उत्प्रेरणा नभएका कारण कतिपय प्रकोपहरूबारे थाहै हुँदैन,” मोर्स भन्छन्।

यो अवस्था कोभिड-१९ फैलिएको बेला पनि उत्पन्न भएको थियो।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहान सहरका कैयौँ ठाउँमा निमोनिया भएका बिरामीहरू देखिएको विषयमा विश्व स्वास्थ्य सङ्गठनको ध्यानाकर्षण भएको थियो। तर त्यसको कारण पत्ता लागेको थिएन।

चिनियाँ अधिकारीहरूले उक्त सङ्क्रमण गराउने कारक तत्त्वको 'जीनोम सीक्वन्स' उपलब्ध गराएपछि एक महिनामै निमोनिया गराउने भाइरसको पहिचान भयो। कतिपय अनुसन्धानहरूले यो भाइरस सन् २०१९ को अक्टोबरबाटै मानिसहरूमा फैलिन सुरु गरेको सङ्केत गरेका छन्।

चीनमा फैलिएको प्रकोपमा ध्यानाकर्षण हुनेबित्तिकै त्यसको कारक तत्त्व चिन्ने अभियान आरम्भ भएको थियो।

चीनमा देखा परेको श्वासप्रश्वाससम्बन्धी अर्को प्रकोप

सन् २०२३ को १३ नोभेम्बरमा चीनको न्याश्नल हेल्थ कमिशनले विशेष गरी बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्या बढेको विवरण सार्वजनिक गर्‍यो। त्यसपछि उक्त समस्याबरे थप जानकारी बाहिरिन सुरु भयो। अस्पतालमा बालबालिकाको भिड लागेको र ठाउँठाउँमा रोगको पहिचान नखुलेको निमोनिया देखिएको विवरणहरू आए।

चिनियाँ अधिकारीहरूले आफूहरूले रोग निम्त्याउने कुनै पनि नयाँ कारक नभेट्टाएको र यसलाई जाडो याम सुरु हुँदा देखिने फ्लू र आरएसभीसम्बन्धी रोगको सूचीमा राखेको विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराए। भारत लगायतका कतिपय छिमेकी देशहरूले रोगको कारण त्यति मात्रै नहुन सक्छ भनेर चिन्ता व्यक्त गरे। विश्व स्वास्थ्य सङ्गठनले चीनको अवस्था आफूले निगरानी गरिरहेको बताएको थियो।

सन् २०२५ को आरम्भतिर पनि चीनमा रुघाखोकीजस्तै रोगको प्रकोप फैलियो। त्यो 'ह्यूमन मेटन्यूमोनोभाइरस' (एचएमपीभी) का कारण भएको बताइयो।

प्रकोपबारे कति रहस्यहरू समाधान भए?

सन् १९९३ मा प्रकोप फैलाउने भाइरस 'पीसीआर' विधिबाट पत्ता लगाइएको थियो। यो विधि त्यति बेलाका लागि अत्याधुनिक थियो। पहिल्यै पहिचान भएका हान्टभाइरसहरूको डीएनएका निश्चित 'सीक्वन्स' प्रयोग गरेर वैज्ञानिकहरूले सो समूहमा पर्ने तर त्यसअघि नचिनिएको नयाँ भाइरस पत्ता लगाए।

“सङ्क्रमण गराउने कारक तत्त्व पहिचान गर्न त्यसरी पहिलो पटक 'मलेक्यलर' परीक्षण गरिएको थियो,” मोर्स भन्छन्।

रोग लगाउने कारक तत्त्व पत्ता लगाउन पीसीआर गुणस्तरीय विधि हो तर त्यसमा एउटा जटिलता छ। यो विधिमा हामीले पहिचान गर्न खोजेको कारक तत्त्वको 'जीनोम' अर्थात् आनुवंशिक संरचनासँग मिल्दोजुल्दो 'सीक्वन्स' चाहिन्छ। सन्दिग्ध विषाणु वा जीवाणु नहुँदा उत्तर पत्ता लगाउन निकै कठिन हुन्छ।

फोर कोर्नर्समा फैलिएको प्रकोपमा सङ्क्रमित मानिसहरूमा अन्य हान्टभाइरसहरूका कारण 'एन्टिबडी' बनिसकेको वैज्ञानिकहरूलाई थाहा थियो। त्यसैले उनीहरूले पीसीआर विधि प्रयोग गरे।

यद्यपि अज्ञात रोगकारक जीवाणु वा विषाणु पहिचान गर्न अन्य अत्याधुनिक विधिहरू पनि विकास हुँदै गएका छन्। त्यस्तो विधिका लागि यस खालको विशिष्ट सूचना आवश्यक पर्दैन।

हालै विकसित पीसीआरमा आधारित एउटा विधिले रोग पहिचान गर्न सक्ने क्षमतालाई अझै फराकिलो बनाएको छ। नयाँ विधिले निकटको सम्बन्ध भएको भाइरस मात्रै नभएर उस्तै खालका अरू भाइरस पनि पत्ता लगाउन सक्छ।

अर्को विधि 'नेक्स्ट जेनरेशन सीक्वन्सिङ' हो। यसले वैज्ञानिकहरूलाई एकदमै नयाँ सूक्ष्मजीवहरू पनि पहिचान गर्न सहयोग गर्छ।

एउटै दाताबाट प्राप्त अङ्ग प्रत्यारोपण गरेपछि मृत्यु भएका केही मानिसहरूमा यसको अध्ययन गर्दा नयाँ 'अरिनाभाइरस' पत्ता लगाउन सहयोग पुगेको थियो।

“उच्च आय भएका देशहरू वा उच्च स्रोत साधन भएका ठाउँका धेरैजसो प्रयोगशालामा नमुनाहरू हेरेर रोग लगाउने तत्त्वका आनुवंशिक अनुक्रमहरू हेर्न सकिन्छ र के हो भन्ने पहिल्यै जानकारी नभए पनि तिनीहरू भाइरसका कारण भएका हुन् वा ब्याक्टेरियाका कारण भन्ने थाहा पाउन सकिन्छ,” मोर्स भन्छन्।

के केही प्रकोप किन फैलिए भन्ने कहिल्यै पत्ता नलाग्न सक्छ?

सन् २०१० मा युगान्डामा रक्तस्राव हुने एउटा रोग फैलिन थाल्यो।

“म यो कुरा झलझली सम्झन्छु, किनभने त्यति बेला म 'प्रेडिक्ट' परियोजनाको सहसंयोजक थिएँ,” मोर्स भन्छन्।

प्रभावित क्षेत्रमा नमुना सङ्कलन गर्न सङ्क्रमण निगरानी कार्यक्रमका अनुसन्धाताहरू जान ढिलो भयो। उनीहरू पुगेपछि सङ्कलित नमुनामा 'येलो फीभर' देखियो।

“त्यसैले त्यसलाई 'येलो फीभर' को प्रकोप भनियो। तर बिरामीहरूबाट सङ्कलित केही नमुनाका 'येलो फीभर' देखिएन। 'येलो फीभर' भनेर अनुमान त गर्न सकियो तर हामी किटान गर्न सक्दैनौँ ।”

मोर्सका अनुसार कुन रोग थियो भन्ने अहिलेसम्म पनि पत्ता लगाउन सकिएको छैन।

विश्वका विभिन्न स्थानमा बेलाबेलामा रहस्यमय वा अज्ञात रोगको प्रकोप फैलिएको चर्चा हुने गर्छ।

अधिकांश अवस्थामा वैज्ञानिकहरू रोगकारक तत्त्व पत्ता लगाउने प्रयासमा हुन्छन्। तर स्रोत र साधन भएका स्थानमा मात्रै त्यसो गर्न सम्भव हुन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।