मस्तिष्कमा चिप राखेर गरिने परीक्षण अब मानिसमै, यो प्रविधिले कसरी काम गर्छ

मानव मस्तिष्क

तस्बिर स्रोत, Getty Images

इलोन मस्कको ब्रेन चिप कम्पनी न्यूरालिङ्कले आफूलाई अमेरिकाको फूड एन्ड ड्रग अड्मिनिस्ट्रेशन (एफडीए)ले मानव शरीरमा परीक्षण गर्नका लागि स्वीकृति दिएको बताएको छ। यसअघि उक्त स्वीकृति लिनका लागि निकै कठिन भएकाले यसलाई ठूलो उपलब्धि मानिएको छ।

एफडीएले “एक दिन प्रविधिमार्फत् धेरै मानिसलाई मद्दत गर्न बाटो दिने भएकाले यसले एउटा महत्त्वपूर्ण पहिलो पाइलाको प्रतिनिधित्व गर्ने” बताएको न्यूरालिङ्कले जनाएको छ।

उक्त कम्पनीले आफ्नो अध्ययनको उद्देश्यबारे विस्तृत जानकारी दिएको छैन।

यद्यपि यसबारे थप विवरण छिट्टै उपलब्ध हुने उसको भनाइ छ।

न्यूरालिङ्कको उद्देश्य के हो?

उक्त कम्पनीले कम्प्युटरले मानिसको मस्तिष्कसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने नयाँ तरिका बनाउन प्रयास गरिरहेको जनाएको छ।

चिकित्सकीय उपचार सम्भव नभएका स्नायुप्रणालीसँग सम्बन्धित जटिल समस्या निराकरण गर्न न्यूरालिङ्कले सक्ने आशा गरिएको छ।

त्यस्ता अवस्थामा पक्षाघातदेखि, अन्धोपन, डिप्रेशन र सिजफ्रीनिआसम्म पर्छन्।

रेडलाइन
रेडलाइन

न्यूरालिङ्कले कसरी काम गर्छ?

त्यस्तो प्रक्रियामा बिरामीको मस्तिष्कमा एउटा सानो चिपलाई सीधै राखिन्छ।

त्यस्तो चिपमा हावा पनि छिर्न नसक्ने हुनाले बाहिरी पदार्थले समेत त्यसलाई असर गर्दैन।

उक्त चिप १,०२४ वटा साना इलेक्ट्रोडहरूसँग जोडिएको हुन्छ र त्यो मानिसको रौँभन्दा बाक्लो हुँदैन।

त्यस्तो चिपले ब्याट्रीबाट ऊर्जा प्राप्त गर्छ र त्यसलाइ बिनातार चार्ज गर्न सकिन्छ।

यो कम्प्युटरमा जोडिँदा सिग्नल पठाउन र पाउन सक्नेगरी बनाइन्छ।

स्पेसएक्सका प्रमुख कार्यकारी इलोन मस्क

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इलोन मस्कको न्यूरालिङ्क कम्पनीबाहेक स्पेसएक्स नामक रकेट कम्पनी पनि छ

के यो सुरक्षित छ?

यस प्रश्नको उत्तरका तीनवटा पक्ष छन्: क्षणिक शारीरिक खतरा, दीर्घकालीन चिकित्सकीय चिन्ता र सुरक्षा।

मस्तिष्कमा हुने कुनै पनि शल्यक्रियामा आन्तरिक खतरा हुन्छ। शारीरिक असर हुने सम्भावना वा मानिसको शरीरले जनाउने अस्वीकृति दुवै हुने सम्भावना रहन्छ। जनावरमा चिपको बृहत् परीक्षण गरिएको छ र त्यो विवादमा परेको छ।

बाँदरमा गरिएको एउटा परीक्षणमा निर्मम व्यवहार गरिएको आरोप लगाउँदै अमेरिकाको कृषि मन्त्रालयमा गत फेब्रुअरीमा एउटा उजुरी दर्ता भएको थियो।

यद्यपि एफडीएले मानिसमा परीक्षण गर्नका लागि अनुमति दिनुको तथ्यले न्यूरालिङ्क कम्पनीले केही चुनौतीहरू पार गर्‍यो भन्ने सङ्केत गर्छ।

मानव मस्तिष्कजस्तो जटिल र व्यापक अङ्गबारे बल्ल बुझ्न सुरु गरिएको बेला यस्तो उपकरण मस्तिष्कमा राख्दा यसले पार्ने दीर्घकालीन असरहरू कति गम्भीर र चिन्ताजनक हुन सक्छ्न् भन्ने थाहा हुन समय लाग्न सक्छ।

परीक्षणमा संलग्न बाँदर

तस्बिर स्रोत, Neuralink

तस्बिरको क्याप्शन, न्यूरालिङ्कले वैज्ञानिक परीक्षणमा प्रयोग गरिएका जनावरसँग निर्मम व्यवहार भएको आरोप खण्डन गरेको थियो

त्यसका सम्भावित असरहरू के हुन सक्छन् भन्नका लागि अहिले कुनै तथ्याङ्कहरू छैनन्। अब मानिसमा परीक्षण गरेपछि त्यसबारे थाहा हुने छ र उस्तै खालका अन्य उत्पादनको विकासका लागि त्यो महत्त्वपूर्ण हुनेछ।

अन्तिम तत्त्व अर्थात् नैतिक सुरक्षा ज्यादा व्यक्तिपरक विषय हो। यस्तो खालको प्रविधिलाई लिएर डेटा सुरक्षा, सम्भावित प्रयोग र मानव वृद्धिको सम्भाव्यतासँग सम्बन्धित चिन्ताहरू रहेका छन्।

यसले मानव मस्तिष्कको क्षमतालाई अहिलेसम्म हामीले गर्न सक्नेभन्दा बढी वृद्धि वा सुधार गर्छ।

उदाहरणका लागि, यसले मानिसको अनुभूति, इन्द्रिय वा शारीरिक क्षमताहरूमा सुधार गर्न सक्छ। यसले सधैँ शक्तिशाली भावनाहरू जागृत गर्ने र नैतिक प्रश्न उठाउने भएकाले यसबारे नियमन गरिरहनुपर्ने हुन्छ।

रेड लाइन
रेड लाइन

इलोन मस्कको संलग्नताको आधार के हो?

इलोन मस्कले सात वैज्ञानिकको टोलीसहित सन् २०१६मा न्यूरालिङ्क कम्पनी स्थापना गरेका थिए। तर गत वर्ष आठ सहसंस्थापकमध्ये दुई जना मात्रै कम्पनीमा बाँकी रहे।

धेरैले वैज्ञानिक विषयका रूपमा हेरेको यस विषयमा इलोन मस्क भने उद्यमी दृष्टिकोण राखेर लागिपरेका छन्। उनले यसको प्रचार पनि उत्तिकै गरिरहेका छन्।

उनी पृथ्वीमा धेरै पहिचान भएका र विवादास्पद व्यक्ति हुन्।

मस्क बोल्दा मानिसहरू उनलाई सुन्छन् र त्यसमा प्रतिक्रिया जनाउँछन्। उनी न्यूरालिङ्कमा भएकाले मानिसहरू अहिले त्यसबारे चर्चा गरिरहेका छन्।

इलोन मस्क

तस्बिर स्रोत, Reuters

अरू कम्पनी के गर्दै छन्?

हो। अन्य केही कम्पनीले न्युरालिङ्कले भन्दा बढी अनुसन्धान गरिरहेको बताएका छन्।

ब्ल्याक रक न्यूरो टेकले पनि मानव मस्तिष्कमै राखिने चिपमा काम गरिरहेको छ।

अरू धेरै किसिमका कामहरू पनि हुँदै छन्।

फेसबुकको माउ कम्पनी मेटाले मस्तिष्कले सोच्दासाथ टाइप गर्न सकिने र लगाउन मिल्ने एउटा प्रविधिमा काम गरिरहेको ठानिएको छ।

केही साताअघि स्विस वैज्ञानिकहरूले पक्षाघात भएका एक व्यक्तिलाई हिँड्न सक्षम बनाएको विषयमा समाचार आएको थियो।

सङ्क्षेपमा भन्नुपर्दा यो क्षेत्र व्यापक गतिमा फैलिरहेको छ र यसमा धेरैले काम गरिरहेका छन्।

इलोन मस्कको संलग्नताले न्यूरालिङ्कले धेरै चर्चा पाउने छ, तर कुन कम्पनीले यो प्रतिस्पर्धामा बाजी मार्छ भन्ने निश्चित छैन।

कुन प्रविधिले राम्रो काम गर्छ र कसले सुरक्षाबारे नियामक निकाय र बजारलाई आश्वस्त पार्न सक्छ भन्नेमा त्यो निर्भर गर्छ।