हामी किन अनुचित तरिकाले हाँस्छौँ?

हाँसोमा रमाएको जोडी।

तस्बिर स्रोत, Getty Images

    • Author, डेभिड रोबसन
    • Role, बीबीसी फ्यूचर

सोफी स्कटसँगको मेरो कुराकानी लगभग सकिन लागेको थियो। त्यति बेला उनले आफ्नो कुर्सीमा घुम्दै मलाई एक जना अर्ध नग्न मानिसले बरफ जमेको स्विमिङ पुलमा हाम फाल्न लागेको भिडियो देखाइन्।

करिब एक मिनेटसम्म नाटकीय रूपमा शरीर तन्काएपछि ती मानिस बरफलाई टुक्राउने र डुब्की लगाउने उद्देश्यसहित हाम फाल्छन्। तर, बरफ टुक्रँदैन र उनका साथीहरू हाँस्न थाल्छन्।

"साथीको प्रयास असफल भएको देख्ने बित्तिकै उनीहरू हाँस्न थाल्छन्," स्कटले भिडिओको प्रसङ्ग सुनाइन्।

"उनीहरू आनन्द मान्दै चिच्याउँछन्। यो बिलकुल असहयोग हो।"

अरू कसैलाई पीडा हुँदा हामीलाई खित्का छुट्छ? र किन यो यति सङ्क्रामक हुन्छ?

युनिभर्सिटी कलेज लन्डनमा न्यूरो वैज्ञानिक रहेकी स्कटले यी प्रश्नहरूको जवाफ खोज्न पछिल्ला केही वर्षहरू बिताएकी छन्। गत साता भ्यानकुभरमा आयोजित टेड २०१५ मा, उनले हाँसो किन हाम्रो सबैभन्दा महत्त्वपूर्ण र गलत बुझिएको व्यवहारमध्ये एक हो भनेर व्याख्या गरिन्। स्कटको काम सधैँ उनका अति सिद्धान्तवादी सहकर्मीहरूबाट भने अनुमोदित भएको छैन।

उनी आफूसँग भएका कागजपत्रमाथि रहेको एक हस्तलिखित नोट देखाउन चाहन्छिन् जसमा लेखिएको छ, "यी कागजको थुप्रो फोहोर जस्तै देखिन्छन् र यदि सङ्कलन नगरिएको खण्डमा यसलाई नष्ट गरिनेछ।"

"के यो विज्ञान हो?"

आलोचनाहरूलाई व्यङ्ग्य गर्ने प्रश्न अङ्कित टी-शर्ट लगाएकी स्कटले एक हास्य कार्यक्रमको तयारी गर्दै छिन् जसमा उनी प्रस्तोता रहनेछिन्।

उनले आफ्नो करिअरको सुरुवात आवाजको सामान्य जाँच र त्यसले हाम्रो पहिचानबारे दिने जानकारीबारे बताएर गरेकी थिइन्।

हाँस्दै एक किशोरी।

तस्बिर स्रोत, Getty Images

"तपाईँले मेरो लिङ्ग, उमेर, सामाजिक वा आर्थिक स्थिति, मेरो भौगोलिक उत्पत्ति, मानसिक अवस्था, स्वास्थ्य र अन्तरक्रियाबारे राम्रो जानकारी पाउन सक्नुहुन्छ," उनी भन्छिन्।

उनले एउटा प्रयोगमा व्यावसायिक रूपमा नक्कल गर्ने डन्कन विस्बेले कसरी अरूको आवाज दुरुस्त निकाल्न सक्छन् भन्ने विषयको सूक्ष्म अध्ययन गर्नु थियो। जब उनले पात्रमा भिज्न कोसिस गरिन् तब उनले आश्चर्यजनक रूपमा यो पत्ता लगाइन् कि दिमागका गतिविधिहरू सामान्यतया शारीरिक गति र दृश्यसँग सम्बन्धित हुन्छन्।

सामान्यतया व्यक्तिको नक्कल गर्दा संलग्न हुने लवज र ध्वनिले उनलाई दिमागी गतिविधि सूक्ष्म रूपमा बुझ्ने अवसर दियो। लवज र ध्वनि व्यक्तिको आवाज पहिचान गर्ने महत्त्वपूर्ण पाटोहरू हुन्।

तर नामिबियामा गरिएको एक अध्ययनमा स्कटले यो हाँसो पनि हाम्रो आवाजसँग सम्बन्धित मांसपेशीको प्रतिक्रिया भएको पत्ता लगाइन्।

अनुहारको हाउभाउमा आधारित पछिल्लो अध्ययनले यो देखाएको छ कि समुदायबिना विश्वव्यापी रूपमा हामीले ६ किसिमका भावनाहरू सजिलै महसुस गर्न सक्छौँ। ती भावनाहरू भय, क्रोध, आश्चर्य, घृणा, उदासी, खुसी हुन्।

यद्यपि, स्कटलाई हाम्रो आवाजमा अन्य सूक्ष्म जानकारीहरू पनि समाविष्ट छन् कि भनेर बुझ्नु थियो। त्यसैले उनले नामिबियाका आदिवासीहरू र बेलायती मानिसहरूलाई एक अर्काको रेकर्ड गरिएको आवाज सुन्न लगाइन् र त्यसमा भएका भावनाहरूलाई मूल्याङ्कन गर्न लगाइन्। उक्त मूल्याङ्कनमा विश्वव्यापी रूपमा स्वीकार गरिएका ६ वटा भावनाहरूका साथै राहत, विजय र सन्तुष्टिका भावनाहरू पनि समेटिएका थिए।

यी दुवै समूहमा हाँसो सहजै पहिचान गर्न सकिने भावना थियो। "अरू देखिएका भावनाहरूभन्दा यो तत्कालै भिन्न देखिएको थियो," उनले भनिन्।

उनले जति गहिरिएर अनुसन्धान गरिन् त्यति नै यसको जटिलताले उनलाई मोहित तुल्यायो। उदाहरणका लागि: अधिकांश हाँसोहरूको व्यङ्ग्यसँग कुनै सम्बन्ध नभएको उनले पाइन्।

"मानिसहरू सामान्यतया अर्काको ठट्टामा हाँसिरहेको ठान्छन्। यद्यपि, कुराकानीका क्रममा यदि कुनै समयमा एक व्यक्ति अधिक हाँस्छ भने ऊ बोल्ने व्यक्ति हो," उनले भनिन्।

यद्यपि, केही कुरा वास्तवमा हास्यास्पद भए पनि वा नभए पनि उनले हाँसोलाई "सामाजिक भावना"को रूपमा हेर्छिन् जसले हामीलाई सम्बन्ध स्थापित गर्न मद्दत गर्छ।

"जब तपाईँ मानिसहरूसँग हाँस्नु हुन्छ तब तपाईँ उनीहरूलाई रुचाउनु हुन्छ, उनीहरूसँग सहमत हुनुहुन्छ वा तपाईँहरू उनीहरूकै समूहमा पर्नुहुन्छ भन्ने सङ्केत गर्नुहुन्छ," उनले भनिन्।

"हाँसो कुनै पनि सम्बन्धको शक्ति मापन गर्ने सूचक हो।"

सङ्क्रामक हाँसो

यसले जोडीहरू एक अर्काको व्यङ्ग्यप्रति किन हाँस्छन् तर उनीहरूलाई अवलोकन गरिरहेकाहरू किन हाँस्दैनन् भन्ने कारण प्रस्ट्याउँछ।

"यदि कसैले 'उसको हास्य चेत निकै राम्रो छ र यसै कारण म ऊप्रति आकर्षित छु' भनेको सुन्नु भएको छ भने यसले 'म ऊप्रति आकर्षित छु र ऊसँग सँगै हुँदा हाँसेर आफूले मन पराउने कुरा अभिव्यक्त गर्छु" भन्ने अर्थ जनाउँछ।

निश्चय पनि आनन्द भाव सम्बन्धहरू कायम राख्ने एउटा प्रमुख उपाय हुन सक्छ। सँगै हाँस्ने जोडीको हकमा तनावपूर्ण घटनापछि परिस्थिति मत्थर गर्न उनीहरूलाई सहज हुने र यस्तो व्यवहारप्रति थप अध्ययन गर्नु पर्नेतर्फ उनी सङ्केत गर्छिन्। यसरी सँगै हाँस्ने जोडी दीर्घकालसम्म सँगै रहने पाइएको छ।

अरू पछिल्ला अध्ययनहरूले सँगै हाँस्ने मानिसहरू एक अर्कासँग छिट्टै खुल्ने र सहज महसुस गर्ने देखाएको छ।

जमेको स्विमिङ पुलमा खसेका ती जर्मन मानिसप्रति हाँस्ने अन्य पनि सङ्गठित भएका हुन सक्छन्।

"उनको साथीहरू कति चाँडै हाँस्न थाले भन्ने कुरा रोचक छ। मलाई लाग्छ यो उनलाई सहज महसुस गराउन गरिएको हो," स्कट भन्छिन्।

यसै परिप्रेक्ष्यमा अक्सफर्ड विश्वविद्यालयका रोबिन डोन्बारले हाँसो र पीडा थेग्न सक्ने विन्दुको अन्तरसम्बन्ध रहेको बताए। हाँसोको बखत एन्ड्रोफिन नामक रसायन जारी हुने हुनाले मद्दत पुगेको हुनसक्छ फलतः सामाजिक सम्बन्ध सुधार गर्छ।

सँगै हाँस्दै दुई महिला।

तस्बिर स्रोत, Getty Images

अहिले स्कट कुराकानीका क्रममा देखिने 'बनावटी' खित्का र स्वाभाविक र अनैच्छिक खित्काहरूबिच भिन्नता खुट्ट्याउन उन उत्सुक छिन्।

उदाहरणका लागि कम आधिकारिक लवज नाकमार्फत प्रसारित हुन्छन् जबकि हाम्रो स्वाभाविक खित्का नाके सुनिँदैन।

उनले गरेको एमआरआई परीक्षणले दिमागले बनावटी र स्वाभाविक हाँसोमा कस्तो प्रतिक्रिया जनाउँछ भनेर निरीक्षण गरेको छ। यी दुवै हाँसोले दिमागको मिरर रिजन भनिने क्षेत्रमा तरङ्ग पैदा गर्दा यस भागले अरूको गतिविधि नक्कल पार्न सहयोग पुर्‍याउँछ।

उदाहरणको लागि, कसैले बलमा लात्ताले हानेको देख्दा वा आफैले बल हान्दा यो क्षेत्र तरङ्गित हुन पुग्छ र हाँसो सङ्क्रामक बन्छ।

"तपाईँ अरू कोहीसँग हुनुहुन्छ भने तपाईँ हाँस्ने सम्भावना ३० गुणा बढी हुन सक्छ," उनी भन्छिन्।

यद्यपि, एउटा महत्त्वपूर्ण भिन्नता के हो भने कम प्राकृतिक सामाजिक हाँसोले दिमागको त्यो क्षेत्र तरङ्गित गर्छ जसले अरू मानिसहरूको उद्देश्य पत्ता लगाउन सहयोग पुर्‍याउँछ। किनकि हामी उनीहरूको बनावटी हाँसोको बारेमा बुझ्न चाहन्छौँ।

स्वतःस्फूर्त र बनावटी हाँसोमा भिन्नता पहिल्याउनु मानिसहरूले सजिलो प्रक्रिया ठान्छन् तर स्कटका अनुसार यो क्षमता विकास मानिसको जीवनमा निरन्तर भइरहन्छ र ३० औँ दशकको अन्त्यतिर उत्कर्षमा पुग्छ।

यो पुष्टि गर्नका लागि उनले लण्डन विज्ञान सङ्ग्रहालयमा एक परीक्षणका निम्ति तयारी गरेकी छिन्। जहाँ उनको समूहले विभिन्न उमेर समूहका अवलोकनकर्ताहरूलाई मानिस रोएको र हाँसेको भिडिओ देखाएर ती कति विश्वसनीय छन् भन्ने धारणा सङ्कलन गरिरहेको छ। उनले कम उमेरमा रुनु भनेको सञ्चारको एक तरिका भएको र उमेर बढ्दै गएपछि हाँसोको महत्त्व बढ्दै जाने कुरामा जोड दिइन्।

हामीलाई कतिको बनावटी हाँसो मन नपर्न सक्छ। यद्यपि स्कटका अनुसार यो कार्य हाँसो वा व्यक्ति मन नपर्नुभन्दा धेरै उनीहरूले प्रवाह गर्ने सामाजिक सङ्केत मन नपर्नुसँग सम्बन्धित हुनसक्छ।

उनले आफ्नी एक सहकर्मीको बारेमा बताइन् जसले उनलाई तिखो र अनवरत हाँसोले बारम्बार चिढ्याएकी थिइन्।

"मलाई सधैँ लाग्थ्यो कि उनको हाँसो अस्वाभाविक थियो तर जब मैले थप ध्यान दिएँ तब मैले थाहा पाएँ कि मलाई अस्वाभाविक यस कारण लागेको थियो किनकि म उनको कुरामा सरिक थिइनँ। उनको हाँसो नितान्त स्वाभाविक थियो।" यदि उनले आफ्नी साथीलाई मन नपराएको भए उनी हाँसेकी हुन्थिन् र वास्ता गर्थिनन्।

निकट सम्बन्धहरूको शक्ति अन्वेषण गर्ने उत्सुकताले स्कटलाई कमेडी क्लबसम्म डोहोर्‍यायो।

"स्ट्यान्ड अप कमेडीको माहौलमा हुने हाँसोको रोचक कुरा के छ भने त्यहाँ अन्तर्क्रिया हुन्छ। एक प्रकारले दर्शकहरूले हाँस्य कलाकारसँग संवाद गरिरहेका हुन्छन्। म यो जान्न उत्सुक छु कि दर्शक हाँसेर कति पछि त्यो हाँसो बिलय हुन्छ। यसमा तपाईँ अरू दर्शकसँग हाँस्नु हुन्छ वा एक्लै हाँस्नु हुन्छ भन्ने कुराले अर्थ राख्दैन किनकि त्यो अनुभव मात्र तपाईँ र मञ्चमा भएको व्यक्तिबीचको हो।"

कार्यक्रममा रमाइ रहेका मानिसहरू।

तस्बिर स्रोत, Getty Images

विरोधाभासपूर्ण कुरा त के भने, उनी हाँस्य कलाकारहरूले प्राय ठुलो स्थलमा प्रस्तुति दिन सहज महसुस गर्ने ठान्छिन्। यसको कारण हाँसोको सङ्क्रामक प्रकृति हुनसक्छ। जहाँ एक जना हाँसेको देखेर अरू पनि हाँस्छन्।

उनले यसलाई पुष्टि गर्न हाँस्य प्रस्तुति हेरिरहेका दर्शकको हाँसोको मात्रा मापन गर्न यन्त्र जडान गरिन्। तर यसले उनलाई सोचेजस्तो सफलता दिएन किनकि यन्त्र जडान गरेपछि दर्शकहरू सतर्क देखिन्थे। तर उनी चर्चित कमेडियनजस्तै रब डेलानेसँग थप काम गर्न इच्छुक छिन् जसले दर्शकहरूको अप्ठेरोपन र सतर्कताबीच पनि उनीहरूलाई हँसाउन सकुन्।

स्कट कहिलेकाहीँ आफै पनि लण्डनमा हुने हाँसे कार्यक्रममा प्रस्तुति दिन्छिन् र मैले उनलाई उनका उपलब्धिहरूले उनको मञ्चमा देखिने व्यक्तित्वमा प्रभाव पारेको छ कि भनेर सोधेँ। उनी विज्ञानका उपलब्धिहरू आत्मसात् गरेर छिट्टै हाँसे प्रतिभा बन्न सकिने कुरा नकार्छिन्। यद्यपि, एक साँझ मैले उनको कार्यक्रम हेरेको थिएँ र उनी वास्तवमै हास्यास्पद थिइन्।

स्कटलाई यो थाहा छ कि हाँसो आफूलाई व्यक्त गर्ने र मानिसहरूलाई आफ्नो कुरा सुन्न आकर्षित गराउने एक सशक्त माध्यम हो।

"हाँसो तुच्छ, क्षणिक र व्यर्थ देखिन सक्छ तर यो कहिल्यै पनि तटस्थ हुँदैन। प्रत्येक हाँसोमा केही अर्थ हुन्छ।"

हाँसोले पीडा थेग्न सक्ने अधिकतम क्षमता बढाउँछ र एन्ड्रोफिन्स नामक रसायनलाई नसामार्फत प्रवाह गरेर आनन्दित तुल्याउन सक्छ।