के 'मेटाभर्स' हाम्रो नयाँ कार्यथलो हुनसक्छ?

तस्बिर स्रोत, Getty Images
- Author, जेन वेकफिल्ड
- Role, प्रविधि लेखक
जब हामी ५० वर्षपछि हालको समयलाई फर्केर हेर्नेछौँ तब हामीले अहिले प्रयोग गर्दै आएको टु डी इन्टरनेट पुरातन लाग्न सक्नेछ।
त्यसबेला इन्टरनेट एउटा स्क्रीन पछाडिको सेवाको रूपमा मात्र नरहने होइन की हामी त्यससँग अन्तरक्रिया पनि फरक तरिकाले गर्नेछौँ।
हामीले अगमेन्टेड रीआलिटी (एआर)को प्रयोग गरी वस्तुहरूमा फेरबदल गर्नेछौँ, भर्चुअल रीआलिटी (भीआर)को संसार पत्ता लगाउनेछौँ र वास्तविक एवं डिजिटल संसारलाई यस्तो तरिकाले एकआपसमा मिसाउनेछौँ जसको परिकल्पना हामी अहिले गर्न सक्दैनौँ।
हाम्रो काममा यसको अर्थ के हुनेछ त?
हामी अहिले नै नौ बजेदेखि पाँच बजेसम्मको कामका निम्ति गर्ने यात्राबाट अर्कैतिर लाग्ने प्रक्रियामा गइसकेका छौँ र परम्परागत कार्यालय संरचनालाई त्याग्न लागेका छौँ।
यसको श्रेय दुई वर्षको कोभिड लकडाउन र भर्चुअल बैठकका लागि हाम्रो नयाँ प्रेम अथवा स्विकार्यतालाई जान्छ।
उसो भए के अब अर्को कदम भनेको 'मेटाभर्स 'मा काम गर्नुहुनेछ जहाँ नियोजित भर्चुअल जगत्मा हरेक व्यक्तिको कार्टुनजस्तो 3D अवतार वा स्वरूपले हिँडडुल गर्नेछ, कुराकानी र अन्तरक्रिया गर्नेछ?
मेटाभर्स एकदमै चर्चा हुने विषय बन्न पुगेको छ तर विचार गर्नु पर्ने महत्त्वपूर्ण कुरा के हो भने यो अहिलेसम्म अस्तित्वमा आइसकेको छैन। यस्को प्रारम्भिक अवधारणामा लगानी गरेकाहरूकाबीचमा पनि त्यो कस्तो हुनेछ भन्ने विषयमा मतभेद रहेको छ।

तस्बिर स्रोत, Getty Images
के प्रतिद्वन्द्वी भर्चुअल संसार एकअर्कासँग जोडिएलान् जुन हालका परस्पर प्रतिस्पर्धा प्रविधिहरूबीच हुन नसकेको अवस्था छ?
के हामी वास्तविक संसारमा भन्दा त्यहाँ बढी समय व्यतीत गर्नेछौँ?
के यी नयाँ स्थानहरू नियमन गर्न हामीलाई पूर्णतः नयाँ नियमहरूको आवश्यकता पर्नेछ?
यीमध्ये कुनै पनि प्रश्नको उत्तर हामीसँग अहिले छैन। तर कम्पनीहरूले पैसा कमाउने नयाँ तरिका देखिरहँदा त्यसबारे व्यापक रुचि र अतिशयोक्तिपूर्ण चर्चा रोकिएको छैन।
हामीले मेटाको होराइजन वर्ल्ड्सदेखि रोब्लोक्स र फोर्टनाइटजस्ता खेलहरू एवं स्यान्डबक्स र डिसेन्ट्राल्यान्ड जस्ता नयाँ बनाइएका कृत्रिम 'संसार' मा विभिन्न कारोबारहरूका शाखाहरू खुलिरहेको देखेका छौँ।
नाइकीले अहिले भर्चुअल जुत्ताहरू बेच्छ, एचएसबीसीको स्यान्डबक्समा 'जमिन' छ।
डिसेन्ट्राल्यान्डमा कोकाकोला, लुई भिटोँ र सदबीजको उपस्थिति रहेको छ।
मेटाभर्स भन्ने शब्दलाई झण्डै तीसवर्षअघि एकजना लेखक नील स्टेफनसनले प्रचलनमा ल्याएका हुन्।
उनको किताब 'स्नो क्र्याश' मा कथाका नायकले कृत्रिम अर्थात भर्चुअल संसारमा आफ्नो लागि वास्तविक जीवनमा भन्दा राम्रो र सुन्दर जीवन जीउँछन्।
शायद त्यस्तो परिकल्पनालाई वास्तविक जीवनको प्रविधिमा ल्याउने सम्भवतः सबैभन्दा आँटिलो कदम सन् २०२१ को अक्टोबरमा चालिएको हो।
त्यो बेला फेसबुकले आफ्नो नाम 'मेटा' राख्ने घोषणा गर्यो र आफूलाई 'मेटाभर्स' कम्पनीको रूपमा परिणत गर्दै अर्बौँ डलर लगानी गर्न शुरू गर्यो।
यो दृष्टिकोणको नेतृत्व फेसबुकका संस्थापक तथा मालिक मार्क जकरबर्गले गरेका छन्।
तथापि यो ठूलो लगानीलाई लिएर शेयरधनीहरूले चासो व्यक्त गरेका छन्।
तिनले कम्पनीले 'भर्चुअल रीआलिटी' को क्षेत्रमा धेरै नै रकम खर्च गरिरहेको भन्दै हालै चिन्ता समेत व्यक्त गरेका थिए।
मेटाभर्स ल्यान्ड बनाउनका लागि सफ्टवेअर निर्माण गर्ने कम्पनी इम्प्रोबेबलका प्रमुख कार्यकारी एवं भर्चुअल सोसाइटी नामक किताबका लेखक हरमन नरुला जकरबर्गको दृष्टिकोणबाट सन्तुष्ट हुन सकेका छैनन्।

तस्बिर स्रोत, HERMAN NARULA
“हाम्रो वास्तविक कार्यालयजस्तै देखिने अर्को कार्यालय मेटाभर्समा हामीलाई किन चाहियो?,” उनी प्रश्न गर्छन्।
“नयाँ वास्तविकतामा रचनात्मक ठाउँहरू सिर्जना गर्नु भनेको हाम्रा अनुभवलाई विस्तार गर्नुपर्छ भन्ने हो न कि अहिलेको वास्तविक संसारमा जे छ त्यसको नक्कल सिर्जना गर्नुपर्छ भन्ने हो।”
अनलाइन सुरक्षा कम्पनी ह्याकरवानका सहसंस्थापक एलेक्स राइसको विचारमा कुनै कम्पनीले आफ्ना कर्मचारीहरूलाई त्यसमा जान दिन विचार गर्नुअगावै मेटाभर्सको डिजाइनबारे निकै विचार गरिनुपर्ने बताउँछन्।

तस्बिर स्रोत, TIFFANY ROLFE
टिफनी रोल्फ डिजिटल ब्रान्डिङ कम्पनी आरजीएकी चिफ क्रिएटिभ अफिसर हुन्। उनी र उनको टोलीले मेटाभर्सको क्षेत्रमा काम गरिसकेका छन्।
उक्त कम्पनीले महामारीका बेला विशाल टेलिफोन कम्पनी भेराइजोनका लागि 'फोर्टनाइट' मा भर्चुअल अमेरिकी फुटबल रङ्गशाला बनाएको थियो।
त्यसैगरी मेटाको होराइजन वर्ल्ड्समा एउटा सङ्गीतको संसार बनाउन उसले मिलेर काम गरेको थियो।








