क्यान्डिडा औरिस: औषधिले काम नगर्ने फङ्गसले कसरी जोखिम बढाउँदै छ

तस्बिर स्रोत, Getty Images
आजभन्दा १५ वर्षअघि मात्रै पत्ता लागेको औषधि प्रतिरोधी फङ्गस क्यान्डिडा औरिस (सी औरिस) विश्वकै सबैभन्दा डरलाग्दो अस्पतालमा पाइने ढुसी जातको एक सूक्ष्मजीव भइसकेको छ।
यदि हाम्रो शरीरभित्र पुग्यो भने 'यीस्ट' प्रकारको यो फङ्गसले हाम्रो रक्तसञ्चार, स्नायु प्रणाली र अन्य कैयन भित्री अङ्गहरूमा असर गर्छ।
विश्व स्वास्थ्य सङ्गठनको एक आकलन अनुसार यो सङ्क्रामक रोगको मृत्युदर ३० देखि ५३ प्रतिशतसम्म छ।
यो फङ्गसको सबैभन्दा चिन्ताजनक विषय के हो भने फङ्गल सङ्क्रमणमा प्रयोग हुने अधिकांश चलनचल्तीका औषधिहरूले यसको विरुद्ध काम गर्दैनन्।
बीबीसीका स्वास्थ्य संवाददाता जेम्स ग्यालहरका अनुसार यसका कतिपय उत्परिवर्तनहरू त हामीसँग उपलब्ध सबै खाले औषधिहरू प्रतिरोधी छन्।
अमेरिकाको सेन्टर फर डिजिज् कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका अनुसार ३० भन्दा बढी देशमा यो सङ्क्रमण फैलिएको छ।
सन् २०२० मा प्रकाशित समीक्षा प्रतिवेदनले सन् २००९ देखि २०१९ को बीचमा विश्वभर ४,७५० सङ्क्रमणका घटना पत्ता लगाएको छ।
गत मार्च २० मा सीडीसीले जारी गरेको एक वक्तव्यमा सन् २०२० र २०२१मा यो फङ्गस "अमेरिकी स्वास्थ्य संस्थाहरूमा चिन्ताजनक रूपमा फैलिएको" उल्लेख गरिएको छ।
सन् २०२० मा अमेरिकामा ४७६ वटा सङ्क्रमण देखिएकामा सन् २०२१ मा यो सङ्ख्या १,४७१ पुगेको छ।
अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूको एउटा टोलीले सन् २०१९ मा प्रकाशित गरेको अध्ययनले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले क्यान्डिडा औरिस सङ्क्रमण फैलिन मद्दत पुगेको देखाएको छ।
यो 'सुपरबग' बारे तपाईँले थाहा पाउनुपर्ने कुराहरू यहाँ उल्लेख गरिएको छ।
क्यान्डिडा औरिस के हो?
क्यान्डिडा औरिस (सी औरिस) एउटा यीस्ट हो। यो मानिसका लागि पाउरोटी र बियर बनाउन सहयोगी फङ्गसकै परिवारको हो तर यसका केही प्रजातिहरूले मानिसलाई सङ्क्रमण गराउन सक्छन्।
यसको एउटा उदाहरण क्यान्डिडा अल्बिकन्स हो जसले हाम्रो जिब्रो वरपर काई उत्पन्न गराउँछ तर यसले कहिलेकाहीँ गम्भीर सङ्क्रमण पनि निम्त्याउँछ।

तस्बिर स्रोत, Getty Images
सी औरिस टोकियोको एउटा अस्पतालमा उपचार गराइरहेका बिरामीको कानको प्वालमा पहिलो पटक सन् २००९ मा पत्ता लागेको थियो। यसको नाम पनि ल्याटिनमा कान जनाउने औरिस राखिएको हो।
अधिकांश समय क्यान्डिडा हाम्रो छालामा कुनै पनि समस्या सिर्जना नगरी बसेका हुन्छन्। तर हामीलाई बिसन्चो भएको अवस्थामा यिनीहरूले सङ्क्रमण उत्पन्न गराउन सक्छन्।
कहिलेकाहीँ हाम्रो रक्तसञ्चार र फोक्सोमा प्रवेश गरे भने पनि यिनीहरूले समस्या निम्त्याउँछन्।
यसले कस्तो खाले बिरामी बनाउँछ?
सी औरिसले अधिकांश अवस्थामा रक्त प्रणालीमा सङ्क्रमण गराउँछ। तर यसले श्वासप्रश्वास प्रणाली, केन्द्रीय स्नायु प्रणाली र आन्तरिक अङ्गहरूसँगै छालामा पनि असर गर्छ।
यस्ता सङ्क्रमणहरू प्रायजसो गम्भीर प्रकृतिका हुन्छन्।
यस्ता फङ्गसहरू चलनचल्तीका औषधि प्रतिरोधी हुने भएकाले यसको उपचार थप जटिल हुन्छ।

तस्बिर स्रोत, Getty Images
"यो फङ्गसको सबैभन्दा ठूलो समस्या भनेकै यो हामीसँग भएका औषधि प्रतिरोधी हुनु हो," यूके स्थित प्लिमथ विश्वविद्यालयकी जीवविज्ञानकी उपप्राध्यापक टिना जोशीले भनिन्।
"यसको अर्को समस्या भनेको सी औरिसको पहिचान पनि अलि कठिन नै हुन्छ र यसलाई अरू फङ्गी ठानेर गलत उपचार हुनसक्छ।"
यसको अर्थ मानिस लामो समयसम्म बिरामी भइरहन सक्छ र उचित उपचार सुरु हुनुअघि नै उसको अवस्था खराब भइसक्न सक्छ।
यो कसरी फैलन्छ?
यो मुख्य गरी अस्पतालमा प्रदूषित सामानको आवरणबाट सर्छ।
यो मानिसको रक्त नलीहरूमा टाँसिएर रहन्छ।
युनिभर्सिटी कलेज लण्डनस्थित ट्रपिकल डिजिज् हस्पिटलका फङ्गल विज्ञ डाक्टर निल स्टोनका अनुसार यसलाई सफा गर्न निकै कठिन हुन्छ।

तस्बिर स्रोत, Getty Images
यसको समाधान भनेको कतिपय अवस्थामा अस्पतालको पूरै वार्ड नै बन्द गर्ने हो।
"यो निकै चिन्ताजनक फङ्गी हो र अधिकांश समय हामीले यसलाई बेवास्ता गरिरहेका हुन्छौँ," डाक्टर स्टोनले भने।
"यसले पूरै स्वास्थ्य उपचार प्रणाली बन्द गराउन सक्छ।"
हामीले सङ्क्रमणको चिन्ता लिन जरुरी छ?
हामीले आफ्नो दैनिक क्रियाकलापका कारण सी औरिस सङ्क्रमण सर्ने चिन्ता लिइरहनु पर्दैन।
तर तपाईँ लामो समय अस्पताल वा हेरचाह केन्द्रमा बस्दै हुनुहुन्छ भने यसको जोखिम केही उच्च हुनसक्छ। अमेरिकी रोग नियन्त्रण केन्द्रका अनुसार आईसीयू जस्ता विशेष निगरानी कक्षमा रहँदा यस्तो सङ्क्रमणको जोखिम थप उच्च हुन्छ।
एन्टिबायोटिक औषधि सेवन गरिरहेको समयमा यो सङ्क्रमण सर्ने जोखिम अझै बढी हुन्छ। किनभने यस्तो औषधिले सी औरिसलाई हाम्रो शरीरमा प्रवेश गर्नबाट रोक्ने असल ब्याक्टेरिया पनि नष्ट गरिदिन्छ।
सी औरिस किन चल्तीका औषधि प्रतिरोधी छ?
धेरैजसो सी औरिसका उपप्रजातिहरू फ्लुकोनाजोल जस्ता चलनचल्तीका एन्टीफङ्गल औषधिहरू प्रतिरोधी पाइएका छन्।
यसको अर्थ यस्ता औषधिहरूले सी औरिस विरुद्ध काम गर्दैनन्। जस कारण सी औरिसको उपचारमा कम प्रयोग हुने एन्टीफङ्गल औषधीहरू प्रयोग गरिन्छ। तर यस्ता औषधिले पनि काम गर्न छोडिसकेका छन्।

तस्बिर स्रोत, Getty Images
आनुवंशिक प्रमाणले के देखाएको छ भने सी औरिसमा हुने जिनहरू सी अल्बिकन्ससँग धेरै मिल्दोजुल्दो छन्।
यसले औषधि प्रतिरोधी जिनहरू एउटा प्रजातिबाट अर्कोमा सर्दै गएको देखाउँछ।
जलवायु परिवर्तन कसरी जोडिएको छ?
अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको जर्नल एमबायोको सन् २०१९ मा प्रकाशित संस्करणमा जलवायु परिवर्तनका कारण सी औरिसका प्रजातिहरू उच्च तापक्रममा बाँच्न बाध्य भएपछि यसको सङ्क्रमण पनि बढेको दाबी गरिएको छ।
अधिकांश फङ्गीहरू माटोमा पाइने चिसो तापक्रम रुचाउँछन्। तर विश्व तापमान वृद्धिका कारण सी औरिसहरू उच्च तापक्रमसँग पनि अनुकूलन भएका छन्।
जसले ३६ देखि ३७ डिग्री सेल्सियस तापक्रम हुने मानव शरीरमा पनि फैलन उनीहरूलाई सहज भएको छ।
सङ्क्रमण नियन्त्रणका लागि के गर्न सकिन्छ?
सी औरिसबाट सङ्क्रमित हुनसक्ने जोखिममा रहेका मानिसहरूबारे राम्रो जानकारी राख्नु यसलाई नियन्त्रण गर्ने पहिलो खुड्किलो हो।
यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूले पनि लामो समय अस्पताल वा हेरचाह केन्द्रमा रहेका र रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूमा यसको जोखिम हुनेबारे सजग हुनुपर्ने डा जोशी बताउँछिन्।
सी औरिसको पहिचान सबै अस्पतालहरूले एउटै तरिकाबाट गर्दैनन्। कतिपयले अरू फङ्गी सङ्क्रमण ठानेर गलत उपचार पनि गर्न सक्ने जोखिम रहन्छ।

तस्बिर स्रोत, Getty Images
यसका लागि रोगको निदान गर्ने प्रणाली सुधार्नुपर्छ जसले सही उपचारका लागि सहयोग पुर्याउँछ र फैलनबाट पनि रोक्छ।
तर यी सबैभन्दा पहिले सङ्क्रमण हुनै नदिने उपायहरू अपनाउनुपर्ने डा जोशी बताउँछिन्।
"अस्पतालहरूमा नि:सङ्क्रमण र सरसफाइ हुन जरुरी छ," उनी भन्छिन्।
यस बाहेक पनि खराब फङ्गसहरू छन्?
अरू पनि छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार १९ प्रकारका फङ्गीहरूले मानिसहरूको स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने भनेर सूचीकृत गरेको छ।
सी औरिस चाहिँ उच्च जोखिमयुक्त प्राथमिकता समूहमा रहेका चार फङ्गी मध्ये एक हो। यसलाई विश्व स्वास्थ्य सङ्गठनले "उपलब्ध औषधिहरू प्रतिरोधी" भनेर व्याख्या गरेको छ।
यो लेख लेना सिरिक र जेम्स ग्यालहरले तयार गरेको सामग्रीबाट लिइएको हो।









