जस्टिन बीबर: र्याम्जी हन्ट सिन्ड्रोम भनिने अनुहारको पक्षाघात कस्तो रोग हो

तस्बिर स्रोत, Instagram/Justin Bieber
क्यानडाका पपस्टर जस्टिन बीबरले गत जुन १० मा आफ्नो अनुहारमा एउटा दुर्लभ खालको पक्षाघात भएको बताउँदै त्यसका कारण आफ्नो विश्वव्यापी साङ्गीतिक कार्यक्रमहरू रद्द गर्नुपरेको बताएका थिए।
इन्स्टाग्राममा राखिएको भिडिओमा स्पष्टसँग पक्षाघातको प्रभाव देखिन्छ।
बीबरले आफूलाई र्याम्जी हन्ट सिन्ड्रोम (आरएचएस) निदान गरिएको बताएका छन्। यो रोग भाइरसका कारण हुने गर्छ।
उनलाई निको हुन कति समय लाग्छ त्यो स्पष्ट छैन। तर उक्त रोगबारे हामीलाई थाहा भएका कुरा यहाँ प्रस्तुत गरिएको छ।
र्याम्जी हन्ट सिन्ड्रोम कसरी लाग्छ?
र्याम्जी हन्ट सिन्ड्रोम भेरिसेला जोस्टर भाइरस (भीजेडभी)का कारण लाग्छ। यही भाइरसले मानिसमा ठेउला र शिङ्गल्स पनि हुन्छ।
शिङ्गल्स सङ्क्रमण हुँदा अनुहारमा हाउभाउ र कटाक्ष गर्ने स्नायु प्रभावित हुने भएकाले यो समस्या देखा पर्छ।
फेशल पाल्सी यूके नामक गैरसरकारी संस्थाका अनुसार सानो बेला ठेउला भएका मानिसमा पनि यो सिन्ड्रोम देखिएको छ।
ठेउला निको भए पनि भेरिसेला जोस्टर भाइरस स्नायुमा रहिरन्छ। तर त्यो निष्क्रिय हुँदा घातक हुँदैन।
तर पछि सम्भवतः हाम्रो प्रतिरक्षा प्रणाली दुर्बल हुँदा उक्त भाइरस सक्रिय बन्न सक्छ।
तनावको कारण पनि यो समस्या देखिन सक्छ। यसले शिङ्गल्सको प्रकोप निम्त्याउन सक्ने भनिएको छ।
यसका लक्षण के हुन्?
यो रोगमा अनुहारको स्नायुप्रणाली प्रभावित हुन्छ। बीबरको भिडिओमा देखिएको जस्तै एउटा लक्षण कमजोरी वा अनुहारमा पक्षाघात हो।

तस्बिर स्रोत, Getty Images
छालामा डाबर देखिन पनि सक्छ र अनुहार, आँखा वा मुखभित्रको माथिल्लो भागमा फोका पनि देखिन सक्छ।
कतिपय मानिसहरूले श्रवणशक्तिमा समस्या र असाध्यै पीडा अनुभव गर्छन्।
के यो सर्छ?
ठेउला र शिङ्गल्सजस्तो र्याम्जी हन्ट सिन्ड्रोम अरूलाई सरिहाल्दैन।
तर चिकित्सकहरूले ठेउला वा शिङ्गल्ससँग प्रतिरोधी क्षमता नभएका मानिसहरू यो सिन्ड्रोम भएका व्यक्तिको शरीरमा हुने डाबर वा फोकाको संसर्गमा भाइरस सर्न सक्ने चेतावनी दिएका छन्।
के कति व्यापक छ?
र्याम्जी हन्ट सिन्ड्रोम दुर्लभ प्रकारको रोग हो।
दुर्लभ स्वास्थ्य समस्याको क्षेत्रमा काम गर्ने एउटा संस्था न्याश्नल अर्गनाइजेशन फर रेअर डिस्अडर्सका अनुसार संयुक्त राज्य अमेरिकामा प्रत्येक वर्ष एक लाख मानिसमध्ये पाँच जनामा यसको प्रभाव देखिन्छ। क्यान्सरले प्रत्येक लाख जनामध्ये ४४० जनामा प्रभाव पार्छ।

तस्बिर स्रोत, Getty Images
यसको निदान कसरी गरिन्छ? उपचार के हो?
चिकित्सकहरूले रगतको परीक्षण र स्क्यानका लागि अनुरोध गर्न सक्छन्।
एन्टीभाइरल औषधि, स्टेरोइड, दुखाइ कम गर्ने औषधि र कतिपय अवस्थामा अनुहारको व्यायामले सहयोग गर्न सक्छन्।
अधिकांश मानिसहरू पूर्ण रूपमा निको हुन्छन्। तर गम्भीर रूपमा स्नायुप्रणालीमा क्षति भएको अवस्थामा निको हुन त्यति नै लामो समय लाग्छ।
कतिपय अवस्थामा केही मात्रामा अनुहारको पक्षाघात र श्रवणशक्ति गुम्ने समस्या स्थायी रूपमा रहन
सक्छ।
यो पनि हेर्नुहोस्









