नेपालमा नसर्ने रोगको प्रकोप बन्दैछ 'सुषुप्त महामारी'

तस्बिर स्रोत, SPL
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
मुटु तथा रक्त नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी तथा क्यान्सरजस्ता नसर्ने रोगहरू नेपालमा पनि मृत्युको "प्रमुख कारण बन्नु चिन्ताको विषय भएको" अधिकारी र जनस्वास्थ्यविद्हरूले बताएका छन्।
नेपालमा गरिएका पछिल्ला अध्ययनले मृत्युका कारणमा यस्ता रोगको प्रतिशत बढिरहेको देखाएकाले यो चिन्ताको विषय भएको उनीहरूको भनाइ छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुखले नेपालको यस्तो अवस्थालाई "सुषुप्त महामारी" भनेका छन्।
जनस्वास्थ्यविद्का बुझाइमा नसर्ने रोगको प्रकोप बढ्नुमा मानिसहरूको जीवनशैलीका साथै "रोकथामको साटो उपचारमा केन्द्रित हुने सरकारी नीति" जिम्मेवार छन्।
नसर्ने रोगको अवस्था
नेपालमा नसर्ने रोगका कारण हुने मृत्युको नियमित रूपमा नै विवरण सङ्कलन हुने गरेको स्वास्थ्य सेवा विभागका अधिकारीहरू बताउँछन्।
तर त्यस्तो विवरणलाई पूर्ण मान्न नसकिने उनीहरूकै भनाइ छ।
मानिसहरू शोकमा रहेको अवस्थामा कैयौँ त्यस्ता मृत्युको विवरण सरकारी निकायसम्म नआउने गरेको उनीहरूको अनुभव छ।
कतिपय अवस्थामा स्वास्थ्य स्वयंसेविकाहरूले पनि थाहा नपाउन सही विवरण नआउने सम्बद्ध अधिकारीहरूले बताए।
त्यसकारण नसर्ने रोगबारे गरिएका पछिल्ला अध्ययनहरूलाई आधार मानेर आवश्यक नीतिहरू बनाइने गरेको बताइन्छ।
विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सन् २०१९ मा गरेको र त्यसको अर्को वर्ष प्रकाशित एउटा अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको छ।
त्यसअघि दातृ निकायकै सहयोगमा सन् २०१७ मा गरिएको त्यस्तै अध्ययनले त्यस्तो प्रतिशत ६६ रहेको देखाएको थियो।
कुन रोगले लिन्छ बढी ज्यान?
पछिल्लो अध्ययन प्रतिवेदन अनुसार सन् २०१९ मा कुल १ लाख ९३ हजार ३ सय ३१ मृत्यु भएकामा २१.१ प्रतिशत मृत्यु सर्ने, मातृ तथा नवजात र पोषणसम्बन्धी रोगका कारण भएको देखिएको छ।
त्यस्तै ७.८ प्रतिशत मृत्यु चोटपटकका कारण हुने गरेको देखिएको छ।
मृत्यु धेरै गराउने नसर्ने रोगमध्ये मुटु तथा नसासम्बन्धी रोगहरूको हिस्सा धेरै रहेको उक्त प्रतिवेदनले देखाएको छ।

तस्बिर स्रोत, Science Photo Library
त्यस्ता रोगमध्ये कार्डियोभास्कुलर रोग (सीभीडी) हरूको प्रतिशत २४ र इस्क्यामिक हर्ड डिजिज् (आईएचडी) को प्रतिशत १२.३ प्रतिशत रहेको छ।
दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने प्रतिशत भने १६.३ रहेको छ। यस्ता रोगको प्रतिशत सन् १९९० मा ६.१ रहेको थियो।
सरकारी नीति
यसै साताको मन्त्रिपरिषद् बैठकले नसर्ने रोगको रोकथामका लागि बनाइएको एउटा नयाँ कार्ययोजना स्वीकृत गरेको अधिकारीहरूले जानकारी दिएका छन्।
सरकारका प्रवक्ताका अनुसार 'नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना' गत सोमवार मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो।
सङ्घीय व्यवस्था अनुसार सबै तह र निकायलाई यस्ता रोग रोकथामका लागि जिम्मेवार बनाउने गरी उक्त योजना ल्याइएको स्वास्थ्यसम्बद्ध अधिकारीहरू बताउँछन्।
उन् कार्ययोजना अब सबै तहमा कार्यान्वयनका लागि पहल गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए।
'सुषुप्त महामारी'
पौडेलका भनाइमा नेपालमा पछिल्ला वर्षहरू नसर्ने रोगको प्रकोप बढ्नु निकै चिन्ताको विषय बनेको छ।

तस्बिर स्रोत, Science Photo Library
उनले भने, "हाम्रो परिप्रेक्ष्यमा पनि नसर्ने रोगको जोखिम बढ्दै गएको देखेका छौँ। … अब यो साइलेन्ट महामारी (सुषुप्त महामारी) जसरी अगाडि बढिरहेको छ।"
"अहिले हाम्रोमा पनि नसर्ने रोगको प्रकोप हाम्रो प्रणालीले नै नधान्ने हिसाबले बढिरहेको छ। साइलेन्ट महामारीको रूपमा बढिरहेको नसर्ने रोगको प्रकोपलाई हाम्रो क्षमताले धान्ने अवस्थाभित्र ल्याउनुपर्ने अवस्था छ।"
उनले सरकारले ल्याएको नयाँ कार्ययोजनाको कार्यान्वयनले नसर्ने रोगको प्रकोपलाई कम गर्न भूमिका खेल्ने आशा व्यक्त गरे।
उनले भने, "नसर्ने रोगको प्रकोप न्यूनीकरणका लागि शारीरिक व्यायाम प्रवर्द्धन गर्नुपर्छ र हामीलाई हानी गर्ने बानीहरू विशेषगरी नशालु पदार्थ, सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि हामी सबै लाग्नुपर्नेछ।"
कारण के हुन्?
नसर्ने रोगका मुख्य कारण खानपान र जीवनशैली भएको जानकारहरू बताउँछन्।
नेपालमा धूमपान र मद्यपानको लत तथा व्यायामको कमीका कारण पनि यस्ता रोगको प्रकोप बढेको उनीहरूको भनाइ छ।
"यस्ता वस्तुको प्रयोग र जीवनशैलीमा सुधार गरेर मात्र नसर्ने रोगलाई कम गर्न सकिन्छ," पौडेलले भने।
सरकारले नसर्ने रोग न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू चलाइरहेको पौडेलको भनाइ छ।
तर अहिले कोभिड महामारीका कारण नसर्ने रोगबारेको सचेतनामूलक कार्यक्रम केही "ओझेलमा परेको" जस्तो देखिएको उनको भनाइ छ।
सरकारले कैयौँ नसर्ने रोगका लागि नि:शुल्क औषधि वितरण गर्दै आएको जनाएको छ।
तर कैयौँले सहजै औषधि नपाएको गुनासो गरिरहेका छन्।
पौडेलले भने त्यसलाई सहजीकरण गर्ने प्रयास जारी रहेको बताए।
सरकारी नीतिप्रति विज्ञको प्रश्न
एकजना जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी चाहिँ नसर्ने रोग भनेका जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली सुधार गरेर मात्र त्यसलाई न्यून गर्न सकिने बताउँछन्।
उनले भने, "चुरोट नखानूस्, रक्सी नखानूस्, मोटो नहुनूस्, दैनिक आधा घण्टा हिँड्नूस्, जथाभाबी खाना नखानूस्। त्यति भयो भने त यसबाट बच्न सकिन्छ।"
उनी सरकारले यस्ता रोग कम गर्न लिएको नीति नै गलत भएको बताउँछन्।
"सरकारले नसर्ने रोगका लागि रोकथाममुखी कदम चाल्नुपर्नेमा उपचारमुखी कदम चालेको छ। त्यो नै गलत छ। त्यसमा परिवर्तन गरेर रोकथाममुखी बनाउनुपर्ने आवश्यकता छ।"










