४० वर्षभन्दा माथिका व्यक्तिको निःशुल्क पिसाब जाँच, फाइदा के?

मिर्गौला

तस्बिर स्रोत, Science Photo Library

देशभरका चालिस वर्षभन्दा माथिको उमेरका व्यक्तिहरूको पिसाब तथा रगतमा ग्लुकोजको मात्रा निःशुल्क परीक्षण गराउने आफ्नो निर्णय गम्भीर प्रकारका रोगहरूको बेलैमा पहिचान गर्ने उद्देश्यले केन्द्रित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

बीबीसीसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ताले उक्त निर्णय कार्यान्वयन गर्न श्रोतको व्यवस्थापन भएको बताएका छन्।

पोहर साल जेठमा संसद्‌मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा वडा स्तरीय सेवा केन्द्रहरू मार्फत ४० वर्षका नागरिकको रक्तचाप, एल्बुमिन र मधुमेह परीक्षण गर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको थियो।

अहिले कार्यान्वयन हुन लागेको उक्त व्यवस्थाको नियमितता र औचित्यका बारेमा कतिपय विज्ञहरूले प्रश्न उठाएका छन्।

किन निर्णय गरिएको हो?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बिमार बेलैमा पत्ता लगाउने उद्देश्यसहित वडा तहमै परीक्षणहरू निःशुल्क गराउने निर्णय भएको बताए।

उनले अहिलेको कार्यक्रममा पिसाब र रगतको परीक्षण बाहेक स्तन र पाठेघरको क्यान्सरको परीक्षण पनि समेटिएको बताए।

डाक्टर पौडेल भन्छन्, "नियमित रूपमा परीक्षण गराएर पाठेघरको क्यान्सर छ कि छैन पत्ता लगाउन सकिन्छ। हाम्रो नीति तथा कार्यक्रममा वर्षको एक पटक सबै ४० वर्ष नाघेका महिलाहरूको जाँच गर्ने कुरा छ। त्यसै गरी स्तन क्यान्सरका लागि गिर्खाहरू छ कि छैन हेर्ने भन्ने राखिएको छ। ब्लड प्रेसरको जाँच, रगतमा सुगरको मात्राको जाँच र पिसाबमा सुगर र प्रोटिन हेर्ने परीक्षणहरू पनि समेटिएको छ।"

पिसाब परीक्षण

तस्बिर स्रोत, Thinkstock

उनले लगभग ६५ लाख ६७ हजार जनसङ्ख्या नयाँ व्यवस्थाबाट लाभान्वित हुनसक्ने भन्दै यी परीक्षणहरू गराउन सस्तो भएको पनि बताए।

"गाउँ गाउँमा नै गर्न सकिने भएकाले हामीले यसका लागि बजेट छुट्याएका छौँ। यसो गर्दा बिमार बेलैमा पत्ता लाग्यो भने जटिलता हुन पाउँदैन। जस्तो मिर्गौला काम नगर्ने अन्तिम अवस्था नपुग्दै रोग पत्ता लाग्यो भने धेरै कुरा बेलैमा नियन्त्रण गर्न सकिन्छ। त्यही भएर वर्षको एक पटक परीक्षण गर्छौँ भनेका हौँ। तर चालिस वर्ष नपुगेका व्यक्तिहरूको पनि पिसाबको नियमित परीक्षण वर्षमा एक पटक गरियो भने बैलैमा पत्ता लाग्छन्।"

यसै साता संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रवक्ता पौडेलले ती परीक्षणको व्यवस्था गर्न ३२ करोड भन्दा बढी खर्च लाग्ने बताएका विवरण आएका छन्।

त्यसरी स्थानीय तहबाटै आधारभूत परीक्षणहरू निःशुल्क गराउने सरकारी निर्णय स्वागत योग्य भएको कैयौँ विज्ञहरू बताउँछन्।

तर वरिष्ठ चिकित्सक अर्जुनदेव भट्ट कार्यक्रमको नियमितता र औचित्यबारे अझै प्रष्टता आवश्यक रहेको ठान्छन्।

उनले भने, "हामीले ४० वर्ष भन्दा माथिको उमेर समूहका व्यक्तिको पिसाबमा केही न केही समस्या देख्न सक्छौँ। तर त्यो परीक्षणले त्यति धेरै नतिजा देला जस्तो मलाई लाग्दैन। किनभने मानिसहरूको सम्पूर्ण रहनसहन, खानपिन र पानीको व्यवस्था र नभइ नहुने पूर्वाधारहरू हामीले दिन सकिरहेका छौँ कि छैनौँ त्यो मूल कुरा हो।"

अहिले सरकारले निःशुल्क गरिदिने भनेको परीक्षणले तथ्याङ्कहरू जुटाउन सकिने भए पनि मानिसहरूको स्वास्थ्यमा नै वास्तविक परिवर्तन ल्याउन 'धेरै गर्न बाँकी' रहेको बताए।

उनले थपे, "हामीले मिर्गौलाको डायलिसिस निःशुल्क गर्ने भनेर मुखले भनिरहेका छौँ कागजमा लेख्न भ्याइरहेका छौँ तर त्यसको प्रभावकारिता के छ भनेर हामीले हेरेका छौँ? अहिले पनि झट्ट हेर्दा राम्रो देखिन सक्छ तर के यो भविष्यमा पनि निरन्तर हुन्छ?"

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले अहिले घोषणा गरिएका परीक्षणहरूलाई स्वास्थ्य बिमासँग जोडेर दीर्घकालीन ढङ्गले सञ्चालन गर्न सकिने बताउँछन्।

पिसाबको परीक्षणले के फाइदा पुग्छ?

पिसाबको जाँच गर्दा एल्बुमिन र चिनीको मात्रा हेर्ने गरी व्यवस्था मिलाउने अधिकारीहरू बताउँछन्।

युरोलोजिष्ट डाक्टर भट्ट भन्छन्, "केही गरी पिसाबमा एल्बुमिन धेरै जान थाल्यो अथवा चीनी धेरै जान थाल्यो भने यो मानिसमा मधुमेह रहेछ भन्ने निष्कर्ष निकाल्न सकिन्छ। मधुमेह भएको मानिसहरूको मिर्गौला बिग्रिने सम्भावना अरूको भन्दा धेरै हुन्छ। मधुमेह वा उच्च रक्तचाप वा अरू कुनै कारणले जसको प्रोटिन गइरहेको छ उसको पनि मिर्गौला बिग्रिने सम्भावना धेरै हुन्छ।"

त्यसले मिर्गौलामा रहेका फिल्टर अर्थात् छान्ने प्वालहरूको मुख ठूलो बनाइरहेको र नछानिनुपर्ने तत्त्वहरू पनि छानिने गरेको उल्लेख गर्दै उनले समयमै उपचार गरे त्यसलाई ठिक गर्न सकिने बताए।

तर त्यो प्रक्रिया सहज नभएको उल्लेख गर्दै उनले अहिले भनिएको सरकारी परीक्षणले मात्रै ठूलो उपलब्धि हासिल नहुने दोहोर्‍याए।

सरकारी र निजी दुवै क्षेत्रमा भनाइ र गराइमा फरक रहेको उल्लेख गर्दै डाक्टर भट्टले दुवै क्षेत्र चुकिरहेको टिप्पणी गरे।

राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले सरकारले निःशुल्क घोषणा गरेका परीक्षणहरूले रोगको पहिचान र निदानका लागि सघाउ पुर्‍याउने बताए।

उनले भने, "पिसाबलाई रसायन भएको कागजको एउटा पातोमा पसाएपछि त्यसमा कस्तो परिवर्तन आउँछ त्यसलाई हेरेर प्रोटिन वा सुगर चुहिएको छ भने त्यसकै किसिमको सङ्केत देखाउँछ। दुई वटा रोगको सुरुको सङ्केत स्पष्टसँगै देखिन्छ। यो रोगको पहिचानका लागि सरल र तत्कालै नतिजा आउने विधि हो।"

मिर्गौला स्वास्थ्य राख्न के गर्नुपर्छ?

मधुमेह र उच्च रक्तचापलाई मिर्गौलामा समस्या देखिनुका मूख्य कारण मान्ने गरिन्छ।

मिर्गौला

तस्बिर स्रोत, CRICK INSTITUTE

पिसाबमा प्रोटिन चुहिने रोग, पत्थरी वा अन्य सङ्क्रमण, वंशाणुगत वा जन्मजात कारणले पनि मिर्गौलामा समस्या देखा पर्ने गर्छ।

मधुमेह र उच्च रक्तचापले ८० प्रतिशत मिर्गौला सम्बन्धी समस्या निम्त्याउने भन्दै डाक्टर श्रेष्ठले त्यसलाई नियन्त्रण गर्न सकिने बताए।

मिर्गौला स्वास्थ्य राख्न डाक्टर श्रेष्ठले दिएका सुझाव यस्ता छन्:

  • खानामा परहेज गर्ने
  • शारीरिक व्यायाम गरेर तौललाई नियन्त्रणमा राख्ने
  • चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने
  • सङ्क्रमण र पत्थरीको समयमै उपचार गर्ने
  • मधुमेह र उच्च रक्तचापको नियन्त्रण
  • धूमपान नगर्ने
  • दैनिक ३ देखि ४ लिटर पानी पिउने

पछिल्लो अध्ययनले नेपालमा नसर्ने किसिमका स्वास्थ्य समस्याका कारण ७१ प्रतिशत मृत्यु हुने देखाएको छ। मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी समस्या नसर्ने खालका रोगहरू हुन्।

मिर्गौला सम्बन्धी रोगहरू नेपालको शहरी क्षेत्रका लगभग १० दशमलव ६ प्रतिशत मानिसहरूमा देखिएको एउटा अध्ययनले उल्लेख गरेको छ।