हिजोआज निकै चर्चामा रहेको माचा चिया पिउँदा हुने फाइदा

एउटा कपमा माचा चिया

तस्बिर स्रोत, Getty Images

    • Author, अमीर अहमेद
    • Role, बीबीसी विश्व सेवा

यदि तपाईँले सामाजिक सञ्जालमा कसैले अलि फरक खालको हरियो रङ्गको चिया भरिएको कप बोकेको तस्बिर पोस्ट गरेको देख्नुभएको छैन भने सम्भवत: तपाईँले आफ्नो फीड रिफ्रेश गर्नुपर्ने हुन्छ।

त्यो पेय पदार्थ के हो? तपाईँलाई थाहा छ? त्यो हो - माचा।

टिकटकदेखि इन्स्टाग्रामसम्मका सोशल मिडिया इन्फ्लुअन्सरहरूले यो पेय पदार्थको लोकप्रियता बढाउन भूमिका खेलिरहेका छन्। त्यसले गर्दा जेनजी यो चिया चाख्न क्याफेहरूमा लाइन लागेको देखिन्छ।

तर माचा नयाँ पेय पदार्थ होइन। यो जापानमा व्यापक रूपमा उत्पादन गरिन्छ। माचा जापानमा कैयौँ शताब्दीदेखि उत्पादन भइरहेको ग्रीन टी पाउडर हो।

जापानी परम्परा र संस्कृतिमा व्यापक रूपमा गहिरो प्रभाव रहेको यसलाई चियापान समारोहमा बाँड्ने गरिन्छ।

पछिल्ला वर्षहरूमा यसमा आधुनिक प्रकारको परिवर्तन गरिएको पाइएको छ। यो चिया प्राय: तातो वा चिसो लाते, डिजर्टदेखि स्किन केअर उत्पादनका रूपमा समेत प्रयोग हुने गर्छ।

माचा चियाका बोटमा विशेष तरिकाले उमारिएका पातबाट बनाइएको एक प्रकारको 'ग्रीन टी' हो। यो चिया सामान्य ग्रीन टीभन्दा फरक ढङ्गले बनाइन्छ। यो चियाको मसिनो पाउडरलाई तातो पानी वा दूधमा हालेर पेय पदार्थ तयार पारिन्छ।

"ग्रीन टीबाट हाम्रो स्वास्थ्यलाई पुग्ने फाइदाबारे धेरै अध्ययनहरू भएका छन् र माचा भनेको त्यसकै अधिक सङ्गृहीत मात्रा हो। तर यसबाट स्वास्थ्यमा पुग्ने फाइदाबारे थप अध्ययन आवश्यक पर्छ," क्यानडाकी पोषणविद् मिरान्डा ग्यालटी भन्छिन्।

तर के माचा सामाजिक सञ्जालहरूमा चर्चा भए जस्तै लाभकारी छ त?

स्वास्थ्यका लागि माचाका फाइदाहरू

माचा पिउँदै एक महिला

तस्बिर स्रोत, Getty Images

माचामा प्रचुर मात्रामा एन्टिअक्सिडन्ट पाइन्छ। यो तत्त्वले तपाईँको शरीरका कोषहरू मर्न दिँदैन र दीर्घरोगहरूको जोखिमलाई कम गर्छ।

दक्षिण कोरियाको राजधानी सोलस्थित कोन्कुक विश्वविद्यालयका वैज्ञानिकहरूले एउटा अध्ययनले माचामा सामान्य ग्रीन टीका तुलनामा १० गुनाबढी एन्टिअक्सिडन्ट पाइने देखाएको छ।

ग्रीन टी र माचा सम्बन्धित छन्। ग्रीन टीमा उच्च एन्टिअक्सिडन्ट हुने भएकाले त्यसले तौल घटाउन सहयोग गर्छ।

अध्ययनहरूले ग्रीन टीले तपाईँको मेटबोलिजम (चय-अपचय) बढाउन र बोसो पगाल्न सघाउने देखाएका छन्। त्यो किन हुन्छ भने यसमा उच्च क्याफीनको मात्रा हुन्छ।

एउटा माचा लातेमा एक चिया चम्चा माचा पाउडर मिलाइएको हुन्छ र त्यसमा ३८ देखि १७६ ग्रामसम्म क्याफीन हुन्छ। यद्यपि यो एक कप कफीमा पाइने क्याफीनको तुलनामा कम मात्रा हो।

ग्यालटी कफीले भन्दा माचाले गर्ने फाइदा अलि बढी नै हुने दाबी गरिने बताउँछिन्। त्यसको कारण हो यसमा हुने एल-थीअनीन को मात्रा।

"माचामा रहेको अमीनो एसिड हाम्रो स्नायु रणालीका निम्ति लाभकारी हुन्छ र त्यसले तनाव र एङ्जाइटी कम गर्न तथा अनिद्रा हटाउन सहयोग गर्छ," उनले भनिन्।

माचामा रहेका एन्टिअक्सिडन्ट र अन्य तत्त्वहरू जस्तै क्लोरोफिल, क्याफीन र एल-थीअनीनजस्ता केही यौगिकहरूले हाम्रो मस्तिष्कको कामलाई अभिवृद्धि गर्ने केही अध्ययनहरूले देखाएका छन्।

क्याफीनले केन्द्रीय स्नायुप्रणालीलाई प्रभावित गर्छ र तपाईँको मस्तिष्कमा मेटबोलिजम बढाउँछ अनि तपाईँको एकाग्रता र स्मरणशक्तिलाई बढाउँछ।

जापानको यूनिभर्सिटी अफ शिजुओकाले गरेको अनुसन्धानले माचाले सङ्ज्ञानात्मक क्रियाहरूलाई उपयुक्त तरिकाले गर्न थप सहज बनाउने जस्ता फाइदा पुर्‍याउन सक्छ।

न्याश्नल लाइब्ररी अफ मेडिसिनमा प्रकाशित उक्त अध्ययनमा दैनिक दुई ग्राम ग्रीन टी पाउडर उपभोग गर्ने १२ जना पाका मानिस -- दुई पुरुष र १० जना महिला -- लाई समावेश गरेको थियो।

त्यसले उनीहरूको मस्तिष्कले गर्ने क्रियाकलापहरूमा अभिवृद्धि भएको देखायो। उक्त अध्ययन परीक्षण दुई महिनासम्म चलेको थियो।

यसका फाइदा मात्र छैनन्

माचा पाउडर

तस्बिर स्रोत, Getty Images

क्याफीनका सबै स्रोतहरू जस्तै माचा उपभोग पनि उपयुक्त मात्रामा मात्र गर्नु लाभदायक हुन्छ।

माचामा ग्रीन टीको तुलनामा क्याफीनको मात्रा धेरै हुने भएकाले त्यसको अति उपभोगले उल्टो असर गर्न पनि सक्छ। शरीरमा क्याफीनको मात्रा अधिक भएमा त्यसले एङ्जाइटी, अनिद्रा र मुटुको चाल बढाउन सक्छ।

क्याफीनले तपाईँको एकाग्रता बढाउन सक्छ र त्यसलाई हामी एउटा फाइदाका रूपमा हेर्न सक्छौँ।

तर यदि हामीले धेरै क्याफीनको प्रयोग गर्‍यौँ भने त्यसले अड्रेनलिन होर्मोनको निष्काशनलाई बढाउँछ। त्यसले ऊर्जालाई बढाउँछ र त्यसका कारण तनाव र एङ्जाइटी बढ्न सक्छ।

वयस्क व्यक्तिले दैनिक ४०० ग्रामभन्दा बढी क्याफीन प्रयोग नगर्न सिफारिस गरिएको छ। त्यो भनेको तपाईँले दैनिक एक वा दुई कप मात्र माचा लाते पिउन सक्नुहुन्छ।

क्याफीनप्रति संवेदनशील व्यक्तिहरूका लागि माचा एउटा विकल्प हुन सक्छ किनभने यसमा कफीभन्दा कम मात्रामा मात्र क्याफीन हुन्छ। अनि एल-थीअनीनले शरीरले क्याफीन सोस्ने क्रमलाई पनि न्यूनीकरण गरिदिन्छ।

'डर्टी माचा' के हो?

डर्टी माचा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डर्टी माचा

यो सुन्दा जस्तो सुनिन्छ त्यस्तो खराब पेय पदार्थ होइन। डर्टी माचा भनेको माचा र दूध घोलेर हालिएको एप्प्रेसो सट हो।

त्यसले स्वादमा परिवर्तन गर्ने मात्र गर्छ कि एक कपमै धेरै क्याफीनको मात्रा हुन सक्छ?

डर्टी माचामा क्याफीनको विकल्पका तत्त्वहरूको सम्मिश्रण हुन्छ भन्ने दाबी गरिएपछि त्यसले पनि तपाईँको शरीरमा अड्रेनलिनको मात्रा बढाउन सक्छ।

यद्यपि माचामा हुने एल-थीअनीनले गर्दा त्यो विस्तारै प्रवाहित हुने भएकाले त्यो स्वस्थ तरिका भएको उनीहरू तर्क गर्छन्।

माचा लाते पिउनेहरूले एक दिनमा एक कपको सीमा राख्नु उपयुक्त हुने पोषणविद्हरू सुझाव दिन्छन्।

गुणस्तरबारे प्रश्न

पछिल्ला वर्षहरूमा माचाको लोकप्रियता बढेपछि अहिले जापानमा उत्पादन हुनेमध्ये आधाभन्दा बढी माचा अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन थालेको छ। केही विवरणहरूमा यसको बढ्दो मागका कारण जापान र विश्वव्यापी रूपमा नै माचाको अभाव पनि देखिन सक्ने जनाइएको छ।

माग धेरै बढेपछि जापानी चिया कम्पनीहरू इप्पोडो टी र मारुक्यु कोयामाइनले पहिलो पटक क्रेताहरूलाई खरिदको सीमा तोकेका छन्।

जापानको कृषि मन्त्रालयका अनुसार सन् २०२३ मा त्यहाँ ४,१७६ टन माचा उत्पादन भएको थियो। त्यो भनेको सन् २०१० को तुलनामा झन्डै तीन गुना हो।

तर जसरी माचा मुख्य पेय पदार्थका रूपमा प्रचारित भइरहेको छ त्यसैगरी यसको गुणस्तर भिन्नभिन्न हुन्छ।

"माचा पाउडरको गुणस्तर भिन्नभिन्न हुन्छ," ग्यालटी भन्छिन्, "यदि तपाईँ यसबाट स्वास्थ्यमा हुने फाइदाका लागि पिउँदै हुनुहुन्छ भने स्वास्थ्यमा पुग्ने त्यस्ता फाइदाबारे विश्वासिलो स्रोतबाट आएको सूचना हो भन्ने यकिन गर्नुहोस्।"

उनी पोषणसम्बन्धी एउटा अनलाइन प्ल्याट्फर्म 'रीअल लाइफ न्यूट्रिशनिस्ट' चलाउँछिन्।

कतिपय क्याफेहरूले बेच्ने यस्तो पेय पदार्थमा चिनी, थपिएको गुलियो पदार्थ वा विभिन्न प्रकारका स्वाद हालिएको हुन सक्छ। त्यसले स्वास्थ्यमा पुग्ने भनिएको फाइदालाई घटाइदिन सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।