औषधिको स्वरूपमा उत्पादित 'पोषणपूरक' पदार्थ जथाभावी नबेच्न र प्रयोग नगर्न चेतावनी

भिटामिन डी हातमा लिँदै एक व्यक्ति

तस्बिर स्रोत, Getty Images

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवसायी र अन्य विक्रेतालाई दर्ता नभएका 'न्यूट्रसूटिकल' भनिने पोषणपूरक पदार्थ बिक्री वितरण गरेको फेला पारे कारबाही गर्ने चेतावनी दिएको छ।

उसले सर्वसाधारण उपभोक्तालाई त्यस्ता सामग्री प्रयोग नगर्न आग्रह गरेको छ। औषधिको स्वरूपमा भिटामिन तथा खनिज तत्त्वको मिश्रण गरिएका सामग्रीहरू बजारमा पाइएको भन्दै मन्त्रालयले त्यस्तो चेतावनी दिएको हो।

अधिकारीहरूले सर्वसाधारण उपभोक्तालाई आकर्षित गर्न "अवैध तथा अस्वास्थ्यकर" सामग्रीबारे "गलत तथा भ्रामक" प्रचारप्रसार गरिएको भन्दै मान्यता नदिइएका उत्पादनको विज्ञापनमा विश्वास नगर्न आग्रह गरेका छन्।

मोटोपन घटाउने, मधुमेह, उच्च रक्तचापदेखि क्यान्सरसम्म निको पार्ने एवं शरीरलाई नपुगेको पोषक तत्त्व पुर्‍याउने भन्दै सामाजिक सञ्जालमार्फत् त्यस्ता सामग्रीको व्यापक प्रचारप्रसार भइरहेको पाइन्छ।

अधिकारी, चिकित्सक तथा विज्ञहरूले चाहिँ त्यस्ता विज्ञापनको भ्रामक भएकाले विश्वास नगर्न आग्रह गरेका छन्।

मन्त्रालयले के भन्यो?

पोषणपूरक तत्त्वको प्रतिनिधिमूलक तस्बिर
तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर

मन्त्रालयले गत मङ्गलवार एउटा विज्ञप्ति जारी गर्दै सजग हुन सर्वसाधारणलाई आग्रह गरेको थियो।

मन्त्रालयले "स्वास्थ्यका नियामक निकायहरूमा दर्ता नभएका भिटामिन तथा खनिज (भिटामिन, क्याल्सिअम, आइरन, म्याग्नेसिअमजस्ता मिनरल र माइक्रोन्यूट्रिअन्टहरू) मिश्रित फार्मसूटिकल स्वरूप (ट्याब्लेट, क्याप्स्यूल तथा झोलहरू) न्यूट्रसूटिकल्सका नाममा औषधि पसलहरूबाट बिक्रीवितरण भएको तथा विभिन्न स्वास्थ्यसंस्थाहरूले सामग्री तथा सेवाहरूको सञ्चालन स्वीकृति नलिई आमनागरिकहरूलाई आकर्षित गर्ने गलत तथा भ्रामक विज्ञापनहरू प्रचारप्रसार भइरहेको" जनाएको छ।

उसले त्यस्ता गतिविधिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्ता सामग्री बिक्री गर्न नपाइने स्मरण गराएको छ।

विज्ञप्तिमा भनिएको छ, "खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यूट्रसूटिकल्सलाई खाद्य वा आहारपूरक सामग्रीका रूपमा दर्ता गरी बिक्रीवितरण अनुमति दिएकोमा यस मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरी २०८१/१०/०३ मा बिक्रीवितरण नगर्न फैसला भएको सबैलाई जानकारी गराउन चाहन्छौँ।"

"स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा स्वास्थ्यसम्बद्ध निकायहरूले यस्ता सामग्री र न्यूट्रसूटिकल्सलाई औषधिका रूपमा दर्ता गर्ने वा बिक्रीवितरणको अनुमति नदिएको र यस्ता उत्पादनहरूको जफत र कारबाहीको काम नियमित रूपमा गर्दै आएको जानकारी दिन चाहन्छौँ।"

मन्त्रालयले जनगुनासो सम्बोधन गर्दा वार्षिक रूपमा ३,००० भन्दा बढी फार्मेसीहरूको अनुमगन भइरहेको र विभिन्न जिल्लामा १०० भन्दा बढी मुद्दा दर्ता भएको पनि स्मरण गराएको छ।

"स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय यस्ता अवैध अभ्यासविरुद्ध कडा कारबाही गर्न दृढ रहेको र यस्ता अवैध अभ्यासहरू निर्मूलीकरण गर्नका लागि प्रतिबद्ध रहेको सबैमा जानकारी गराउँछौँ," मन्त्रालयले भनेको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बीबीसीसँग भने, "धेरैतिरबाट गुनासो आइरहेका बेला औषधि व्यवस्था विभागले अनुगमन गर्दा पनि दर्ता नै नभएका त्यस्ता सामग्री बजारमा पाइएका छन्। ती सामग्रीको जथाभावी प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर पनि पर्न सक्ने भएकाले हामीले सचेत गराएका हौँ।"

"म दर्ता नभएका यस्ता वस्तुहरू बिक्री नगर्न तथा प्रयोग नगर्न पनि सबैलाई आग्रह गर्छु। कसैले गैरकानुनी काम गरेको छ भने मन्त्रालयले कडा कारबाही गर्छ।"

चिकित्सकको सिफारिस

औषधिको स्वरूपमा पोषणपूरक उत्पादन

तस्बिर स्रोत, Getty Images

यसअघि मन्त्रालयकै जस्तो चेतावनी औषधि व्यवस्था विभागले पनि जारी गरेको थियो।

विभागका महानिर्देशक नारायणप्रसाद ढकाल अनुगमनका क्रममा चिकित्सकहरूले पनि दर्ता नभएका त्यस्ता उत्पादनको सिफारिस गरेको पाइएपछि चेतावनी जारी गरेको बताउँछन्।

गत पुस अन्तिम साता विभागले जारी गरेको सूचनामा भनिएको छ, "न्यूट्रसूटिकल्सका नाममा र औषधिमिश्रित क्रीमहरू सौन्दर्य प्रशाधन सामग्रीका नाममा आयात गरी बिक्री वितरण भइरहेको भन्ने विषयमा जनगुनासा आइरहेको र बजार अनुगमन तथा निरीक्षणका क्रममा विभागमा दर्ता नभएका त्यस्ता किसिमका औषधिहरू चिकित्सकको सिफारिसमा पुर्जामार्फत् औषधि पसलहरूबाट बिक्रीवितरण भइरहेको पाइएको छ।"

"निरीक्षणका क्रममा नेपाल सरकारबाट मिति २०४९/११/१८ मा प्रतिबन्धित भिटामिन तथा खनिज सम्मिश्रण समेत भेटिएकोमा विभागवाट यस्ता कानुन विपरीतका कार्यहरूको विरुद्धमा विभिन्न समयमा सम्बन्धित अदालतमा मुद्दा दायर भई विभागको मागदाबीबमोजिम आदेश समेत प्राप्त भएको छ।"

विभागले त्यस्ता सामग्रीको प्रयोगले मानवस्वास्थ्यमा असर पर्नुका साथै उपभोक्ता ठगिने अवस्था बनेको जनाएको छ।

उसले भनेको छ, "यस विभागमा दर्ता भएका औषधिसँगको सक्रिय तत्व र ब्र्यान्ड नामसँग दुरुस्त मिल्दोजुल्दो हुने र देखिने गरी न्यूट्रसूटिकल्स तथा सौन्दर्य प्रशाधनका नाममा यस विभागमा दर्ता नै नगरी आयात गरी औषधि पसलमार्फत् उपलब्ध गराउँदा चिकित्सक तथा स्वास्थकर्मी र बिरामीहरूलाई समेत भ्रम सिर्जना भएको अवस्था छ।"

"विभागको स्वीकृतिबिना आयात भएका यस प्रकारका औषधिको सुरक्षितता, गुणस्तरीयता र मूल्य सार्थकता एकिन नहुने हुँदा जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने जोखिम सिर्जना भएको छ।"

विभागले पनि त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ।

सरकारी निकायबीच विवाद

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको एउटा गाडी

तस्बिर स्रोत, DFTQC

तस्बिरको क्याप्शन, न्यूट्रसूटिकलबारे स्वास्थ्य मन्त्रालय र कृषि मन्त्रालय मातहतका निकायबीचको विवाद देखा परेको छ

न्यूट्रसूटिकलबारे स्वास्थ्य मन्त्रालय र कृषि मन्त्रालय मातहतका निकायबीचको विवादका कारण त्यस्ता सामग्रीको नियमनमा समस्या उत्पन्न भएको पाइएको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको औषधि व्यवस्था विभागले औषधीय तत्त्वहरू भएका न्यूट्रसूटिकलहरू विभागमा दर्ता हुनुपर्ने जनाएको छ। तर अधिकांश न्यूट्रसूटिकलहरू चाहिँ कृषि मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता भएका छन्।

खाद्य अधिकारीहरू "खाद्यपूरक" वस्तु भएकाले न्यूट्रसूटिकलहरू आफूले दर्ता गरेको दाबी गर्छन्।

यद्यपि स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागका अधिकारीहरू चिकित्सकले सिफारिस गर्ने अनि औषधि पसलमा धेरै बिक्री हुने भएकाले ती सामग्री औषधिको वर्गमा पर्ने दाबी गर्छन्।

"धेरै खाले न्यूट्रसूटिकल लाई खाद्य विभागले अनुमति दिएको छ तर ती औषधिको बनावटमा औषधि पसलबाट बिक्री हुन थाले। त्यसले मानवस्वास्थ्यमा के असर पर्छ भन्ने थाहा नहुने अवस्था र उपभोक्ताले अनावश्यक रूपमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले हामीले सचेत गराएका हौँ," औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले बीबीसीसँग भने।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण चाहिँ आफूहरूले औषधिको रूपमा प्रयोग हुने खाद्यपूरक वस्तुलाई अनुमति नदिएको बताउँछन्।

"न्यूट्रसूटिकल र डाइअटरी सप्लिमन्ट भनेका शरीरका लागि आवश्यक तत्त्व नपुग्दा खाने कुरा हुन्। त्यसका लागि रेकमेन्डेड डाइअटरी अलाउन्स (आरडीए) भन्ने हुन्छ," उनले भने।

"त्यो भनेको दैनिक रूपमा हामीले कति पूरक तत्त्व खानुपर्छ भन्ने सिफारिस हो र त्यसैअनुसार बनेका न्यूट्रसूटिकलहरूलाई हामी 'नन्-मेडिसिनल यूज' भनेर अनुमति दिन्छौँ।"

अमेरिका, युरोपदेखि भारतसम्ममा यस्ता वस्तुको अनुमति दिने जिम्मा त्यहाँका खाद्य पदार्थको गुणस्तर हेर्ने तथा उत्पादन र बिक्रीको अनुमति दिने निकायसँग हुने उनको भनाइ छ।

खाद्यपूरक उत्पादन

उनी कुनै पनि तत्त्व नपुगेर शरीरमा धेरै कमी भएपछि त्यसलाई औषधिकै रूपमा प्रयोग गर्नुपर्ने अवस्थामा भिटामिन वा खनिज तत्त्व उच्च भएका यस्ता सामग्री प्रयोग गर्नुपर्ने अवस्था आउने बताउँछन्।

"त्यस्तो अवस्थामा 'थेरप्यूटिक डाइअटरी यूज' गर्ने गरिन्छ। त्यस्तो प्रकारका न्यूट्रसूटिकलहरू हामी दर्ता गर्दैनौँ," उनले भने।

उनले कानुन तथा विभागले बनाएको 'प्रोटोकल'का आधारमा दिइएको अनुमतिलाई लिएर विवाद गर्नुपर्ने अवस्था नरहेको दाबी गरे।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको चेतावनी

यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि आफूले दर्ता नगरेका न्यूट्रसूटिकलहरू बिक्रीवितरण नगर्न चेतावनी दिएको छ। विभागले गत साता एउटा सूचना जारी गर्दै अनुमतिपत्र लिएर मात्र त्यस्ता सामग्री आयात, उत्पादन तथा बिक्रीवितरण गर्न आग्रह गरेको छ।

त्यसमा भनिएको छ, "…डाइअटरी सप्लिमन्ट, न्यूट्रसूटिकलजस्ता आहारपूरक खाद्यपदार्थहरू विभागमा उत्पादन दर्ता एवं नवीकरण तथा अनुमतिपत्र लिएर मात्र उत्पादन, आयात, निर्यात, खरिद तथा बिक्रीवितरण गर्न/गराउन हुन सम्बन्धित सबै उत्पादक, आयातकर्ता तथा विक्रेताहरूलाई सूचित गरिन्छ। अन्यथा खाद्यस्वच्छता तथा गुणस्तर ऐन, नियम तथा कार्यविधिबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ।"

उक्त विभागले नियमअनुसार नै विभागबाट अनुमतिपत्र लिएर त्यस्ता सामग्री बिक्रीवितरण भइरहेको जनाउँदै त्यसको जानकारी विभागले नियमित रूपमा दिइरहेको पनि उल्लेख गरेको छ।

विभागले आफ्नो वेबसाइटमा जारी गरेको त्यस्ता सामग्रीको सूचीमा गत पौष महिनामा मात्र १४३ वटा न्यूट्रसूटिकल तथा डाइअटरी सप्लिमन्टहरू दर्ता भएको देखिन्छ।

विभागका अधिकारीहरूले दिएको जानकारीअनुसार हालसम्म ५०० वटाभन्दा बढी त्यस्ता वस्तु विभागमा दर्ता भइसकेका छन्।

तरकारी र फलफूल

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, परम्परागत खाना तथा फलफूलले नै पोषक तत्त्व पुर्‍याउने कतिपय चिकित्सक बताउँछन्

'जथाभावी प्रयोग अनुचित'

चिकित्सकहरू न्यूट्रसूटिकलहरूको जथाभावी प्रयोग मानवस्वास्थ्यका लागि उपयुक्त नहुने बताउँछन्। कतिपय खाद्यपूरक वा पोषणपूरक भनिएका वस्तुको प्रभावकारितामाथि प्रश्न पनि उठेको उनीहरूको भनाइ छ।

चिकित्सक तथा पोषणविद् डा अरुणा उप्रेती भन्छिन्, "यस्ता उत्पादन भनेको केही व्यक्तिलाई कहिलेकाहीँ चाहिने हो। तर अहिले नियमितजस्तो र सबै जनाले प्रयोग गर्ने ढङ्गले प्रचारप्रसार भइरहेको छ र बजारमा त्यसै गरी गइरहेको पनि देखिन्छ।"

"यो एकदमै गलत हो। हामीले यस्ता उत्पादनबाट जे तत्त्व पाउँछौँ भनिरहेका छौँ त्यो प्राकृतिक खानाबाटै प्राप्त हुन्छ। यस्ता उत्पादनको प्रयोग बढ्दा सीमित कम्पनीहरूलाई फाइदा होला तर सर्वसाधारण उपभोक्तालाई उल्टै खर्च पनि स्वास्थ्यमा नकारात्मक असर पनि पर्न सक्छ।"

उनी सकेसम्म अत्यावश्यक नहुँदा न्यूट्रसूटिकल वा डाइअटरी सप्लिमन्टहरू प्रयोग नगर्न सुझाव दिन्छिन्।

"म सबैलाई सकेसम्म यस्ता वस्तु प्रयोग नगरौँ भन्छु। हामीले हाम्रै प्राकृतिक खानामा ध्यान दिनुपर्छ र पोषण पुग्ने गरी खानुपर्छ। सबैलाई म राम्ररी पोषणयुक्त खाना खान र विज्ञापनको पछाडि नलाग्न आग्रह गर्छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।