१० लाख वर्ष पुरानो खप्पर फेला परेपछि मानव उत्पत्तिको कथामा 'नयाँ मोड' आएको वैज्ञानिक दाबी

कालो कपडामाथि राखिएको ठूलो मस्तिष्क भएको खैरो रङको खप्परको प्रतिकृति, केही दाँतहरू अझै सही अवस्थामा छन्, आँखा हुने खाल्टो र नाकको प्वाल ठूलो छ

तस्बिर स्रोत, BBC News

तस्बिरको क्याप्शन, यो दश लाख वर्ष पुरानो खप्पर हो, तर यसका केही विशेषताहरू आधुनिक छन् (प्रतिकृति)
    • Author, पल्लब घोष
    • Role, विज्ञान संवाददाता

आधुनिक मानवको प्रजाति होमो सेपिअन्स हामीले सोचेको भन्दा कम्तीमा पाँच लाख वर्ष पहिलेबाटै देखिन थालेको चीनमा फेला परेको दश लाख वर्ष पुरानो मानव खप्परबाट देखिएको एउटा नयाँ अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरूले दाबी गरेका छन्।

हामीले पहिला विश्वास गरेको भन्दा अझ लामो समयद‍ेखि हामी नीयान्डर्टालसहित अरू भगिनी प्रजातिहरूसँगै अस्तित्वमा रहेको पनि त्यसबाट देखिएको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्।

यो विश्लेषणबाट मानव उत्पत्तिबारे हाम्रो बुझाइमा "पूरै परिवर्तन" आएको वैज्ञानिकहरूले बताएका छन् र यो प्रमाणित भएमा हाम्रो इतिहासको सुरुवाती अध्यायलाई त्यसले पुनर्लेखन गर्ने छ।

कति विश्वसनीय?

तर हाम्रो उद्‌भवलाई लिएर व्याप्त असहमति रहेको सो क्षेत्रका अरू विशेषज्ञका अनुसार नयाँ अध्ययनको निष्कर्ष विश्वसनीय भए पनि निश्चिततादेखि पर रहेको छ।

संसारका अग्रणी वैज्ञानिक जर्नलहरूमध्ये एक 'साइन्स'मा प्रकाशित अध्ययनको नतिजाले अध्ययन टोलीलाई आश्चर्यचकित बनाएको छ।

उक्त अध्ययन टोलीमा एउटा चिनियाँ विश्वविद्यालयका र यूकेको न्याचरल हिज्ट्री म्यूजीअमका वैज्ञानिकहरू संलग्न थिए।

"एकदमै सुरुवातबाट जब हामीले नतिजा पायौँ, हामीलाई अविश्वसनीय लाग्यो। विगतबारे यो त्यति गहिरो कति हुन सक्छ?" विश्लेषणको नेतृत्व गरेका फुदान विश्वविद्यालयस्थित प्राध्यापक सिजुन नीले भने।

"तर हामीले सबै मोडेलको परीक्षण गर्न पटकपटक जाँच गर्‍यौँ, सबै मोडेलहरूको प्रयोग गर्‍यौँ र अहिले हामी यो नतिजाप्रति विश्वस्त छौँ अनि हामी साँच्चिकै एकदमै उत्साहित छौँ।"

पाँचवटा खप्पर राखिएको टेबलवरिपरि तीन चिनियाँ वैज्ञानिकहरू। तीमध्ये दुईजना वैज्ञानिकले प्रतिकृति खप्पर समातिरहेका छन्

तस्बिर स्रोत, Fudan University

तस्बिरको क्याप्शन, मध्य चीनमा पर्ने हुबेई प्रान्तस्थित एउटा चिनियाँ टोलीले खप्परहरू फेला पारेको हो, यसले अरू मानव प्रजातिहरूसँग तिनको तुलना गरेको छ

जब वैज्ञानिकहरूले युन्शिआन २ (Yunxian 2) नाम दिइएको खप्पर फेला पारे, तब उनीहरूले त्यो खप्पर मस्तिष्क ठूलो हुने गरेका हाम्रा सुरुवाती पूर्वजहरू होमो इरेक्टसका हुन सक्ने ठाने किनभने यो अझ बढी उन्नत मानिसहरू अस्तित्वमा आउनुभन्दा धेरै अगाडि अर्थात्‌ दश लाख वर्ष पुरानो भएको देखियो।

होमो इरेक्टस अन्ततः विकसित भयो र छ लाख वर्षअघि नीयान्डर्टाल र हाम्रो प्रजाति होमो सेपिअन्समा विभक्त हुन थाल्यो।

तर अध्ययन टोलीभन्दा बाहिर रहेका स्वतन्त्र विज्ञहरूले गरेको युन्शिआन २ को नयाँ विश्लेषणले त्यो होमो इरेक्टस नभएको देखाएको छ।

नीयान्डर्टाल र होमो सेपिअन्स तहमै विकसित होमो लोङ्गीको त्यो सुरुवाती संस्करण भएको ठानिएको छ।

आनुवंशिक प्रमाणका अनुसार त्यो तिनीहरूसँगै अस्तित्वमा थियो। त्यसो भएर युन्शिआन २ पृथ्वीमा दश लाख वर्षअगाडि भएको वैज्ञानिकहरूले बताएका छन्। नीयान्डर्टालका सुरुवाती संस्करण र हाम्रा आफ्नै प्रजातिहरूले पनि सम्भवतः त्यसै गरे।

अध्ययनका सहनेतृत्वकर्ता प्राध्यापक क्रिस स्ट्रीङ्गरका अनुसार आश्चर्यचकित पार्ने यो विश्लेषणले ठूलो मस्तिष्क भएका मानिसहरूको विकासको समयरेखालाई नाटकीय रूपमा कम्तीमा पाँच लाख वर्षपछाडि धकेलिदिएको छ।

हामीले अहिलेसम्म फेला पार्न नसकेको भए पनि हाम्रो ग्रहमा कतै न कतै होमो सेपिअन्सका लाखौँ वर्ष पुरानो जीवाश्म भएको सम्भावना रहेको उनी बताउँछन्।

'अझ बढी प्रमाण आवश्यक'

टेबलमा चारवटा खप्पर

तस्बिर स्रोत, Fudan University

सुरुवाती मानव प्रजाति पत्ता लगाउने र उनीहरू पृथ्वीमा कहिले आए भन्ने पत्ता लगाउने दुई तरिका छन्- खप्परको आकार तथा त्यसको आनुवंशिक डेटाको विश्लेषण गर्ने। युन्शिआनको हकमा दुवै विधिको प्रयोग गरिएको हो र दुवैको समान निष्कर्ष देखियो।

तर केम्ब्रिज विश्वविद्यालयस्थित उद्‌विकास वंशाणुशास्त्री डा ऐलिविन स्केली जस्ता अरू अनुसन्धानकर्ताहरू यी दुवै विधिमा उल्लेख्य अनिश्चितताहरू रहेको बताउँछन्।

"समयको अनुमानबारे विशेष रूपमा सतर्क रहनुपर्छ किनकि त्यसो गर्न निकै गाह्रो हुन्छ, चाहे जुनसुकै प्रमाणलाई तपाईँले हेरिरहनुभएको हो- आनुवंशिक हो कि जीवाश्म प्रमाण," उनले भने।

"सबैभन्दा ठूलो मात्रामा आनुवंशिक डेटाको हकमा पनि ती जनसङ्ख्या एक लाख वर्ष वा त्यसभन्दा पनि बढी समय सहअस्तित्वमा रहेका होलान् भन्ने खुट्ट्याउन गाह्रो छ।"

प्राध्यापक नी र स्ट्रिङ्गरका निष्कर्षहरू तार्किक रहेको उनी बताउँछन्। ती निष्कर्षहरू निश्चिततादेखि पर रहेका भन्दै निश्चिन्त हुनका लागि अझ बढी प्रमाणहरू आवश्यक रहेको उनले उल्लेख गरे।

"यो तस्बिर अहिले पनि हाम्रा लागि स्पष्ट भइसकेको छैन। त्यो भएर यदि यो अनुसन्धानका निष्कर्षलाई अन्य विश्लेषणहरू खास गरी आनुवंशिक आँकडाले समेत समर्थन गर्छन् भने मलाई लाग्छ यसबारे अरू पनि आश्वस्त हुन थाल्छन्," बीबीसी न्यूजसँग उनले भने।

अफ्रिकामा होमो सेपिअन्स प्रजाति उपस्थित भएको सबैभन्दा पुरानो प्रमाण तीन लाख वर्षअघिको हो। त्यसैले हाम्रा पुर्खाको उत्पत्ति एशियामा भएको हुन सक्ने विषय रोचक हुन सक्छ।

प्राध्यापक स्ट्रिङ्गरका अनुसार अहिलेकै चरणमा यसै हो भनिहाल्नका लागि पर्याप्त प्रमाण छैन किनभने यस विषयको विश्लेषणमा समाविष्ट गर्न आवश्यक मानवका १० लाख वर्ष पुराना जीवावशेष अफ्रिका र युरोपमा पनि फेला परेका छन्।

"हाम्रो प्रजातिको प्रादुर्भाव अझ पहिल्यै भएको सङ्केत गर्ने आनुवंशिक प्रमाणहरू पनि छन्। ती [आदिमानवहरू] पछि हाम्रो वंशमा मिसिएका हुन पनि सक्छन्। तर यो कुरा पुष्टि हुन बाँकी नै छ," उनले बीबीसी न्यूजलाई भने।

आधुनिक मानवजातिको प्रादुर्भाव निकै अगाडि हुनु भनेको आठ लाख वर्षजति मानवजातिका तीन प्रजाति उही कालखण्डमा अस्तित्वमा हुनु हो। यो अवधि यसअघि भन्ठानिएकोभन्दा निकै बढी हो। त्यस क्रममा ती प्रजातिबीच हिमचिम बढेको अनि सहवास र समागम भएको हुन सक्ने ठानिन्छ।

'अलमल हट्ने' विश्वास

हाम्रो प्रजातिको उत्पत्ति पहिल्यै भएको थियो भन्ने मान्यताले आठ लाखदेखि १० लाख वर्ष पुराना दर्जनौँ जीवाश्मलाई मानववंशवृक्षमा समाविष्ट गर्ने ढोका खुलेको छ छ। वैज्ञानिकहरू पहिला ती जीवाश्मलाई कसरी वर्गीकरण गर्ने भन्ने अलमलमा थिए।

तर होमो सेपिअन्स, होमो लङ्गी र नीयान्डर्टालको उत्पत्ति निकै अघि भएको थियो भने त्यो अलमल हट्छ। अर्थात् अब ती जीवाश्मलाई 'बिग थ्री' मध्ये एकका वा तिनका पूर्वज एशियाली होमो इरेक्टस र होमो हाइडेलबर्गेन्सिसका उपसमूहमा राख्न सकिने प्राध्यापक नीको धारणा छ।

"मानव विकासक्रम एउटा वृक्षजस्तै हुन्छ," उनले भने। "यो वृक्षमा हाँगाहरू थिए र निकट अन्तरसम्बन्ध भएका तीनवटा मुख्य हाँगाहरू थिए। तिनीहरूबीच समागम र प्रजनन भएको हुन सक्छ र ती झन्डै १० लाख वर्ष सहअस्तित्वमा थिए। यो निकै गजबको नतिजा हो।"

चीनको खुबे प्रान्तमा उत्खनन गर्दा योसहित अरू दुइटा दुइटा खप्पर फेला परेका थिए। तर तिनमा निकै क्षति पुगेको थियो। त्यसैले युन्शिआन २ लाई होमो इरेक्टस प्रजाति भनेर त्रुटिपूर्वक वर्गीकरण गरिएको थियो।

ती खप्परलाई तिनको पुरानो आकारमा ढाल्न प्राध्यापक नीको टोलीले तिनको स्क्यान तथा कम्प्युटर मोडलिङ विधि प्रयोग गर्‍यो। त्यसपछि थ्रीडी प्रिन्टरबाट तिनका प्रतिकृतिहरू बनाइयो।

त्यस्तो स्वरूपमा देख्न पाएपछि बल्ल वैज्ञानिकहरूले तिनलाई मानवजातिको एउटा भिन्न र अझ उन्नत समूहमा वर्गीकरण गर्न सके।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।