इन्डोनेशियामा भेटिएको ५१ हजार वर्ष पुरानो गुफाचित्रले मानव इतिहासबारे के बताउँछ

गुफामा भेटिएको कलाकृति

तस्बिर स्रोत, BRIN Google Arts & Culture

तस्बिरको क्याप्शन, यो चित्रले मानव विकासको धारणालाई परिवर्तन गर्ने केहीको दाबी छ
    • Author, पल्लव घोष
    • Role, विज्ञान संवाददाता

अस्ट्रेलिया र इन्डोनेशियाका वैज्ञानिकहरूले इन्डोनेशियाको सूलवेसी टापुमा एक लाक्षणिक गुफाकलाको सबैभन्दा पुरानो उदाहरण भेट्टाएका छन्।

एउटा बँदेल र तीनवटा मानिसजस्तै देखिने आकृति रहेको उक्त चित्रकला कम्तीमा ५१ हजार दुई सय वर्ष पुरानो छ, जुन यसअघिको सबैभन्दा पुरानो गुफाचित्रभन्दा पनि पाँच हजार वर्ष धेरै हो।

यो खोजबाट आधुनिक मानवमा रचनात्मक सोचको क्षमता देखिएको समयलाई हाल मानिएभन्दा अझ अगाडि नै रहेको थाहा भएको छ।

अस्ट्रेलियाको ग्रिफ्फिथ विश्वविद्यालयका प्राध्यापक मेक्सिम ओबेयरले यो खोजले मानव विकासको धारणालाई परिवर्तन गर्ने बीबीसीलाई बताए।

“यो चित्रकलाले एउटा जटिल कथा भनेको छ। कथा भन्ने परम्पराबारे हामीसँग भएको यो नै सबैभन्दा पुरानो प्रमाण हो। यसले त्यति बेलाका मानिसहरूसँग पनि अमूर्त रूपमा सोच्ने क्षमता भएको देखाउँछ,” उनी भन्छन्।

उक्त चित्रकलामा बँदेल आधा मुख खोलेर उभिएको देखिन्छ र कम्तीमा तीनवटा मानिसजस्तै आकृतिहरू देखिन्छन्।

कस्तो चित्र?

इन्डोनेशियाको सूलवेसी टापु

तस्बिर स्रोत, BRINN Google Arts and Culture

तस्बिरको क्याप्शन, इन्डोनेशियाको सूलवेसी टापुमा भेटिएको चित्र पुरातात्त्विक महत्त्वको भएको अध्ययनकर्ताहरूको भनाइ छ

सबैभन्दा ठुलो मानिसको आकृतिका दुवै हातहरू फैलिएका छन् र रड समातिरहेको देखिन्छ।

दोस्रो आकृति उक्त बँदेलको सामुन्ने छ, जहाँ उसको टाउको बँदेलको मुखअगाडि छ।

उसले पनि लट्ठी समातेको देखिन्छ, जसको एक छेउ बँदेलको घाँटीसँग छोइरहेकोजस्तो देखिन्छ।

मानिसजस्तै देखिने अन्तिम आकृति भने उल्टो भएको छ, जसका खुट्टा बाहिरपट्टि फैलिएर आकाशतिर फर्किएका छन्। उसको एक हात अघिल्तिर बढिरहेको र बँदेलको टाउको छुनै लागेको देखिन्छ।

वैज्ञानिकहरूको टोलीलाई जकार्तास्थित ‘न्याश्नल रिसर्च एन्ड इनभेशन एजेन्सी’ (बिआरआईएन) का चट्टान कला विशेषज्ञ अधि अगुस ओक्टाभिआनले नेतृत्व गरेका थिए।

उनी इन्डोनेशियाको मानव सभ्यतामा सुरुवाती समयबाट नै कथावाचन अति महत्त्वपूर्ण भाग रहेको बताउँछन्।

“मान्छेले ५१ हजार २०० वर्षभन्दा अघिबाट नै कथा भनिरहेका होलान्। तर शब्दहरूले जीवाश्म बनाउँदैनन्। हामी कलामा दृश्यहरूका चित्रणजस्ता अप्रत्यक्ष माध्यमबाट मात्रै जान सक्छौँ। र अब सूलवेसी कला पुरातत्त्वले हालसम्म थाहा पाएको त्यस्तो सबैभन्दा पुरानो प्रमाण हो,” उनी भन्छन्।

दक्षिण अफ्रिकाको ब्लोम्बोस गुफामा पाइएको ढुङ्गामा बनाइएको चित्रकला

तस्बिर स्रोत, JOHN READER/SPL

तस्बिरको क्याप्शन, दक्षिण अफ्रिकाको ब्लोम्बोस गुफामा पाइएको ढुङ्गामा बनाइएको चित्रकला ७५ हजारदेखि एक लाख वर्ष पुरानो मानिएको छ

ढुङ्गामा बनाइएको चित्रकलाको सबैभन्दा पुरानो प्रमाण दक्षिण अफ्रिकाको ब्लोम्बोस गुफामा पाइएको थियो। यसलाई ७५ हजारदेखि १ लाख वर्ष पुरानो मानिएको छ। यसमा ज्यामितीय ढाँचाहरू थिए।

दक्षिण सूलवेसीको मारोस-पाङ्केप क्षेत्रको लिआङ करमपुआङको चुनढुङ्गा गुफामा पाइएको नयाँ चित्रकलाले प्रतीकात्मक कलालाई प्रस्तुत गर्छ।

यसले चित्र बनाउने व्यक्ति वा व्यक्तिवरिपरिको संसारको अमूर्तता चित्रण गरेको छ।

त्यसैले यसले सोच्ने प्रक्रियामा भएको विकासलाई दर्साएको छ, जसले मानव प्रजातिमा कला र विज्ञानलाई जन्म दियो।

यसले के थाहा दिन्छ?

यो खोजको विस्तृत विवरण प्रकाशित भएको ‘नेचर’ जर्नलका वरिष्ठ सम्पादक डा हेन्री गीका अनुसार मानव मस्तिष्कमा यस्तो परिकल्पना विकास सुरु गर्ने के कुरा थियो भन्ने चाहिँ खोजको मुख्य प्रश्न हो।

“नीयान्डर्टाल र हबिट भनिने अन्य मानव प्रजातिहरूको लोप भएको केही समयपछि अर्थात् करिब ५० हजार वर्ष अघि केही भएको हुनुपर्छ,” उनी भन्छन्।

“त्यो बेला कुनै बिन्दुमा मानव दिमागमा केही भएको थियो भन्ने सोच्नु नै पनि रोमाञ्चक छ। तर त्योभन्दा अघिका पनि प्रतीकात्मक कलाहरू छन् जस्तो मलाई लाग्छ।”

गुफाचित्र

तस्बिर स्रोत, Remi Masson/SPL

लन्डनस्थित न्याश्नल हिस्ट्री म्यूजीअमका प्राध्यापक क्रिस स्ट्रिङ्गर आधुनिक मानव पहिलो पटक विकसित भएको अफ्रिकामा अरू पुरातन प्रतीकात्मक कलाका उदाहरणहरू हुने विश्वास गर्छन्। तर हामी अहिलेसम्म त्यसलाई भेटेका छैनौँ।

“यो खोजले प्रतीकात्मक कला अफ्रिकामा पाँच हजार वर्षअघि नै सिर्जना भएको र यो सोच मानव प्रजाति फैलिँदै जाँदा फैलिएको भन्ने विचारलाई थप बलियो बनाउँछ।”

“यदि यो सत्य हो भने अफ्रिकाजस्ता अन्य ठाउँबाट पनि यसलाई समर्थन गर्ने थप प्रमाणहरू देखिन बाँकी नै छन्। यो सबैभन्दा पुरानो कलाकृति एक ठाउँमा ढुङ्गाको एकापट्टि भेटिएको हो। आशा गरौँ यो महत्त्वपूर्ण खोज पुष्टि गर्न थप ठाउँहरूमा थप ‘डेटिङ’ अर्थात् चित्र कति पुरानो हो भनेर अध्ययन हुनेछ।”

भ्रम र वास्तविकता

गुफाचित्र

तस्बिर स्रोत, PHILIPPE PSAILA/SPL

तस्बिरको क्याप्शन, फ्रान्समा भेटिएको यो चित्रले केहीलाई अमूर्त सोच सर्वप्रथम युरोपमा विकास भएको भ्रममा पारेको थियो

यो नयाँ ‘डेटिङ’ लेजरको प्रयोगबाट कलाका साना टुक्राहरू काट्ने नयाँ विधिले सम्भव भएको थियो। यसले अनुसन्धाताहरूलाई कलाका विभिन्न भागलाई विस्तृतमा अध्ययन गर्न र अझ सही समय पत्ता लगाउन सघाउँछ।

नयाँ विधिको प्रयोग व्यापक भइरहँदा विश्वका थुप्रै ठाउँमा रहेका गुफाचित्रहरू कति पुराना हुन् भनेर पुनः अध्ययन गरिनेछन्, जसले प्रतीकात्मक कलाको उत्पत्तिको समयलाई थप पछाडि धकेल्न सक्छ।

दश वर्ष अघिसम्म पुरातन गुफाचित्रको प्रमाण स्पेन र दक्षिण फ्रान्समा मात्र पाइएको थियो। यसले कतिपयलाई कला र विज्ञानप्रतिको रचनात्मक सुरुवात आज हामीले युरोप भन्ने ठाउँमा सुरु भएको विश्वास गराएको थियो।

तर सन् २०१४ मा दक्षिण सूलवेसीमा भेटिएको मानव हातको रङ्गीन रेखाङ्कनले यो विश्वासलाई भत्काइदियो।

एक अज्ञात जनावरको चित्र

त्यसपछि सन् २०१८ को नोभेम्बरमा इन्डोनेशियाको बोर्नेओ टापुस्थित लुबाङ जेरिजी सालेह गुफामा वैज्ञानिकहरूले त्यस बेलाको सबैभन्दा पुरानो प्रतीकात्मक चित्रकला फेला पारेका थिए।

त्यसमा एक अज्ञात जनावरको चित्र छ। यो चित्रकला ४० हजार वर्षभन्दा पनि धेरै पुरानो भएको विश्वास गरिन्छ।

ग्रिफ्फिथ विश्वविद्यालयका प्राध्यापक एडम ब्रुम इन्डोनेशियाको गुफा चित्रको पछिल्लो खोजले कलाको इतिहासमा कथावाचन शैलीको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारेको बताउँछन्।

“सूलवेशीमा हामीले फेला पारेको सबैभन्दा पुरानो गुफाभित्रमा चिन्न सकिने कुराहरू हुनु उल्लेखनीय छ। त्यहाँ चित्रमा मानिस र जनावर यस्तो किसिमले अन्तरक्रिया गरिरहेका छन् कि कलाकारको उद्देश्य कुनै किसिमको कथाको भाष्य बताउनु रहेको अनुमान गर्न सक्छौँ,” उनी भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।