अस्ट्रेलियाः कङ्गारूको १७,३०० वर्ष पुरानो चित्रकला

चित्रकला

तस्बिर स्रोत, Damien Finch

अस्ट्रेलियाका वैज्ञानिकहरूले चट्टानमा बनाइएको कङ्गारूको चित्रकला १७,३०० वर्ष पुरानो भएको पत्ता लगाएका छन्।

चट्टानयुक्त एउटा आश्रयस्थलको छानामा गेरु रङ्ग प्रयोग गरी बनाइएको दुई मिटर लामो चित्रकला फेला परेको हो।

वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्रमा उक्त चित्रकला भेटिएको हो। उक्त क्षेत्र आदिवासीहरूले चट्टानमा बनाउने चित्रकलाका लागि प्रसिद्ध छ।

चित्रकला निर्माण गरिएको समय बारुला जातिको कीटको गुँडको माटोलाई रेडिओकार्बन-डेटिङ प्रविधिमार्फत् निर्क्योल गरिएको हो।

दुर्लभ

नेचर ह्यूमन बिहेभिअर नामक जर्नलमा मङ्गलवार त्यससम्बन्धी अध्ययनको नतिजा प्रकाशन गरिएको हो।

रेडिओकार्बन-डेटिङ प्रविधि प्रयोगमा अग्रणी मानिएका अनुसन्धानकर्ता डा. डेमिएन फिन्चले एउटै चित्रकलाको माथि र मुनिको भागमा बारुला जातिको गुँडको माटो फेला पर्नु दुर्लभ भएको बताएका छन्।

तर उनको टोली चित्रकला बनाइएको न्यूनतम र अधिकतम समय निर्क्योल गर्न सक्षम भएको छ।

मेल्बर्न विश्वविद्यालयसँग आबद्ध डा. फिन्चका अनुसार उक्त चित्रकला १७,५०० देखि १७,३०० वर्ष बीचको रहेको देखिन्छ। बढी सम्भावना १७,३०० वर्षको भएको उनले बताएका छन्।

चित्रकला

तस्बिर स्रोत, Stan Samantzis

डा. फिन्च चट्टान, जीवाश्म र माटोको कालको अध्ययन गर्ने विशेषज्ञ हुन्।

वैज्ञानिकहरूले अस्ट्रेलियामा सग्लो अवस्थामा फेला पारिएको यो नै सबैभन्दा पुरानो चित्रकला भएको बताएका छन्।

उक्त शोधमा सहलेखन गरेका वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालयका स्भेन ओउजम्यानले कङ्गारूको चित्रकला र अरू क्षेत्रका प्राचीन चित्रकलाबीच सम्बन्ध हुनसक्ने जनाएका छन्।

चित्रकला

तस्बिर स्रोत, Damien Finch

यसै वर्षको आरम्भरतिर अनुसन्धानकर्ताहरूले इन्डोनेशियाको सुलावेसी द्वीपमा एउटा सुँगुरको पूर्णाकृतिको ४५,००० हजार वर्ष पुरानो चित्रकला फेला पारेका थिए।

दक्षिण अफ्रिकामा ७३,००० ह्याशट्यागजस्तो देखिने एउटा रेखाचित्र नै विश्वको सबैभन्दा पुरानो चित्रकला भएको विश्वास गरिन्छ।