नीयान्डर्टाल मानव पनि कलाकार थिए

गुफा चित्र
तस्बिरको क्याप्शन, माल्ट्राभिएसो गुफामा नीयान्डर्टाल मानवको हत्केलाका छाप

उनीहरू निर्मम थिए भन्ने परम्परागत मान्यताविपरीत नीयान्डर्टाल मानवहरू कलाकार भएको सङ्केत प्राप्त भएको छ।

'साइन्स' जर्नलमा प्रकाशित एउटा शोधका अनुसार आधुनिक मानव युरोपमा पुग्नुभन्दा २०,००० वर्षअगाडि नै ती आदिमानवले स्पेनका गुफाहरूमा चित्र कोरेका थिए।

उनीहरूले रङ्ग्याइएका सिपीहरू गहनाका रूपमा प्रयोग गरेको हुन सक्ने देखिएको छ।

कला 'होमो सेपिएन्स्' अर्थात् आधुनिक मानव प्रजातिको विशेषता हो भन्ने पुरानो मान्यता थियो।

गुफामा पाइएका चित्रहरूमा नियान्डर्थल मानवका हत्केलाका छाप, ज्यामितीय आकृतिहरू र राता वृत्तहरू छन्।

गुफा चित्र

तस्बिर स्रोत, CD STANDISH, AWG. PIKE, DL HOFFMANN

तस्बिरको क्याप्शन, ला पासिएगामा भेटिएको भर्‍याङजस्तो देखिने यो चित्र ६४,००० वर्ष पुरानो हो

ती चित्रहरू ७०० किलोमिटरभित्र रहेका ला पासिएगा, माल्ट्राभिएसो र आर्दालसमा पाइएका हुन्।

समय निर्धारण

शोधकर्ताहरूले 'युरेनीअम-थोर‍ीअम डेटिङ' विधि प्रयोग गरेर ती चित्रहरू बनाइएको समय निर्धारण गरेका हुन्।

यो विधिले चित्रमाथि बनेका खनिज पदार्थको पत्रमा रेडिओधर्मी क्षयपश्चात् बाँकी रहेको युरेनिअमको मात्रा मापन गरिएको थियो।

यसो गर्दा ती गुफा चित्र कम्तीमा ६५,००० वर्ष पुराना भएको निष्कर्ष निस्कियो। आधुनिक मानवहरू भने युरोपमा लगभग ४५,००० वर्षअगाडि मात्र पुगेका हुन्।

यसको अर्थ के हुन्छ भने ती पुरापाषाणयुगीन कला आधुनिक मानवको नातेदार नियान्डर्थल आदिमानवहरूले बनाएका हुन्।

त्यति बेला उनीहरू मात्रै युरोपमा बस्दथे।

तर शोधकर्ताहरूले ती आदिमानवहरूले बनाएका कलामा अमूर्त अभिव्यक्ति मात्र भेटेका छन्।

उक्त शोधका सहलेखक एवम् साउथह्याम्टन विश्वविद्यालयका प्राध्यापक आलिस्टर पाइकले भने, "उन्नाइसौँ शताब्दीमा उनीहरूको जीवावशेष पहिलोचाटि भेटिएदेखि नै नीयान्डर्टालहरूलाई क्रूर र असभ्य, कलाहीन र सङ्केत गर्न असक्षम भनेर चित्रित गरिएको थियो। र यीमध्ये केही धारणा आज पनि कायम छन्।"

गुफा चित्र

तस्बिर स्रोत, STEWART FINLAYSON

तस्बिरको क्याप्शन, जिब्रल्टरमा सन् २०१४ मा भेटिएको भित्तामा खोपिएको आकृति पनि नीयान्डर्टालले बनाएको विश्वास गरिन्छ

"नीयान्डर्टालहरूको आचरण कत्तिको मानवको जस्तै थियो भन्ने विषयमा गम्भीर बहस भएको छ। हाम्रो शोधको निष्कर्षले त्यो बहसमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ।"

यो शोधमा संलग्न नभएका लन्डनको न्याचुरल हिस्ट्री म्यूजीअमका प्राध्यापक क्रिस स्ट्रिङ्गरका अनुसार नीयान्डर्टालले बनाएका भन्ठानिएका सङ्केतबारे पहिला गरिएका केही टिप्पणीहरूमा समयबारे अन्योल थियो।

अथवा ती नीयान्डर्टाल र आधुनिक मानवको सहअस्तित्व भएको समय अर्थात् ४०-६० हजार वर्षअगाडिका थिए।

"अर्थात् ती सङ्केतहरूको श्रेय आधुनिक मानवलाई अथवा आधुनिक मानवको नीयान्डर्टालमाथिको प्रभावलाई दिन सकिन्छ।"

अभिव्यक्ति क्षमता

स्ट्रिङ्गरका अनुसार यो नयाँ शोधले नीयान्डर्टाल साङ्केतिक वा कलापूर्ण अभिव्यक्ति गर्न समर्थ थिए भन्ने स्पष्ट पार्छ।

उनले भने, "नीयान्डर्टाल र हाम्रा आचरणमा हुने भन्ठानिएको अन्तर थप साँघुरिएको छ।"

तर उनीहरूले बनाएको मानिस वा पशुहरू नै देखिने कुनै लाक्षणिक कलाको स्पष्ट उदाहरण नभएको भनेर तर्क भने गर्न सकिएला, उनले भने।

प्रा पाइकले बीबीसीलाई बताए, "अर्को महत्त्वपूर्ण प्रश्न के हो भने: के नीयान्डर्टाल हरूले लाक्षणिक कला बनाउँथे? हामीले हत्केलाको छाप पायौँ, हामीले प्रशस्तै राता थोप्लाहरू पायौँ र हामीले यी रेखाहरू पायौँ। हामी उनीहरूले सिकार गर्ने पशुहरूको चित्र छ कि भनेर जान्न चाहन्छौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्राचीन ब्रिटिशको रङ कस्तो थियो?