पुतली २० करोड वर्षअघि अस्तित्वमा

तस्बिर स्रोत, BAS VAN DE SCHOOTBRUGGE
नयाँ प्रमाणहरूले विभिन्न खालका पुतलीहरू झण्डै २० करोड वर्ष भन्दा अघिदेखि अस्तित्वमा रहेको देखाएको छ।
त्यो विगतमा वैज्ञानिकहरूले अनुमान गरे भन्दा ७ करोड वर्ष बढी हो।
जर्मनीको चट्टानमा वैज्ञानिकहरूले धुलोको कणको आकारको पुतलीको जीवाश्म फेला पारेपछि यो तथ्य बाहिर आएको हो।
पछिल्लो अध्ययनबाट पुतलीको उत्पत्ति भएको भनिएको समय थप पर धकेलिएको वैज्ञानिकहरू बताउँछन्।
पुतलीको प्रारम्भिक अवस्थाबारे अध्ययन गरेर उनीहरूका संरक्षणबारे थप ज्ञान हासिल हुनसक्ने बताइएको छ।
डाइनोसर युग

तस्बिर स्रोत, HOSSEIN RAJAE
प्राचीन चट्टानमा फेला परेका पुतलीका पखेटाहरूका सूक्ष्म जीवाश्मको अध्ययनपछि यो निष्कर्ष सार्वजनिक गरिएको हो।
'साइन्स एडभान्सेज' नामक जर्नलमा प्रकाशित उक्त लेखले पुतलीहरू कसरी अन्टार्टिका महादेश बाहेक सर्वत्र पुग्न सफल भए भन्नेबारे विभिन्न जानकारीहरू समेटेको छ।
वैज्ञानिकहरूले पछिल्लो खोजले पुतलीहरू शुरुवाती चरणका डाइनोसरहरूसँगै पृथ्वीमा रहेको र डाइनोसर लोप हुँदा समेत उनीहरू बाँच्न सफल भएको पुष्टि गरेको उल्लेख गरेका छन्।
यो अध्ययनले पुतलीहरूले वासस्थान लोप हुने र जलवायु परिवर्तन जस्ता आधुनिक चुनौती कसरी खप्न सक्छन् भन्नेबारे थप अध्ययन गर्न मद्दत पुर्याउने वैज्ञानिकहरूको विश्वास छ।
पुतलीहरूलाई एकदमै कमजोर प्रकृतिका जीव मानिन्छ त्यसको अर्थ जीवाश्म फेला पर्नु अति नै दुर्लभ मानिन्छ।








