प्रेम दिवसः सेन्ट भ्यालेन्टाइन कस्ता थिए?

मुखाकृति पुनर्निर्माणका चरण

तस्बिर स्रोत, Cícero Moraes

तस्बिरको क्याप्शन, मुखाकृति पुनर्निर्माणका चरण
    • Author, एडिसन भेइगा
    • Role, बीबीसी ब्रजिल

सेन्ट भ्यालेन्टाइनलाई प्रेममा परेका मानिसहरूको संरक्षक मानिन्छ।

त्यसैले धेरै देशहरूमा उनलाई मृत्युदण्ड दिइएको दिन अर्थात् फेब्रुअरी १४ लाई प्रेमदिवसका रूपमा मनाइन्छ।

इस्वी संवत् २६९ मा मारिएका प्राचीन रोमका यी इसाई सेन्टको नयाँ मुखाकृति निर्माण गरिएको छ। त्यो मुखाकृति पुराना प्रतिरूपहरूभन्दा धेरै फरक छ।

ब्रजिलका डिजाइनर सिसेरो मोराइसले उनको भन्ठानिएको अस्थिहरूका आधारमा कम्प्युटर ग्राफिक्सबाट सेन्ट भ्यालेन्टाइनको मुखाकृति पुनर्निर्माण गरेका हुन्।

ती अवशेषहरू इटलीको प्याडुअ प्रान्तस्थित सेन्ट जोर्जेज् गिर्जाघरमा राखिएका छन्।

मोराइसले बनाएको मुखाकृति एउटा समारोहबीच सार्वजनिक गरिएको थियो।

सेन्ट भ्यान्लेन्टाइनको मुकाकृतिको पुनर्निर्माण

तस्बिर स्रोत, Cícero Moraes

यसरी बनाइएको चित्रमा सामान्य लक्षण र तुलनात्मक रूपमा कम उमेर भएका पुरुषको रूप देखिएको छ। तर पुराना चित्रहरूमा सेन्ट भ्यालेन्टाइनलाई अलि वृद्ध र जीर्ण रूपमा देखाइने गरेको थियो।

मोराइस सन् २०१७ मा पुनर्निर्माण योजना थाल्ने एउटा बहुविषयक समूहमा संलग्न थिए।

प्याडुअ विश्वविद्यालयका प्राज्ञहरूले भ्याटिकनबाट सेन्ट भ्यालेन्टाइनको भन्ठानिएको खप्परको तस्बिर खिच्ने अनुमति पाएका थिए।

खप्परका उच्च गुणस्तरका तस्बिरहरू त्रि-आयामिक मुखाकृति पुनर्निर्माण गर्ने विशेषज्ञता भएका मोराइसलाई पठाइएको थियो।

उनले एक साता लगाएर सो काम पूरा गरेका हुन्।

तर भ्यालेन्टाइनको प्रसङ्गमा केही जटिलता छन्।

केही विद्वान‌्‌हरूका अनुसार प्राचीन रोममा केवल एक हैन, कम्तीमा तीन सेन्ट भ्यालेन्टाइन थिए।

"रोमन क्याथोलिक चर्च अलि अव्यवस्थित छ। त्यहाँ धेरै भ्यालेन्टाइनहरू थिए।"

"हामीले देखिराखेको चित्र तीन जना सेन्टहरूको सम्मिश्रण हो," मोराइसले बीबीसी ब्रजिललाई बताए।

"मैले तीमध्ये एक जनाको (आकृति) पुनर्निर्माण गरिसकेको थिएँ। म तेस्रा (भ्यालेन्टाइन) को पनि गर्न चाहन्छु। तर उनको मृत्यु धर्मप्रचारका क्रममा अफ्रिकामा भएको विश्वास गरिन्छ र उनको समाधिस्थल पत्ता लागेको छैन।"

सन् २०१५ मा सिसेरो मोराइस

तस्बिर स्रोत, Cícero Moraes

तस्बिरको क्याप्शन, सिसेरो मोराइस

प्रेम

क्याथोलिक धर्मसँग सेन्ट भ्यान्टाइन सम्प्रदायको प्रादुर्भावको कुनै सम्बन्ध छैन।

त्यो इसाई धर्मको आगमन हुनुभन्दा अगाडिको रोमनकालदेखि नै सुरु भएको हो।

त्यसको सम्बन्ध स्वास्थ्य र उर्वरताको कामना गर्दै फेब्रुअरी १५ मा मनाइने प्राचीन लुपर्केलियाको वार्षिक पर्वसँग छ।

अनि यो वन, मैदान र खेतका देवता फोनसको सम्मानमा पनि मनाइन्थ्यो।

सन् ४९४ मा पोप गेलासियस प्रथमले सबै इसाईहरूलाई ती उत्सवहरूमा भाग लिन निषेध गरिदिए।

त्यसपछि एक दिनमा मात्रै उत्सव सीमित पार्दै भ्यालेन्टाइनलाई प्रेममा परेका मानिसहरूको संरक्षण गर्ने जिम्मा दिइयो।

दक्षिण ब्रजिलको श्यापेको सहरमा जन्मेका ३५ वर्षीय मोराइसको क्याथोलिक धार्मिक पात्रसँग सम्बन्धित यो एघारौँ काम हो।

भ्यालेन्टाइनको भन्ठानिएका खप्पर र अस्थि सेन्ट गिर्जाघरमा राखिएका छन्

तस्बिर स्रोत, Luca Bezzi

तस्बिरको क्याप्शन, भ्यालेन्टाइनको भन्ठानिएका खप्पर र अस्थि सेन्ट गिर्जाघरमा राखिएका छन्