नीयान्डर्टाल आमा, डेनिसोभन बुवाकी छोरी

साइबेरियास्थित डेनिसोभा गुफा

तस्बिर स्रोत, B VIOLA, MPI-EVA

तस्बिरको क्याप्शन, साइबेरियास्थित डेनिसोभा गुफा
    • Author, ‏हेलेन ब्रिग्स
    • Role, बीबीसी न्यूज

प्राचीन कालमा रुसको एउटा गुफामा पृथक् पुर्ख्यौली भएका आदिमानवका एक महिला र एक पुरुषको भेट भयो।

झन्डै ५० हजार वर्षपछि वैज्ञानिकहरूले उनीहरूबाट एउटी छोरी जन्माएको पुष्टि गरेका छन्।

गुफामा भेटिएको हड्डीको टुक्राबाट निकालिएको डीएनएबाट उनकी आमा नीयान्डर्टाल र बुवा डेनिसोभन भएको पत्ता लाग्यो।

'नेचर' जर्नलमा प्रकाशित सो अध्ययनले आधुनिक मानवसँग नजिकैका सम्बन्ध भएका प्राचीन आदिमानवबारे दुर्लभ जानकारी दिन्छ।

नीयान्डर्टाल र डेनिसोभन पनि हामीजस्तै मानव थिए, तर फरक प्रजातिका।

जर्मनीस्थित माक्स प्लान्क इन्स्टिट्यूट फोर ईभल्यूश्नरी एन्थ्रोपोलजीका अनुसन्धानकर्ता भिभिएन स्लोन भन्छिन्, "पुराना अध्ययनबाट नीयान्डर्टाल र डेनिसोभन मानवहरूले आक्कलझुक्कल बच्चा जन्माएको हामीलाई थाहा थियो।"

डेनिसोभा गुफा

तस्बिर स्रोत, B VIOLA, MPI-EVA

"तर ती दुई प्रजातिका सन्तान हामीले नै फेला पारौँला भन्ने मैले सोचेकी पनि थिइनँ।"

नीयान्डर्टालको अंश कति?

अहिले अफ्रिकी मूल भएकाबाहेक अरू मानवमा आदिमानव नियान्डर्थलको डीएनएको सानो अंश छ।

अफ्रिकी मूल नभएका अन्य केही समूहका मानवमा पनि स्थानानुसार एशियामा बस्ने डेनिसोभन आदिमानवको केही अंश छ।

जीन सयौँ पुस्ता सर्दै आएको तथ्यले अन्तर्प्रजातीय प्रजनन भएको सङ्केत गर्छ।

तर साइबेरियाको आल्टाई पर्वतमालास्थित डेनिसोभा गुफामा मात्र डेनिसोभन र नियान्डर्थल आदिमानवका जीवावशेष सँगैसँगै पाइएको छ।

अनि २० भन्दा कम प्राचीन मानव (आधुनिक मानव 'होमो सेपिअन्स' बाहेक अन्य प्रजाति) को जीन सीक्वन्सिङ गरेर अध्ययन भएको छ।

त्यति थोरै सङ्ख्याबाट पनि दुई प्रजातिबाट जन्मिएको एउटा सन्तान भेटिएको डा. स्लोनले बीबीसी न्यूजलाई बताइन्।

उनका अनुसार अरू अध्ययनहरूका आधारमा पनि हाम्रो क्रमविकासक्रो इतिहासमा मानवहरू एकार्कासँग सधैँ मिसिएको देखिन्छ।

नीयान्डर्टाल र डेनिसोभनको समय

नीयान्डर्टाल र डेनिसोभन आदिमानवहरू युरेशियामा सँगसगै भएको मानिन्छ।

दुवै प्रजातिका मानवहरू ४० हजार वर्षअघिसम्म अस्तित्वमा थिए। नीयान्डर्टाल पश्चिममा बस्थे भने डेनिसोभन पूर्वमा।

नीयान्डर्टाल हरू पूर्वतिर जान थालेपछि उनीहरूको भेट डेनिसोभन र आधुनिक मानवका पुर्खाहरूसँग भयो।

"नीयान्डर्टाल र डेनिसोभनको भेट हुने पर्याप्त अवसरमा नभएको हुनसक्छ," माक्स प्लान्क इन्स्टिट्यूट फर ईभल्यूश्नरी एन्थ्रोपोलजीका निर्देशक स्वान्त पेबो बताउँछन्।

"तर भेट हुँदा उनीहरूको बारम्बार समागम भएको हुनुपर्छ, पहिले ठानिएकोभन्दा बढी नै।"

बालिका र उनको परिवारबारे

रुसी पुरातत्त्वविद्हरूले धेरै वर्षपहिला डेनिसोभा गुफाबाट एउटा हड्डीको टुक्रा भेटेका थिए। त्यसकै आधारमा ती बालिकाको कथा सुरु भयो।

डेनिसोभा गुफा

तस्बिर स्रोत, B VIOLA, MPI-EVA

तस्बिरको क्याप्शन, डेनिसोभा गुफा

जीनको अध्ययन गर्न त्यो हड्डी लाइप्जिग ल्याइयो।

"यो टुक्रा लामो हाडको एउटा टुक्रा हो, र ती बालिका कम्तीमा पनि १३ वर्षकी हुनुपर्ने हामी अनुमान गर्नसक्छौँ," यूनिभर्सिटी अफ टोरन्टोकी बेन्स भायोला बताउँछिन्।

अनुसन्धानकर्ताहरूले ती बालिकाकी आमा डेनिसोभन गुफामा बस्ने एउटा नियान्डर्थलभन्दा पश्चिम युरोपमा बस्ने नीयान्डर्टालहरूसँग आनुवंशिक रूपमा बढी नजिक रहेको निष्कर्ष निकाले।

यसको अर्थ नीयान्डर्टाल हरूले आफ्नो अस्तित्व मेटिनुभन्दा दशौँ हजार वर्षपहिला पश्चिम र पूर्वी युरोप एवम् एशियामा बसाइँसराइ गरेका थिए।

आनुवंशिक परीक्षणले ती बालिकाका डेनिसोभन बुवाको वंशवृक्षमा कम्तीमा पनि एक पुस्ता नीयान्डर्टाल भएको देखियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, २,५०० वर्ष पुरानो कङ्काल