यो कसको कङ्काल हो? - डीएनएबाट खुल्यो २,००० वर्ष पुरानो रहस्य

डीएनए विश्लेषणले रोमन साम्राज्यको एक कुनाबाट २,००० वर्षअघी यी व्यक्तिले ब्रिटेनसम्म यात्रा तय गरेको देखाउँछ

तस्बिर स्रोत, ©MOLA Headland Infrastructure

तस्बिरको क्याप्शन, डीएनए विश्लेषणले रोमन साम्राज्यको एउटा कुनाबाट २,००० वर्षअघि यी व्यक्तिले ब्रिटेनसम्म यात्रा तय गरेको देखाउँछ

झन्डै २,००० वर्षअघि दक्षिण रुसमा जन्मिएका एक व्यक्ति कसरी ब्रिटेनको एउटा गाउँसम्म पुगे?

रोमन ब्रिटेनको इतिहासका महत्त्वपूर्ण मोडहरूबारे प्रकाश पार्दै डीएनए अन्वेषणकर्ताहरूले ती व्यक्ति हिँडेको बाटो पहिल्याएका छन्।

अनुसन्धानले केम्ब्रिज्शरमा फेला परेको कङ्काल 'सार्मेशिअन' भनेर चिनिने फिरन्ते समूहका एक व्यक्तिको भएको देखाएको छ।

रोमन साम्राज्यका सुदूरवर्ती स्थानहरूबाट पनि मानिसहरू ब्रिटेन आएका र तीमध्ये केही मानिस ग्रामीण भेगतिर बसेको पुष्टि गर्ने यो नै पहिलो जैविक प्रमाण हो।

त्यो नरकङ्काल केम्ब्रिज र हन्टिङ्डनमा एउटा सडक सुधारका लागि गरिएको उत्खननका क्रममा फेला परेको थियो।

वैज्ञानिक विधि प्रयोग गरेर अनुसन्धान गर्दा ठूला ऐतिहासिक घटनाहरूमा संलग्न सर्वसाधारण मानिसका साधारणतया नभनिएका कथाहरू थाहा हुन सक्छ।

त्यस्तो विधिमा जीवाश्म बनिसकेका हजारौँ वर्ष पुराना हड्डीका टुक्राबाट सङ्कलित आनुवंशिक सङ्केतको अध्ययन गरिन्छ।

आनुवंशिक सङ्केतले व्यक्तिविशेष कुन जातीय समूहको हो भन्ने देखाउँछ।

यो कसको कङ्काल हो

मरिना सिल्भाले प्राचीन डीएनए निकालेर त्यसको आनुवंशिक सङ्केतको विश्लेषण गरेकी थिइन्

तस्बिर स्रोत, Pontus Skoglund

तस्बिरको क्याप्शन, मरिना सिल्भाले प्राचीन डीएनए निकालेर त्यसको आनुवंशिक सङ्केतको विश्लेषण गरेकी थिइन्

पुरातत्त्वविद्हरूले एउटा पुरुषको सग्लो र परिरक्षित कङ्काल फेला पारे। त्यो फेला परेको गाउँ र नमुनाको आङ्किक सङ्केतका आधारमा त्यसको नाम 'अफर्ड क्लूनी २०३६४५' नाम राखियो।

ती व्यक्तिले आफूलाई खाल्डोमा गाड्दा उनीसँग कुनै व्यक्तिगत सामान थिएन। त्यही भएर उनको पहिचान गर्न उल्लेख्य प्रमाण थिएन।

लन्डनस्थित फ्रान्सिस क्रिक इन्स्टिट्यूटको एइन्शन्ट जिनोमिक्स लबोरटरीकी डा मारिना सिल्भाले उक्त नरकङ्कालबाट प्राचीन डीएनए सङ्कलन गर्न कानभित्रको सानो हड्डी छानिन्।

त्यो हड्डी पूरै कङ्कालमध्ये सबैभन्दा राम्रो अवस्थामा थियो। उनले त्यसरी सङ्कलित डीएनएको अध्ययन गरिन्।

“यो कुनै पनि जीवित व्यक्तिको डीएनए परीक्षण गरेको जस्तो होइन,” उनले भनिन्।

“डीएनए एकदमै टुक्रिएको छ र क्षतिग्रस्त छ। तर हाम्री त्यसको विश्लेषण गर्न सफल भयौँ।”

तेस्रो शताब्दीको सुरुमा रोमन साम्राज्य

“हामीले देखेको पहिलो कुरा के थियो भने उनी हामीले अहिलेसम्म अध्ययन गरेका रोमन मूलका ब्रिटिश व्यक्तिभन्दा एकदमै पृथक् थिए।”

डीएनए विश्लेषणसम्बन्धी नयाँ विधिहरूले विगतमा कुनै अभिलेख वा पुरातात्त्विक प्रमाणका आधारमा मात्रै पहिल्याइने गरिएको पुराना घटनाक्रमसँग जोडिएका मानवीय गतिविधिलाई केलाउन सक्छन्।

तिनले सामान्यतया धनी र शक्तिशाली मानिसको कथा बताउने गर्छन्।

यो अध्ययन किन रोचक छ

यो अनुसन्धान एउटा जासुसी कथाजस्तै छ जसमा उन्नत विधिविज्ञान (फरेन्सिक साइअन्स) को सहयोगमा एउटा साधारण मानिसको रहस्योद्घाटन भएको छ।

रोमनहरूले ब्रिटेनलाई कब्जामा लिँदा सन् १२६ र २२८ को बीचमा केम्ब्रिज्शरको एउटा खाल्डोमा गाडिएका एक युवकको हुन् भन्ने यो अनुसन्धानबाट खुलेको छ।

पुरातत्त्वविद्हरूले सुरुमा अफर्ड स्थानीय बासिन्दा भन्ठानेका थिए। अनि उनको नरकङ्काललाई खासै महत्त्वपूर्ण मानिएको थिएन।

तर डा सिल्भाको प्रयोगशालामा गरिएको डीएनए विश्लेषणमा उनी रोमन साम्राज्यका सबैभन्दा टाढाबाट आएको व्यक्ति भनेर पहिल्याइयो। उक्त स्थान अहिले दक्षिण रुस, आर्मिनिआ र युक्रेन भएको क्षेत्रमा पर्छ।

डीएनए विश्लेषणबाट ती व्यक्ति सार्मेशिअन मूलका भएको देखियो।

यो इरानीभाषी मानिसहरूको समूह हो जो घोडचढीका रूपमा प्रख्यात थियो। उसो भए उनी कसरी घर छोडेर त्यस्तो अनकन्टार ठाउँमा पुगे त?

त्यसको उत्तर खोज्न डरम यूनिभर्सिटीको पुरातत्त्व विभागको एउटा टोलीले एउटा अर्को रोचक विधिको प्रयोग गरी जीवाश्म बनिसकेको उनको दाँतको अनुसन्धान गर्‍यो।

दाँतमा ती व्यक्तिको आहाराको रासायनिक अवशेष बाँकी थियो।

खप्पर र दाँतको हड्डी

तस्बिर स्रोत, MOLA Headland Infrastructure

तस्बिरको क्याप्शन, दाँतको विश्लेषणबाट यी व्यक्तिको पोषण पाँच वर्षको उमेरदेखि बिस्तारै बदलिँदै गएको देखाउँछ

समयक्रमसँगै दाँतको विकास भइरहन्छ। दाँतमा हुने प्रत्येक पत्रले त्यस समयमा आफू वरपर हुने रसायनको अभिलेख राख्छ।

उक्त विश्लेषणले ती व्यक्तिले छ वर्षको उमेरसम्म कोदो र जौ खाने गरेको देखियो। वनस्पतिशास्त्रले ती अन्नलाई सीफोर बालीको वर्गमा राखेको छ। सार्मेशिअनहरू बस्ने ठाउँमा ती अन्नबाली मनग्य खेती हुन्थ्यो।

तर पछि उनले यी अन्न क्रमशः कम सेवन गरेको बरु बढी गहुँ खान थालेको देखिएको प्राध्यापक ज्यानेट मन्ट्गोमरी बताउँछिन्। गहुँ पश्चिम युरोपमा बढी पाइन्थ्यो।

“यो विश्लेषणबाट उनका पुर्खाहरू नभई उनी आफैँ ब्रिटेनसम्म पुगेको देखिन्छ। आफू हुर्किँदै जाँदा उनी पश्चिमतर्फ बसाइँ सर्न थाले र ती वनस्पति उनको आहारबाट हराउँदै गए।”

रोमन फौजले सन् १७५ मा सार्मेशिअन सेनालाई पराजित गरेको दृश्य समेटिएको एउटा चित्रn in Rome (from Conrad Cichorius' The Reliefs of Trajan's Column, Berlin, 1896)

तस्बिर स्रोत, Conrad Cichorius

तस्बिरको क्याप्शन, रोमन सेनाले ले सन् १७५ मा सार्मेशिअनहरूलाई पराजित गरेको थियो

इतिहास र विज्ञानले के सङ्केत गर्छन्

ऐतिहासिक अभिलेखका आधारमा यी व्यक्ति कुनै घोडचढी सैनिकका छोरा वा दास हुन सक्ने देखिन्छ। उनी जीवित रहेको समयमा रोमन सेनामा भएका सार्मेशिअन घोडचढीहरूको एउटा समूह ब्रिटेनमा परिचालित थियो।

नरकङ्काल उत्खनन गर्ने कम्पनी एमओएलए हेडल्यान्ड इन्फ्रास्ट्रक्चरका डा एलेक्स स्मिथ डीएनए प्रमाणले यो परिवेशलाई प्रमाणित गर्ने बताउँछन्।

“यो पहिलो जैविक प्रमाण हो,” उनले बीबीसी न्यूजसँग भने, “यी डीएनए र रासायनिक विश्लेषण विधिहरू उपलब्ध हुनुको अर्थ अब हामी विभिन्न प्रश्न गर्न सक्छौँ र समाजहरू कसरी निर्माण भए र रोमन कालमा तिनको कसरी विकास भयो भनेर हेर्न सक्छौँ।”

सहरहरूमा मात्रै नभएर ग्रामीण भेगहरूमा पनि मानिसहरूको ठूलो आवतजावत हुने गरेको सङ्केत मिलेको उनको भनाइ छ।

यो अवशेष केम्ब्रिज र हन्टिङ्डनको ए १४ सडक सुधारका लागि गरिएको उत्खननका क्रममा फेला परेको थियो

तस्बिर स्रोत, ©MOLA Headland Infrastructure

तस्बिरको क्याप्शन, यो अवशेष केम्ब्रिज र हन्टिङ्डनको सडक सुधारका लागि गरिएको उत्खननका क्रममा फेला परेको थियो

क्रिकको प्राचीन जिनोमिक्स प्रयोगशालाको नेतृत्व गर्ने डा पोन्टस स्कोग्लन्डले बीबीसीलाई नयाँ प्रविधिले इतिहासको हाम्रो बुझाइलाई रूपान्तरण गरिदिइरहेको बताए।

“अहिलेसम्म प्राचीन डीएनएका आधारमा ढुङ्गेयुग र कांस्ययुगबारे हाम्रो बुझाइ सुधार गरिन्थ्यो। तर राम्रो प्रविधिको कारण हामी रोमन र त्यसपछिका कालखण्डबारे हाम्रो बुझाइलाई रूपान्तरण गर्न थालिसकेका छौँ।”

यसबारेका विस्तृत विवरण 'करेन्ट बायोलोजी' नामक जर्नलमा प्रकाशित भएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।