प्राचीन भारतीयका बृहत् चिहानका रहस्य

तस्बिर स्रोत, ABHAYAN GS
वैज्ञानिकहरूले भारतमा संसारका प्राचीनमध्येको एउटा सहरी सभ्यताको अध्ययनका लागि गरिएको उत्खननका क्रममा फराकिलो क्षेत्रमा रहेको समाधि स्थल फेला पारेका छन्।
प्राचीनकालका भारतीयहरू कसरी बस्थे? उनीहरूको मृत्युपछि के गरिन्थ्यो? ती चिहानहरूबाट त्यस बेलाको समाजका सम्बन्धमा कस्ताकस्ता जानकारी प्राप्त भएका छन् भन्नेबारे बीबीसीका सौतिक विश्वासको एक रिपोर्ट।
सन् २०१९ मा केही वैज्ञानिकहरूले भारतको पश्चिमी राज्य गुजरातमा पाकिस्तानको सीमाबाट त्यति टाढा नरहेको तथा फाट्टफुट्ट बसोबास रहेको कच्छ क्षेत्रको एउटा दुर्गम गाउँनजिकै बलौटे माटोको एउटा ढिस्कोमा उत्खनन सुरु गरेका थिए।
त्यो काम सुरु गर्दा उनीहरूलाई आश्चर्यजनक कुरा फेला पारौँला भन्ने अनुमान पटक्कै थिएन।
उत्खननको नेतृत्व गरेका केरला विश्वविद्यालयका पुरातत्त्वविद् राजेश एसभी भन्छन्, "जब हामीले खन्न सुरु गर्यौँ हामीलाई लाग्यो त्यो एउटा प्राचीन बस्ती हो। तर एक हप्ताभित्रै त्यो एउटा चिहानस्थल थियो भन्ने हामीलाई महसुस भयो।
चालीस हेक्टरको यो स्थानमा तीन पटक उत्खनन भइसकेको छ।
उत्खननमा १५० भन्दा धेरै भारतीय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक सामेल छन्।
शोधकर्ताहरू अहिले संसारको सबभन्दा प्रारम्भिक सहरी सभ्यतामध्ये एक मानिने सिन्धु समाजको कम्तीमा पनि ५०० वटा चिहान त्यहाँ रहेको अनुमान लगाउँछन्।
त्यसमध्ये करिब २०० चिहानको उत्खनन भइसकेको छ।
सिन्धु सभ्यतालाई हडप्पा सभ्यता पनि भनिन्छ।
त्यस बेलाको पहिलो सहरको नामबाटै हडप्पा सभ्यताको नाम रहन गएको हो।

तस्बिर स्रोत, ABHAYAN GS
हडप्पा समाजमा मुख्यत: सामान्य किसान र व्यापारीहरू थिए। उनीहरू पर्खालले घेरिएका र पक्की इँटाले बनेको सहरमा बस्थे।
करिब ५,३०० वर्षअगाडि यो सभ्यताले प्रमुखता पाएको थियो। यो सभ्यताबारे पत्ता लागेको एक शताब्दीयता अनुसन्धानकर्ताहरूले भारत र पाकिस्तानमा गरेर २,००० स्थान उत्खनन गरिसकेका छन्।
उत्खनन गरेकाहरूले एउटा मानव अस्थिपञ्जर निकालेका छन्।
गुजरातको खटिया गाउँनजिकैको विशाल चिहानस्थल अहिलेसम्म प्राप्त “सहरी विकासपूर्व”को समाजको सबैभन्दा ठूलो चिहान हुन सक्ने वैज्ञानिकहरूको धारणा छ।
उक्त चिहानको उपयोग ५०० वर्षसम्म गरिएको हुन सक्ने वैज्ञानिकहरू ठान्छन्। जुन समय ३,२०० ईसा पूर्वदेखि २,६०० ईसा पूर्वसम्म फैलिएको थियो।
त्यसको अर्थ हो यहाँको सबैभन्दा पुरानो चिहान ५,२०० वर्षको हुनुपर्छ।
अहिलेसम्मको उत्खननबाट एक पूर्णाकारको पुरुष कङ्काल भेटिएको छ। त्यसै गरी खोपडीको टुक्रा, हड्डीहरू र दाँतसहित आंशिक रूपको कङ्कालको अवशेष पनि भेटिएको छ।
वैज्ञानिकहरूले पुरिएका कलाकृतिहरू पनि फेला पारेका छन्। तिनमा १०० भन्दा बढी चुरा, सिपीबाट बनेका २७ माला पनि छन्।
सेरामिकका भाँडा, कचौरा, अन्य भाँडाकुँडा, साना गाग्रा, बीकर, माटोका भाँडाकुँडा, पानीका कप, बोतल र जार पनि पाइएको छ।
साना खजानामा केही बहुमूल्य पत्थर र लापीस लाजुलीबाट बनेका माला छन्।
चिहानका केही अनौठा विशेषता पनि छन्।
‘स्यान्डस्टोन’ (बलौटे किसिमको ढुङ्गा) बाट बनेका चिहानहरू छन् जो विभिन्न दिशातर्फ फर्केका छन्।
केही अण्डाकार छन् भने केही आयाताकार।
बच्चाहरूलाई गाडिएका स-साना चिहान छन्।
शव सुताएर गाडिएका छन्, तर सबैजसोका हड्डीहरू अम्लीय माटोका कारण माटिइसकेका छन्।
एलबिअन कलेज मिसिगनमा मानव शास्त्रका प्रोफेसर ब्राड चेज भन्छन्, “यो असाध्यै महत्त्वपूर्ण खोज हो।”
“गुजरातमा सहरीकरणपूर्वका कैयौँ चिहानको खोजी भएको छ। तर यो अहिलेसम्मकै सबभन्दा ठूलो हो। त्यसैले यसमा चिहानका विविधता फेला पर्न सक्छन् जसले पूरातत्त्वविद्हरूलाई सहरीकरणपूर्वको समाज कस्तो थियो भन्नेबारे जान्न मद्दत गर्नेछ।
यो उत्खननबाट प्राप्त जानकारीबाट यस अघिका ससाना चिहानको विश्लेषण गर्न पनि मद्दत मिल्न सक्छ,” प्रोफेसर चेज भन्छन्।
अहिलेको पाकिस्तानको पन्जाब क्षेत्रमा सिन्धु सभ्यतासम्बन्धी विभिन्न स्थानमा भएका अघिल्ला उत्खननहरूले सिन्धु सभ्यताका मानिसहरू शव कसरी गाड्थे भन्नेबारे केही सूचना दिन्छन्।
इजिप्ट र मेसोपोटामियामा सम्भ्रान्त मानिसहरूको चिहान फरक भएझैँ यहाँका चिहानमा भने त्यसरी मृतकसँग धन सम्पत्ति गाडिएको पाइएन। मृतकहरूसँग कुनै गहना वा हतियार राखेको पनि पाइएन।
यहाँ धेरैजसो शवलाई कपडामा बेरिएको थियो र आयताकार काठका बाकसमा राखिएको थियो।
सिन्धु उपत्यका सभ्यताका विज्ञ विस्कन्सिन म्याडिसन विश्वविद्यालयका जोनाथन मार्क केनोयरका अनुसार शव गाड्ने खाडलमा पहिले माटोका भाँडाहरू राखिन्थ्यो।
केही मानिसहरू अरूलाई दिन नमिल्ने चुरा पोते जस्ता व्यक्तिगत शृङ्गार सामग्रीसहित गाडिएको छ।
केही महिलाहरूलाई भने तामाले बनेको ऐनासहित गाडिन्थ्यो।
वयस्कहरूको शवलाई खाना पस्कने तथा भण्डारणसँग जोडिएका विभिन्न प्रकारका भाँडासँगै गाडिन्थ्यो।
कसै कसैलाई विशेष गरगहनासहित गाडिन्थ्यो। जस्तो कि सिपीका चुराहरू वयस्क महिलाका बायाँ हातमा लगाएका पाइयो। शिशुहरू र बच्चाहरूलाई भने कुनै माटोका भाँडा या गरगहनासहित गाडिन्नथ्यो।

तस्बिर स्रोत, ABHAYAN GS
चिहानहरू हेर्दा को कति धनी थियो भन्ने प्रमाण भेटिएन तर स्वास्थ्यस्थितिबारे कुरा गर्दा धेरैजसोले “राम्ररी खान पाएको र स्वस्थ देखिए, तर कोही कोहीमा भने आर्थ्राइटिस (हड्डी कमजोर हुने समस्या) र शारीरिक तनावको सङ्केत देखियो।”
गुजरातको विशाल चिहानस्थलको रहस्य अझै खुल्न बाँकी छ।
वैज्ञानिकहरूका लागि यो अन्वेषण नै अनपेक्षित थियो।
सन् २०१६ मा एउटा गाउँ प्रमुख जो चालकको पनि भूमिका निर्वाह गरिरहेका थिए – उनले केरला विश्वविद्यालयका विद्यार्थीलाई उक्त क्षेत्र घुमाएका थिए।
यो खटिया गाउँबाट ३०० मिटरको दूरीमा थियो। खटिया गाउँ ४०० जना बासिन्दा भएको गाउँ थियो। उनीहरू जीवनयापनका लागि वर्षामा आधारित खेती गर्थे।
बदाम, कपास र अडीर उब्जाउँथे। उनीहरूका केही खेत चिहानसँगै जोडिएका पनि थिए।

तस्बिर स्रोत, ABHAYAN GS
गाउँका पूर्वप्रमुख नारायण भाइ जजानीले भने, “वर्षाका बेला हामीले माटोका भाँडाका टुक्रा र अन्य सामान माटोको सतहमाथि आउने गरेको फेला पार्ने गरेका थियौँ। कोही मान्छे यहाँ भूत भेटिन्छन् पनि भन्थे। तर यति बृहत् चिहानकै छेउमा हामी बसोबास गरिरहेका छौँ भन्ने हामीलाई थाहै थिएन।”
चिहानमा बलौटे ढुङ्गाबाट बनाइएका बाकस छन् जो विभिन्न दिशातर्फ फर्किएका छन्।
“अहिले हरेक वर्ष संसारभरका वैज्ञानिक हाम्रो गाउँ आउँछन् र यहाँ गाडिएका मानिसहरूबारे अझ बढी जान्न कोसिस गर्छन्।”
गुजरातमा फेला परेका चिहानको रहस्य के छ? यहाँ गाडिएका मानिस को थिए?
एउटा क्षेत्रमा यति ठूलो सङ्ख्यामा शवहरू गाडिएका चिहानले यसको महत्त्वमाथि विभिन्न जिज्ञासा उत्पन्न हुन्छन्।
के यो वरिपरिका बस्तीका मानिसहरूका लागि सामूहिक चिहान स्थलका रूपमा बनाइएको थियो?
या यसले त्यसबेला यहाँ विशाल बस्ती थियो भन्ने सङ्केत गर्छ?
“हामीलाई अझ पनि केही थाहा छैन। यो चिहानस्थलको वरपर अहिलेसम्म हामीले कुनै बस्तीको अवशेष फेला पारेका छैनौँ। हामी अझ पनि खोजिरहेका छौँ,” केरला विश्वविद्यालयका पूरातत्वविद् अभयन जीएस भन्छन्।
ढोलाभिराको यो स्थान लगायत ८०० वटासम्म सिन्धु सभ्यतासँग जोडिएका स्थानहरू गुजरातमा फेला परेका छन्।
प्रोफेसर किनोयर भन्छन् हामीलाई यो विश्वास छ कि यो चिहान स्थलसँग सम्बन्ध भएका बस्तीहरू फेला पर्नेछन्।
तर ती अहिलेको आधुनिक बस्तीमुनि परेका पनि हुन सक्छन् या अहिलेसम्म उत्खनन गर्न नसकिएको पनि हुन सक्छ।

तस्बिर स्रोत, AFP
चिहान राम्ररी चिनिएका पर्खालभित्र रहेका कारण मानिसहरू ढुङ्गा प्रयोग गरेर निर्माण गर्ने प्रविधिप्रति अभ्यस्त थिए भन्ने जनाउँछ।
र यस्ता ढुङ्गाले बनेका घर र पर्खाल लगाइएका बस्तीहरू यस्ता चिहानबाट करिब १९-३० किलोमिटरभित्र पाउने गरिन्छ।
मानव अवशेषका केही रासायनिक अध्ययन र डीएनए परीक्षणले त्यो क्षेत्रमा बसोबास गरेका र मरेका प्राचीन भारतीयबारे थप तथ्य जानकारी प्राप्त हुनेछ।
सिन्धु सभ्यताको बारेमा रहस्य कायम नै छ।
उदाहरणका लागि त्यस बेलाको लेखनको स्थिति कस्तो थियो भन्नेबारे अहिले पनि धेरै जानकारी छैन।
यो हिउँद याममा खटिया गाउँनजिकै चिहानस्थलको उत्तरमा रहेको स्थान उत्खनन गर्ने योजना वैज्ञानिकहरूले बनाएका छन्।
यदि उनीहरूले केही फेला पारे भने यो उल्झनको एउटा भागको रहस्य खुल्नेछ।
यदि पाएनन् भने उनीहरू उत्खनन गरिरहनेछन्। राजेश भन्छन्, “ढिलो चाँडो हामीलाई केही न केही जबाफ प्राप्त हुनेछ भन्ने आशा छ।”









