टेम्ज नदीमा भेटियो नवपाषाणयुगीन मान्छेको ५,००० वर्ष पुरानो हड्डी

टेम्ज नदीमा भेटियो नवपाषाणयुगीन मान्छेको ५,००० वर्ष पुरानो हड्डी

तस्बिर स्रोत, Simon Hunt

डुङ्गा चलाउँदै गरेका एक व्यक्तिले फेला पारेको एउटा मानव हड्डी लन्डनस्थित टेम्ज नदीबाट निकालिएको सबैभन्दा पुरानो वस्तु हुनसक्ने देखिएको छ।

नदीमा होचो छाल आएको बेला साइमन हन्टले तिघ्राको हड्डी फेला पारेका थिए। कार्बन डेटिङ विधिबाट गरिएको परीक्षणले उक्त हड्डी ५,००० वर्षभन्दा पुरानो भएको सङ्केत गर्‍यो।

देख्नासाथ उनले त्यो हड्डी मान्छेको भएको चिनिहाले र अलिकति डराए पनि।

“यो निकै पुरानो देखिन्थ्यो, तर मनमनै वा होइन कि भन्ने पनि लाग्यो,” उनले भने।

“दुई वर्ष पानीमा परेको हड्डी कस्तो हुन्छ त्यो मलाई थाहा छैन। त्यसैले केही अनिष्ट पो भएको थियो कि?”

साइमन ग्राफिक डिजाइनर हुन्। नदीमा विहार गर्न आफ्नो डुङ्गा चढ्न लागेका बेला उनले त्यो हड्डी देखेका थिए।

गेगरबाट टिपेर उनले त्यो हड्डीलाई आफूसँगै डुङ्गामा लिएर जलविहार गर्न गए।

प्लास्टिकको झोला

त्यसपछि उनले प्लास्टिकको एउटा सफा झोलामा हालेर सबैले देख्नेगरी त्यो हड्डी घर लगे अनि आफ्नी पत्नीलाई देखाए। तर बाटोमा कसैले पनि वास्ता गरेन।

उनले प्रहरीलाई खबरे गरे। उनीहरूले अनुसन्धान सुरु गर्न साइमनलाई हड्डी भेटिएको ठाउँ देखाउन भने।

तर त्यहाँ पुग्दा पानीले त्यो ठाउँ पुरिसकेको थियो।

हड्डी

तस्बिर स्रोत, Simon Hunt

प्रहरीले परीक्षणका लागि उक्त हड्डीलाई प्रयोगशालामा पठायो। निकै महिनापछि प्रहरीले साइमनलाई फोन गर्‍यो र एउटा झोला लिएर आउन भन्यो।

उनीहरू उक्त हड्डी साइमनलाई फिर्ता गर्न चाहन्थे।

‘कहिलेको हो अनुमान गर्नुहोस् त’

“उनीहरूले यो धेरै पुरानो भएको बताउँदै मलाई 'यो कहिलेको हो अनुमान गर्नुहोस् त' भने,” उनी सम्झन्छन्।

“पुराना वस्तुबारे मैले सम्भव ठानेको समय मध्ययुग थियो, तर म निकै फरक परेछ।”

नवपाषाणयुग

वास्तवमा उक्त हड्डी ब्रिटिश नवपाषाणयुगको अन्तिमतिर बसोबास गर्ने मानिसको थियो। त्यतिबेला पाषाणयुग अर्थात् ढुङ्गेयुग सकिएको थियो।

विज्ञहरूले उक्त हड्डी इसापूर्व ३५१६ देखि इसापूर्व ३३६५ बीचको भएको निर्क्योल गरेका छन्।

तिघ्राको हड्डीको लम्बाइका आधारमा एक पुरातत्त्वविद्ले ती व्यक्ति १७० सेन्टिमिटर (पाँच फिट सात इन्च) अग्लो भएको अनुमान गरेका छन्।

तर यो हड्डी महिला वा पुरुष कसको हो भन्ने छुट्ट्याउन सकिएको छैन।

यो हड्डी इजिप्टको गिजास्थित पिरामिड र यूकको स्टोनहेन्जभन्दा पुरानो हो।

हड्डी

तस्बिर स्रोत, Simon Hunt

“मानिसहरू लन्डनमा मैले त्यो हड्डी भेट्नु विचित्र लाग्ने कुरा भएको बताउँछन्। तर हामीले के सम्झनुपर्छ भने त्यतिबेला लन्डन थिएन,” साइमनले भने।

“मलाई यो हड्डी पहिला माटोमा थियो कि जस्तो लाग्छ किनभने यो निकै संरक्षित छ। अनि बिथोलिएपछि मैले यो नदीमा फेला पारेँ,” उनले भने।

नवपाषाणयुगमा ब्रिटेनमा कृषिकर्म सुरु भएको थियो। त्यही बेला युरोपका अन्य स्थानबाट आएका आप्रवासीहरूले विभिन्न प्रविधि र उपकरण ल्याएका थिए।

नवपाषाणयुगीन खप्पर

साइमन आफूले भेटेको हड्डी म्यूजीअम अफ लन्डनमा राखियोस् भन्ने चाहन्छन्।

उक्त सङ्ग्रहालयमा इसापूर्व ३६४५ देखि ३६०० वर्ष पुरानो मानिएको नवपाषाणयुगीन मानवको खप्परको एउटा टुक्रा राखिएको छ।

उक्त सङ्ग्रहालयका अनुसार त्यो खप्पर टेम्ज नदीमा भेटिएकामध्ये एउटा पुरानो वस्तु हो। हड्डी र खप्पर नजिकै राख्ने योजना सङ्ग्रहालयको पनि छ।

अहिले तिघ्राको त्यो हड्डी साइमनसँगै छ।

सुरक्षित राख्न चुनौती

“मैले यो कहाँ राख्ने भन्नेबारे पनि थिइनँ। तर बिरालोले टोक्न नसक्ने ठाउँमा राख्नुपर्छ,” उनले भने।

“मैले सम्मान दिनुपर्छ किनभने यो एक व्यक्तिको हो। यो हड्डी ५,००० वर्षभन्दा अघि यहाँ विचरण गर्ने मानिसको खुट्टाको भाग हो।”

इजिप्टका पिरामिडभन्दा लन्डनमा भेटिएको हड्डी एक हजार वर्ष पुरानो हो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इजिप्टका पिरामिडभन्दा लन्डनमा भेटिएको हड्डी एक हजार वर्ष पुरानो हो

खजाना

टेम्ज नदी ऐतिहासिक वस्तु भेटिने खजाना प्रमाणित भएको छ। म्यूजीअम अफ लन्डनमा राखिएका धेरै सामग्री नदीमा मूल्यवान् वस्तुहरू खोज्ने मानिसले फेला पारेका हुन्।

लन्डनमा त्यस्ता वस्तु खोज्न पोर्ट अफ लन्डन अथोरिटीबाट अनुमतिपत्र लिनुपर्छ। बिनाअनुमति नदीको किनारामा कुनै सामान खोज्नु वा त्यहाँबाट लैजानु अवैधानिक हुन्छ।

तर साइमनको प्रसङ्गमा उनले आफ्नो नागरिक दायित्व निर्वाह गरेका थिए। अनि नदीबाट हड्डी निकालेर लैजाँदा उनले कसैलाई अप्ठेरोमा पारेका थिएनन्।

जे भए पनि डुङ्गामा जलविहार गर्न जाँदा उनले प्राचीन हड्डी भेट्नु भाग्यको कुरा थियो अनि त्यो बिहानी उनका लागि स्मरणयोग्य बनेको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, डिजिटल प्रविधिबाट पहिलो पटक इजिप्टका प्राचीन राजाको अनुहार हेरियो