इङ्गल्यान्डमा भेटिएको स्वर्ण मुद्राको एउटा प्राचीन भण्डार

तस्बिर स्रोत, Norfolk Identification & Recording Service
एङ्ग्लो-स्याक्सन समयको स्वर्ण मुद्राको अहिलेसम्मकै एउटा ठूलो भण्डार इङ्गल्यान्डमा भेटिएपछि त्यसलाई राष्ट्रिय सम्पत्ति घोषणा गरिएको छ।
१३१ सिक्कासहित चार वटा सुनका वस्तुहरू पश्चिम नोर्फकको खेतमा फेला परिएका थिए।
जसमध्ये धेरैजसो वस्तुहरू धातुसम्बन्धी सोखिन व्यक्तिले फेला पारेका थिए।
परिचय खुलाउन नचाहेका उनले नै सुरुमा त्यसबारे सम्बन्धित अधिकारीहरूलाई जानकारी दिएका थिए।
तीमध्ये १० सिक्का भने एक जना प्रहरीले फेला पारेका थिए।
ती प्रहरीले त्यसलाई अधिकारीलाई थाहै नदिई बेचेको आरोपमा सन् २०१७ मा १६ महिनाको जेल सजाय तोकिएको थियो।
'मूल्यवान् खोज'
स्थानीय नर्विच कासल सङ्ग्रहालयले 'अन्तर्राष्ट्रिय रूपमै मूल्यवान्' सो भण्डार प्राप्त गर्ने अपेक्षा गरेको छ।
मध्यकालीन युगको सुरुतिरका सिक्काहरू सङ्कलन गरेका ब्रिटिश म्युजियमका गारेथ विलियम्सले सिक्काहरू फेला परिनुलाई 'निकै नै महत्त्वपूर्ण खोज' भएको बताए।

तस्बिर स्रोत, Norwich Castle and Art Gallery
यो खोजको पहिलो सिक्का सन् १९९१ मा फेला परिएको थियो। तर सन् ६१० तिरका थप सिक्काहरू सन् २०१४ मा मात्रै भेटिएका थिए।
ती सिक्काको समयमा इङ्गल्यान्डमा सुनका सिक्काहरू नबनाइने हुँदा ती सिक्काहरू अन्तै युरोपको टक्सारले बनाएको मानिएको छ।
पाइएका सिक्काहरूमा यसअघि कहिल्यै नदेखिएका सिक्काका साथै सन् १६६६ को पुस्तकमा चित्र भएको तर त्यसपछि हराएका सिक्का पनि छन्।
ती सिक्काहरू एङ्ग्लो-स्याक्सन चिहान नजिकै फेला परेका कारण मृत व्यक्तिसँगै गाडिएका पनि हुनसक्ने बताइएको छ।

तस्बिर स्रोत, Norfolk Identification & Recording Service
त्यस्तो भण्डारमा पाइएका सिक्का विज्ञहरूले यसअघि थाहा नपाएका हुन्।
यसअघि पाइएको एङ्लो-स्याक्सन समयको सिक्काको भण्डार एउटा थैलीमा राखिएको १०१ वटा मुद्राको थियो जुन १८२८ मा फेला पारिएको थियो।
छैटौँ शताब्दीमा हाल नोर्फक रहेको स्थानमा इस्ट एन्जलिया राजतन्त्र जन्मिएको थियो।
सो राज्य सन् ८६९ मा राजा एडमण्डलाई मात्रै भाइकिङहरूले बिस्तारै आफ्नो नियन्त्रणमा लिएका थिए।


तस्बिर स्रोत, Norfolk Identification & Recording Service








