पोम्पेईः प्राचीन डीएनएको अध्ययनबाट ज्वालामुखीले ध्वस्त रोमन नगरका बासिन्दाबारे खुल्यो यस्तो रहस्य

सन् १९३४ मा खिचिएको यो तस्बिरमा पोम्पेईमा फेला परेका दुई व्यक्तिको अस्तिपञ्जर देखिन्छ

तस्बिर स्रोत, NOTIZIE DEGLI SCAVI DI ANTICHITA,1934, P. 286, FI

तस्बिरको क्याप्शन, सन् १९३४ मा खिचिएको यो तस्बिरमा पोम्पेईमा फेला परेका दुई व्यक्तिको अस्तिपञ्जर देखिन्छ
    • Author, भिक्टोरिया गिल
    • Role, विज्ञान संवाददाता, बीबीसी न्यूज

प्राचीनकालमा रोमन सहर पोम्पेईमा ज्वालामुखी विस्फोटन भएपछि पुरिएका एक महिला र एक पुरुषका अवशेषको अध्ययन गरेर अनुसन्धानकर्ताहरूले आनुवंशिक रहस्यहरू उजागर गरेका छन्।

ती दुई जनाको हड्डीबाट डीएनए निकालेर वैज्ञानिकहरूले अध्ययन गरेका थिए। त्यसरी सङ्कलित नमुनाबाट प्राप्त "पोम्पेईअन ह्यूमन जीनोम" मा मृतकहरूको लगभग पूरै "आनुवंशिक सूचना" समाविष्ट थियो।

समयक्रममा ज्वालामुखीको खरानी कडा भई ती अस्थिपञ्जर ढाक्ने खोलजस्तो बनेर बसेको थियो। त्यसमा ती मानिसको डीएनए सुरक्षित थियो।

यो अनुसन्धानबारे साइअन्टिफिक रिपोर्ट्स नामक वैज्ञानिक जर्नलमा एउटा शोध प्रकाशित भएको छ।

झन्डै ९० वर्षअघि फेला परेका अवशेषले के भन्छन्

पुरातत्त्वविद्हरूले पोम्पेईमा "कासा डेल फाब्रो" अर्थात् "कालिगडको घर"को सङ्ज्ञा दिएको ठाउँमा ती दुई जनाको अवशेष पहिलो पटक सन् १९३३ मा भेटिएको थियो।

उनीहरू अवशेष भान्सा कोठामा फेला परेका थिए। अवशेषको प्रकृति हेर्दा सन् सन् ७९ अगस्ट २४ को दिन ज्वालामुखी विस्फोट हुँदाको बखत उनीहरू दिउँसो भोजन गर्न लागेको जस्तो देखिन्थ्यो।

एउटा नयाँ अध्ययनले भेसुभिअस पर्वतमा ज्वालामुखी विस्फोटनबाट निस्किएको खरानीको मुस्लोले २० मिनेटभन्दा कम समयमा नगरवासीहरूमा घातक असर गरेको हुनसक्ने देखाएको छ।

सालेन्तो विश्वविद्यालयकी मानवशास्त्री डा. सेरेना भिभाका अनुसार अनुसन्धानकर्ताहरूले अध्ययन गरेका ती दुई व्यक्तिले भाग्ने प्रयास गरेका थिएनन्।

"उनीहरूको शरीरको स्थितिबाट उनीहरूले भाग्ने प्रयास नगरेको देखिन्छ," डा. भिभाले बीबीसी रेडिओ फोरको इन्साइड साइन्ससँग भनिन्।

मानव अवशेषहरूको अध्ययन।

तस्बिर स्रोत, SERENA VIVA

"उनीहरू नभाग्नुको कारण दुवैको स्वास्थ्यस्थिति हुन सक्छ।"

उनीहरूको हड्डीको नयाँ अध्ययनबाट त्यसबारे केही सङ्केत भेटिएको छ।

"यो सबै अस्थिपञ्जर संरक्षण बारेमा थियो," कोपेन्हेगनको लुन्ड्बेक जीओजनेटिक्स सेन्टरका प्राध्यापक गेब्रिएल स्कोरानोले भने। उनले यो अध्ययनको नेतृत्व गरेका हुन्।

"यो हामीले हेरेको पहिलो वस्तु हो र यो गजबको भएकाले डीएनए निकाल्ने निर्णय गरौँ।"

हड्डी राम्रो अवस्थामा रहेको र प्रयोगशालाको नयाँ प्रविधिका कारण वैज्ञानिकहरूलाई "हड्डीको निकै थोरै धुलो" बाट धेरै जानकारी पत्ता लगाउन सहयोग पुगेको प्राध्यापक स्कोरानोले बताए।

"सीक्वन्सिङ गर्ने नयाँ उपकरणहरूले एकै समयमा धेरै जीनोम पढ्न सक्छन्," उनले भने।

के पत्ता लाग्यो

आनुवंशिक अध्ययनका अनुसार दुई जनामध्ये पुरुषको हड्डीमा क्षयरोग गराउने जीवाणुको डीएनए पनि फेला पर्‍यो।

यसबाट ती व्यक्तिलाई क्षयरोग लागेको हुनसक्ने देखिएको छ। अनि उनको खप्परको तलपट्टि रहेको एउटा भागमा पर्याप्त आनुवंशिक सूचना भएको डीएनए फेला पर्‍यो।

उनको आनुवंशिक संरचनामा त्यस कालखण्डमा इटलीमा बसोबास गर्ने मानिसहरूको पहिचान गर्न सहयोग पुग्ने "जनेटिक मार्कर" अर्थात् आनुवंशिक चिह्नहरू थिए।

उनको शरीरमा सार्डिनिया द्वीपमा बस्ने मानिसमा पाइने जीनहरू पनि थिए।

त्यसबाट इटलीको उक्त प्रायःद्वीपमा त्यतिबेला ठूलो आनुवंशिक विविधता भएको हुनसक्ने सङ्केत प्राप्त भएको छ।

प्राध्यापक स्कोरानोका अनुसार पोम्पेईको जैविक अध्ययन तथा माटो, पानी तथा अन्य पर्यावरणीय नमुनाबाट सङ्कलन गरिएको प्राचीन डीएनएबाट धेरै कुरा सिक्न सकिने बताए र तिनले त्यतिबेलाको जैविक विविधताको बारेमा धेरै जानकारी दिन सक्छन्।

'मौन साक्षी'

"पोम्पेई रोमन द्वीपजस्तै हो," उनले थप भने। "हामीसँग सन् ७९ को एक दिनको तस्बिर छ।"

डा. भिभाले पोम्पेईमा रहेका प्रत्येक मानव अवशेष "निधि" भएको बताइन्।

"यी मानिसहरू विश्वको निकै प्रसिद्ध ऐतिहासिक घटनाहरूमध्ये एउटाका मौन साक्षी हुन्," उनले भनिन्।

"उनीहरूसँग काम गर्नु मेरो लागि धेरै भावनात्मक कुरा हो र ठूलो अवसर पनि।"